साझा पत्नीको कथा ‘द्रौपदी अवशेष’

साझा पत्नीको कथा ‘द्रौपदी अवशेष’

सर्जकका लागि परीक्षा भनेकै पाठकको चित्ता बुझाउनु हो। पुस्तक पाठकसामु पुग्नेबित्तिाकै परिणाम आउँछ भन्ने पनि छैन, वर्षौं पर्खनु पर्दछ। अग्रज साहित्यकार डायमण्ड शमशेरले भन्नुभएको थियो– ‘वर्षौं पनि लाग्न सक्छ। सेतो बाघका लागि १० वर्ष पर्खिनु परेको थियो।’ परिणामअघि प्रयास गर्ने भनेकै सर्जक हो। मदन पुरस्कार पाएर पाठकमाझ स्थापित भइसकेकी लेखिका नीलम कार्की निहारिकाले हालै पाठकसामु ल्याएको पृथक विषयको उपन्यास हो, द्रौपदी अवशेष। यसै सेरोफेरोमा रहेर अन्नपूर्णकर्मी गोपीकृष्ण ढुंगानाले गरेको कुराकानी :


मदन पुरस्कार पाएको चार बर्षपछि नयाँ उपन्यास आयो। विषय चुनौतिपूर्ण थियो कि ?

पुरस्कार प्राप्त गरेपश्चात या अरू समय जति बेला पनि नयाँ सिर्जना पाठकलाई पठाउनु भनेको एक हिसाबले चुनौति नै हो। तर त्यो पनि अरूका निम्ति नभएर आफ्नै लागि। पुस्तक प्रकाशित भएर पसलमा पुग्नु भनेको हरेक सर्जकका लागि परीक्षाको उत्तरपुस्तिका बुझाउनु जत्तिकै हो। जति नै राम्रो गरे भने पनि त्यसको नतिजा बाहिर नआउँदासम्म वास्तविक प्राप्तांक थाहा हुँदैन। परीक्षा नियन्त्रक कार्यालयले स्कुल कलेजले हामीले दिएको परीक्षाको नतिजा प्रकाशन गर्छन् भने सिर्जनाको निम्ति पाठक समालोचक नै मुख्य कार्यालय हो। उहाँहरूबाट लेखनको मूल्यांकन हुन्छ।

नतिजा पाउनु भयो त ? कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
यति छिटो पूर्ण रूपमा परिणाम कहाँ आउँछ र ? तर आउने क्रम जारी छ। एक भेटमा मसँग अग्रज साहित्यकार डाइमण्ड शमशेरले भन्नुभएको थियो– ‘वर्षौं पनि लाग्न सक्छ। सेतो बाघका लागि १० वर्ष पर्खिनु परेको थियो।’ पाठक र लेखक जोड्ने काम सामाजिक सञ्जालले छिटोछरितो गराएको हुँदा थाहा पाउन पहिलाको जस्तो अबस्था छैन। 

तर पढ्ने मूल्यांकन गर्ने काम भइरहेको हुन्छ। तर एक हिसाबले बिहानबाट दिनको अड्कल गर्नेसम्मको नतिजा आएको छ। त्यसले मैले पाठकलाई निराश बनाएको छैन भन्नेसम्मको निश्चिन्तता दिएको छ। त्यसकारण मन शान्त पनि भएको छ। मेरो लेखनले क्रमिक भर्‍याङ चढ्ने गरेको छ भन्ने सुन्दा अब अर्को लेखनको निम्ति थप उत्साहित पनि छु।

अनुसन्धानमा आधारित पुस्तक नै किन ?
यसको मजा नै छुट्टै छ। खासगरि पाठकका लागि। नयाँ विषयको प्रस्फुटन हुन्छ। विषयको गहिराई पाइन्छ। शोध खोज अनुसन्धान थोरै धेरै हरेक सिर्जनामा हुन्छ। कुनैमा धेरै हुन्छ कुनैमा केही मात्र। कुनै विषयमा शून्यबाटै खोज सुरु गर्नुपर्छ। कुनैमा अलि अलि गरे पनि पुग्छ।

योगमाया र द्रोपदी अवशेष कुनको अनुसन्धान सहज भयो ?
योगमाया पाउँदा सामग्री पाउन निकै मिहिनेत गर्नु परेको थियो। कति कुरा आफूले खोजेर प्रमाणित गर्नुपर्ने अबस्था पनि थियो। तथ्य जुटाउन धेरै ठाउँमा पुग्नु पर्‍यो। योगमाया मेरो जन्मभन्दा धेरै अघिको इतिहास भइसकेको विषय थियो। मेटिन लागेको कुरा जुटाउन गाह्रो थियो। 

त्यसकारण समय र श्रम धेरै खर्चनु परेको थियो। द्रोपदी अवशेष–लेख्दाको अनुभब अलि फरक रह्यो। यो कथा अर्थात् विषय बर्तमान हो। लोपोन्मुख त हो तर जिउँदो संस्कृति हो। सामग्री भेला पार्न निकै सहज भयो। सम्बधित भूगोल र रीतिरिवाज, संस्कार दैनिक जीबनयापन सम्बन्ध श्रब्य–दृश्य सामग्री पनि जुटाउन मुस्किल भएन।

एक महिलाले एकभन्दा बढी पुरुष (लोग्नेका सबै दाजुभाइ) सँग बिबाह गर्ने चलन छ। अर्थात् साझा पत्नीको धारणा आयो, व्यबहारमा लागू भयो। एक एक पत्नी बिबाह गर्दा जनसंख्या अर्थात् खाने मुख बढ्ने हुँदा त्यसको नियन्त्रणकै निम्ति यसरी एक पत्नी बिबाह गर्ने चलन बसेको देखिन्छ। पछि संस्कृतिको रूप लियो।

टाढाबाट विज्ञान–प्रबिधिको प्रयोग गरेर स्रोतब्यक्तिहरूसँग कुरा गर्न पनि सकियो। खोज अनुसन्धानका निम्ति प्राथमिक या द्वितीय तथ्यांक दुवैलाई सहज थियो त्यसैले उपन्यासलाई पूर्णता दिन पनि छिटो भयो। कम समय लाग्यो। लेखनको कुरा गर्दा भाषा भाषिकागत हिसाबले दुवै अलि कठिन हो। म पाल्पामा हुर्किएको मान्छे। योगमायामा पूर्बी पहाडमा बोलिने भाषा अनि द्रौपदी अबशेष कर्णालीको भाषा भाषिका लवजमा काम गर्न निकै नै कसरत गर्नु पर्‍यो। तर मैले लेखिरहँदा निकै आनन्दित पनि भए। भूगोल क्षेत्रफलको हिसाबले  सानो देशमा गनिएर पनि मुलुकमा कति सांस्कृतिक बिबिधता छ।

हो, छिट्टै लेख्नुभयो ? अझ समय लगाएर लेखेको भए धेरै कुरा आउँथ्यो कि ?
लाग्दैन। मैले जति समय लाए पनि लेख्ने यत्ति नै थियो। अध्ययन पूरा भएको छैन, सामग्री अपुग छ भन्ने लागेको भए उपन्यासको मैजारो गर्ने नै थिइनँ। यसअघि ऐतिहासिक उपन्यास लेख्दै थिएँ। तर कोरोना महामारीका कारण खोज स्थलगत मुलुक अध्ययन सम्भब भएन र लेखन थाँती राखें। यो उपन्यासका लागि पनि त्यो स्थिति हुन्थ्यो भने थाँती राख्ने थिएँ। के कति लेख्ने, विषयमा कहाँसम्म पुग्ने भन्ने एउटा सीमा निर्धारण गरेकी थिएँ। त्यो सीमासम्म हिँड्ने बाटो प्रशस्त बनाएँ र त्यहीसम्मको यात्रा गरें। त्यहाँसम्म पुगेर बिसाएँ।

बहुपति प्रथालाई यहाँले कुरीति मान्नु हुन्छ ?
चालचलन ब्यबहारले लामो समयको निरन्तरताले संस्कृतिको रूप लिन्छ। भौगोलिक आर्थिक कारणले अभाबग्रस्त स्थानमा जीबन बाँच्ने उपाय खोज्दा बहुपति अर्थात् एक महिलाले एकभन्दा बढी पुरुष (लोग्नेका सबै दाजुभाइ) सँग बिबाह गर्ने चलन छ। अर्थात् साझा पत्नीको धारणा आयो, व्यबहारमा लागू भयो। 

एक एक पत्नी बिबाह गर्दा जनसंख्या अर्थात् खाने मुख बढ्ने हुँदा त्यसको नियन्त्रणकै निम्ति यसरी एक पत्नी बिबाह गर्ने चलन बसेको देखिन्छ। पछि संस्कृतिको रूप लियो। कुनै समाजको बिद्यमान संस्कृतिलाई अर्को समाजको ब्यक्तिले नराम्रो भन्ने अधिकार हुँदैन। म एक सर्जक हुँ। मेरा पनि सीमा हुन्छन् त्यस सीमाभित्र रहेर सिर्जना गर्ने हो। सामाजिक यथार्थमा उभिएर लेखिएको संस्कृति उपन्यास हो। सबै पाटाहरू यथार्थ रूपमा आएका छन्।

महाभारतको द्रौपदीसँग यो विषयवस्तु कतिको मिल्छ ?
द्रौपदीको पाँच पाण्डबसँग बिबाह भएजस्तै यहाँ पनि लोग्नेका दाजुभाइसँग विबाह हुने विषय आउँछ। एउटै दाजुभाइसँग विबाह हुनेलाई प्रतीकात्मक रूपमा भनिएको भए पनि जसले नेपालमा यो संस्कार प्रयोग गरिराख्नु भएको छ उहाँहरू महाभारतदेखि नै अनभिज्ञ हुनुहुन्छ। द्रौपदीबारे उहाँहरूलाई थाहा छैन। हाम्रो नेपालमा यो विवाह पद्दतिलाई द्रौपदी विबाह पद्दति मान्दै आइएको छ। 

जसरी सति प्रथालाई भगवान् शिब र सति देबीको कथासँग जोडेर विश्लेषण गरिएको देखिन्छ, युद्धका कारण तथ्यपरक बिबेचना गरिन्छ। त्यस्तै जिउँदै स्वर्ग हिँडेको भूमि महाभारत श्रृंखलासँग जोडेर द्वापरयुगकै द्रौपदी विबाहसँग जोडेर व्याख्या नभएका पनि होइनन्। तर नेपालको उच्च हिमाली भेगमा भएको यो प्रथालाई अध्ययन गर्दा माथि नै भनिएको आर्थिक पक्ष बलियो गरी उभिएको छ।

पछिल्लो समय इतिहास र संस्कृतिमा बढी केन्द्रित हुनु भएको छ नि ?
देशको भूगोल, संस्कृति र इतिहाससँग हामी परिचित हुन जरुरी छ। हामीकहाँ विषयगत रूपमा भन्दा इतिहास र भूगोललाई त्यत्ति महत्त्वका साथ हेर्न सकेनौं। छैनभन्दा सिंगो संस्कृति मन्त्रालय नै छ क्यार ! त्यस क्षेत्रमा के भएका छन्, म जानकार छैन। हाम्रो घरको आँगन कहाँसम्म पुग्छ छिमेकीको कहाँसम्म हाम्रो सिमाना पर्छ। 

त्यो भने जान्न जरुरी भएजस्तै हामी प्रत्येक नेपालीलाई आफ्नो भूगोल आफ्नो सीमा जान्नु पर्छ। हामी एउटा घडेरी किन्यौं भने एक भित्ता सीमा मिचिएला खुम्चिएला भनेर बलियो पर्खाल लाउन नत्र किला नै गाड्न हतारिएका हुन्छौं। तर, देशको सीमासँग अनभिज्ञ छौं। त्यस्तै हामीलाई हाम्रै इतिहासको पनि पत्तो छैन। 

बहुभाषिक बहुसंस्कृतिको धनी देशका हामी हाम्रा संस्कृति नै हामीलाई बुझाइएको छैन। हाम्रो साँचो इतिहास पढाइएको छैन। पाठ्यकम यतै कतै चुकेको छ। आफू स्व:स्फूर्त अध्ययन गरुँभन्दा पनि प्रशस्त सामग्री छैन। यो जगेर्नामा राज्यको मुख नताकेर हामी कलम समाएकाहरूले जति सकिन्छ लिपिबद्ध गर्दै जानुपर्छ भन्ने लाग्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.