सम्पदा नै सम्पत्ति

सम्पदा नै सम्पत्ति

नेपाली इतिहास र संस्कृतिको क्षेत्रमा लामो समयदेखि अध्ययन, अनुसन्धान, प्रकाशन र प्रवचन गर्दै आएका मुर्धन्य व्यक्तित्वको नाम हो, डा. गौतमबज्र बज्राचार्य। उनले न्यूयोर्क, म्यानहटनस्थित रुविन कला संग्रहालयमा गेष्ट क्यूरेटरको रूपमा चार वर्ष छ महिना विशिष्ट योगदान गरे। नेपाली कला र संस्कृतिको विविध पक्षमा रुविन संग्रहालयमा उनले दिएका विशेष प्रवचनहरू प्रकाशित छन्। काठमाडौंको महाबौद्धमा जन्मिएर अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका उनीसँग प्राडा वीणा पौड्यालले गरेको टेलिफोन वार्ता :

२०३३ सालमा प्रकाशित यहाँको पुस्तक हनुमानढोका राजदरबारको लेखनको प्रेरणा र आवश्यकता के थियो ?
श्री ५ वीरेन्द्र सरकारको पालामा नारायणहिटी राजदरबारमा प्रत्येक शुक्रबार विशेष भेटघाट कार्यक्रम हुन्थ्यो। विभिन्न राजदूतावासका राजदूत र अन्य विशिष्ट पाहुनाहरूको अनौपचारिक भेटघाट र प्रवचन कार्यक्रम हुने गर्दथ्यो। अमेरिकाबाट नेपाली कलाको इतिहास, संस्कृतिबारे अध्ययन गर्न मेरी स्लसर काठमाडौं आएका बेला राजदरबार जाने मौका पाइन्। त्यहाँ उनले नेपाली कला, वास्तुकलाबारे राजपरिवारका सदस्यलाई व्याख्या गर्ने क्रममा मलाई पनि लिएर गइन्। स्लसरसँगै नारायणहिटी दरबार केहीपटक पुग्दा हनुमानढोका क्षेत्रको कला, वास्तुकलाबारे बोल्न पाएँ। त्यहीबेला वीरेन्द्र सरकारले हनुमानढोका राजदरबारबारे केही लेख्ने निर्देशन दिनुभयो। त्यसकै उपज हो, हनुमानढोका राजदरबार पुस्तक। यसमा धेरै साथीले मद्दत गरेका थिए। २०१० सालतिरै साथीहरूसँग मिलेर हनुमानढोका  क्षेत्रकों अध्ययन गर्ने काम थालेको थिएँ। त्यसबेला अनुसन्धान गर्ने मानिसलाई हौसला र चाहिँदो सुविधा पनि दिने चलन थिएन। यही प्रसंगमा त्रिविविको नेपाल र एसियाली अध्ययन संस्थानजस्ता उच्च संस्थाबाट हनुमानढोका दरबारको सम्बन्धमा अध्ययन र अन्वेषण गर्ने मौका पाएँ।

नेपाली प्राचीन मूर्तिहरूको संरक्षणबारे बताइदिनुस् न।
प्राचीन मूर्तिहरू हामीहरूले संरक्षण गर्न नजानेर चोइटिँदै, खिइँदै र विदेश पलायन भएर घट्दै छन्। ढुंगाका मूर्तिमा केमिकल मिसाइएका रातो, पहेलो रंगले पूजा गर्दा, सजाउँदा, त्यसले मूर्ति खिइँदै जान्छ। मेरी स्लसरसँग मिलेर शयन विष्णु बुढानीलकण्ठबारे अनुसन्धानमूलक लेख प्रकाशित गरेका थियौं। तर विष्णुको मुकुटमा भएको कीर्तिमुखबारे अध्ययन गर्न पाएनौं। त्यसमा दु:ख लागेको छ। ढुंगाको शिवलिंग र शयनमूर्तिमा कोश, कवच चढाएर संरक्षण गर्ने चलन हाम्रो प्राचीन चलन हो, जुन राम्रो हो। तर पनि यसले निरन्तरता पाउन सकेन। लिच्छवी कालका ढुंगेमूर्तिको सग्लो नाक देख्नै पाइँदैन। यस बुढानीलकण्ठ मूर्ति मूर्तिको नाक सुलुत्त छ। नाक नभाँचिएको १÷२ वटा मूर्तिमध्ये यो एउटा हो। यस मूर्तिको संरक्षण आबश्यक छ।

देवीदेवताका मूर्तिहरूमा देवी चामुण्डाबाहेक दुब्लो, ख्याउटो, करङ देखिने गरेर बनाइएका मूर्तिहरू देखिँदैनन्, त्यसको कारण के होला ?
नेपाल र भारतको कला, वास्तुकला राम्ररी जान्न के बनाइँदैन, के देखाइँदैन, त्यो पनि बुझ्नुपर्छ। नेपालका कलाकारले लडाईंको दृश्य शिकारको दृश्य, मृत्यु दर्शाउन चाहँदैनन्। तपस्या गरेर छातीमा करङ देखिएको बुद्धको मूर्ति नेपाली कलाकारले बनाउन रुचाउँदैनन्। दुब्लो र महापरिनिर्वाणको दृश्यभन्दा बुद्ध जन्म, ज्ञान प्राप्ति र ध्यानमा बसेका शाक्यमुनिको चित्र र मूर्तिहरू नेपालमा बनेका छन्। गान्धार कलामा जस्तो दुब्लो, ख्याउटे बुद्धको चित्रण नेपालमा गरिँदैन। खाइलाग्दो, पुष्ट शरीर, घाँटीमा तीनवटा कम्बु ग्रीब देखाउने प्रचलन नेपालमा छ। पहिलोपल्ट मैले नै पुष्टि प्राण भन्ने शब्द र भाव प्रयोग गरेर नेपाली कलाको व्याख्या गरेको छु। नेपाली कलामा मोटो पुष्ट शरीरलाई दर्शाउने पुष्ट प्राणको परम्परा लिच्छवी कालदेखि आजसम्म चलेको छ। स्वयम्भू र अन्य क्षेत्रमा स्थानक मुद्रामा बसेका शाक्य मुनि बुद्धको घाँटीमा तीनवटा धर्को, कम्बु ग्रीब पुष्ट शरीरमा देखिने एउटा लक्षण हो। हामीकहाँ शुभ हेरेपछि शुभ नै हुने विश्वास गरिन्छ। त्यसैले पूर्ण कलश, मोटोघाटो मान्छे, फलेको वृक्ष बनाउने चलन चल्यो। घरको दैलोमा पनि पूर्ण घट, फूल र विशेष अवसरमा दही र केरा पनि राख्ने चलन छ।

यहाँले मनसुनबारे लेख्ने, प्रवचन दिने कार्य लामो समयदेखि गर्दै आउनुभएको छ। यहाँको विद्यावारिधिको क्षेत्र पनि यही नै हो ?
हो, वेदको अध्ययन गरेर त्यहाँ वर्णन भएको ऋतु र मनसुनबारे केही थाहा पाएँ। संस्कृत भाषाको ज्ञान भएकाले अध्ययन गर्न सजिलो भयो। मण्डुक सूक्त र ऋतु संस्कृतिबारे अनुसन्धान गरें। विश्वका प्राचीन साहित्यमा ऋग्वेदसँगै जेन अवेस्ताको नाम आउँछ। दुवै ग्रन्थमा धेरै कुरा समानता पनि छ। तर अवेस्तामा मनसुनको कुरा छैन। मैले नै होला, पहिलोपल्ट ऋग्वेदमा आउने मनसुनको बारेमा चर्चा गरेको। वेदमा वर्णन गरिएको ऋतु मनसुनको प्रभाव नेपाली कलामा प्रशस्त परेको छ। मनसुनको प्रभाव गोवर्धन पूजा र गाईजात्रा पर्वमा देख्न सकिन्छ। त्यही विषयका बारेमा लेखेको छु, त्यसैलाई उजागर गरेको छु। सधैं खट्केको विषय के छ भने संस्कृत भाषा, साहित्य पढ्नेहरूले कलाको इतिहासमा रुची राखेनन्। संस्कृत भाषामा ज्ञान भएकाहरूले कलाको अध्ययन गरेको भए धेरै नयाँ विषय उजागर हुन्थे।

विदेशीलाई हाम्रो धर्म, दर्शन, प्राचीन इतिहास, संस्कृति र भाषाप्रतिको लगाव र ज्ञान कस्तो छ ?
सुरुमा विदेशीहरूको संस्कृत भाषा र नेपाल र भारतको रहनसहन, कलाकृतिबारे लगाव सतहीजस्तो लाग्दथ्यो। विदेशीलाई हाम्रो स्थानीय भाषा, प्राचीन संस्कृत भाषा र प्राचीन लिपीहरूको गहिरो ज्ञान नभएकाले उनीहरू गलत इतिहास प्रभाव गरिरहेका छन् भन्ने ठम्याइ थियो। गुरु नयराज पन्तले हामीलाई शिक्षा दिने क्रममा विदेशीलाई विभिन्न विषयमा गाली गर्नुहुन्थ्यो। त्यो शिक्षाको प्रभाव परेको थियो। विदेशमा जति पनि विदेशी विद्वान्लाई भेटें, उहाँहरूको काम गर्ने शैली देखें, त्यसबाट प्रभावित भएको छु।

अधिकांश विदेशी विद्वान्हरूको कार्य गर्ने शैली साह्रै प्रशंसनीय छ। उनीहरूको लेख र पुस्तक गहिरो अध्ययनको प्रतिफल हो। बल्ल बुझें, विदेशीहरूको अनुसन्धान विधि, सामग्री संकलन गर्ने विधि, स्थलगत अध्ययन सबै सिलसिलावद्ध ढंगको हुँदोरहेछ। केही विदेशी इतिहासकार, अनुसन्धानकर्ताले सतही अनुसन्धान गरेर तथ्यहीन इतिहास प्रकाशमा ल्याएका छन्। अधिकांश विदेशी लेखकहरूको लेख, पुस्तक, रिसर्च स्तरीय हुन्छ। कुइपरले संस्कृत भाषाको नाटकबारे उत्कृष्ट ग्रन्थ प्रकाशित गर्नुभएको छ। यस पुस्तकले मेरो ज्ञानको ढोका खोल्यो। त्यसबाट धेरै कुरा प्रष्ट भयो। कुनै कुरा जान्न त्यसको स्रोत पत्ता लगाउनुपर्छ, बिनास्रोत लेख्ने कार्य गर्दा इतिहास लोककथा जस्तो हुन्छ।

यहाँले संस्कृत भाषामा रचेका कविता छन् ?
हो, मेरा संस्कृत भाषामा लेखिएका कबिताहरू प्रकाशित छन्। सामाजिक सञ्जालमा मैले पोष्ट गरेको मोनालिसाबारेको कबिता धेरैले मन पराए। डिपार्टमेन्ट अफ साउथ एसियन स्टडिज, युनिभर्सिटी अफ विसकन्सिन म्याडिसनमा संस्कृत पढाउँथें। त्यहीबेला ‘अयि मोनालिसे’ शीर्षकको कविता संस्कृत भाषामा लेखेको थिएँ।

हिन्दूहरूको परम्परा र धर्मदर्शनबाट प्रभावित भएर बौद्धहरूले पीपलवृक्षको सम्मान गरेको कुरा सत्य हो ?
हिन्दू र बौद्ध धर्ममा पीपलवृक्षको ठूलो महत्त्व छ। दुवै धर्मका अनुयायी पीपलवृक्षलाई देवताको रूपमा पूजा गर्छन्। तर बौद्धले हिन्दूसँग सिकेर पीपलवृक्षको पूजा गरेको होइन। वर्षा ऋतुको प्रतीकको रूपमा पीपलको बोट महत्त्वपूर्ण बन्यो। वैदिक समयभन्दा प्राचीन मानिएको सिन्धु सभ्यताको कलाकृतिमा पीपलको बोट जताततै देखिन्छ। ऋतु संस्कृतिको यो कुरा वैदिक आर्यहरूले दक्षिण एसियामा आएपछि मात्रै सिकेको हो। किनभने पीपलको बोट हिन्दू कुशदेखि पश्चिममा अफगानिस्तान, इरान आदि देशमा पलाउँदैनन्। गुप्तकालभन्दा पहिले नै अश्वमेध यज्ञजस्तो वैदिक परम्परा हराइसकेको थियो। तर पीपलको महिमा बढ्दै गयो, कहिल्यै बिर्सिएन। ऋतुसंस्कृतिसँग सम्बन्ध राख्ने यस्ता उदाहरण धेरै छन्।

आज पनि गुरुकुल शिक्षा, संस्कृत पाठशाला सञ्चालन गर्न सम्भव छ ?
गुरु नयराज पन्तका छोरा र अरू चेलाहरूले चाहे भने संस्कृत पाठशाला चल्थ्यो र आज पनि चल्छ। उहाँका छोरा महेशराज पन्तले चाहेको भए संशोधन मण्डल र पूर्णिमा पत्रिका जस्तै पाठशाला पनि चल्दथ्यो। पाठशाला चलाउँदा खट्नु भने पर्छ। दिनरात भन्न पाइँदैन, त्यसैले संस्कृत पाठशालाप्रति मानिसको आकर्षण भएन। मलाई यो विषय सधैं खड्किरहन्छ।

काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा प्रस्तरका गाई र बाच्छाका मूर्तिहरू कुन प्रयोजनले बनाइएका होलान् ?
वेदमा गौ पूजन र गौ धनको बारेमा प्रशस्त वर्णन छ। मल्लकालमा उपत्यकामा विभिन्न ठाउँमा गाईलाई चर्न गौचरण छोडिन्थ्यो। बिडम्बना आज गौचरणहरू मासिँदै गए। गाईको उपासना गर्ने चलन सत्रौं शताब्दीसम्म पनि बिर्सिइसकेको थिएन। मखन टोलमा बस्ने एक व्यक्तिले स्वयम्भूनजिकै आजको छाउनीको चउरसँगै गोग्रास (गाईलाई घाँस खुवाउन) का लागि गौचर दान दिएको वर्णनसानो शिलापत्र अहिले पनि पाटन संग्रहालयमा सुरक्षित छ। त्यो शिलापत्रको शिरोभागमा अंशुवर्माले  कामदोही भनेर नाम राखेको बाछोसहितको बहुह्री गाईको मूर्ति चित्रित गरी शिवलिंगसँग गाईको सम्बन्ध देखाइएको छ। तर बहुह्री गाईलाई पूजा गर्ने पुरानो चलनको शैवधर्मसँग कुनै सम्बन्ध थिएन। बाच्छा, बाच्छीसहितको बहुह्री गाईको प्राचीन प्रस्तर मूर्ति उपत्यकामा धेरै ठाउँमा पाइएका छन्। ती मूर्तिहरू मन्दिर वरिपरी राखिनुको सट्टा गाई चराउन भनेर आफूले दान गरेको गौचरणको आसपासमा राखिएका थिए। गौचरण मासिँदै गएकाले अचेल धेरैजसो बहुह्री गाईका मूर्तिहरू खुला रूपमा सडक छेउछाउ असुरक्षित रहेको देखिन्छ। यसबारे विस्तृत अध्ययन गर्न बाँकी छ। संस्कृत परम्पराको आगमनपछि बहुह्री कामदोहीका रूपमा जमीनभित्रको देवता शिवलिंगको रूपमा परिवर्तित भयो। गोपाल राज वंशावलीमा वर्णित बहुह्री गाई र पशुपतिको कथा बन्यो।

प्राचीन मूर्तिहरूको संरक्षण कसरी गर्न सकिन्छ ?
हाम्रो प्राचीन परम्परामा मूर्ति पूजनसँग संरक्षण गर्ने पद्दति पनि जोडिएको छ। प्राचीन कालका शिवलिंगमा धातुको कोश, गरुडासनमूर्तिमा कबच चढाएर धर्म र मूर्तिको संरक्षण दुवै कार्य सम्पन्न गरिन्थ्यो। शिवपुरीको फेदमा अवस्थित विष्णुको शयन मूर्तिलाई धातुको कवचद्वारा संरक्षण गर्न सकिन्छ। धेरै कलाकृति विभिन्न माध्यमबाट विदेशमा पुगेका छन्। विभिन्न संग्रहालय, व्यक्तिहरूको घर र रेष्टुराँहरू नेपाली मूर्ति र पौवा चित्रहरूद्वारा सजिएका छन्। चोरिएर विदेश पुगेका कलाकृति आफ्नो भनेर कुनै पनि देशले प्रमाणसहित दाबी गर्न सक्छ। यसका लागि अन्तर्राष्ट्रिय नियम कानुन नै छ। तर प्रमाण पेश गर्न सकिएन भने ती सामानमा हकदाबी चल्दैन।

हाम्रो देशका कलाकृतिको प्रमाण पुगेका फोटोहरू भएका विभिन्न सामग्री विदेशबाट फर्किएका छन्। स्थानीय व्यक्तिहरू नै आफ्ना क्षेत्रका मूर्त, अमूर्त सम्पदा संरक्षणमा लाग्नुपर्छ। यी सम्पत्ति हुन्। नेपालमा नयाँ पुस्ताका केही कलाकार धातुको प्रयोगले पातलो कवचहरू र मूर्तिहरू बनाउन सक्छन्। बुढानिलकण्ठको शयन विष्णुको मूर्ति संरक्षण गर्न त्यस्तै धातुको कवच तयार गरेर चढाएमा यसले प्रस्तर मूर्तिलाई जोगाउँछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.