मलाई स्कुटर नचढाउनू मामु
जुत्ता–चप्पलको आविष्कार हुनुअघि
माटो–प्रेमको ल्याप्चे छाप लगाएका
कुल्चँदै–कुल्चँदै
मान्छेले नकुल्चिएर दुखिरहेको उनीहरूको मेरुदण्ड
अक्षरको देवीथान जान्छु
मलाई स्कुटर नचढाउनू मामु।
आपूmलाई पछ्याइरहेकी सुम्निमा
उकालोमा नअल्मलिउन् भन्दै
चिनोस्वरूप ढुंगोले थिचिराखेर
एक मुठो स्याउला यही दोबाटोमा
छोडेका छन् किराँती पारोहाङले
त्यही स्याउलाको मुठो कुल्चँदै
अक्षरको देवीथान जान्छु
मलाई स्कुटर नचढाउनू मामु।
नीलकमल फुल्ने माटो कुल्चन्छु
बाटो छेउका तीतेपातीका मुन्टा चिमोट्दै
ढुंगेधाराको पानी हातले छर्किन्छु
पैतालाको मासुले पृथ्वीको ज्यान टेकेर
अक्षरको देवीथान जान्छु
मलाई स्कुटर नचढाउनू मामु।
मजस्तै केटाकेटी ढुंगा छन् बाटैभरि
अल्झाउँदै मेरा कलिला गोडा
घाउ लगाउन आउलान् लस्करै
लाप्पा खेल्दै तिनीहरूसँग
अक्षरको देवीथान जान्छु
मलाई स्कुटर नचढाउनू मामु।
डोजरले नभत्काएको
हजार वर्ष पुरानो देउराली छ बाटोमा
जिजुबाजेले जस्तै दुई मुन्टा तितेपाती चढाएर
पितृको आशिर्वाद थाप्दै
अक्षरको देवीथान जान्छु
मलाई स्कुटर नचढाउनू मामु।
कालो तुसारोले रंगिएको जंगली गोहोमा
नांगा पैतालाले चरपचरप टेकेपछि
बञ्चरोले हानेजस्ता पूर्खाका कुर्कुच्चाले
दसौं हजारपटक कुल्चिएको यो बाटो
मेरो इष्टदेवता हो
चकचके हातले
सिस्नुको छुचो पात समाउँदै
अक्षरको देवीथान जान्छु
मलाई स्कुटर नचढाउनू मामु।