दुर्गमका पीडा, पिठ्युँमै बोकेर स्वास्थ्यचौकी
हुम्ला : दुर्गम जिल्लाका नागरिकले स्तरीय उपचार सेवाको त के कुरा गर्नु बिरामी हुँदा स्वास्थ्य चौकी लैजान स्ट्रेचरसम्म पाउँदैनन्। बिरामीलाई पिठ्युमै बोकेर स्वास्थ्य चौकी पुर्याउन बाध्य छन्।
यहाँका अधिकांश बिरामीहरू दिनभर पैदल हिँडेर स्वास्थ्य चौकीसम्म पुग्नपर्छ र हिँड्न नसके बोकैरै अस्पताल पुग्नुपर्ने यहाँको नियति नै बनिसकेको छ। त्यसको एक ज्वलन्त उदारण हुम्लाको चंखेली गाउँपालिका –५ नेप्का गाउँकी ४५ वर्षीया तुला तामाङ हुन्।
महिनौँको गाउँमा मुटु दुख्ने, खुट्टाको फिला दुख्ने समस्याले थलिएकी उनलाई सोमबार गाउँबाट एक दिन पैदल पिठ्युँमा बोकेर बल्लतल्ल गाउँपालिका केन्द्रसम्म ल्याएको उनका श्रीमान हरिचन्द्र तामाङले बताए।
घरमै सन्चो हुने आशामा उनलाई महिनौसम्म घरेलु उपचार गरेको तामाङले बताए। घरमा सन्चो हुने कुनै छाँटकाँट नदेखिएपछि सोमबार श्रीमतीलाई गाउँपालिका केन्द्रसम्म बोकेर ल्याएको उनले जानकारी दिए।
'गाउँभर श्रीमतीलाई बोकाउने मान्छे खोज्दा खोज्दा बल्ल चार जना मात्रै मान्छे भेटेपछि पिठ्युँमै बोकेर बिहान ५ बजे गाउँबाट हिँडेका हौं, बेलुका ४ बजे गाउँपालिका केन्द्र पिप्लाङसम्म पुर्याइयो,' उनले दुखेसो पोखे।
अप्ठ्यारो बाटोमा जोखिम मोलेर बोकेर गाउँपालिका केन्द्रसम्म ल्याएपछि यहाँ उपचार नहुने डाक्टरहरूले बताए।
जिल्ला बाहिर उपचार गर्न लैजान भनेर गाडी रिजर्भ गर्दा सर्केगाड गाउँपालिका १ को खच्चामा सडक अवरुद्ध भइ फेरि अर्को गाडी फेर्नुपर्ने बाध्य भएको उनले बताए।
गाउँमा बिरामी हुँदा बोकेर गाउँपालिका केन्द्रसम्म पुग्नुपर्छ चंखेली गाउँपालिका ५ का स्थानीय जस बहादुर तामाङले बताए। 'स्थानीय सरकार आए पनि न त गोरेटो बाटो राम्रो छ न त गाउँमा गुणस्तरीय उपचार औषधीको व्यवस्था छ', तामाङले आक्रोश पोखे। संघीयता आए पनि नागरिकहरूका दुख जस्ताको त्यस्तै नै रहेको तामाङले बताए।