सरकारी तक्मा
आजभोलि खै कसले
यता हल्ला चलायो !
ढल्दै ढल्दाको देश।
गाउँभरि हल्ला छ
रक्सी धोकेर स्वास्नी मर्नेगरी कुट्ने
बले बाजेलाई सरकारी तक्मा
घोषणा भएको छ –
गोर्खे दक्षिणा बलबाहु !
समाचारमा छ्यापछ्याप्ती छ –
ढुसी परेको चामल
कर्णाली ओसार्ने
सहरको गरिबमल साहुको गलामा
सरकारी तक्मा अल्झेको छ –
जनसेवाश्री !
सहरभरि चर्चा उत्तिकै छ–
आफ्नै कार्यकर्ताको छोरीलाई
बलात्कार गरेका
नेता देशभक्त शर्माले
यो पाली
सरकारी शूरवीर विभूषण तक्मा
झ्याप्प पारेछन्।
यता देशैभरि हुरी हल्ला छ–
हावाले भत्किने पुल निर्माण गरी
देश निर्माणमा महान योगदान गरिसिनु भइसिएको
ठेकेदार ठग बहादुर ठगुणाको गलामा
सरकारी सुकीर्ति तक्मा
सुशोभित भएको छ !
हिजोआज, राजधानी सहरका नामुद सुके बहुला
बाटाभरि चिच्याउँदै हिँडिरहेको सुनिएको छ –
‘हैन यो सरकारी तक्मा हो कि
आलु तरकारी ?’