घरभित्रै जलेको अवस्थामा पुरुषको शव फेला

दैलेख : जिल्लाको भैरबी गाउँपालिका–४ रिङगाटेमा घरभित्रै जलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीका अनुसार अन्दाजी ४० वर्षीय नरेश बिक जलेको अवस्थामा फेला परेका हुन् ।
प्रहरी निरीक्षक कार्कीका अनुसार जलेको अवस्थामा फेला परेका बिकले नै आफ्नै घरमा आगो लगाएका भनेर हामीलाई स्थानीयले खबर गरेका थिए। ‘शनिवार साँझ साढे सात बजे आफ्नै २ तले ३ कोठा भएको कच्ची घरमा नरेश बिकले आगो लगाएको भन्नेबारे स्थानीयले टेलिफोनमार्फत हामीलाई जानकारी गराएका थिए, राती साढे ११ बजे स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा ल्याईएको थियो,’ प्रहरी निरीक्षक कार्कीले भने ।
आफ्नै घरमा आगो लगाएर फरार रहेका भनिएका नरेशको जलेको अवस्थामा आइतबार बिहान शव फेला परेको हो । आइतबार बिहान जलेको घरमा अन्य केही क्षति भएको छ कि भनेर खोजतलास गर्दा आधा शरीर घरको छानोले पुरिएको र जलेर मृत अवस्थामा उनको शव फेला परेको प्रहरी निरीक्षक कार्कीले बताए ।
घटनाबारे इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्ण डाँगीको नेतृत्वमा खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ । आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडाकुडासहित ३ लाखबराबर क्षती भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस !
