पत्थरु युङले, लुङाबा फुङले
पहाडी भूगोलमा आवाद याक्थुङ लिम्बू जातिको मौलिक सामाजिक तथा सांस्कृतिक जीवन बचाइको कोलाज पनि उपन्यासकारले यस कृतिमा टड्कारो रूपमा उतारेका छन्। उपन्यासकारले मानिसले जतिसुकै प्रतिरोधी संघर्ष गरे पनि प्रकृतिको लयमा लयबद्घ हुनु अपरिहार्य भएको सन्देश दिएका छन्।
नेपाली साहित्य जगत्का चिरपरिचित साहित्यकार पदमसिंह सुब्बा ‘अपतन’ लिखित ‘थःत्थामा’ लिम्बू भाषाको प्रथम उपन्यास हो । यो याक्थुङ लिम्बू भाषामा लिखित पहिलो मार्मिक एवम् नारीप्रधान उपन्यास पनि हो । यो कृति खाँटीयाक्थुङ लिम्बू सामाजिक परिवेशमा आधारित भएर लेखिएको मनोसामाजिक उपन्यास हो । यो उपन्यास सन् १९८४ सालमा प्रकाशित भएको हो ।
नेपालमा त्रिभुवन विश्वविद्यालय स्थापनापूर्व महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाटककार बालकृष्ण समहरूको पुस्ताले उच्च शिक्षाको पाठ्यसामग्रीको परिपूर्ति हेतु कृतिहरू रचना गरे जसरी नै उच्च शिक्षामा लिम्बू भाषामा शिक्षा प्रदान गर्न पाठ्यसामग्री तयार गर्नुपर्ने समय सन्दर्भमा थःत्थामा उपन्यास रचिएको लेखकीय साबिती पाइन्छ ।
अच्छादित प्राकृतिक वातावरण, परम्परागत कृषिमा धानिएको जीवन पद्धति, हाट बजार र बिहे बटुलोमा अन्तरघुलित हुने सरल समाज र रोजगारीका लागि मुग्लान लाहुर जानुपर्ने यथार्थता यस उपन्यासको सामाजिक परिवेशमा नायक मनहाङ र नायिका नुनामफुङको जीवन भोगाइलाई केन्द्रबिन्दु बनाएर यो उपन्यास सिर्जना भएको छ।सन् १९४० को दशकको उत्तरार्धमा तत्कालीन सिक्किम हिमाली राज्यमा नेपाली भाषालाई राज्य भाषा मान्यता दिलाउन अगमसिंह तामाङ, पदमसिंह सुब्बा, तुलसीबहादुर क्षेत्री र निमावाङ्दी तारगेनले आआफ्नो नामको पहिलो अक्षरबाट आपतन शब्द संयोजन गरी अपतन साहित्य अभियान भूमिगत रूपमा सञ्चालन गर्ने एक प्रमुख अभियनता पदमसिंह सुब्बाले लिम्बू साहित्यमा पदमसिंह मुरिङ्ला उपनाले कलम चलाए । नेपाली र लिम्बू दुवै भाषामा साहित्य रचना गरेका सुब्बाको पुस्तकाकार रूपमा प्रकाशित सिर्जनात्मक कृति थःत्थामा एक मात्र हो ।
थःत्थामा उपन्यास कथावस्तुका हिसाबले याक्थुङ लिम्बू समाजको सर्वसाधारणको जीवन भोगाइमा केन्द्रित छ । यसका मुख्य नायक मनहाङ र नायिका नुनामफुङ हाट बजारमा साथीहरूसँग भेट हुन्छन्, धान नाच्छन्, लामो सयम प्रेमसम्बन्धमा रहन्छन् र परम्परागत संस्कृतिअनुसारको विवाहबन्धनमा बाँधिन्छन् । समयक्रममा प्रेमको उपहारका रूपमा छोरो पाहाङ जन्मिन्छ ।
पारिवारिक आर्थिक सबलताका लागि नाबालक छोरो र जीवन संगिनीलाई छोडेर मनहाङ लाहुर जान्छन् । शिक्षाको महतवा बुझेकी नुनामफुङले यता छोरो विद्यालय पढ्न पठाउँछन् तर विद्यालयबाट फर्कने क्रममा आँधीहुरीमा परेर गम्भीर बिमारी पर्छन् र मर्छन् । यही समयमा लडाइँमा परेर मनहाङ पनि सहिद भएको धागोले बाँधेको चिठी नुनामफुङको हातमा पर्छ । छोरो पाहाङ र जीवनसखा नामहाङको बराखीसँगै
हुन्छ । अब नुनामफुङको सुन्दर पारिवारिक संसार उजाड बन्छ । नुनामफुङ मर्माहत हुन्छिन्, मानसिक सन्तुलन गुमाउँछिन् र उनी थःत्थामा अर्थात् पागल बन्छिन् ।
फ्लासबेक शैलीमा लेखिएको यो उपन्यासकी नायिका नुनामफुङ छोरो र श्रीमान्सँगको वियोगले मानसिक सन्तुलन गुमाएपछि एउटा कुम्लो बोकेर गाउँ सहर चहार्दाचहार्दै एकदिन छोरोको चिहान हेरेर घर फर्किएलगत्तै उनको इहलीला समाप्त हुन्छ । त्यो कुम्लो खोलेर हेर्दा छोरोको लुगाहरू, जीवनसखाले पल्टनबाट पठाएका चिठीहरू, उनै मनहाङसँग बजारमा भेटेर खिचेको तस्बिर, विवाह लगनमा दिइएको युप्पारुङ (चाँदीको सिक्का) अर्थात् सांस्कृतिक र आत्मिक चिनोहरू थिए त्यहाँ जसलाई नुनामफुङ् आफ्नो जीवनभन्दा बढी प्रेम गर्थिन्।पात्र विधानका हिसाबले यो उपन्यासमा नायक र नायिकाका बुवाआमा, नातागोता र खलपात्रहरू सुदूर दुर्गम भेगका पात्रका रूपमा आआफ्नो भूमिकामा क्रियाशील रहेका छन् । याक्थुङ समाजमा सामाजिक, सांस्कृतिक प्रचलन र संस्कारहरूमा तुम्म्याङ प्रणालीले नियमन गरेको देखिन्छ । यद्यपि ती सरल पात्रहरू भलो भोला सर्वसाधारण हुन् जसको यस दुनियाँमा त्यस्तो कुनै निर्णायक भूमिका छैन । नुनामफुङ र मनहाङको सुखद–जीवन–यशमा परेको बज्रपातलाई खलनायकको रूपमा प्रस्तुत भएको छ, यस उपन्यासमा । उपन्यासकारले उनीहरूको सुन्दर संसारलाई खरानीमा बदल्ने ज्वालामुखी समयलाई खलनायक बनाएका छन् अनि समयका यिनै दुर्दान्त खेलहरूले परमसुन्दरी नुनामफुङलाई ‘थःत्थामा’ बनाएको छ । मानव र प्रकृतिबीचको द्वन्द्व यसमा मुखर भएको छ । प्रकृतिसँगको असैह्य द्वन्द्वको परिणामस्वरूप मुख्य पात्र नुनामफुङको संवेगात्म, भावनात्मक र मानसिक द्वन्द्वले पराकाष्टा रूप लियो र उनी मानसिक रूपमा नै असन्तुलित बन्छिन् र यसै कारणले उनको इहलीला अन्त्य हुन्छ ।
यस उपन्यासबाट उपन्यासकारले मानिसले जतिसुकै प्रतिरोधी संघर्ष गरे पनि प्रकृतिको लयमा लयबद्ध हुनु अपरिहार्य भएको सन्देश दिएका छन् । पहाडी भूगोलमा आवाद याक्थुङ लिम्बू जातिको मौलिक सामाजिक तथा सांस्कृतिक जीवन बचाइको कोलाज पनि उपन्यासकार सुब्बाले यस कृतिमा टड्कारो रूपमा उतारेका छन् । सामाजिक यथार्थता र महिला प्रधान याक्थुङ लिम्बू समाजमा आधारित यो उपन्यास सरल र सरस छ ।
यस उपन्यासमा याक्थुङ लिम्बू जातिको सामाजिक, सांस्कृतिक कथाव्यथा कुशलतापूर्वक उतारिनुका साथै नारी प्रधानता हुनुका कारण थःत्थामा चलचित्र बनाएकी निर्मात्री तथा नायिका शोभा खजुमका विचारमा उपन्यासको प्रमुख पात्रा नुनामफुङलाई उपन्यासकारले अत्यन्त सशक्त रूपमा चरित्रचित्रण गरेका छन्‒ साहसी, सबैकी प्यारी, सहयोगी, धैर्यशील अनि शैक्षिक चेतना भएको नारी पात्रका रूपमा ।
उपन्यासकार सुब्बाको लेखन शैलीका सम्बन्धमा प्राज्ञ बैरागी काइँला लेख्छन्ः पदमसिंह मुरिङ्ला हिन्दी साहित्यका गुलियारी र खस नेपाली साहित्यका गुरुप्रसाद मैनाली जस्तै लिम्बू साहित्यमा थोरै लेखेर जीवन्त (अमर) बनेका वरिष्ठ लिम्बू साहित्यकार हुन्।