बाई बाई सानुबा
अहिलेसम्म बाँचेको छु तर अब जिन्दगीसित कुनै गुनासो छैन, किमो लगाएपछि साह्रै पीडा हुन्छ अरे ! घरभित्र र बाहिर गर्न सके अनि दिसा–पिसाब आफैं गर्न सक्ने भए पुग्छ।
सर्पले टोकेर भरतपुर अस्पतालको मेडिकल वार्डमा भर्ना भएको थिएँ। २०५६ साउन १९ को रात मेरो उपचार हुँदै थियो। एक मनमा बाँच्नै पाउँदिनँ कि भन्ने डर पसेको थियो भने अर्को मनले भन्थ्यो, ‘मलाई सानुबाले जसरी पनि बचाउनुहुन्छ।’ अर्धचेतन अवस्थामा थिएँ सायद, सानुबा, सानुबा मात्र भनिरहँदो रहेछु। हो, उहाँले मलाई बचाउनुभयो। आज यो हैसियतसम्म आइपुग्नुको प्रेरणा, साहस र आशीर्वाद सबै उहाँको हो। सानुबा, बाको ठूलो कान्छो भाइ विश्वराज पौडेल। सर्पदंशको उपचारपछि घर फर्किएँ।
सानुबा त्यतिखेर चितवनमा गाविस उपाध्यक्ष हुनुहुन्थ्यो। अस्पतालबाट आएको भोलिपल्ट कार्यालयमा उहाँलाई कसैले ‘सर्पले टोकेको मान्छे घर आएर गोबर टेकेछ, उत्ति नै बेला उसको मृत्यु भयो रे’ भनेछ। सानुबा त तुरुन्तै घर आउनुभयो र मलाई खाटबाट तल नझर्न भन्नुभयो। त्यतिबेला त कुरै बुझिनँ, पछि मात्र थाहा पाएँ। मप्रति उहाँको माया। अलि वर्ष पहिले एसएलसी दिने बेला मलाई टाइफाइड भयो। सानुबाले साइकलमा राखेर भरतपुर जचाउन लैजानुभयो। बाटोमा एक जना दाइले मलाई यसरी गाली गर्नुभयो कि सानुबाले ‘बाबु, यो बिरामी छ र जचाउन लिएर आएको, नत्र किन मलाई साइकल चलाउन दिन्थ्यो र !’ भनेको कहिल्यै बिर्सन्नँ म।
२०७५ सालको कुरो हो, परीक्षण गर्दा उहाँको फोक्सोमा सानो दाग देखियो। क्यान्सरको आशंका गरी दुई दिनपछि दिल्लीस्थित राजीव गान्धी मेमोरियल क्यान्सर अस्पताल लैजाने सल्लाह भयो। अन्तर्राष्ट्रिय विमानस्थलमा ह्वीलचेयरमा राखेर उहाँलाई भित्र ल्याउँदै गर्दा मैले ‘सानुबा, म कहिले आऊँ’ भनेर सोधें। ‘तिम्रो व्यवसायको काम मिलाएर आऊ। उपचार प्रक्रिया लामो होला’, उहाँले भन्नुभयो। ‘यस्तो अवस्थामा कसरी यता बसेर काम गर्न सकुँला र ?’ मैले भनें। ‘घरसल्लाह गरी एक महिना बस्ने गरी आऊ’, उहाँले भन्नुभयो। भनें, ‘हवस्, जति बस्नु परे पनि चाँडै आउँछु।’ सानुबालाई भाइ र ज्वाइँको साथमा बिदाइ गरियो।
मनले भन्थ्यो, ‘मलाई सानुबाले जसरी पनि बचाउनुहुन्छ।’ अर्धचेतन अवस्थामा थिएँ सायद, सानुबा, सानुबा मात्र भनिरहँदो रहेछु। हो, उहाँले मलाई बचाउनुभयो। आज यो हैसियतसम्म आइपुग्नुको प्रेरणा, साहस र आशीर्वाद सबै उहाँको हो। सानुबा, बाको ठूलो कान्छो भाइ विश्वराज पौडेल। सर्पदंशको उपचारपछि घर फर्किएँ।
उता उपचार ठीकैसँग सुरु भएको जानकारी पाएको थिएँ। तीन दिनपछि अचानक ज्वाइँले फोन गरेर सबैजना जतिसक्दो चाँडो आउनू भनेर खबर गर्नुभयो। सबै व्यवस्था मिलाएर दिउँसो ४ बजे सानुआमा, बहिनी, कान्छो भाइ र म दिल्ली उड्यौं। सानुबाको आईसीयूमा राखेर उपचार हुँदैरहेछ। साँझ भेटघाट नभए पनि बाहिरबाटै अनुहार हेर्न पाऊँ भनी अनुरोध गरें। सानुबाले हातले इसारा गरेर बोलाउनुभयो। सुरक्षा निकै कडा रहेछ। सजिलै भित्र जान दिएन, भित्रबाट बोलाउनुभएको छ भनेपछि एक मिनेटका लागि भेट्न दिइयो। भोलिपल्ट फोक्सोबाट केही पानी निकालेपछि उहाँलाई वार्डमा सारियो। सानुबा अब कुरा गर्न सक्ने हुनुभयो।
अस्पताल व्यवस्थापन साह्रै राम्रो लागेको थियो। नेपाली धेरै भेटिने रहेछन्। अस्पतालले प्रचार सामग्री नेपाली भाषामा समेत छापेको रहेछ। अस्पतालका सबै विभागीय प्रमुख आएर प्रत्येक दिन समस्या छ कि छैन भनेर बुझ्ने, चेकजाँच गर्ने रहेछन्। अस्पतालमा राति एक मात्र कुरुवा बस्न पाइनेरहेछ। तर हामी भने सानुबाबाहेक छ जना भयौं। क्यान्सर अस्पताल भएकाले वरिपरि घरमा बस्न दैनिक भाडा दरमा कोठा पाइनेरहेछ। साँझ कोठामै खाना खाएर पालैपालो कुरुवा बस्ने गथ्र्यौं। मलाई उहाँसितै बस्न मन थियो। उहाँको पनि चाहना त्यस्तै थियो। खाना खाने बेला भाइ सन्तोषलाई बोलाइदेऊ भन्नुहुन्थ्यो। ज्वाइँ र भाइलाई ओखती लिन र डाक्टरसित सल्लाह गर्न पठाउनु हुन्थ्यो।
सानुबाका लागि रातमा कुरुवा मै बस्न पाए हुन्थ्यो भन्ने लाग्थ्योे। उहाँले पनि राति मैलाई बोलाउनुहुन्थ्यो। पिसाब फेराइदिएपछि पानी पिउनुहुन्थ्यो। सुताइदिन खोज्दा एकछिन गफ गरौं न भन्नुहुन्थ्यो। उहाँको कुरा सुन्न आतुुर हुन्थें। उहाँले भन्नुभयो, ‘बाबु ! दाइहरू र भाइ चाँडै बिते। म अहिलेसम्म बाँचेको छु तर अब जिन्दगीसित कुनै गुनासो छैन, किमो लगाएर कपाल झार्न मन छैन। किमो लगाएपछि साह्रै पीडा हुन्छ अरे ! बीपी कोइरालाको आत्मवृत्तान्तमा पनि पढेको छु। घरभित्र र बाहिर गर्न सके अनि दिसा–पिसाब आफैं गर्न सक्ने भए पुग्छ।’ उहाँको कुरा सुनेर माया र व्यवहारले मरेतुल्य हुन्थें।
सानुबाको फोक्सोमा देखिएको दाग छिट्छिटो फैलियो। दुखाई कम गने कडाभन्दा कडा खालका औषधि प्रयोग हुन थाले। पहिला मुखबाट खाने ८ घण्टा, ६ घण्टा, ४ घण्टाका औषधि हुँदै सुई प्रयोग हुन थाले। अस्पतालले अब उपचारको प्रक्रिया हुँदैन, घर लैजान दबाब दियो। सानुबा औषधिले काम गर्दा केहीबेर गफ गर्न सक्ने हुनुहुन्थ्यो। अरू बेलामा सुतेको सुत्यै। एक दिन अस्पतालको बिरामी कुरुवा कोठामा सुतेको थिएँ। ज्वाइँ माथि सानुबासँगै हुनुहुन्थ्यो। राति २ः३० बजेतिर ज्वाइँको फोन आयो। म आत्तिँदै वार्डमा पुगें। सानुबाले मलाई खोजिरहनुभएको रहेछ। ज्वाइँले ‘आज दाइलाई सुत्न दिऊँ न’ भन्दा पनि सानुबाले मान्नु भएन। उहाँले भन्नुभयो, ‘उसको बारेमा मलाई जति कसलाई थाहा छ ? उसको राम्रो बानी के भने ऊ एक फेर ब्युँझेपछि फेरि सुताइलाई निरन्तरता दिनसक्छ। हजुर जानुहोस् बाबु, पुष्प यहीँ सुत्छ।’ म पनि खुसी भएँ। वास्तवमा ज्वाइँको अनुरोध पूरा गर्न मात्र कुरुवा कोठामा सुत्न गएको थिएँ।
अब सानुबालाई सबैको सल्लाहले नेपालै फर्काउने कुरा भयो। उताका डाक्टरले नेपालकै डाक्टरसित उपचार गर्न भनेका थिए। हामी एयर एम्बुलेन्सको खोजीमा लाग्यौं। तर त्यो त भारतभित्रका लागि मात्रै रहेछ। नेपाल ल्याउन त प्रक्रिया नै १५ दिनजति लाग्दोरहेछ। त्यो पनि इन्डियाको सीमासम्म मात्र आउने रहेछ। नेपालमा भएका अस्पतालमार्फत कुरा गर्दा पनि त्यही मात्र हुने भनियो। एम्बुलेन्सको खोजीमा बिचौलियामार्फत सम्पर्क गर्दागर्दै चार दिन बित्यो। एक जना अस्पतालको प्रशासकमार्फत एयर इन्डिया र जेट एयरमा आईसीयूसहितको मेडिकल टिमले बिरामी लैजाने गरेको थाहा भयो। चौथो दिन लगभग हाम्रो यात्रा तय भयो।
बैंक खातामा पैसा थियो तर सीमित मात्र निकाल्न मिल्ने। तर बिचौलियालाई नगद नै चाहिने। केही त भाइ सन्तोषले व्यवस्था मिलायो। ऊ बिचौलियासित गएपछि लामो समयसम्म सम्पर्कविहीन भयो। भाइ पनि आउँदैन, कुनै टुंगो लाग्दैन। समस्यामाथि समस्या थपियो। लामो पर्खाइ र छटपटीपछि बल्ल फोन लाग्यो भाइको। ‘काम भयो दाइ’ भनेपछि ढुक्क भयाौं। कडा औषधिको प्रभावले धेरै समय सुतिरहनुहुन्थ्यो, सानुबा। होस आएका बेला मलाई के खायौ, कस्तो खायौ, निद्रा पुगेको छ कि छैन भनेर सोध्नुहुन्थ्यो। ‘मलाई अलि सहज भएपछि दिल्ली घुम्न जाउँला ल’ भन्नुहुन्थ्यो।
नेपाल आउने बेला सानुबाले ‘बाबु ! तिमी यता बस। भाइ र ज्वाइँ उता बस्छन्’ भनेर सिट पनि मिलाउनुभयो। तर एयर इन्डियाको त्यस विमानमा मेडिकल टोलीसित बिरामी र एक जना कुरुवा मात्र आउन मिल्नेरहेछ। सानुबालाई एम्बुलेन्समा राखिरहँदा उहाँसँगै बसें। तर सँगै आउन मिलेन। मलाई खोजिरहनुभएको थियो। अन्तिमपटक नचाहेरै झुट बोलें, सँगै छु भनेर। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओम अस्पतालको मेडिकल टिम गएपछि भारतीय मेडिकल टिमले बिरामी हस्तान्तरणको प्रक्रिया मिलाएछन्। सानुबालाई विमानस्थलबाट सोझै ओम अस्पतालमा लगेर राखियो। हामी भने पर्सिपल्ट बिहान मात्र काठमाडौं फर्कियौं। सानुबाकोे तीन दिनको उपचार ओम अस्पतालमा गरेपछि पुनः ललितपुरको नेपाल क्यान्सर अस्पतालमा लैजाने सल्लाह भयो। त्यहाँको डाक्टरको टिमले समय नै तोकिदियो।
सानुबा बोलाउँदा बोल्नुहुन्थ्यो। आँखा हेर्नुहुन्थ्यो। लाग्थ्यो– साह्रै पीडा भएको छ। तर फागुन ९ गते बिहान डाक्टरको टिमले ‘अबको केही घण्टा होला, हजुरहरू कतै जानुपर्दैन। जति हुनुहुन्छ, वरिपरि रहनोस्।’ उहाँका अचेत आँखाले केही खोजेजस्तो लाग्थ्यो। फागुन १० गते साँझ सानुबाले सबैलाई छाडेर जानुभयो। क्यान्सरले हामीलाई साँच्चिकै टुहुरो बनायो। बालाई मज्जाले स्याहार्नै पनि पाइएन। सानुबाले हाम्रा लागि भने कुनै कमी हुन दिनुभएन तर चाहेजसरी स्याहार्न पाएनौं। फोक्सोका दागले २३ दिनमै उहाँलाई सिध्यायो।