गैंडा सिकारको पुनरावृत्ति !
स्थानीय समुदायलाई समेत परिचालित गरी राज्यका सुरक्षा संयन्त्रलाई चनाखो बनाइएन भने चितवन निकुञ्जमा बल्लतल्ल बाँकी झन्डै सात सय गैंडा जोगाउन मुस्किल पर्न सक्छ।
कुनै बेला चितवन राष्ट्रिय निकुञ्ज तस्करले गैंडा सिकारको स्वर्ग बनाएका थिए। पछि भने शून्य सिकार अर्थात् ‘जिरो पोचिङ’को अवस्था बन्यो। अहिले आएर फेरि गैंडा मार्ने र खाग चोर्ने तस्करले उधुम मच्चाउन थालेका छन्। दसैं र तिहारमा मानिसहरू रमाइलोमा भुलिरहेको मौका छोपेर तस्करले दुई गैंडा मारे।
झन्डै १० दिनअघि मारिएको अनुमान गरिएका दुई पोथी गैंडा बिहीबार मृत भेटिए। गैंडा सिकारको पुनरावृत्तिमा उही पुरानो शैली के देखिएको छ भने सिकारीले पहिलापहिला झैं खाल्डोमा पारेर गैंडा मारेका छन्। यो प्रकरणको छानबिन समिति गठन भइसकेको छ, त्यसले १० दिनभित्र प्रतिवेदन बुझाउला। तर, मार्ने शैली हेर्दा पुरानै तस्करहरूले फेरि फन्डा उठाएको हो कि भन्ने सन्देह चाहिँ मार्ने शैलीले पैदा गरेको छ।
गैंडा सिकारको यो घटना किन पनि संवेदनशील छ भने पछिल्लो १० महिनामै चितवनमा चार गैंडा मारिएका छन्। पोहोर साल नवलपुरमा करेन्ट लगाएर माउ र बच्चा गैंडा मारिएको थियो। २०७७/०७८ मा चारवटा गैंडा मारिएका थिए। एकपछि अर्काे साल गर्दै गैंडा तस्करले आफूलाई शक्तिशाली र राज्यले संरक्षणमा आफूलाई कमजोर बनाउँदै लगेको यी घटनाले देखाउँछन्। संरक्षणमा कमजोर वा लापरबाही किनभने गस्ती भइरहने भनिएको सेनाको खगेन्द्रमल्ली पोस्टबाट साढे तीन किलोमिटर दक्षिणपूर्व चपरचुली क्षेत्रमा चारवटा खाल्डा खनिएकोमा दुइटामा दुई पोथी जाकिएर मरे। बस्तीबाट पनि त्यो ठाउँ पाँच किलोमिटरमात्रै टाढा हो। चार/चारवटा खाडल खनिँदा पनि सुरक्षा जिम्मेवारहरूले थाहा
सशस्त्र द्वन्द्वकालको समयमा गैंडा तस्करी धेरै मौलाएका थिए। सैनिक गस्ती घटाइनु त्यसको कारण थियो। २०७१ वैशाख २० पछि शून्य सिकार भएको भनी २०७३ माघ १५ मा शून्य सिकारका हजार दिन मनाएपछि सरकार र सुरक्षा संयन्त्र ढुक्कले निदाउन थालेकै हुनुपर्छ सिकारीहरूको मनोबल बढेको। गएको भदौमा पनि मरेको गैंडाको हाडखोर भेटिनु र फेरि त्यही ठाउँमा दुई गैंडा मारिनु भनेको सिकारीले अनुकूलता भेटेको प्रस्टै हुन्छ। स्थानीय समुदायलाई समेत परिचालित गरी राज्यका सुरक्षा संयन्त्रलाई चनाखो बनाइएन भने चितवन निकुञ्जमा बल्लतल्ल बाँकी झन्डै सात सय गैंडा जोगाउन मुस्किल पर्न सक्छ। विश्वकै दुर्लभ वन्यजन्तु गैंडाको खागको अहिलेसम्म पुष्टि नभएको उपयोगिताकै लागि यो प्राणीलाई मारिनु निकै हदको घिनौना हर्कत हो। राज्यले यसलाई नरोकी सुखै छैन।