सकियो नाट्य सप्ताह
काठमाडौं : प्रज्ञा कुञ्ज स्कुलले प्रत्येक वर्ष आयोजना गर्ने गरेको नाट्य महोत्सवको नयाँ संस्करण नाट्य सप्ताह २०७६ सम्पन्न भएको छ। वैशाख ३० गतेदेखि बानेश्वरको थापागाउँस्थित कुञ्ज थिएटरमा सञ्चालित महोत्सवको समापन समारोह जेठ २ गते नेपालका लागि ब्राजिलका राजदुत मारिया टेरेसाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
महोत्सवमा कक्षा चारदेखि १० सम्मका विद्यार्थीले १० वटा नाटक मञ्चन गरेका थिए। पहिलो दिन कक्षा चारका विद्यार्थीले भोला, पहेंलो बसु र जुँगे दाइकी छोरी शीर्षकका तीनवटा नाटक मञ्चन गरिएका थिए। वैशाख ३१ गते कक्षा पाँचका विद्यार्थीले उज्यालोतिर, रोल नं. चार र तुलसी नाटक प्रर्दशन गरे भने जेठ १ गते कक्षा सातका विद्यार्थी ब्यूटी विथ ब्रेन र कक्षा आठबाट किताबभित्र किताबबाहिर नाटक मञ्चन गरिएको थियो।
महोत्सवको अन्तिम दिन जेठ २ गते कक्षा ६ का विद्यार्थीले चार्ली एन्ड द चोकोलेट फ्याक्ट्री तथा कक्षा ९ र १० का विद्यार्थीले धु्रव नाटक प्रस्तुत गरेका थिए। महोत्सवमा विद्यार्थीको अभिनयात्मक क्षमता प्रशंसायोग्य थियो। प्राचार्य सुनिता पौडेलले आफ्नो विद्यालय पढाइ लेखाइका साथै अतिरिक्त एवं सह–क्रियाकलापको माध्यमबाट विद्यार्थीको सर्वाङ्गीण विकासमा कटिबद्घ रहेको बताइन्।
नेपालका लागि ब्राजिलका राजदूत मारिया टेरेसाले नाटकको विश्वव्यापी लोकप्रियता बढ्दै गएकाले ब्राजिलमा पनि यस्ता महोत्सव आयोजना गर्ने गरिएका जानकारी दिइन्। महोत्सव टंक चौलागाईको निर्देशनमा सञ्चालन भएको थियो।