काव्यचित्रमा कविको वक्तव्य
ऋषि बस्ताकोटीको नाम लिनेबित्तिकै आरबी फ्लेमलाई सम्झन्छु अनि सम्झन्छु गजलभित्रको एउटा छुट्टै विद्रोही स्वरलाई। ‘ज्वालाका रापहरू’ भन्दै आगोजस्ता गजल लेख्ने उनी ‘पानीको रङ’ लिएर पाठकमाझ आएका छन्। आगोबाट सुरु भएको यात्रा आज पानीसम्म आइपुगेको छ। मान्छे आफैंभित्र ठोक्किएर, घोटिएर, टुक्रिएर, पछारिएर, पिल्सिएर, रापिएर अनि पाकेर मात्रै कवि बन्छ सायद। कविता लेख्नु भनेको फरक बाटोमा हिँड्नु हो। कविता लेख्नु भनेको आफूभित्रको मानिसलाई आविष्कार गर्नु हो। कवि बन्नु तर मान्छे बन्न नसक्नु जस्तो विरोधाभाष यो दुनियाँमा अर्को कुनै छैन होला।
यस मानेमा ऋषि एक जिम्मेवार मानिस पनि हुन्। एउटा जिम्मेवार मानिस नै एउटा जिम्मेवार कवि बन्न सक्छ। यसबाहेक कविता लेख्नु भनेको हृदयलाई मुटुबाट बाहिर निकाल्नु पनि हो, आफैंसित विद्रोह गर्नु पनि हो। समाज, राष्ट्र र आफू बाँचेको युगका बेथिति र खराबीमाथि अनि जीवनका असंगत शृंखलामाथि विद्रोह गर्नु पनि हो। बस्ताकोटी यसरी विद्रोही कवि हुन्। पानीको रङ त्यही विद्रोहको एक पुनर्उत्पादन हो। शिखा बुक्सले प्रकाशन गरेको ‘पानीको रङ’ कविता संग्रहमा जम्मा ४० कविता छन्। ती कवितामा अलगअलग भाव, प्रस्तुति र विषयवस्तुको स्वाद लिन पाइन्छ। कुल १२० पृष्ठको कृतिलाई अभि र अल्बर्ट बस्ताकोटीले डिजाइन गरेका हुन् भने मेदनी भण्डारीले भाषा सम्पादन गरेका हुन्।
कृतिभित्र अनुभवले खारिएका एवं गहन जीवन दर्शनयुक्त कविता समाविष्ट छन्। चाखिलो भाषाशैली, चोटिलो प्रस्तुति र सरल बिम्बको प्रयोग छ। पानीको रङका कविता सरिसृप जसरी घस्रिएर हिँडेका छैनन्, बरु नदी जसरी सलल बगेका छन्। पूर्वीय र पाश्चात्य अनुभूतिको सम्मिश्रण छ। क्षीण हुँदै गएको मानवीय मूल्य र मान्यता अनि आफू बाँचेको युगका दुरुहतामाथि प्रश्न गरेका छन्।
प्रकृति र पर्यावरण : पहिरो, बादलका बुट्टाहरू, मेरो चेपेखोला, फूलमायाको गाउँमा, उदाउँदै गरेको जूनको कुरा, यसपालि वसन्तमा, पानीको रङ, खोलासँग, एक्ले बर, गाउँको बाटो। यी कविताले नेपालको प्रकृति र पर्यावरणलाई आफूमा समाहित गरेका छन् :
पहिरो भनेको भत्कनु हो
यो विनाशको संसारमा
पहिरो जहाँ पनि जान्छ
वनमा जान्छ,
मनमा जान्छ,
यौवनमा जान्छ
र जीवनमा जान्छ।
पहिरो (पहिलो कविताको पहिलो थुङ्गाले नै पाठकलाई तानिहाल्छ) ।
राजनीतिक व्यंग्य र जीवन दर्शन : झिँगाहरू, साँढेहरू, भ्यागुताहरू, किर्नाहरू, उन्मुक्तिको गीत, म्यादी माइला, सूर्यबहादुर तामाङ, भ¥याङ एक शब्दचित्र जस्ता कवितामा राजनीतिक व्यंग्य पाइन्छ। साथै मेरा बा, मेरो छोरा, तिम्रो मायामा, तिम्रो जन्मदिनमा, समयरेखामा हामी, आमा घर हौ जस्ता कवितामा प्रेम र समर्पणको भाव भेट्न सकिन्छ :
सक्न त सकिन्छ
तिमीले यो धर्ती टेकेको दिन सम्झेर
वर्षमा एक दिन एउटा केक काट्न पनि सकिन्छ
तिम्रो दिव्यदृष्टिले मलाई देखेको दिन सम्झेर
वर्षमा एक दिन गुलाफ साट्न पनि सकिन्छ
अनि बाँकी दिन–
अनि बाँकी दिन के गर्ने ?
(तिम्रो जन्मदिनमा, पृ. ४८)
सहिदको सम्झनामा, गतिशीलता, मृगतृष्णा, पर्खाल, भित्ता र हामी, शिल्पीले छोएपछि, मूर्ति, बाका जुत्तालगायतका कवितामा देशप्रेम र मानवताको भाव प्रकट भएको छ। यीबाहेक कुनै कवितामा पराइ भूमिमा भोग्नु परेका बाधाहरूका सुस्केरा छन्। कुनैमा उन्मुक्तिका चाहना छन्। नामका कुरा नगर, आप्रवासी रामप्रसाद, तिमी गएपछि जस्ता कविताले आफ्नो अस्तित्वको खोजी गर्न दुनियाँभर भौतारिरहेका मानिसको वकालत गर्छन्।
‘पानीको रङ’भित्रका कवितामा दुरुह जीवनका कथा छन्, जहाँ सुस्केरा र दुःखका परिवेश छन्। कवि जहाँ गए पनि आफ्नो मुलुक, समाज, घर, आँगन र हुर्की बढेको ठाउँ भुल्न सक्दैन। ऋषिका कवितामा कतै राजनीति त कतै आर्थिक परिवेश झुल्किन्छन्। कहिले बा, आमा, दाजुभाइ, साथीसङ्गी अनि समाजको पिँधमा रहेका मानिसका चित्र आउँछन्। कहिले फूलमाया र सूर्यबहादुर तामाङका युगले चपाएका अनुहार झुल्किन्छन्।
आँपपीपल, गोरखा, काठमाडौं, गाउँ, खोला, गोरेटो, सडकजस्ता स्थानको चित्र पनि आइरहन्छ। भुस्याहा कुकुर, स्याल, गिद्ध, झिँगाका बिम्बले कुरूप राजनीतिको सातो बोलाइरहन्छ। जसरी उनका कवितामा पात्र र परिवेशको विविधता छ, त्यसैगरी भाव र आन्तरिक लयको मिठासपूर्ण संयोजन रहेको छ। गजलमा रम्ने, गीतमा झुम्ने कविको स्वभावले होला कुनै कुनै कवितामा अनुप्रास, रदिफ र काफियाको स्मृति गराउने भावनुप्रासहरू आइरहन्छन्। जस्तो कि :
म तिम्रो सहरमा आउन सकिनँ
र तिम्रो रहरमा रमाउन सकिनँ।
मानिस जतिसुकै टाढा पुगोस् उसको जरा ऊ जन्मिएको जमिनमा नै हुन्छ। ऋषिका कवितामा नेपाल र नेपालीकै दुःख, पीडा र अभावका अभिव्यक्ति छन्। नेपाली सुवास, नेपाली आकाश र नेपाली गोरेटोको मोहले यी कविता बनेका छन्। उनले आफ्नो जमिन छोडेका छैनन्। सायद त्यही भएर उनका कवितामा नेपाली माटोको सुगन्ध भेटिन्छ।
साँच्चै मेरा बा रोगले गाँजेर ढल्नुअघिसम्म आफ्नै लागि चाहिँ कति हाँस्न पाउनुभयो होला ? उनी कविताबाट बा स्मरण गर्छन्। कृतिमा मृगतृष्णा, पानीको रङ, आप्रवासी रामप्रसाद, मूर्तिजस्ता घघडान कविता समावेश छन्। हामीले २००७ साल, २०४६ साल, जनयुद्ध साल, २०६३ साल र त्यसपछिका धेरै बेकार सालहरूको साक्षी बस्ने (कु) मौका पायौं। कविताले बेकारमा व्यतित गरेको यो समयको हिसाब मागेका छन्। देशले खोला, नाला र छहरा बेच्यो रे ! देशले पानी बेच्यो रे ! हुँदाहुँदा देशले माटो बेचेको, नागरिकका सपना र भावना बेचेको अनि जिउँदा जाग्दा, पाखुरीमा संसार बदल्ने ताकत भएका नागरिकलाई हरेक दिन कौडीको भाउमा बेचिरहेको देख्न एउटा कवि अभिशप्त छ। विश्वलाई सपनाहरूको साकारभूमि, भावनाहरूको मञ्च र भातृत्वको आँगनका रूपमा देख्न चाहने एउटा कविले आफ्नै मातृभूमिमा भएका बेथितिलाई कसरी चुपचाप सहन गर्न सक्छ ?
यति भन्दाभन्दै पनि कतैकतै भने असावधानीवश केही अमिल्दा सन्दर्भ गाँसिन पुगे झैं लाग्छ। जीवनको बैसाखी भाँचिएर दुनियाँ समस्यामा पर्छ। यसो किन भनिएको होला ? बादलका बुट्टाहरू कवितामा ‘रणसंग्राम मच्चाउने, दुन्दुभी मच्चाउने’ भनिरहनुको सट्टा कुनै एउटा मात्रै भनेको भए हुने जस्तो लाग्छ। मेरा सन्ततिको यिनै चरा झैं उड्ने सपनालाई को सट्टा मेरा सन्ततिका यिनै चरा झैं उड्ने सन्नति भन्न पाएको भए हुन्थ्यो कि ! टनेलको अँध्यारोलाई सुरुङको अँध्यारो भने बढी सुस्वाद हुन्थ्यो कि !
यी त झिनामसिना कुरा भए। गजबको कुरा, यत्रो समयको अन्तरालमा ल्याइएको कृतिभित्र जम्मा ४० कविता छन्। उनी परिमाणभन्दा गुणवत्तालाई ध्यान दिने कवि हुन् भन्न सकिन्छ। कवितामा अनावश्यक शब्दजाल नभेटिनाले उनी शब्द चयनमा पनि मितव्ययी देखिन्छन्। सहज, सरल र सुस्वादु कविताको सम्मेलन हो यो संग्रह। धेरै दहीबाट मथिएको थोरै नौनी हो। कविताले फरक अनुहार बोकेर फरक बाटोमा हिँड्ने अपेक्षा गरिरहे झैं लाग्छ। पानीको रङ र जीवनको रङ उस्तै हुन्छ। यी कविता पनि जीवन जस्तै जीवन्त बनून्।
प्रतिक्रिया दिनुहोस !