मध्यनिन्द्रामा आफ्नै घरले थिचेपछि....

मध्यनिन्द्रामा आफ्नै घरले थिचेपछि....

पछिल्लो भूकम्प रातको समयमा गएकाले अधिकांश नागरिक सुतेको समय थियो। त्यसैले ठूलो नोक्सानी भएको हो। रातको समय भएका कारण उद्धारमा पनि कठिनाइ भएको थियो। कतिपयले समयमै उपचार नपाउँदा ज्यान गुमाएको प्रहरीको भनाइ छ।

शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले १ सय ५७ को ज्यान लियो। घाइतेको संख्या फरक–फरक भए पनि करिब २ सयको संख्यामा उपचारत छन् (समाचार तयार पार्दासम्म)। क्षतिको मूल्यांकन बाँकी नै छ। २०७२ को महाभूकम्पपछि पनि धैरै भूकम्प र सैयौं परकम्प आए। तर, पछिल्लो भूकम्प घातक बन्यो।

गत असोज १६ मा पनि बझाङलाई केन्द्रबिन्दु बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। तर, यसले क्षति कम गर्‍यो, कारण दिनको समय थियो। महिना दिनमै पुनः पश्चिम नेपालमा ठूलो भूकम्प गएपछि पश्चिममा कायम भूकम्पीय जोखिमप्रति पुनः ध्यान तानेको विज्ञ बताउँछन्। किनभने वर्षौंयता भूकम्पले पश्चिमलाई हल्लाई रहेको छ। विज्ञका अनुसार पश्चिम नेपालको भू–सतहमुनि पाँच सय वर्षयता भूकम्पीय शक्ति सञ्चय भइरहेको छ। त्यसले आठ वा त्योभन्दा बढी म्याग्निच्युडको भूकम्प निम्त्याउन सक्ने क्षमता राख्ने उनीहरू दाबी गर्छन्।

पछिल्लो भूकम्प रातको समयमा गएकाले अधिकांश नागरिक सुतेको समय थियो। त्यसैले ठूलो नोक्सानी भएको हो। रातको समय भएका कारण उद्धारमा पनि कठिनाइ भएको थियो। कतिपयले समयमै उपचार नपाउँदा ज्यान गुमाएको प्रहरीको भनाइ छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जाजरकोट र रुकुमपश्चिममा गरी शनिबार बेलुकीसम्म १ सय ५७ जनाको मृत्यु भएको जनाएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी गोपालचन्द्र भट्टराईले शनिबार साँझसम्म जाजरकोटमा मात्र १ सय ५ जनाको मृत्यु भएको बताए। यस्तै जाजरकोटको छिमेकी जिल्ला रुकुमपश्चिममा ५२ जनाको मृत्यु भएको छ।

भूकम्पका कारण जाजरकोटका नलगाड, भेरी र छेडागाड नगरपालिका तथा कुशे र बारेकोट गाउँपालिकामा क्षति भएको छ। यस्तै रुकुमपश्चिमका आठबिसकोट र सानीभेरी नगरपालिकामा क्षति भएको हो। यस क्षेत्रका अधिकांश घरहरू भत्किएका छन्। रातको समयमा आएको भूकम्पका कारण सुतेका मानिसहरू घरबाहिर निस्कनै नपाएको स्थानीयको भनाइ छ। भूकम्पपछि घरहरू भत्किएको र धेरैजना त्यसमा पुरिएको प्रहरीको भनाइ छ।
जाजरकोटमा ज्यान गुमाउने मध्येभेरी नगरपालिकामा पुरुष १४ जना, महिला २८ जना गरी ४२ जना, नलगाड नगरपालिकामा पुरुष १६, महिला ३९ गरी ५५ जना, कुशे गाउँपालिकामा पुरुष ३ र महिला ४ गरी ७ जना र छेडागाड नगरपालिकामा १ जना महिला छन्।

प्रहरीका अनुसार जाजरकोटमा १ सय ६ जना घाइते भएका छन्। जसमा ५ जना उपचार पनि शनिबार नै घर फिर्ता भएका छन्। त्यस्तै रुकुमपश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ। प्रदेश प्रहरी प्रवक्ता भट्टराईका अनुसार रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा ४२ जना र सानीभेरी नगरपालिकामा १० जना गरी ५२ जनाको मृत्यु भएको हो। रुकुमपश्चिममा भने ७९ जना घाइते भएका छन्। शनिबार दिनभर उद्धार तथा घाइतेको उपचारमा नेपाली सेना, प्रहरी र स्थानीयहरू जुटेका थिए।

एउटै वडाका २६ को मृत्यु

भूकम्पमा परेर रुकुमपश्चिममा ५२ जनाको मृत्यु भएको छ। जिल्लाको आठबिसकोट नगरपालिकामा ४२ जना र सानीभेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको हो। आठबिसकोट नगरपालिकामा प्रमुख रवि केसीले आफ्नो नगरपालिका क्षेत्रमा भूकम्पको कारण ४२ जनाको मृत्यु भएको बताए। उनका अनुसार नगरपालिकाको विभिन्न वडाबाट ४२ जनाको शव निकालिएको छ।

आठबिसकोट नगरपालिका–१४ मा मात्रै भूकम्पको कारण २६ जनाको ज्यान गएको छ। प्रमुख केसीका अनुसार वडा नम्बर ११ मा एउटै घरको पाँच जनाको मृत्यु भएको छ। नगर प्रमुख केसीका अनुसार आठबिसकोटमा भूकम्पका घाइते सबैको उद्धार भइसकेको छ। जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरिक्षक (डीएसपी) नमराज भट्टराईले हालसम्म आठविसकोट नगरपालिकाका ४२ जना र सानीभेरी गाउँपालिकाका १० जनाको मृत्यु भएको बताए। उनका अनुसार रुकुमपश्चिममा ज्यान गएका ५२ जनाकै सनाखत भइसकेको छ।

घाइतेहरूको उपचार हुँदै

जाजरकोट र रुकुमपश्चिम गरी जम्मा १ सय ८५ जना घाइते भएको प्रहरीको तथ्यांक छ। यस्तै भूकम्पबाट जुम्लामा ५ जना, दैलेखमा ३ जना, सल्यानमा १ जना गरी थप ९ जना आसपासका जिल्लाहरूमा घाइते भएका छन्। कतिपय ग्रामीण स्तरमा रहेका घाइतेहरूको विवरण आउनै बाँकी नै रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले दुवै जिल्लामा उद्धार कार्य गरिरहेका छन्। गम्भीर प्रकृतिका घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट शनिबार बिहानैबाट उद्धार थालिएको थियो।

nullभूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोटमा भत्किएका घरहरू । तस्बिर : राजेन्द्र कार्की 

हाल कर्णाली प्रदेश अस्पताल सुर्खेतमा २४ जना, भेरी अस्पताल नेपालगञ्जमा ३१ जना, शिक्षण अस्पताल काठमाडांैमा ८ जनाको उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। बाँकी घाइतेमध्ये अधिकांशको स्थानीय अस्पताल र स्वास्थ्य चौकीहरूमामा उपचार भइरहेको छ।

प्रहरीका अनुसार भूकम्पबाट कर्णालीका ६ जिल्ला प्रभावित बनेका छन्। शनिबार मानवीय उद्धारमा केन्द्रित भएका कारण भौतिक नोक्सानीबारे एकिन भइनसकेको प्रहरीको भनाइ छ। आइतबारबाट मात्र भौतिक क्षतिको विवरण संकलन गरिने प्रहरीले जनाएको छ।

प्रधानमन्त्रीले गरे, स्थलगत निरीक्षण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण गरेका छन्। प्रधानमन्त्री दाहाल शनिबार जाजरकोट र रुकुमपश्चिम पुगेका थिए। भूकम्पबाट भएको क्षति र अवस्था बुझ्न प्रधानमन्त्री दाहाल स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्रीसहित जाजरकोट पुगेका थिए।

प्रधानमन्त्री दाहालले जाजरकोट अस्पतालमा रहेका घाइतेको अवस्था बुझ्नुका साथै पीडितका आफन्तसँग कुराकानी गरेका छन्। उनले भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिम पुगेका प्रधानमन्त्री दाहालले विभिन्न अस्पतालमा पुगेर पीडितरहरूलाई भेट गरेका हुन्। जाजरकोटपछि प्रधानमन्त्री दाहालले रुकुमपश्चिमका भूकम्पपीडितलाई भेटेका छन्। भूकम्प प्रभावितहरूलाई भेटेर प्रधानमन्त्री दाहालले सरकार पीडितको साथमा रहेको बताए।

सरकारले खोज, उद्धार र उपचारलाई व्यवस्थित गरिरहेको बताउँदै प्रधानमन्त्रीले नआत्तिन घाइते र प्रभावितलाई आग्रह गरे। ‘भूकम्पले गरेको क्षतिप्रति दुखी छौं, सरकारले उद्धार र राहतका कार्यक्रम तत्काल गर्नेछ। तपाईंहरू नआत्तिनु होला’ प्रधानमन्त्रीले भने। भूकम्प गएको थाहा पाउनेबित्तिकै उद्धारको काममा कुनै कसर बाँकी नराख्ने योजनाका साथ सरकार लागि परेको प्रधानमन्त्री दाहालको भनाइ छ। शनिबार सरकारले उद्धारको काम गरेको भन्दै प्रधानमन्त्री दाहालले आइतबारबाट राहतको काम अगाडि बढाइने बताए। उनले भूकम्पपीडितलाई राहत, पुनस्र्थापना र घाइतेहरूको उपचारका लागि हातेमालो गर्न सबै राजनीतिक दल, निजी क्षेत्र र नागरिक समाजलाई अपिल गरेका छन्।

कर्णाली सरकारद्वारा, सहयोगका लागि गुहार

कर्णाली प्रदेश सरकारले भूकम्पबाट पीडित बनेकाहरूको उद्धार तथा राहतका लागि सहयोग गर्न अपिल गरेको छ। शनिबार बिहान मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले उद्धार तथा राहतका लागि सहयोग गर्न सबै पक्षलाई आह्वान गर्ने निर्णय गरेको हो। बैठकले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाउने र राहत सामग्री पठाउने पनि निर्णय गरेको छ।

प्रदेश सरकारसँग उपलब्ध भएको राहत सामग्री तत्काल पठाउने र नपुगेको खरिद गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए। मन्त्री जिसीका अनुसार तत्काल राहत तथा उद्धार, कमाण्ड पोस्ट स्थापना, जनशक्ति परिचालन तथा विषम परिस्थितिमा सहयोग गर्न सरकारी, गैरसरकारी संघ–संस्था, आमसञ्चार, नागरिक समाज, राजनीति दलहरूलाई आह्वान गरिएको छ।

६.४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोट र रुकुमलगायतका जिल्लाहरूमा भएको ठूलो जनधनको क्षतिप्रति प्रदेश सरकारले दुःख व्यक्त गरेको छ। मन्त्री जिसीका अनुसार प्रदेश सरकारले भूकम्प प्रभावित नागरिकहरूको आपतकालीन उद्धार, राहत सहयोगका कार्य गरिरहेको छ। प्रदेश सरकारले भूकम्प प्रभावितहरूका लागि अत्यावश्यक सामग्रीहरू प्रभावित क्षेत्रमा पठाएको मन्त्री जिसीको भनाइ छ।

रगत जुटाउँदै युवाहरू

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा घाइते भएकाहरूको जाजरकोट, रुकुमपश्चिम, कर्णाली प्रदेश अस्पताल, नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ। सुर्खेतका युवाहरूले भूकम्पमा परी घाइतेहरूका लागि रगत जुटाउन थालेका छन्। जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितहरूका लागि रगत जुटाउन वीरेन्द्रनगरमा रक्तदान कार्यक्रम चलाइएको छ।

नेपाल स्वंयमसेवी रक्तदाता समाज सुर्खेत, काँक्रेविहार क्लब, नेपाल बजार बिक्री प्रतिनिधि संघलगायतका निकायहरूको अगुवाइमा रक्तदान कार्यक्रम आयोजना गरी रगत जुटाइएको हो। वीरेन्द्रनगरमा शनिबार मात्र १ सय ४ पोइन्ट रगत संकलन भएको आयोजक काँक्रेविहार क्लबले जनाएको छ।

एलिनाको इन्जिनियर बन्ने सपना अधुरै

शुक्रबार मध्यरातमा जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा दैलेख घर भएकी एलिना भण्डारीको पनि निधन भएको छ। उनी जाजरकोटको नापी कार्यालयमा अमिन पदमा कार्यरत थिइन्। भण्डारी दैलेखको दुल्लु नगरपालिका—६ छिउडीपुसाकोट निवासी हुन्। उनी सुर्खेतको अमरज्योति माविमा तीन वर्षे जियोमेटिक इन्जिनियरिङ पाँचौं सेमेस्टरकी विद्यार्थी थिइन्।

तर, उनको इन्जिनियर बन्ने सपना अधुरै भएको छ। चौथो सेमेस्टरसम्म नियमित कक्षामा उपस्थित भएर अध्ययन गरिरहेकी उनी गत वर्ष भदौमा मात्र लोकसेवा आयोगबाट नापी कार्यालय जाजरकोटमा अमिनमा सिफारिस भएकी थिइन्। उनले पहिलो प्रयासमै अमिनमा नाम निकालेकी थिइन्। पढाइसँगै सरकारी जागिरलाई एकसाथ अगाडि बढाउँदै लगेकी भण्डारी शुक्रबार राति सदाका लागि अस्ताइन्।

२०७९ भदौमा उनी सरकारी सेवा प्रवेश गरेकी थिइन्। ‘सरकारी सेवामा प्रवेश गरेको एक वर्ष पुरा भएको थियो’ एलिनाका अंकल किरण भण्डारीले भने, ‘निकै संघर्ष गरेर अध्ययन पूरा गरेकी थिइन्, सरकारी जागिरे भएर भविष्य उज्ज्वल देखेकी एलिनाको सपना अधुरै रह्यो, अब्बल राष्ट्रसेवक भएर सेवा गर्ने उनको इच्छा अधुरो रह्यो।’ उनीसँगै उनका भाइ प्रज्वल शाहीको पनि भूकम्पमा परी ज्यान गएको छ।

एलिना र उनका भाइ नापी कार्यालयको क्वाटरमा बस्दै आएका थिए। कार्यालय नै भूकम्पले भत्काउँदा उनीसँगै उनका भाइको मृत्यु भएको हो। उनले दशैं मनाएर भाइलाई आफ्नो साथमा जाजरकोट लगेकी थिइन्। एलिना र प्रज्ज्वल एकै घरका दिदीभाइ भने होइनन्। उनीहरू फरक/फरक बाबुका तर एकै आमाका सन्तान हुन्। 

उपप्रमुख सिंहको निधन 

शुक्रबार रातिको भूकम्पमा जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको पनि निधन भएको छ। शुक्रबार मध्यरातिको भूकम्पले ३८ वर्षीया उपप्रमुख सिंहको मृत्यु भएको हो। भूकम्पमा परेर उपप्रमुख सिंहको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए।

उपप्रमुख सिंह शुक्रबार मात्र नलगाडबाट सदरमुकाम खलंगा आएकी थिइन्। खलंगास्थित घरमा सुतिरहेको अवस्थामा भूकम्पले घर भत्किँदा उनको मृत्यु भएको हो। घरले च्याप्पिएर घाइते भएकी उनलाई जिल्ला अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएकी थिइन्। उपप्रमुख सिंहको निधनले नलगाडवासीले असल अभिभावक गुमाएको बताएका छन्।

नागरिकको सेवामा निरन्तर खट्दै आएकी सिंहको निधनले असल नेतृत्व गुमाएको कांग्रेसले जनाएको छ। उनले नेपाल महिला संघको जिल्ला सचिव भएर काम गरिसकेकी थिइन् भने दुईपटक कांग्रेसको जिल्ला सदस्य बनेकी थिइन्। 

राजेन्द्र कार्की/जाजरकोट, विक्रम परियार/रुकुम, ललितबहादुर बुढा/सुर्खेत, बिस्नप्रसाद न्यौपाने/वीरेन्द्रनगर, हिक्मतबहादुर नेपाली/दैलेख


 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.