उपचार नपाए रजहर जानू

उपचार नपाए रजहर जानू

रजहर (नवलपरासी) : कोरोना महामारीको पहिलो लहर त्रासदीपूर्ण थियो। चिकित्सकहरू स्वयं बिरामी हेर्न डराउँथे। नयाँ र विश्वव्यापी भाइरस भएकाले उपचार एवं पूर्वसावधानीबारे ज्ञान भइसकेको थिएन। एकाएक बिरामी ह्वात्तै बढे। सरकारले उपचार केन्द्र तोक्दै चिकित्सकहरूलाई सेवा दिन निर्देश गर्‍यो। 

नवलपरासीको मध्यबिन्दु जिल्ला अस्पतालले रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयलाई एउटा अस्थायी कोभिड अस्पताल बनायो। त्यसका निर्देशक डा. विनोद पौडेल सुरुमा आत्तिए। तर, हिम्मतका साथ उपचारमा खटिए। उनले प्राकृतिक विधिबाटै उपचार गर्ने, औषधि प्रयोगै नगर्ने अठोट लिए। आहार, विहार मिलाए। जटिल प्रकृतिका बिरामीसमेत सोचेभन्दा छिटो निको हुँदै गए। त्यसले उनमा थप हौसला बढ्यो। खुसीको कुरा, २०७७ जेठदेखि ८ महिनामा उक्त अस्पतालले ७ सय ८५ जना संक्रमितको उपचार गर्‍यो। सबैको सफलतापूर्वक। अर्थात् मृत्यु शून्य। 

प्राकृतिक चिकित्सालयमा औषधिको गोलीले होइन बोलीले निको बनाइन्छ।

उक्त अस्पतालमा ३ वर्षका बालकदेखि ८७ वर्षका ज्येष्ठ नागरिकसम्मले कोरोनाको उपचार सेवा लिए। मिर्गाैला डायलासिस गरिरहेका, मुटुको शल्यक्रिया भर्खर गरेकादेखि दम, मधुमेहका जटिल एवं दीर्घरोगीसमेत आए। कोही पनि सिकिस्त हुन पाएनन्। अस्पतालले उपचारदेखि खानासम्ममा कसैसँग सुको लिएन। सरदर प्रतिव्यक्ति १० हजार ५ सय रुपैयाँमा उपचार टुंग्यायो। 

आउनुहोस्, आजको शनिबार देशकै एउटा यस्तो उपचार केन्द्रको चर्चा गरौं, जुन स्वास्थ्य सफलतामा नमुना बन्दै आएको छ। 
०००

देवचुली-१३ का ८७ वर्षीय झविलाल खरेललाई मुटुको मात्रै समस्या थिएन। उच्च रक्तचाप र मधुमेहबाट पनि थलिएका उनको पाको शरीरले लागेकै रोग पनि थाम्नै मुस्किल थियो। त्यसैमाथि कोरोना संक्रमण थपियो। अन्य अस्पतालले उनको उपचार गर्न डराए, तर निको पारेर फर्काउने आँट गरे रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयका स्वास्थ्यकर्मीले। नभन्दै प्राकृतिक पद्धतिबाटै उनी संक्रमण मुक्त मात्रै भएनन्, अन्य रोग पनि कम हुँदै गयो। खरेल भन्छन्, ‘बाँच्दिनँ भन्ने लागेको थियो, बाँचेर फर्किएँ। नपत्याउने खोलाले बगाउँछ भन्थे, मान्छेले विश्वास नगर्ने अस्पतालले निको पार्‍यो।’

झविलाल यो अस्पलातमा उपचार गर्ने सबैभन्दा वृद्धमा पर्छन्। मध्यबिन्दु-३ अमन बोटेको उमेर तीन वर्षको मात्रै हो। उनलाई कोरोना संक्रमण भएको १५ दिनमा निको पारेर अस्पतालले परिवारको जिम्मा लगायो। यी दुई उमेरसमूहका प्रतिनिधि पात्र हुन्। यस्ता हजारौंले विश्वलाई त्राहीत्राही बनाएको कोरोना संक्रमणलाई प्राकृतिक उपचार गरेर नै आफूलाई मजबुत बनाए। 

बिरामी भए फार्मेसीको औषधि खाने। निको नभए अस्पताल जाने र त्यहाँ पनि पार नलागे मात्रै प्राकृतिक चिकित्सालय खोजेर समस्या देखाउने चलन नेपालीमा छ। जब समय र पैसा सकिन्छ अनि मात्रै प्राकृतिक उपचार खोजिन्छ। तर, यसरी जटिल अवस्थामा पनि बिरामीलाई प्राकृतिक उपचार पद्धतिबाट निको बनाएर घर फर्काएको उदाहरण केन्द्र बाहिर भए पनि नवलपुरको प्राकृतिक चिकित्सालय बन्यो। चर्चाभन्दा काममा रमाएको यो चिकित्सालयले यहाँ पुगेकालाई घाटमा होइन घर फर्काए। जुन गुन अस्पताल पुगेका बिरामीले जीवनभर भुल्न नसक्ने बताउँछन्। ‘त्यहाँ पुग्नसाथ चिकित्सकको कुराले ढुक्क बनायो। खानपान र व्यायामले निरोगी बनायो। उपचार पद्धति सामान्य भए पनि ठूलो रोग पराजित गरें,’ देवचुली-१२ की ५६ वर्षीया पवित्रा काफ्लेले भनिन्, ‘गेटबाट पस्दा सम्झिएको थिएँ, अब यहीँ बाटो मेरो शव त फर्कंदैन ?, तर त्यो अवस्था आएन।’

चिकित्सालयले आएका संक्रमितको मात्रै उपचार गरेन, कोरोना संक्रमण देखिएर आपत्मा परेकालाई पनि ल्याएर उपचार गरेर निको पार्‍यो। झापा पृथ्वीनगरकी संगीता राई आमालाई क्यान्सरको उपचारका लागि चितवन लिएर आएकी थिइन्। सोही समय आमाछोरी दुवै संक्रमित बने। अस्पतालले उपचार नगर्ने भन्यो। होटलमा बस्न नदिएपछि सडकमा पुगेका उनीहरूलाई चिकित्सालयले आफैं एम्बुलेन्स ल्याएर उपचार गरायो र निको पारेर घर फर्काएको थियो। ‘हामी त आपत्मा थियौं, चिकित्सालयबाट आएर धन्न उद्धार गर्नुभयो, अन्य अस्पतालको आइसोलेसन जस्तै होला भन्ने सोचेको त्यहाँ पुग्दा त स्वर्ग पुगेको आभाष भयो,’ संगीताले भनिन्। 

आफूले भ्याएसम्मको अस्पतालमा डुलेर निराश बनेर आउने बिरामीलाई सुरुमा नै निको हुने हौसला दिने र त्यसपछि प्राकृतिक जडीबुटीको सहायतामा उपचार गर्ने गरेको चिकित्सालयका निर्देशक डा. विनोद पौडेल बताउँछन्। ‘हामीले विश्वमा नै नभएको काम त गरेका होइनौं, रोगलाई प्राकृतिक पद्धतिबाटै उपचार गरेर निको परेको हो।’ उनले भने, ‘अहिलेको समयमा क्याप्सुल र सुईलाई उपचार मानिन्छ, विश्वास गरिन्छ, त्यो पनि कुनै रोगमा आवश्यक होला तर, धेरै रोग प्राकृतिक पद्धतिबाटै निको हुन्छ जुन हामीले प्रमाणित नै गरेर देखाएका छौं।’ कोरोना संक्रमणको पहिलो लहरबाटै उपचार सुरु गरेको यो चिकित्सालयले ८ महिनामा ७ सय ८५ जना संक्रमितको उपचार गरेर डिस्चार्ज गर्‍यो। 

अनि सुरु भयो कोरोनाको उपचार
२०७७ जेठ २४ मा चिकित्सालयमा अचानक खबर आयो,– ‘जिल्लामा तीन जनामा कोरोना संक्रमण पुष्टि भयो।’ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयलाई अस्थायी कोभिड–१९ अस्पताल बनाउने तयारी भर्खरै मात्रै चल्दै थियो। स्थानीय तहले संक्रमितलाई अस्पताल ल्याए। कोभिड अस्पतालको तयारीमा लागेका त्रसित भए। तर, चिकित्सालयका व्यवस्थापक र चिकित्सक हड्बडाएनन्। उनीहरूले संक्रमितमा आत्मबल थप्दै भने, ‘चिन्ता गर्नु पर्दैन हामी निको पारेर पठाउँछौं।’ चिकित्सालयका व्यवस्थापक हरिप्रसाद सापकोटा सो समयलाई सम्झँदै अहिले पनि भन्छन् ‘सुरुमा मानसिक रूपमा त्रास पैदा भयो, तर बिरामीलाई निको पार्दै जाँदा हामीमा पनि हौसला थपिँदै गयो।’ 

संक्रमित थपिँदै जाँदा चाँडै आइसोलेसन तयार पारेर धमाधम उपचार गरेको चिकित्सालयले कसैलाई अर्को अस्पतालमा पठाउनु परेन र रोग बोकेर फर्काउनु परेन। परेपछि गरिने रहेछ भन्ने अनुभव पनि बटुलेको व्यवस्थापक सापकोटा बताउँछन्। ३ सय ५० जनाका लागि तयार पारिएको आइसोलेसनमा एकै पटकमा २ सय ५६ जनासम्मको उपचार भएको थियो। जिल्लाका विभिन्न स्थानीय तहले सिफारिस गरेका संक्रमितलाई संक्रमणमुक्त बनाउन चिकित्सालयका चिकित्सक विनोद पौडेल निरन्तर खटेका थिए। ‘रोग नयाँ थियो, अन्य अस्पतालमा मृत्युका खबर धेरै सुनियो, तर हामीले प्राकृतिक चिकित्सा पद्धतिले अस्पतालमा आउनेलाई मृत्युमा शून्य नै पार्‍यौं,’ चिकित्सक पौडेलले भने, ‘समयमा उपचार गरे निको नहुने रोग हुँदैन।’

अत्यधिक संक्रमित भएको समयमा उनीहरूको उपचारमा जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको समन्वयमा दुई जना एमबीबीएस डाक्टर खटेका थिए। उनीहरूबाहेक स्थानीय तहका तर्फबाट दुई जना र चिकित्सालयका दुई जना स्वास्थ्यकर्मीको सक्रियता कोभिड समयभरि रह्यो। अस्थायी रूपमा बनाइएको कोरोना अस्पताललाई नवलपुर (नवलपरासी बर्दघाट–सुस्तापूर्व) जिल्लाका ४ वटा नगरपालिकाले ८/८ लाख र ४ वटा गाउँपालिकाले ७/७ लाख रुपैयाँ सहयोग गरेका थिए। 

नाक र घाँटी सफा गरेर उपचार
कोरोना संक्रमण रोक्न विभिन्न उपचार पद्धति अपनाइयो। खोप नबनेपछि यसलाई रोकथाम गर्नु नै पहिलो काम थियो। प्राकृतिक चिकित्सा पद्धतिमा भने नाक र घाँटीको सफाइ गरेर उपचार गरिन्थ्यो। चिकित्सालयले संक्रमितलाई योग, ध्यान, प्राणायाममा सहभागी गराउनुका साथै स्वस्थकर खानपानमा पनि विशेष ध्यान दिएको चिकित्सक पौडेलले भने। ‘हामीले निको पार्ने पद्धति नै पहिलो चरणमा नाक र घाँटी सफाइ हो,’ उनले भने ‘यहाँ खानपान र योग नै मुख्य उपचार विधि हो।’

संक्रमितहरूलाई जलनेती अर्थात् नुनपानीले नाकको सफाइ गर्ने, तुलसी र निम राखेर उमालिएको पानी सुँघेर बाफ लिने तथा मुख कुल्ला गराउने चलन यहाँ छ। यस्तै प्रक्रिया अपनाउँदा लगातार सयौं बिरामीसँग सम्पर्कमा रहँदा पनि यहाँका स्वास्थ्यकर्मीलाई संक्रमण नभएको पौडेल बताउँछन्। उनले थपे, ‘यहाँ आएका अधिकांशको दोस्रो रिपोर्ट नै नेगेटिभ आयो, यो भनेको कोरोना छिटो निको हुनु हो, संक्रमित भएर आउने सबै सन्तुष्ट भएर फर्कनु भयो, हामी यत्तिमै सन्तुष्ट छौं।’ यो क्रियालाई चिकित्सालयमा मात्र नभई समुदायसम्मै पुर्‍याउन सके यस्ता नाक र मुखबाट शरीरमा फैलने भाइरससँग लड्न सहज हुने यहाँ कार्यरत चिकित्सक बताउँछन्। 

संक्रमितहरूलाई हरेक दिन बिहान र साँझ संगीत र नृत्यमा सहभागी गराउँदा सबै खुसी थिए। खुसीले आधा रोग जित्छ भन्ने भनाइ नै पनि छ। बिरामीका लागि सुत्ने, उठ्ने, योग, प्राणायम, नुहाउने, खाना खानेदेखि घरमा कुरा गर्नेसम्मको समय निर्धारण गर्दा यहाँ पुग्ने बिरामीमा आमूल परिवर्तन आउने गरेको छ। 

‘परिवारका सदस्यसँग कसरी कुरा गर्नेदेखि समुदायमा कस्ता सन्देश प्रवाह गर्नेसम्म पनि हामीले परामर्श दिन्छौं,’ डा. पौडेल भन्छन्, ‘उहाँहरूको मनमा नकारात्मक विषयले प्रवेश नै नपाओस् भन्नेमा हामी जहिले पनि सजग बन्छौं।’ एउटै परिवारका पाँच जना संक्रमित पनि यहाँ पुगेका थिए। एक जना संक्रमित त निको भएपछि पनि ४९ दिनसम्म बसेर फर्किएका थिए। कोरोना संक्रमितको उपचार गरेर धेरैलाई सञ्चो भएको थाहा पाएपछि धेरै ठाउँबाट फोन आएको र फोनबाट पनि हजारौंलाई परामर्श दिएको पौडेलको अनुभव छ। यो चिकित्सालयले कोरोना मात्रै नभई अन्य रोगको पनि जरो उखेल्दै आएको छ। 

जीवनशैली सिकाउने पाठशाला
खानपान र जीवनशैली नमिल्दा लाग्ने रोगहरू ८० प्रतिशतभन्दा बढी छन्। संक्रामक रोगभन्दा खराब जीवनशैलीको कारण लाग्ने रोग बढी छन्। खराब जीवनशैलीका कारण वृद्धावस्थामा देखिने स्वास्थ्य समस्या युवा उमेरमै हुने गरेको छ। ‘१५ वर्षअघि नियमित औषधि सेवन गर्नुपर्ने मान्छे खोज्दा पनि भेटाउन गाह्रो हुनथ्यो। अहिले औषधि सेवन गर्न नपर्ने भेटिन गाह्रो छ,’ चिकित्सालयका निर्देशक डा. विनोद पौडेलले भने ‘३० वर्षअघि नराम्रो कुरा खान्छौं भन्दा पाइँदैनथियो अहिले राम्रो कुरा खान्छौं भन्दा पाइँदैन। यस कारण प्राकृतिक जीवन अहिलेको आवश्यकता हो।’ खानपानकै कारण मानिसको शरीर थला पर्ने गरेको डा. पौडेलले अनुभव बताए। 

प्राकृतिक चिकित्सालयले के खाने, कति खाने, कसरी खानेजस्ता कुरा सिकाउँछ। तनावमुक्त जीवन कसरी जिउने, छोटोसमयमा शारीरिक र मानसिक रूपमा कसरी आराम गर्ने, उमेर र समयअनुसार व्यायाम वा योगाको अभ्यास, स्वस्थ रहनको लागि अपनाउनुपर्ने अत्यावश्यक जीवनशैलीको कुरा प्राकृतिक चिकित्सालयमा सिकाउने गरिन्छ। त्यसैले चिकित्सालयभन्दा पनि जीवनशैली सिकाउने पाठशालाको रूपमा चर्चा गरिन्छ। 

उपचारको लागि चिकित्सालय आएका बिरामी जीवनशैली सिकेर फर्कने गर्दछन्। प्राकृतिक चिकित्सालयमा  खानपान, व्यायाम, तनावको  व्यवस्थापन र आरामबाटै रोग निको पारिन्छ। यसले  मानिसको समग्र स्वास्थ्यको सुरक्षा र सकारात्मक स्वास्थ्यप्रति आकर्षित गर्छ। प्राकृतिक उपचार पद्धतिले जीवनशैली परिवर्तन गरेर शरीर भित्र रहेको फोहोर र विकार निकाल्ने हुँदा शरीर स्वस्थ हुने चिकित्सक पौडेल बताउँछन्। थेरापी, माटो चिकित्सा, पानी चिकित्सा, भोजन चिकित्साको माध्यमबाट उपचार हुन्छ। यी बाहेक आवश्यक परेकालाई फिजियोथेरापी, अक्युपन्चरबाट समेत उपचार हुन्छ। 

प्राकृतिक चिकित्सालयमा औषधिको गोलीले होइन बोलीले निको बनाइन्छ।  चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको व्यवहारले आधार रोग निको बनाउँछन्। माटो, पानी, सूर्यको किरण, हावा, आकाश लगायतका तŒवहरूलाई आवश्यकता हेरेर विभिन्न रूपमा रोगीसँग जोडेर उपचार सेवा दिइन्छ। यसैबाट रोगलाई निको पारिन्छ। 

दीर्घरोगीको आशा जोगाउने स्थान
चिकित्सालय कोरोना महामारी अघि अन्य बिरामी जान्थे। नेपालका सबै जिल्लाबाट यहाँ उपचारका लागि पुगेको तथ्यांक अस्पतालसँग छ। अहिले पनि अस्पतालमा उपचार गर्नेको भीड नै लाग्छ। यहाँ उपचार गराउन आउनुहोस् भनेर कुनै प्रचार नै गर्नु पर्दैन। सन्तुष्ट बिरामीले भनेकै भरमा यहाँ बिरामीको चाप बढेको हो।

‘केहीले त सन्तुष्ट भएर अस्पताललाई करोडौं रुपैयाँ दान दिने, भवन निर्माणमा सहयोग गर्ने पनि छन्, पूर्वको उर्लाबारीमा जग्गा किनेर यहाँ पनि अस्पताल खोल्नु पर्‍यो भनेर तयार हुने दाता पनि पहिले बिरामी नै थिए,’ अस्पतालका व्यवस्थापक सापकोटाले भने ‘सबै रोगको उपचार गर्दै आएकाले अहिले यसमा आकर्षण उच्च छ।’

छालासम्बन्धी समस्याका कारण चिकित्सालय पुगेकी नारायणगढकी गौरीदेवी प्रधानले उपचारमा सन्तुष्ट भएपछि भवन निर्माणका लागि १ करोड ३० लाख रुपैयाँ सहयोग गरेको समेत तथ्यांक यो अस्पतालमा भेटिन्छ। अस्पतालका संस्थापकसमेत रहेका व्यवस्थापक हरिप्रसाद सापकोटाका अनुसार अचेल करिब २५ प्रतिशत बिरामी त सुरुआतमै यहाँ आउने पुग्ने गरेका छन्। प्राकृतिक चिकित्साप्रति विश्वास बढ्दो क्रममा रहेको उनको अनुभव छ। प्यारालाइसिस, मधुमेह, मानसिक समस्या, ग्यास्ट्रिक, अल्सर, पायल्सलगायतका समस्या लिएर पुग्ने बिरामीको संख्या धेरै छ। यहाँ पुग्ने बिरामीलाई कम्तीमा १५ दिन अस्पतालमै राखेर उपचार गरिन्छ। उपचारसहित खाना र बस्नका लागि ९ सय रुपैयाँ लिने गरिन्छ। विपन्न वर्गकालाई यसमा पनि छुट दिने व्यवस्था छ। रकम अभाव भएका धेरैको उपचार नि:शुल्कसमेत गरिएको छ। 

चिकित्सालयमा बिरामीलाई अग्र्यानिक खाना खुवाउन आफैंले ६ बिघा जमिनमा तरकारी खेती गरिएको छ। गाई पालेर दूध खुवाइन्छ। १० बिघा जमिनमा फैलिएको चिकित्सालयमा मर्निङ, इभिनिङ वाकका लागि करिब एक किलोमिटरको ट्र्याक पनि बनाइएको छ।

प्राकृतिक चिकित्सालयको उपचारबाट शरीर सफाइ हुनुका साथै स्वास्थ्यसम्बन्धी ठूला समस्याहरू क्यान्सर, प्यारालाइसिस, उच्च रक्तचाप, दम, मधुमेहजस्ता रोगबाट बच्न सकिने चिकित्सक बताउँछन्। ‘प्राकृतिक चिकित्सामा एउटा अंग वा समस्याको उपचार गराउँदा पूरा शरीरको नै उपचार भइरहेको हुन्छ। कोही मिर्गौलामा पत्थरी भएर उपचार गर्न आउँदा टाउको दुख्ने, उच्च रक्तचाप आदि अन्य समस्याको पनि उपचार भइरहेको हुन्छ,’ चिकित्सालय अध्यक्ष सन्तबहादुर क्षेत्रीले भने ‘प्राकृतिक चिकित्सा मात्र यस्तो पद्धति हो जसले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ। कुनै पनि दीर्घ वा तीव्र रोगबाट बचाउन मद्दत गर्दछ। मैले भोगेकै भएर म यो बताउन सक्ने भएको हुँ।’ 

०००

अनि जन्मियो चिकित्सालय
हरि सापकोटा, व्यवस्थापक, सामुदायिक प्राकृतिक चिकित्सालय

उपचारका लागि एम्बुलेन्समा गोरखपुर लैजाने बेला मलाई बाँचेर घर फर्किन्छ भनेर कसैले सोचेका थिएनन्। घरको आँगनमा आफन्त, छरछिमेक थिए। सायद उनीहरू अन्तिम बिदाइ गर्दै थिए। १७ वर्ष अगाडिको घटना हो यो। अहिले सम्झँदा पनि आँखा रसाउँछ। प्राकृतिक उपचार पद्धतिबाट गुमेको जीवन फर्किएपछि आज म दंग छु। अहिले आफूजस्तै बिरामीको सेवामा खटिएको छु। मैले पाएको दुःख अरूले नपाऊन् भनेर रजहरको सामुदायिक प्राकृतिक चिकित्सालयमा डटेर लागेको हुँ।  चिकित्सालयको व्यवस्थापन, विकास र बिरामीको सेवा मेरो ड्युटी हो। 

त्यसबेला म ३० वर्षको मात्रै थिएँ। शरीर भित्र रोगको पोको थियो। शौचालय जानसमेत सकेको थिइनँ। श्रीमतीले दिसापिसाब गराउनुपर्ने समस्या थियो। ५६ किलोको मान्छे दुब्लाएर ४४ किलोमा झरें। मलाई  अल्सर, टन्सिल फ्यारेन्जाइटिस, पिनास, कब्जियत समस्या थियो। रोगी भएकै कारण म डिप्रेसनमा गएँ। 

सो समय मेरो कामै डाक्टर भेट्नु हुन्थ्यो। भारत र नेपालमा नपुगेको अस्पताल थिएनन्। जहाँ डाक्टरको बारेमा थाहा पाए पनि पुगिहाल्थे। एलोपेथिक, आयुर्वेदिक, होमियोपेथिक सबै औषधि प्रयोग गरे। शरीरमा रोगले दुःख दिएपछि डाक्टरले बचाउँलान् भन्दै सबैकोमा पुगें। रोग निको नभएपछि घरैमा मृत्यु पर्खेर बसेको म पोखरामा प्राकृतिक चिकित्सालय भएको थाहा पाएँ। त्यहाँ गएको तीन महिनामा म निको भएँ। अन्तिममा मैले महसुस गरे प्रकृतिले मलाई बचायो। अर्थात् प्राकृतिक चिकित्सा पद्धतिबाट म बाँचे। भरतपुर र गोरखपुरमा पनि मैले उपचार गरें। अन्तिममा पोखरामा रहेको प्राकृतिक चिकित्सालयमा पुगेर निको भएँ। त्यसपछि मैले दृढ संकल्प गरेर प्राकृतिक चिकित्सा पद्धतिमा समर्पित भएको हुँ। 

खासमा रजहरको सामुदायिक चिकित्सालयको पृष्ठभूमि नै म हो। प्राकृतिक चिकित्सा पद्धतिबाट राम्रो भइसकेपछि मैले रजहरमा सामुदायिक चिकित्सालय स्थापनाको लागि समुदायलाई घच्घचाए। रजहरका धेरैलाई मेरो खस्किएको स्वास्थ्य अवस्था र निको भएर फर्किएपछिको अवस्थाले धेरैलाई प्राकृतिक उपचार पद्धतिमा विश्वास भयो। त्यसैले मैले यो अस्पताल खोल्नासाथ पनि पाएँ। प्राकृतिक चिकित्साको विकल्प नभएको कुरा अरूलाई बुझाउन पनि सहज भयो।

सुरुमा मैले आफू निको भएपछि खुसी भएर पोखराको चिकित्सालयमा तीन वर्ष स्वयंसेवकको रूपमा काम गरें। ऋणमा डुबेको चिकित्सालय सञ्चालन हुन नसकेपछि मैले सञ्चालनको लागि २०६४ सालमा धान्याञ्चल गराउने सोचमा लागें। सहयोगका लागि आफ्नो गाउँ आएका बेला सामाजिक अगुवाले रजहरमै चिकित्सालय खोलौं भन्ने प्रस्ताव गरें। त्यसपछि मेरो अनुभव लगाएर चिकित्सालयलाई रजहरमा स्थापित गराउन लागें। चिकित्सालय स्थापनाको लागि समुदायलाई अग्रसर बनाएँ। सुरुआतमा जग्गा खोज्न थालें। सार्वजनिक जग्गा उपलब्ध भएपछि आर्थिक स्रोत जटाउन धान्याञ्चल लगाइयो। त्यसबापत १ करोड ७३ लाख संकलन भयो। सुरुमा ५२ शय्याको क्षमताबाट सुरु गरिएको हो। अहिले तीन सय बेडको पुर्‍याइएको छ।

चिकित्सालयलाई मेडिकल कलेज बनाउन लागिएको छ। त्यसका लागि नेपाल संस्कृत विश्वविद्यालयबाट मान्यता प्राप्त गर्ने चरणमा छ। सामाजिक, राजनैतिक रूपमा सबैको एकमतले चिकित्सालय स्थापित भएको हो। जहाँ गए पनि चिकित्सालयलाई सबैले इज्जत गरेको पाउँदा साह्रै आनन्द आउँछ। मरेर नयाँ जीवन पाएको छु। सबैको साथ सहयोगले चिकित्सालय यो स्थानमा आएको छ।

अब प्राकृतिक चिकित्सामा मेडिकल कलेज बनाएर मर्ने मन छ। चिकित्सालयमा ओपीडीसहित ४० हजारभन्दा बढीले सेवा लिएका छन्। 

तस्बिरहरू : दीपेन श्रेष्ठ र सामुदायिक प्राकृतिक चिकित्सालय


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.