प्रमिथसको डायरी
प्रमिथसको घरमा
उडुस मार्न
उसले मागेर ल्याएको छ आगो
सूर्य नारायणसँग,
आक्रान्त प्रमिथस
उडुस मार्न
आगो लगाउँछ खाटमा, गुन्द्रीमा, घरमा,
आगो न हो
फैलिएर बाहिर निस्कन्छ आगो
आगो सँगसँगै निस्कन्छ
आगोको धारिलो थुतुनो,
आगो हेर्न
जम्मा भएका छन् मानिसहरू,
जम्मा भएका छन्
आगोनिर मानिस उभिँदा
आगोजस्तै देखिने
नौलो रङको अनुहार र
अनुहारमै पढ्न सकिने
सभ्यताको नयाँ पुस्तक,
प्रमिथस
जलिरहेको घरसामु उभिएर तिर्खाउँछ
नयाँ ब्रान्डको पानी निकालेर पिउँछ
र
आँखाभरि फेरि रिसको प्यास उमार्छ
नजिकैको भत्किएको घण्टाघरको सुई हेरेर
एकैछिन मौन रहन्छ,
सुदूरपश्चिमको बाढी सम्झन्छ
पूर्वको पुरानो भूकम्प सम्झन्छ
यात्रुवाहक बस दुर्घटना र
दसवर्षे द्वन्द्वकालको
सापट लिएको तस्बिरहरू सम्झन्छ,
सम्पूर्ण घर जलिसकेपछि पनि
प्रमिथस
उडुसको अवशेष अझै बाँकी
छन् कि भनेर
शंकामुद्रामा खरानी चलाउँछ
बतास चल्छ खरानी उडेर अनुहारैभरि हुन्छ,
तर पनि
मानिसहरू कुरा गरिरहेका छन् चोकचोकमा
प्रमिथसले
हाम्रो नाममा पनि मागेर ल्याएको हो रे आगो,
हामी पनि
उडुस मार्ने रहरले
घरमा आगो लगाउन आतुर
भएका छौं आज
आजैको अखबारले लेखेको छ
बूढो प्रमिथस दमकल किन्न
पैसा उठाउने अभियानमा
व्यस्त छन् र राजधानीतिर,
हे अगत्यस्य मुनि
प्रमिथसको डायरीमा लेखिएको छ
कुनै दिन उसको घरमा उडुस लागेको थियो
हेर्दा उडुसहरू सबै मान्छेजस्तै देखिन्थे।
- कवि श्रेष्ठका एक दर्जन पुस्तक प्रकाशित छन्। ‘अग्निनृत्य’ उनको पछिल्लो पुस्तक हो।