प्रतिबन्धित भारु साट्न अझै खुलेन बाटो
काठमाडौं : प्रतिबन्धित भारु पाँच सय र एक हजार दरका सटही नभएका ८ करोड १० लाख नेपाली रुपैयाँ थन्किएको छ। भारत सरकारले सो नोट प्रयोगमा प्रतिबन्ध लगाएको करिब ५ वर्ष बितिसक्दा पनि नेपालमा भएको नोट सटही नहुँदा नेपाल राष्ट्र बैंकमै थन्किएको हो।
भारु ५ सय दरको ३ करोड ४० लाख ७३ हजार ५ सय र हजार दरका १ करोड ६५ लाख ५२ हजार भारतीय रुपैंयाँ केन्द्रीय बैंकको स्टोरमा रहेको छ। अहिले नेपालसँग ५ करोड ६ लाख २५ हजार ५ सय भारु रहेको राष्ट्र बैंकका सह–प्रवक्ता नारायणप्रसाद पोखरेलले जानकारी दिए। ‘उक्त नोटको ईक्विभ्यालेन्ट नेपाली रुपैयाँमा ८ करोड १० लाख ८ सय रहेको छ। यो बैंकिङ प्रणालीमा भएको रकम हो’, उनले भने।
नोट सटहीका लागि परराष्ट्र मन्त्रालयले भारतीय परराष्ट्र मन्त्रालयसँग विभिन्न किसिमका वार्ताहरू गरिरहेको उनले जानकारी दिए। उक्त रकम बराबरको भुक्तानी केन्द्रीय बैंकले गरिसक्यो। यसकारण सो रकमको सटही नपाए मुलुकलाई घाटा हुने उनले बताए।
यसबारे नेपाल राष्ट्र बैंकले पटक–पटक रिजर्भ बैंक अफ ईण्डया (आरबीआई) लाई पत्राचार पनि गरेको थियो। तर, पहल गर्दैमा आरबीआईले सहजै मान्ने देखिएन। तथापि राष्ट्र बैंक र आरबीआईका कार्यकारी निर्देशक तथा निर्देशकहरूको टेक्निकल कमिटीमा हुने छलफलमा यसबारे जानकारी गराइएको सह–प्रवक्ता पोखरेलले बताए। ‘सटहीबारे परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गरिरहेका छौं।’ उनले भने ‘परराष्ट्र मन्त्रालयले पनि विभिन्न मन्त्रीस्तरीय, सचिवस्तरीय भेटघाटको क्रममा पनि सो नोट सटहीको प्रस्ताव राख्दै आएको थियो।’
नेपालसँग भएको प्रतिबन्धित भारु नोट मौज्दातको शोधभर्ना रिजर्भ बैंक अफ ईण्डियाले दिन्छ भन्नेमा आशावादी रहेको उनको भनाइ छ। तर, भारतले कहिले दिन्छ भन्ने अझै टुङ्गो छैन। यद्यपि राष्ट्र बैंकले नेपाल सरकारले भारतसँग भेट गर्दा उक्त एजेण्डालाई उठाउन जरुरी भएको भन्दै परराष्ट्र मन्त्रालयलमा प्रस्तुत गरेको बताएको छ।
भारत सरकारले वि.सं २०७३ कात्तिक २३ गते मंगलबार मध्यरातदेखि लागू हुने गरी भारतीय रुपैयाँ पाँच सय र एक हजार दरका नोट प्रयोगमा प्रतिबन्ध लगाएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कालोधन, भ्रष्टाचार र नक्कली नोटका कारण उत्पन्न समस्या हल गर्न यस्तो प्रतिबन्ध लगाएका थिए। भारतले आफ्नो मुलुकका नागरिक तथा छिमेकी मुलुक भुटानका नागरिकसँग भएको यस्तो नोटलाई तोकिएको समयभित्र साट्यो। तर, नेपालमा रहेको उक्त मुद्राको भने आधा दशक हुँदासम्म पनि कुनै चासो दिईएको छैन।