स्थानीय निर्वाचन : स्याङ्जामा अध्यक्षले हारे, सचिवले जिते
स्याङ्जा : गल्याङ् नगरपालिकाको प्रमुख पदमा ठूला राजनीतिक दलका प्रमुख ब्यक्तिबीच प्रतिस्पर्धा रह्यो। नगर प्रमुख पदमा नेकपाका अध्यक्ष सुर्यप्रसाद गैह्रे (पारस) पराजित भए भने नेपाली कांग्रेसका जिल्ला सचिव गुरुप्रसाद भट्टराइले बाजी मारे।
हालै सम्पन्न स्थानीय तह निर्वाचनमा भट्टराईले एमालेका अध्यक्ष गैह्रेलाई पराजित गर्दै विजयी बनेका हुन्। पुष महिनामा भएको एमाले अधिवेशनबाट गैह्रे जिल्ला अध्यक्ष पदमा निर्वाचित भएका हुन भने भट्टराई फागुनमा भएको अधिवेशनबाट जिल्ला सचिवमा निर्वाचित हुन। उनीहरु दुबै वहालवाला अध्यक्ष र सचिव हुन्।
भट्टराईले ९ हजार ६२१ मत पाउँदा उनका प्रतिस्पर्धी गैह्रेले ८ हजार ९२२ मत पाए। विजयी उम्मेदवारको ६ सय ९९ मतान्तर छ।
कुल २९ हजार ५५७ जना मतदाता भएका यहाँ १९ हजार ८८० जनाले मतदान गरे। २०७४ को स्थानीय तह निर्वाचनमा नगर प्रमुखमा नेकपा एमालेका भुपराज अधिकारी विजयी भएका थिए। त्यतिबेला प्रमुख र उपप्रमुख देवी थापा पनि एमालेबाट निर्वाचित भएका हुन्। अधिकारीले ८ हजार ३६८ मत ल्याउँदा कांग्रेसका उम्मेदवार लालगोपाल अर्यालले ६ हजार ६२ मत पाएका थिए।
यसपटक उपप्रमुखमा पनि कांग्रेसकै हेमा न्यौपाने विजयी भईन्। उनले ९ हजार ११८ मत पाउदा उनका प्रतिस्पर्धी नेकपा एमालेका उपप्रमुख पदका उम्मेदवार देवी थापाले ९ हजार ५५ मत पाईन। थापा यसअघिका उपप्रमुख हुन्।