समयको चिरफार

समयको चिरफार

कविता लेख्दै, गजल लेख्दै, गीत लेख्दै विसंगत बस्तीमा आइपुगेका छन्, ऋषि बस्ताकोटी। आर बी फ्लेमका नाममा २०५४ सालमा पोखराबाट प्रकाशित ज्वालाका रापहरू गजल संग्रह पनि उनैको हो। त्यसयता २०७१ सालमा गजल  एल्बम ‘स्पर्श’ निकाले र हालसालै ‘विसंगत बस्ती’ मुक्तक संग्रह। 

पेसा वातावरणविद् र रुचिले  साहित्यकर्मी बस्ताकोटी किन लेख्ने र कसका निम्ति लेख्ने भन्ने कुरामा सचेत छन्। एउटा जिम्मेवार लेखक जहिल्यै उन्मक्त सत्ता र शक्तिको  प्रतिपक्षी हुन्छ। निमुखाहरूको प्रवक्ता हुन्छ। आवाजविहीनको आवाज हुन्छ। त्यो  एउटा सामाजिक दायित्वबोध उनमा छ।   
समसामयिक विषयवस्तुलाई नजिकबाट हेर्ने र मुक्तकमार्फत खबरदारी गर्ने उनको लेखनको लामो शृंखलाले वि.सं. २०७९ मा आएर किताबी आकार ग्रहण गरेको हो। चतुष्पदी शैली र तेस्रो पंक्ति वाहेक अन्यमा तुकबन्दी गर्नु मुक्तकको प्रचलित रचना विधान हो। उनले समातेको बाटो त्यही हो।  

विसंगत बस्ती मुक्तक संग्रहमा उनी विषय विविधता, शिल्पशैली, रूपपक्ष र सारपक्ष गरी चौतर्फी फैलिएका छन्। उनको लेखनीमा माटोप्रतिको अनुराग, आत्मकेन्द्रित राजनीतिप्रतिको कटाक्ष, आम मानिसका पीडा, सामाजिक विकृति र वातावरणसँग सम्बन्धित विषय पाइन्छन्। उनी धर्तीलाई सम्पूर्ण मानव जातिको अस्तित्वसँग जोडेर हेर्छन्। माटो हाम्रो प्राण र बाटो हो। माटो नै हामी फुल्ने र झर्ने ठाउँ हो। माटो टेक्दिनँ भनेर कसलाई पुग्छ र ? 

माटोको पुजारी हो, ऊ धर्तीकै पुत्र हो  
जे गाउँछ उसले त्यो धर्तीकै स्तोत्र हो  
माटोमै मितेरी लगाई पुस्तौंपुस्ता गुजार्यो 
 पुस्तान्तरण हुँदै सिकेको त्यो जीवन सूत्र हो।  

आफ्नो देशको अनुहार फेर्नका निम्ति आफैँले तन, मन र धन लगाउनुपर्छ  भनेर जनतालाई उत्साहित गर्नुको साटो यताबाट मागौं, उताबाट मागौं, मागेरै  समृद्ध बनौं भनेर बोल्न किञ्चित लाज नमान्ने हाम्रो राजनीति र यसको नेतृत्वलाई पनि उनले बाँकी राखेका छैनन्।  

पुस्तक जब उही हुन्छ, गाता फेरे पनि  
आनीबानी उस्तै राखी, नाता फेरे पनि  
माग्ने आखिर माग्ने नै हो फेरिँदैन केही  
दानकै लागि नयाँ–नयाँ दाता फेरे पनि।    

कृषि प्रधान देशमा उखुको मूल्य नपाएर किसान रोइरहेका छन्। बारीमा बन्दा कुहिएको र सडकमा दूध पोखिएको छ। समाजसेवाका नाममा चन्दाको धन्दा चलेकै छ।  विसंगत बस्ती पखालेर सुकिलो बस्ती बनाउने ठेक्का लिएकाहरू नै अन्ततः टुकुचा खोलामा डुबेका छन्।  

भाउ नपाएर किसानले बारीमै फालेको बन्दाको कुरा सुन्नु भो ?   
कलाकारले देश बनाउँछु भन्दै थालेको चन्दाको कुरा सुन्नु भो ?  
फोहोर नाली सफा गर्छु भनेर पसेका, उल्टै डुबेछन् ती नालीमा  
 तिनै फोहोरी पुजारीले मन्दिरमा चालेको धन्दाको कुरा सुन्नु भो ?    

विसंगत बाछिटाले नरुझाएको कुनै क्षेत्र छैन। साहित्य, संगीत, कला र संस्कृतिमा समेत धमिरा  लागिसकेको छ। सम्मान, पदक र पुरस्कारको गठबन्धन यस्तो छ कि अब देख्नेले आँखा छोपेर हिँड्नुपर्ने अवस्था छ। तर न दिनेले अलिकति लाज जोगाउन सकेको छ न लिनेले ! यो विकृतिलाई उनले हानेको झापड कसिलो छ–

एकाबिहानै उसले पुरस्कार किन्नुस् भन्यो
खल्ती छामेर मात्र आफ्नो प्रतिभा चिन्नुस् भन्यो 
कला–संस्कृतिको मठाधीश मै हुँ झैँ गरी

 सम्मानित हुनुछ भने दस्तुर पो दिनुस् भन्यो।

हाम्रो आफ्नै सरकारसँग कुनै आँकडा छैन कति जनता परिवारका निम्ति दाल, चामलको जोहो गर्न परदेश भासिएका छन्। बलिया हात, खुट्टा भएको जनशक्ति विदेशमा बेच्नुमा हाम्रा शासकलाई ग्लानी छैन। उल्टो गर्व छ। जहाज चढेर गएका जिउँदो नागरिकका जिउँदा सपनाहरू काठको बाकसमा बन्द भएर फर्किंदा यहाँ सबै नेपालीको घर दुख्छ। तर यो घाउ राज्यलाई कहिले दुख्छ ? कि दुख्नै पर्दैन ?  

 कहिले गाउँ दुख्छ त यहाँ, कहिले सहर दुख्छ   
 कुर्दाकुर्दै देउरालीमा सान्नानीको रहर दुख्छ  
जब जहाज चढेका सपना बन्द बाकसमा फर्किंन्छन्   
तब के दुख्दैन यहाँ सबको  घर–घर दुख्छ।   

बलभद्र कुँवर, भक्ति थापा र भीमसेन थापाहरूको रगतले कोरिएको सिमाना बारम्बार अतिक्रमित हुँदै गइरहेको बेलामा पनि मूकदर्शक भएर मात्रै बस्ने हो भने  हामीले कुन नाक लिएर वीरका सन्तान हौं भन्ने ? हामीले हाम्रो माटो र चिनारीको पाटो कसरी जोगाउने ? 

सिमानामा बलभद्रको गाथा हराउँछ कि 
हेर्दाहेर्दै हाम्रो सगरमाथा हराउँछ कि  
कमजोरीलाई अक्कर पारी छिमेकीले चेप्दा   
नेपाली हौं भन्ने भोलि नाता हराउँछ कि ? !    

आफैँ बा बनेपछि बल्ल बाको दुःख छाम्न सकिन्छ। आफैं आमा बनेपछि बल्ल आमाको ममता महसुस गर्न  सकिन्छ। बा हुनु, आमा हुनु भनेको आफूले आफूलाई रित्याउँदै–रित्याउँदै गएर सन्तानलाई भर्दै जानु हो। आफ्ना पखेटा बस्दै गएको दुःख बिर्सिएर सन्तानका पखेटा लाग्दै गरेको खुसीमा मुस्कुराउनु हो। सम्पूर्ण आमाहरूको सम्मानमा संग्रहको अन्तिम मुक्तक रचना यस्तो छ– 

अदम्य साहस, अठोट र जाँगर हुन् मेरी आमा   
सन्तानका लागि नरित्तिने सागर हुन् मेरी आमा  
 बचेराले बेग हानेपछि गुँड रुंगिबसेको चरी झैं    
नदीले छाड्दै गएको एकान्त बगर हुन् मेरी आमा।  

यसबाहेक उनले आफ्ना मुक्तकहरूमा सच्चा सहिदहरूलाई  सलाम गरेका छन्। पसिना बेचेर खाने वर्गको बोली बोलेका छन्। बेथितिको रात ढलेर एकदिन थिति बस्ने आशावादी विचार बोकेका छन्।  

कुनै अलि छोटा र कुनै अलि लामा बान्कीका उनका अधिकांश रचनाहरूमा मीठो मुक्तकीय स्वाद भेटिन्छ। मुक्तकीय तŒव भेटिन्छ। गरुंगा शब्द, जटिल वाक्य र नबुझिने विम्बको प्रयोग छैन। पढ्दै जाँदा सलल्ल बग्ने र कुन निशानामा घुँयत्रो हान्न खोजेको हो ठ्याक्क मेसो पाइने उनको लेखाइको विशेषता हो। समग्रमा मानवजीवन, देश, समाज, संस्कृति, प्रकृति र पर्यावरणप्रति प्रतिबद्ध र केही वर्षदेखि एटलान्टिक महासागरको किनारमा बस्तै आएका बस्ताकोटीका सिर्जनाहरूले मुक्तकको सागरमा पानी थपेको छ। बीएन पुस्तक संसार प्रालिको यस प्रकाशनलाई साहित्यकार सरुभक्तले देशको दुरावस्था र राजनीतिको विडम्बनापूर्ण अवस्थाको चित्रण ठानेका छन् भने साहित्यकार विवश पोखरेलले माटोप्रतिको अनुराग मानेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.