भारतमा हिन्दु नेतृ ठाकुरविरुद्ध प्रधानमन्त्री मोदी, ‘उनलाई माफी दिन सकिन्न’
नयाँदिल्ली : भारतमा लोकसभा चुनावको मतदान सकिनै लाग्दा प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै पार्टीका उमेद्वार प्रज्ञा सिंह ठाकुरविरुद्ध अभिव्यक्ति दिएका छन् ।
उनले भोपालमा लोकसभा उमेद्वार प्रज्ञा सिंह ठाकुरलाई माफी दिन नसक्ने बताएका छन् । भारतीय संचारमाध्यमसँगको अन्तरवार्तामा प्रधानमन्त्री मोदीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
हिन्दु मतदातामाझ प्रभावशाली मानिने भारतीय जनता पार्टी नेता ठाकुरले गत साता मात्रै नाथुराम गोड्से हत्यारा नभएर देशभक्त रहेको जिकिर गरेकी थिइन् । ठाकुर हिन्दु नेतृको रुपमा पनि चिनिदै आएकी छन् ।
महात्मा गान्धीका हत्यारा नाथुराम गोड्से देशभक्त रहेको जिकिर यो पहिले भने हैन । भारतीय जनता पार्टीका अधिकांश नेताहरुले यसअघि यस्तो प्रतिक्रिया दिइसकेका छन् ।
तर प्रधानमन्त्री मोदीले भने आफ्नै पार्टीको एक प्रभावशाली नेतृ ठाकुरविरुद्ध दिएको अभिव्यक्तिले नयाँ तरंग ल्याएको छ । ठाकुरले चुनावकै बेला नाथुराम गोड्सेको पक्षमा बोलिरहँदा त्यसको खण्डन प्रधानमन्त्री मोदीले नै गरेका हुन् ।
साथै मोदीले ठाकुरको उक्त अभिव्यक्ति पार्टीको अभिव्यक्ति नभएको पनि भनेका छन् । ठाकुरको त्यस्तो अभिव्यक्तिले पार्टीको आत्मबलमा ठेस पुर्याएको पनि टिप्पणी गरेका छन् ।
स्वतन्त्र भारतका सर्वोच्च नेता महात्मा गान्धीका हत्यारा नाथुराम गोड्सेलाई भाजपाका थुप्रै नेताहरुले पटक पटक ‘देशभक्त’ भन्दैआएका छन् । तर नरेन्द्र मोदीको पछिल्लो अभिव्यक्तिले भने भाजपामा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ ।