प्रतिनिधि सभाको गतिरोध अन्त्यका लागि शीर्ष नेताबीच छलफल
काठमाडौं : प्रतिनिधि सभाको गतिरोध अन्त्यका लागि शीर्ष नेताबीच छलफल भएको छ। पशुपतिनाथको जलहरीका विषयमा सत्तारुढ माओवादी केन्द्रका सांसदले दिएको अभिव्यक्तिलाई लिएर अवरुद्ध भएको संसद बैठक सुचारु गर्न दलहरुबीच छलफल भएको हो।
सिंहदरबार बिहानदेखि जारी बैठकमा सत्ता र प्रतिपक्ष दलका शीर्ष नेता र प्रमुख सचेतक सहभागी छन्। छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु सहभागी छन्।

शुक्रबार बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरेको थियो। माओवादी केन्द्रका सांसद राजन दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पशुपतिनाथको गजुर राख्दा सुनमा पित्तल मिसाएको आरोप लगाएको थियो। सोही विषयलाई लिएर एमालेले संसद अवरोध गरेको थियो। माओवादी सांसद दाहाललाई आरोप पुष्टि गर्न एमालेले चुनौती दिएको छ। आरोप पुष्टि गर्न माफि माग्नुपर्ने भन्दै संसद चल्ने नदिने जनाएको छ।
सरकारले स्पष्ट जवाफ नदिएसम्म बैठक अघि बढ्न नदिने एमालेको चेतावनीपश्चात प्रधानमन्त्रीले छलफलका लागि सत्ता र प्रतिपक्षलाई बोलाएका हुन्। शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको थियो। संसद बैठक आज ४ बजेका लागि बोलाइएको छ।
प्रतिक्रिया दिनुहोस !