धर्तीमै आकाशगंगा !

धर्तीमै आकाशगंगा !

‘हामी बूढो भयौं भने हिँड्न छोड्छौं कि हिँड्न छोड्यौं भने बूढो हुन्छौं ?’

फिनिस मिटचेलको यो भनाइले हामीलाई हिँड्ने हौसला दिन्छ। तर हामीसित हिँड्ने फुर्सद नै कहाँ छ र ? फुर्सद भए पनि हिँड्ने गतिलो ठाउँ छैन। सहरी भीडभाडमा मास्क र कालो चस्मा लगाएर पनि कोही हिँडुवा आफ्नो हिँडाइको प्यास मेट्न सक्छन्। 

स्वच्छ एवं लामो सास लिँदै हरियाली र पुष्पिला डाँडाकाँडामा आँखा डुलाउँदै फुक्काफाल भएर हिँड्नुको मज्जा नै बेग्लै हुन्छ। काठमाडौं उपत्यका आसपास हिँडुवाहरूका लागि एउटा खुसीको कुरा छ, हिँडेर सजिलै पुग्न सकिने ‘लुकेको नगरकोट’ भेटिएको छ।

कलमसी र बोजिनी क्षेत्रको भ्रमणमा निस्कनु भयो भने बिहान गएर बेलुका फर्किने हतारो नगर्नु होला। नत्र साँझको बेलामा यहाँबाट काठमाडौं उपत्यका हेर्दा धर्तीमा ओर्लिएको पारलौकिक आकाशगंगा देख्न पाउनु हुने छैन।

काठमाडांैबाट मात्र ३२ किलोमिटरको दूरीमा अवस्थित छ, नजिकको पर्यटकीय गन्तव्य नगरकोट। नगरकोट अर्थात् हिमाल हेर्ने डाँडो। चराचुरुंगी र हरियाली नियाल्ने पखेरो। स्वच्छ हावाले फोक्सो माझ्न मिल्ने ठाउँ। जन्मिँदा जन्मिँदैको स्वच्छ सूर्यलाई आँखाले चुम्न मिल्ने पर्वत। 

थुम्क्याइला दृश्यले भरिभराउ प्रकृतिको सुन्दर सिर्जना। प्रेमिल जोडीहरू धेरै आउन सक्ने भएकाले प्रेमकोट पनि भन्न सकिने। यस्तै विशेषता बोकेको रत्नागिरि पर्वतको उत्तरी थाप्लोलाई मात्रै दुनियाँले नगरकोटका रूपमा चिन्यो। यसको दक्षिणी मोहडा युगौंसम्म गुमनाम रह्यो।

भक्तपुरको कमलविनायक, भत्केपाटीबाट जितपुर, सरस्वतीस्थान, चरेली, कलमसी हुँदै नापी विभागको टावरसम्म पुग्न सकिने नयाँ बाटो खुलेपछि यसको नयाँ स्वरूपको विस्तारै उजागर हुँदै छ।

भनौं, लुकेको अर्को नगरकोटको घुम्टी खोलिएको छ। साबिकको बाटोभन्दा यो ७ किलोमिटर कम्ती छ। नयाँ बाटोबाट नगरकोट जाँदा काठमाडौंबाट २५ किमिको यात्रामै पुगिन्छ। भक्तपुरबाट १० किलोमिटरमा पुगिन्छ। अचेल यस क्षेत्रको चहलपहल बढ्दै छ। 

मुहान पोखरीदेखि कलमसीसम्म फैलिएको उच्छाइलो र पारिलो पर्वत हो यो।

काठमाडौंलाई दक्षिण पारेर वर्षौंदेखि काठमाडौंको भौतिक उन्नति नियालिरहेको तर आफू दुर्गमता ओढेर उभिइरहेको पर्वत। खासमा नगरकोटको दक्षिणी मोहडाको उच्च भूखण्डमा रहेको बोजिनी र कलमसी क्षेत्र नै लुकेको नगरकोट हो। जसरी नगरकोटका नाममा संरचना र संस्थाहरू खुले यता बोजिनीको नाममा पनि खुल्दै छन्। जस्तै बोजिनी ड्याम, बोजिनी रिसोर्ट, प्रेम दरबार, चरेली रिसोर्ट आदि इत्यादि...।

बाटो नै विकासको आधार रहेछ। यहाँ बाटोघोटो पुगेको थिएन। त्यही भएर राजधानीसित कुम जोडिए पनि यसमा दुर्गमता र दुरुहताका कथा थिए। हिँडेर जान सकिन्थ्यो तर थकाइ मार्ने, बस्ने, खाजा खाने गतिला ठाउँ थिएनन्।

केही वर्षअघि बाटो खुलेपछि सबै कुरा खुले। पसल र प्रविधि। होटेल, रिसोर्ट र रेस्टुराँहरू। ठूला मूर्ति बनाउने होडबाजी पनि। ओल्लो डाँडोदेखि पल्लो डाँडोसम्म लठ्ठामा झुन्डिँदै सरर जान पाइने जिपलाइन खुल्दै छ।

चाँगुनारायण नगरपालिकाको पहलमा बोजिनी नजिक मजुवामा रंगशाला बन्दै छ। मुहानपोखरीदेखि गणेश ढुंगासम्म ७ किलोमिटरको पदयात्रा मार्ग पनि। बोजिनीको ड्यामको निर्माण सम्पन्न। यी त भए मानिसले गरेका केही प्रयास। प्रकृतिले युगौं अघिदेखि सुन्दरता भरेका अनेक कुरा यहाँ बाँकी छन्। यसरी एकै साथ पर्यापर्यटन, धार्मिक पर्यटन र कृषि पर्यटनका सम्भावनाहरू उघारिँदै छन् यहाँ।

चोभारको डाँडोबाट काठमाडौं खाल्डाको पानी कटाएपछि टाकुराबाट हेर्दा कस्तो देखिएला भनेर महामञ्जुश्री यहाँसम्म आइपुगेको जनविश्वास छ। महामञ्जुश्री रात बसेको ठाउँलाई अहिले सरस्वती स्थान भनेर चिनिन्छ। जहाँ मञ्जुश्रीको मूर्ति अझै विद्यमान छ। यही मूर्तिलाई हिन्दू र बौद्धले सदियौंसम्म फरकफरक आस्था र विश्वासले पुजिरहे। हाम्रो सद्भावको यो अद्वितीय नमुना थियो। भलै कसैलाई यो कुरा मन परेन। अहिले मञ्जुश्री र सरस्वतीलाई छुट्ट्याइयो। नजिकै अर्को सरस्वतीको मन्दिर बनाइयो। यो कुराजनीतिको नमुनातिर अहिले नलागौं। 

मञ्जुश्री बास बसेको स्थानमा एउटा गुफा थियो रे। यो गुफाबाट छिरेर ह्लासा जान आउन सकिन्थ्यो रे। भक्तपुरका बूढापाका अझै पनि यस ठाउँलाई ‘ह्लासा पाक सरस्वती’ भनेर पुकार्ने गर्छन्। यस्ता कुरालाई किंवदन्ती र इतिहासका ठेलीले थप पुष्टि गर्लान् नै।

कतिपय कुरालाई इतिहासले प्रमाणित नगर्न सक्छ। तर एउटा कुरा प्रमाणित र अकाट्य छ। त्यो के हो भने उत्तरी नगरकोटबाट सूर्योदय हेरेजस्तै दक्षिणी नगरकोटबाट तपाईं सन्ध्याकालीन मनोरम दृश्य हेर्न सक्नु हुन्छ।

तपाईं कलमसी र बोजिनी क्षेत्रको भ्रमणमा निस्कनु भयो भने बिहान गएर बेलुका फर्किने हतारो नगर्नु होला। नत्र साँझको बेलामा यहाँबाट काठमाडौं उपत्यका हेर्दा धर्तीमा ओर्लिएको पारलौकिक आकाशगंगा देख्न पाउनु हुने छैन। शान्त, अद्भुत र शृंगार रसले तपाईंको हृदयलाई एकैचोटि स्पर्श गर्नेछन्। 

पर्खालहरूको बीचमा रहेको काठमाडौंलाई बत्तीमाडौंमा परिवर्तन भएको महसुस गर्न सक्नु हुन्छ। मानिलिनुस् तपाईं हेलिकप्टरबाट तलको कुनै सहर हेर्दै हुनुहुन्छ। अथवा मानिलिनुस्, तपार्इं आकाशभन्दा माथि हुनुहुन्छ र ताराहरू धर्तीमा ओर्लिएर टिम्टिमाइरहेका छन्। यहाँबाट साँझको काठमाडौं खाल्डो दिव्य, अलौकिक, अतुलनीय देखिन्छ।

पदयात्राका सौखिनहरूका लागि यो नयाँ गन्तव्यको अर्को एउटा अवसर पनि हुन सक्छ। यस ठाउँमा पुग्ने अनेक लघुमार्ग छन्। तपाईं काठमाडौंको मूलपानीबाट चाँगुनारायण मन्दिरलाई छुँदै डाँडैडाँडामाथि टेकेर तेलकोट भन्ज्याङ निस्कन सक्नु हुन्छ। तेलकोटबाट मुहान पोखरी हुँदै कलमसी पुग्दा तपाईंको ४-५ घण्टा समय सकिएको हुनेछ। तपाईं भक्तपुरको कमलविनायक, जितपुर, चरेली हुँदै दुई घण्टाको यात्रा पनि तय गर्न सक्नु हुन्छ। साँगाको शिव मन्दिरलाई देव्रे पार्दै नाला गुम्बा निस्किएर पात्ले वन, टुकुचा हुँदै १० किलोमिटर हिँडेर पनि कलमसी पुग्न सक्नु हुन्छ। तपाईं प्रकृतिप्रेमी हुनु हुन्छ भने यो मार्गले तपाईंलाई बढी मोहनी लगाउने खतरा पनि छ। 

कलमसीले आन्तरिक र बाह्य पर्यटनका अनेक सम्भावना खोजिइरहेको सन्दर्भमा धुलिखेल नगरकोट पदयात्रा मार्ग पनि सुरु भएको छ। यसलाई लम्ब्याएर जहरसिंह पौवा, भोटेचौर हुँदै सिन्धुपाल्चोकको चिया बगानसम्म पुर्‍याउन पनि सकिन्छ। चाँगुनारायण नगरपालिकाले यस क्षेत्रको दिगो पर्यटन विकासका लागि काम गरिरहेको छ। नगरकोट नाल्दुम पर्यटन विकास समिति पनि यसमा क्रियाशील छ।

यहाँ उघारिएको पर्यकीय सम्भावनाको ढोकाले स्थानीय जनजीवनमा के प्रभाव पार्दै छ ? प्रश्न सजिलो भए पनि यसको उत्तर जटिल छ। डोजर छिरेका छन्। भीर, पखेरा र बारीका पाटाहरू प्लटिङको जालोमा परेका छन्। पर्यटन व्यवसायलाई स्थानीय अर्थतन्त्रसित जोड्नु पर्छ भन्ने कुरा भुलिँदै छ। 

पर्यटकले तिरेको पैसा विदेशीको पोल्टामा पुग्ने परिपाटी घातक हो। यसलाई तोड्न स्थानीय सरकार र पर्यटन व्यवसायीसित इच्छाशक्ति हुनु जरुरी छ। टुकुचा, घिमिरे गाउँ, कलमसी, नेपाल गाउँ पहिला प्रशस्त मात्रामा कोदो र फापर फल्ने ठाउँ हुन्। आलु त अहिले पनि बेजोड फल्छ नै। हामीलाई फापर र कोदाको ढिँडो खान ठमेल पुग्नु पर्ने बाध्यता छ।

अहिले हाम्रो घरआँगनमा भुटानको आलु आइपुग्दो रहेछ। गाउँको मकै फल्ने पाटोमा डोजर लगाउँदै अर्जेन्टिनाको पपकर्न खान हामीलाई लाज लाग्नु पर्ने हो। स्थानीय पर्यटनले स्थानीय उपजलाई उपयोग गर्ने वातावरण सिर्जना गर्न सके कति जाति हुँदो हो। 

कलमसीमा विश्वकर्माहरूको बस्ती पनि छ। उनीहरूको परम्परागत शिल्पलाई पर्यटनसित जोड्न सकिन्छ। पुराना आरनलाई पर्यटकका लागि मायाको चिनो उत्पादन गर्ने कार्यशालामा बदल्न पो सकिन्छ कि ? सरस्वती स्थानमा लुगा सिउनेहरूको बस्ती छ। उनीहरूसित भएको सिलाइबुनाइ शिल्पलाई पनि पर्यटकका लागि चिनो बनाउने कार्यमा उपयोग गर्न सकिन्छ।

कलमसी बोजिनी क्षेत्रको पर्यटन व्यवसायले यसलाई आफ्नो अमूल्य स्रोत र सामथ्र्यका रूपमा उपयोग गर्न सक्छ। बाँस र निगालो स्थानीय स्तरमै पाइने हुनाले तिनबाट पर्यटनलाई खुसी पार्ने सामग्री बनाउन सकिन्छ।

खरिपाटीको पल्लोभित्तो मुहान पोखरी र तेलकोट क्षेत्रलाई पुरानो नगरकोटको फेदी भनिन्छ। यहाँको बाँस्तोला गाउँमा समुदायले सञ्चालन गरेको होमस्टे सफलतापूर्वक अघि बढेको छ। यताको नयाँबाटोतिर भने अन्य सम्भावना खोज्न सकिन्छ। सुडाल, दुलाल गाउँ र नेपाल गाउँसम्मका क्षेत्रमा होमस्टे सञ्चालन गरी फाँटमा जोडिएको छ पात्लेवन र लेक। त्यसमा जोडिएको बाहाल वनलाई पक्षी अवलोकन क्षेत्रका रूपमा विकास गर्न सकिन्छ।

सुडालको ब्रह्मयणी मन्दिरदेखि नगरकोटको टावरसम्म पदयात्रा मार्ग निर्माण गर्न सकिन्छ। सुडालको खुवा पहिला उपत्यकामै प्रसिद्ध थियो। यसलाई पर्यटकीय भोजनमा समावेश गर्न सकिन्छ। 

खास कुरो चाँही हामी नेपालीको घुम्ने बानी छैन। घुमेर डुलेर खाने फुर्सद हामीलाई कहाँ छ भन्ने प्रश्न उब्जिन पनि सक्छ। घुम्नु डुल्नु पनि एउटा संस्कार रहेछ। हामी घुम्दा पनि देशलाई केही न केही फाइदा पुगेको हुन्छ। ‘देश पनि हेरिने, मुख पनि फेरिने’ यो उखान पनि चरितार्थ हुने रहेछ। स्थानीयले थोरै भए पनि रोजगारी पाउने रहेछन्।

अर्को कुरा हिँड्नु स्वास्थ्यका लागि अत्यन्त लाभदायक कुरा पनि हो। औषधिमा गर्ने खर्च हिँडाइमा गर्ने हो भने आफ्नै ज्यान स्वस्थ्य र बलियो हुने रहेछ। हिँड्दा ज्यानलाई मात्र फाइदा हुँदैन, ज्ञानलाई पनि फाइदा पुग्छ। त्यसमाथि डाँडाकाँडा चढ्नुको मजा नै बैग्लै छ। आखिर उचाइमा पुग्नु भनेको गहिराइमा पुग्नु पनि त हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.