सुसाइड नोट
गाउँमा घरहरू रंगिने काम भइरहेका थिए। दसैं आइसकेको थियो। वर्षमा एकचोटी आउने चाडबाड भएकाले पहिलेपहिले त टाढाटाढा गएका परिवार तथा आफन्त पनि टुप्लुक्कै आइपुग्थे। तर, अहिले हरेक घरमा कोही न कोही परदेसिएका छन्, बाध्यता वा रहर जे भए पनि। यसपालि भने कोरोनाले सबैजना दसैंमा घर आउन पाएकै छैनन्। त्यसै पनि पहिलेजस्तो रौनक छैन। दसैं मलाई भने एकदमै मनपर्ने चाड हो। बुवाआमाको मायाले भरिएका आशीर्वाद थापेसँगै टीका लगाएर पिङ खेल्ने अनि मामाघर गएर हजुरबुवा, हजुरआमा अनि मामा, माइजूको हातबाट टीका थापेर दसैं मनाउनुको मज्जा नै बेग्लै छ।
घटस्थापनाको दिन जमरा राख्यौं। माया हाम्रोमा त आमाले आज राख्नु हुन्छ भन्दै भेट्न आई। सरला सबैभन्दा मिल्ने साथी धेरै डराएकी जस्ती देखिन्थी। दुब्लाएर हड्डी र छाला मात्रकी देखिन्थी। त्यति राम्री खाइलाग्दी स्याउजस्ता गाला भएकी त्यो पहिलेकी चञ्चले बोली रहनुपर्ने सरला बिल्कुलै फरक कोहीसँग बोल्न मन नपराउने भइछे।
देख्दा नै विरक्त लाग्ने प्यारी साथीको जीवन किन यस्तो भयो हे भगवान् ? देख्नेबित्तिकै मन थाम्नै सकिनँ। अँगालो हालेर रोएँ। कराएँ, उसलाई यो के हालत बनाइस् भनेर। उसको मुखबाट एक शब्द निस्किएन। आँसुका धारा बगाइरही। ‘हेर, माया अब मेरो जीवनको केही टुंगो छैन। हाम्रो नर्सिङ सकाएपछि एउटै अस्पतालमा काम गर्ने त्यो योजना पनि सबै भताभुंग हुने भयो।’ मैले भनें, ‘चुप लाग सबै पूरा हुन्छ। म पनि अंकल, आन्टीलाई भेटेर सम्झाउँछु। भएन भने तिमीहरू भागेर विवाह गर।’
त्यो बूढो मान्छेसँग गर्नुभन्दा त ‘म पनि सकेको मद्दत गर्छु तिमीरूलाई’। ‘भागेर गइस् भने तँ हाम्रो लागि मर्छेस्। जिन्दगीभर माइती सम्झेर आउन पाउन्नस्। अनि तेरो नाठोको पनि के हालत बनाउँछु। तैंले सोच्न सक्दिनस् भन्नुहुन्छ दाइ।’ ऊ बोली। ‘मलाई जे गरे पनि सहुँला। तर महेशलाई केही भयो भने मत ज्युँदै मर्छु त्यही भएर म भागेर जानै सक्दिनँ।’ उसलाई सम्झाएर ऊ सम्झिने परिस्थितिमै थिइनँ। दसैंमा खुसीयाली मनाउनु पर्ने समयमा रोएरै बितायौं त्यो बेलुकी। लौ अब कहिले भेट हुने हो त मसँग भन्दै मसँग बिदा लिएकी थिई मेरी प्यारीले।
उसको ममीलाई एकचोटी फोन गर्ने सोच बनाएर फोन गरे। उसको घरमा बुवाले उठाउनु भयो फोन। सरलालाई घरीघरी फोन गरेर तिमीहरूले उक्साउन नखोज नत्र राम्रो हुने छैन नानी राख फोन भनेर फोन काटिदिनु भयो। अंकलले छोरीलाई जानीजानी मृत्युको मुखतिर धकेल्दै थिए, सरलाका परिवार। कति गाह्रो छ है छोरी भएर जन्म लिनलाई। अरूको इशारामा जीवन जिउनुपर्ने। म जस्ताको कुरा के सुन्थे। दसैंले बिदा लिँदै थियो। गाउँ सुनसान हुन थालिसकेको थियो। बेलुकीपख त्यस्तै ५, ६ बजेको हुनुपर्छ।सूर्य अस्ताउनुअघि छतमा टोलाइरहेकी थिएँ। फोन आयो, उठाएँ। हेलो सरला, हाई माया, मलाई भेट्न मेरो घर आइज न कस्तो तेरो याद आयो। कति धेरै कुरा तलाई भन्नु छ। मलाई घर बाहिर निस्कनै दिनु भएको छैन।
हाम्रो घरको दूरी १० मिनेट जतिको थियो। हतारिँदै गएँ। उसको ममी हुनुहुन्थ्यो। ढक्ढक्याएपछि उसले ढोका खोली। दसैंमा हातभरि चुरा राम्रा लुगा र उज्यालो मुहार हुनुपर्ने सरलाको हालत पूरै सुकेनास लागेको जस्ती उजाड देखिई। सरला रोएर आँखा पूरै सुन्निएका थिए। केही चिज हराएजस्तो। मन त्यसै बेचैन छटपटाइरहेको थियो, फोनको घण्टीले भंग गरिदियो। फोन उसकै थियो। हतारहतार उठाएँ। हेलो कता छौ, म आत्तिएको सुनेर उसले सोध्यो। तिमी ठीक त छेउ किन यस्तरी बोलेको। घरमा तिम्रो र मेरो बारेमा सबैलाई थाहा भइसक्यो। बुवा त रिसले चुर्मुरिनु भा’छ। सबै इज्जत फाल्ने भई भन्दै ठूलठूलो स्वरले कराउँदै हुनुहुन्थ्यो।
दाइले त मलाई... हुँ हुँ हुँ, बोल्नै सकिन। भकान्निएर... दाइले ... भनन् प्लिज म त अहिले आएर भगाएर लैजाउ जस्तो भो। तिमी नडराई बोल। म छु सब ठीक हुन्छ ढुक्क भएस्। अलि बोल्ने आँट थपिए जस्तो भो। आवेशमा आएर दाइले बेस्मारी पिट्नु भयो। धन्न आमाले छेक्नु भयो। नत्र...। ऊ रिसाएर भन्न थाल्यो। दाइले पनि तल्लो जातको भाउजू ल्याउँदा समाजले केही भनेन रे ? झन् धूमधामसँग विवाह गरेर भित्र्याएको हैन ? मसँग त्यसको के उत्तर हुनु र ? बुवाले भनेको दाइ छोरो मान्छे रे जे गरे पनि केही हुन्न। घरको इज्जत छोरीको हातमा हुन्छ रे।
वाह ! हाम्रो समाज ? पख तिम्लाई लिन आउँछु। केही समय भारततिर भागौंला।
हेर यो घरमा मेरो सुटुक्क विवाह गर्दिन लागेका छन्। यदि त्यो विवाह पक्का गर्नु भयो भने सुसाइड गर्छु, तिम्रो नामको सिन्दूर लगाएर। बुवाको साथी कलेज पढाउने बूढोसँग कुरो चल्दैछ। बूढीको एक वर्ष अगाडि निधन भएको रे। बोल्दै गर्दा ममी आउनु भयो। हतपत्त फोन राखें। फेरि त्यो दलितले फसाउन फोन गरो तँलाई ? कति भन्नु
फोन नगर भन् त्यसलाई। मार्लान् दाइहरूले फेरि। सबै कुरा बिर्सिदे। बुवाले भनेको केटासँग विवाहको कुरा गर्न भोलि तँलाई हेर्न आउँदैछन्। फेरि कूरा बिगार्लिस् ?
दुई गुणा बढी उमेर भएका बूढासँग बिहे गर्नुभन्दा त मर्नु बेस। विवाह मात्रै ठूलो कुरो हो र ? मन नपरेको मान्छेसँग कसरी जुनी बिताउनु ? चूप लाग। बढी बोल्छे। पहिले तेरी हजुरआमाको विवाह हुँदा जम्मा ७ वर्षकी हुनुहुन्थ्यो रे, हजुरबुवा १७ वर्षको। राम्रो कमाइ स्थायी जागिर। बसी बसी खान पाउँछेस् तैंले। मेरो जिन्दगी अनि यति ठूलो निर्णय मैले लिन नपाउने भएँ। अरूको जिन्दगी अरूको खुसीमै जिन्दगी बिताएर जिउँदो लास भएर बाँच्नुभन्दा त बरु विष दिनु आमा।
चुप अशुभ बोल्छेस्। अरू केही थाहा छैन। तेरा बाले मेरा कुरा सुन्नु हुन्न। अब बुझ तेरो भाग्यमा यस्तै लेखेको रहेछ। उसका कुरा सुनेर रुनबाहेक अरू केही गर्न सकिनँ मैले। त्यही नै थियो सरला र मेरो अन्तिम भेट। छुट्ने बेला चिठी दिँदै भनी यो महेशलाई दे ल। चिठी भिजेको थियो सायद उसले रुँदै लेखेकी थिई। एकदिन सोफामा सुतेर समाचार हेर्दै थिएँ। समाचार वाचिका भन्दै थिइन्, हरिबजारमा हिजो राति सरला पाण्डे नाम गरेकी २३ वर्षीया युवतीले सुसाइड नोट छोडेर आत्महत्या गरेकी छन्। नोटमा उनका परिवार नै उनको मृत्युको जिम्मेवार हुन् भनिएको छ...। त्यति समाचार सुनेको मात्र याद छ त्यसपछि होसमा आउँदा अस्पलालको बेडमा थिएँ।