सत्यको प्रतिबिम्ब ‘द सेकेन्ड गड’
पराम्परागतरूपमा पूजित ईश्वरपछिको दोस्रो ईश्वर तिमी नै हौं भनी पाठकलाई अनुमान गर्न सहज हुन्छ। यो धराबासी मानिसलाई बताउन कृतिको न्वारान नै ‘द सेकेन्ड गड’ राखिएको हुन सक्छ।
आम मानिसले प्रत्यक्ष र परोक्ष अनुभूत गरेको तर सहज अभिव्यक्त गर्न नसकेको शाश्वत सत्यबाट उठान भएको उपन्यास हो नारायण निरौलाको ‘द सेकेन्ड गड’। सूक्ष्मदर्शक यन्त्रले उक्त कृतिमाथि नजर लगाउँदा दृष्टिविहीनले हात्ती छामेजस्तो हचुवा नहुने तथ्यमा पाठक निश्चिन्त हुन सकिन्छ। अतः यो खण्ड सिर्फ भूमिकाका लागि भूमिका नभएर देख्दा सानो तर पारो (मर्करी) जस्तै गरुंगो कृति द सेकेन्ड गडको कल्की नै हो। १३ मध्ये पछिल्ला अध्यायहरूमा उदाएका उपन्यासका प्रमुख पात्रहरू (युवक, परीक्षणपुत्री, करस र तितक) जान चम्किलो महायानमा चढेर हात हल्लाउँदै सुमेरु पर्वततर्फ प्रस्थान गर्छन्।
त्यसपछि विस्फोनले पनि केही गर्न नसकेको ‘म’ (युवकको जन्मदाता, स्रष्टा)ले महाप्रलयको अन्धकारभित्र पनि कताकता क्षितिजमा प्रकाशका किरण निस्किरहेको देखिरहेको थियो भन्ने कथन छ। जसले बाँच्नलाई आशावादी बनाउने अर्थात् कालो बादलमा पनि मनग्गे चाँदीको घेरा देख्ने र महाबर्बादीभित्र पनि नवनिर्माणको महायज्ञ थालनीको अनुभूत गराउँछ। जहाँ सकारात्मक दृष्टिकोणका साथ उपन्यासको बैठान भएको छ। संसार समाप्त हुँदा पनि कोही न कोही एक ‘म’ बाँचेकै हुन्छ भन्ने सन्देश उपन्यासले दिन खोजेको प्रतीत हुन्छ। यस आलोकबाट हेर्दा सन्तोष दाहालको आवरणचित्र निकै सान्दर्भिक लाग्छ। आफू खोज, अनुसन्धान र ज्ञानका भकारी भएर पनि सन्तानलाई यथोचित शिक्षित तुल्याउन पूर्ण असफल देखिन्छन्, प्राडा डी.बी. भण्डारी। ज्ञानज्योतिले धपधप बलेका पिताश्रीबाट विरासतस्वरूप ज्ञानरोशनी प्राप्त गरेर रातको चन्द्रमा जति पनि बस्तीमा उज्यालो छर्न अक्षम पात्र हुन् उनी। प्रा.भण्डारीको महाप्रस्थानलगत्तै उनका सन्तानले फ्याँकेको अनगिन्ती सामग्रीको थुप्रोबाट यायावर युवक (उवराञ्चल विश्वविद्यालयको विज्ञान प्रयोगशालामा काम गर्ने मानिस) ले फेला पारेको हरियो नोटबुकको रहस्यबाट यो उपन्यासको राजमार्ग तयार भएको छ।
भण्डारीको दिव्यचक्षुले यो जगत्मा भविष्यमा घट्न सक्ने सम्भावित घटना र सोको अन्तिम परिणामलाई अनुमान गरेर लेख्दै गरेको अधुरो कृतिको पाण्डुलिपिका रूपमा यो कृति रहेको छ। यायावर युवकले लामो समय लगाएर कष्टका साथ भण्डारीको अनुरोधबमोजिम नोटबुकलाई पूर्णता प्रदान गर्दा पनि नामकरण मात्र भएका पात्रहरूले आफूमाथि न्याय नभएको असन्तुष्टि व्यक्त गरेका छन्। हरियो नोटबुक बोकेर क्षेत्रपति पुग्न लम्किएका युवक नदीतटको सुन्दर स्थानमा टक्क अडिएर यताउता दृष्टि नचाउँछन्। उनले देख्छन्, ‘मूलघाटमा तपाईंलाई स्वागत छ।’ कवि स्व. क्षेत्रप्रताप अधिकारीको ‘जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ, सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ’ भन्ने भनाइलाई पुनर्पुष्टि गर्छ। क्षेत्रपति पुग्ने ध्येयका साथ अघि बढ्दा बासको क्रममा भेटिएकी साहुनीले मसक्क मस्केर उज्यालो मुहार बनाउँदै सबैले आफूलाई साहिँली भन्छन् र पानीको स्वाद तिर्खा हुँदो रहेछ (पृष्ठ २८)। यसो भन्दै पसले युवती साहुनीको ध्यानाकृष्ट गराउने युवकको संवादले पाठकलाई छुट्टै आनन्द प्रदान गर्छ। आफ्नो प्रयोगसम्बन्धी विचारमा सहकर्मीहरूलाई सहमत गराउन नसकेपछि नकारात्मकता र बदलाभावको जञ्जीरमा जेलिएका प्रयोगबस्तीका प्रबन्धकलाई ‘बर्बादीको बाटो सजिलो लाग्यो’ (पृष्ठ ३०) ले अति गहन अर्थ बोकेको छ।
भरिएको पेटले मात्र इच्छाशक्ति बढाउन सक्छ (पृष्ठ ३९)। आधुनिक मानवहरू भगवान्लाई सराप्छन् अनि आफू भगवान् भएको बिर्सन्छन् (पृष्ठ ४१) ले सम्भवतः परम्परागत रूपमा पूजित ईश्वरपछिको दोस्रो ईश्वर तिमी नै हौ भनी पाठकलाई अनुमान गर्न सहज हुन्छ। धरावासी मानिसलाई बताउन कृतिको न्वारान नै ‘द सेकेन्ड गड’ राखिएको हुन सक्छ। यो अनुमानलाई उपन्यासको पृष्ठ १२७ मा उल्लेखित ‘आखिर मान्छे स्रष्टा रहेछ, निर्माता रहेछ, सर्जक रहेछ, विनाशक रहेछ। विश्वको जुन कुनामा बसे पनि मान्छे वास्तवमा सेकेन्ड गड रहेछ।’ यो तथ्यले पनि सत्य ठहर्याउँछ। युवक आफ्नो लक्ष्यको (हरियो नोटबुकमा वर्णित रहस्यभूमि क्षेत्रपति पुग्ने) को कारण जवानीको रसरंगमा बहकिन सक्दैनथियो। उता साहिँली साहुनी पनि नैतिकताको सिमाना मिच्न सक्दैनथिई (पृष्ठ ४७)। ‘म’ मात्र भएर बाँच्न नसके पनि मानिस फेरि पनि एक्लो नै छ (पृष्ठ ५५)। नयाँ मानिस, नयाँ घर, नयाँ संस्कार, नयाँ भाषा, नयाँ गाउँ, नयाँ पहिरन आखिर यी सबै बाँच्नका लागि (पृष्ठ ५७)। यी गद्यांशले पूर्वीय दर्शनको मान्यता– अंश अंशीमा गएर मिल्छ भन्ने कुरालाई आकर्षक ढंगले प्रस्तुत गरेको छ।
परीक्षणपुत्री (हरियो नोटबुकमा उल्लेखित प्रयोगबस्ती अरुणटारमा प्रयोग प्रयोजनका लागि अन्तैबाट ल्याइएकी भिन्न नश्ल भएकी महिला) ले गम्भीर भएर सुनी। उसले सोची, ‘यदि मेरो कामेच्छाका कारण भन्ज्याङे (बैंसले लपालप भरिएको परीक्षण बस्ती नजिकको पृथ्वीतलमा बस्ने एक वयष्क गोठालो) भेट नभएको भए यिनीहरू (करस, तितक) जन्मने नै थिएनन्। यिनीहरू नजन्मेका भए यिनीहरू आज समस्या नै आउने थिएन। मानिस पाएको जीवन नभोगेर जीवन के हो भनी पछि लागिरहेका छन् (पृष्ठ ११३)। यी त केही उदाहरण मात्र हुन्– कृतिभित्र यत्रतत्र छरिएर रहेका महत्त्वपूर्ण बौद्धिक खजानाका। प्रसंग नबिराई धैर्यपूर्वक पढ्दै गए कहिले मज्जैले मथिंगल रिंग्याउने, कहिले एकाएक कल्पनाको संसारमा सयर गराउने, कहिले लौ न अहिले नै संसार समाप्त हुने भयो भनेर भयग्रस्त बनाउने आदि अनगिन्ती प्रसंग र परिवेश अंकित छन्, कृतिमा। जीवनका शाश्वत सत्य मिलन÷वियोगको अलि खुकुलो गाँठोले कसेर पाठकलाई धरधर नरुवाए पनि विज्ञान, काल्पनिकता र प्रयोगधर्मिताले पाठकलाई बेग्लै प्रकारको आनन्द र सन्तुष्टि प्रदान गर्न उपन्यास सफल भएको छ। स्वैरकल्पनामा कावा खान चाहने, अंग्रेजी भाषाका र सूचना–प्रविधिमा पोख्त छन् उपन्यासकार निरौला।