सुन तस्करी प्रकरणमा गृहमन्त्रीको संलग्नता छ कि छैन ? छैन भने कसको हो जवाफ चाहियो : ओली
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले १०० किलो सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता छ कि छैन जवाफ दिनुपर्ने बताएका छन्।
सोमबार राति कम्बोडियाबाट स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सानोतिनो संलग्नताले सुन बाहिरिन नसक्ने दाबी गर्दै गृहमन्त्रीले यसको जवाफ दिनुपर्ने बताएका हुन्।
‘उहाँको संलग्नता छ कि छैन। छैन भने कसको संलग्नता छ। त्यतिकै अर्काको गालामा बियाँ टास्ने होइन। यो अत्यन्तै अनैतिक क्रियाकलाप हो।’ उनले भने,‘सुनको मालिक को हो ? कसले बोकायो भरियालाई ? यसको जवाफ गृहमन्त्रीले दिनुपर्दैन।’
विमानस्थलबाट सुन बाहिरिनु भनेको गृहमन्त्रीको गैह्र जिम्मेवारीपन भएको उनले टिप्पणी गरे। ओलीले भने, ‘म उहाँलाई सचेत गराउन चाहन्छु, गृहमन्त्रीका हैसियतले बोल्दा तरिका पुर्याएर बोल्नुपर्छ,जथाभावी बोल्ने गृहमन्त्री भएर, जथाभावी बोल्न गृहमन्त्रीलाई छुट छ?’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको १०० किलो भन्दा परिमाणको सुन राजस्व अनुसन्धान विभागले बुधबार सिनामंगलबाट बरामद गरेको थियो। रेडी ट्रेडर्सका नाममा हङकङबाट आयात भएको दुई पाङ्ग्रे सवारीको पार्टस् (ब्रेक सु)भित्र लुकाएर ल्याइएको सुन त्रिभुवन विमानस्थल बाहिर बरामद भएको हो। उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणाली र भन्सार छलेर कसरी बाहिर आइपुग्यो भन्नेबारे पनि राजस्व अनुसन्धान विभागले अध्ययन गरिरहेको छ।
बरामद भएको सुन गुणस्तर तथा तौल परीक्षणका लागि अहिले नेपाल राष्ट्र बैंक अन्तर्गतको टक्सार महाशाखामा पुर्याइएको छ।
प्रतिक्रिया दिनुहोस !