रेडियोमा सिर्जना सुनाउनेलाई १-२ रुपैयाँ भागमा पर्थ्यो

रेडियोमा सिर्जना सुनाउनेलाई १-२ रुपैयाँ भागमा पर्थ्यो

उसबेला अहिलेजस्तो ‘डिजिटल कागज’ मा लेख्न र पढ्न कहाँ पाउनु ? भान्छामा पसेर हाँडीको कालो कोट्याउनु पर्थ्यो। त्यो कालो धुलोलाई खानेतेलमा मिसाएर मसी बनाउनु पर्थ्यो। मसी राख्ने मसीदानी हुन्थ्यो। लेख्ने कलम पाए त खुसीले नाचिन्थ्यो होला त्यो समय। बाँसको निगालो काटकुट पारी तिखारेपछि कलम बन्थ्यो। कलममा अहिलेजस्तो मसी हुँदैनथ्यो। मसीका लागि त्यो बाँसको तिखो मसीदानीमा चोब्न पर्थ्यो।

अक्षर राम्रो पार्न पनि झाङमा पुगेर बाँसको भ्वाङ ल्याउने अनि लेख्ने गर्नुपर्थ्यो। अझ यसभन्दा अघि त धुलौटे पाटीमा लेखेर पढ्न थालेको मैले। नेपाली कागजमा त त्यसपछि लेख्न पाएँ। काभ्रे खरेलथोकमा पाँच वर्षको हुँदा गुरुलाई घरमा बोलाएर अक्षराम्भ गरेको सम्झन्छु। त्यसपछि यसरी नै लेख्न पढ्न थालेको थिएँ। कक्षा ५ पुगेपछि काठमाडौंस्थित पद्मोदय हाइस्कुलमा पढ्न शुरु गरें। बुबा सप्तरीमा पनि खेतीपाती गर्नुहुन्थ्यो। मलाई बुबा गोपीकृष्णले ठूलोबुबा बालकृष्ण (सुब्बा) को घरमा बसेर पद्मोदय पढ्ने व्यवस्था मिलाइदिनुभयो। २०१२ सालमा डिल्लीबजारमा घर किनेपछि आमा पनि सँगै बस्न थाल्नुभयो।

त्यसबेलाको पढाइ भनेकै ‘घोकन्ते विद्या धावन्ती खेती’ थियो। कोर्स बुक फलो गर्नुपर्थ्यो। अहिलेजस्तो बालकथा, कविता, नाटकका किताब पढ्न पाइन्नथ्यो। खेलकुदमा पनि फुटबल धेरै रमाइलो लाग्थ्यो। त्योबेला हुने देवीमाया मेमोरियल सिल्ड एकदमै चलेको। पद्मोदयबाट हाम्रो टिमले जित्थ्यो। म दौडमा उस्तै तेजिलो थिएँ। २०१२ सालदेखि कविता लेख्न थालें। ‘आर्यघाटको शून्य चितामा आज कोही जल्यो’ बोलको कविता २०१६ सालमा रेकर्ड भयो।

१७ वर्षको उमेरमा मैले २०१६ सालदेखि रेडियो नेपालमा बाल कार्यक्रम ‘बालबाटिका’ सञ्चालन गरें। त्यो कार्यक्रममा अहिले नाम चलेका दीपक जंघम, शम्भूजित बाँस्कोटा, राजेन्द्र थापा, न्हुच्छे डंगोल, नरहरी आचार्य, कपिल श्रेष्ठ, भुवन केसी, सन्तोष पन्तहरू सहभागी भएर सिर्जना सुनाएका थिए। त्योबेला ५० रुपैयाँ बजेट आउँथ्यो, सिर्जना सुनाउनेलाई १÷२ रुपैयाँ भागमा पर्थ्यो। एकातिर नाम चल्ने अर्कोतिर दाम पनि आउने। एकदिन कार्यक्रम सकिनै लाग्दा दरबारबाट फोन आयो। त्यतिबेलाका राजा महेन्द्र वीरविक्रम शाहदेवले सुनेका रहेछन्। कार्यक्रममा बोल्न आएको उसको भनाइ राम्रो लागेर पाँच सय रुपैयाँ पठाइदिए।

कार्यक्रममा सहभागी हुन सयौंको लाम लाग्थ्यो। त्योबेलाको एक, दुई रुपैयाँको महत्व अहिलेको सय, दुई सयभन्दा बढी थियो। छनोट गर्न कठिन। मौका पाउने खुसीले नाँच्थे, संसार जितेको ठान्थे। कोही भने उट्पट्याङ खालका हुन्थे। म कार्यक्रम सुरु गर्दा ‘जय नेपाल’ भन्थें, उनीहरू ‘खायो कपाल’ भन्थे। त्यसैबेलादेखि साहित्य र संगीतमा रुची बढ्यो। अहिले त्यसैमा आफ्नो जीवन समर्पित गरिरहेछु। झन्डै पाँच सय गीत लेखें। आँधिबेरी, प्रेमपिण्ड, चेलिबेटी, लोभीपापी, आदिकवि भानुभक्त, श्रीस्वास्थानीजस्ता आठवटा नेपाली चलचित्रका कथा, पटकथा लेखें, निर्देशन गरें। तीबेला लेखेका गीत अझै कालजयी बनेर बजिरहँदा आनन्द लाग्छ।

बुबासँगै खेतीमा सप्तरी पुग्दा पोखरी देखें। त्यही पौडी खेल्न सिकें। सिकाउने पनि थिए तर पानी खाएर आफलताफल पनि भइयो। अभिभावकलाई झुक्याउन सके खोप्पी खेल्थ्यौं। खोप्पी खेल्नु त्यसबेला राम्रो मानिन्नथ्यो। डण्डीबियो, कबड्डी र लठ्ठी गाड्ने खेल खेल्यौं। अहिले यी सबै हराउँदैछन्। दसैंतिहार रमाइलो लाग्थ्यो। दसैंमा आफन्तकोमा टिका लगाउने, लिंगे पिङ खेल्ने अनि तिहारमा पञ्चकभर कौडा खेलेको हेथ्र्यौं। जित्नेले जितौरी दिन्थे। पिङ खेल्दा म काम्रोमा बसिहालें। भाइ पनि सँगै पिङमा झुन्डिएछ। लडेर देब्रे हात भाँच्यो। ठूलो अपराध गरेंजस्तो लाग्यो, किनकी म दाजु थिएँ उसलाई छोडिदिएको भए हुने। उपचार गर्दा पनि अझै हात बांगो छ।

त्यसबेला काभ्रेमा बाह्रमणले हलो जोत्दैनथे। जोते जात जान्थ्यो, समाजबाट बहिस्कृत हुनुपर्थ्यो। काका रत्नप्रसाद राजनीति गर्नुहुन्थ्यो। उहाँले एक दिन जोत्नुभयो। एक कान दुई कान मैदान भयो, बाहुनले हलो जोत्यो रे। सबै भेला भए। अब के गर्ने ? कोही होइन भनेर कुरा लुकाउन थाले, कोही हो कि हो भनेर जात गयो भन्दै गाउँ निकाल्ने कुरा गर्न थाले। कसको कुरो पत्याउने पछि आउनेले ? बुबाको विश्वासिलो पात्र थिएँ म। सबैले हो यादवले साँच्चो बोल्छ भनेपछि मैले जोतेकै हो भनिदिएँ। काका क्रान्तिकारी स्वाभावको भएकाले डराउनु भएन।

जीवन भोग्ने क्रममा मलाई सबैले आ–आफ्नो व्यक्तित्व निखार्नु पर्छ भन्ने लाग्छ। हामी सबैसँग क्षमता छ त्यसलाई सत्कर्मबाट सही काममा लगाएर सफल बनाउनुपर्छ। सकिन्छ भने आफूलाई मात्र होइन, अरूलाई केही दिन सकौं। आफू मरेर गए पनि हाम्रा काम बाँचिरहुन्। मानिस सफल हुन मुख्य तीन मन्त्र ध्यान दिन सके पुग्छ भन्ने लाग्छ।

पहिलो जीवनमा निरन्तर अभ्यास गरिरहनुपर्छ। आफू जीवनमा जे बन्ने हो वा गर्ने हो त्यहीअनुसार अघि बढ्ने हो। मूल कुरा ज्ञान धेरै र गहिरो हुनुपर्छ। एकलब्यको कथा महाभारतमा आउँछ। हो, कसैले केही गर्न वा बन्न अठोट गरेपछि त्यसका लागि एकलब्यजस्तै लक्ष्यअनुसार लागिरहनु पर्छ। तेस्रो, मानिसले चरित्रमा दाग लगाउनु हुँदैन।

इमान्दारिताजति ठूलो सम्पत्ति अरू छैन। सानोतिनो स्वार्थमा लोभिएर फाइदा लिने होइन, जे गर्दैछु त्यसैमा अडिग भएपछिमात्र सफलता पाइने हो। स्वार्थले छिटै केही पाइहाले पनि त्यो दीगो पनि हुँदैन, हानी पनि हुनसक्छ। अध्ययन नभए मान्छे अन्धो हुन्छ। लक्ष्य नभए गन्तव्य भेटिन्नँ।

(गीतकार खरेलसँग गोपीकृष्ण ढुंगानाले गरेका कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.