सामाजिक सञ्जालमा तथ्य र सत्य लेख्न प्रेरित गरौं, साइबर अपराध कम हुँदै जान्छ : महासचिव पोखरेल
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा तथ्य र सत्यसहित आग्रह गरेका छन्। पोखरेलले तथ्य र सत्यका पक्षमा किन कोही बोल्दैनन् र लेख्दैनन् भनेर सामाजिक सञ्जालमा प्रश्न गर्नु भन्दा आफैले लेख्न सुरु गर्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका छन्।
आफूले अघि सरेपछि सत्य र तथ्य बलियो हुने भएकाले अरुलाई पनि अघि सर्न प्रेरित गर्ने उनको भनाई छ। ‘तथ्य र सत्यका पक्षमा किन कोही बोल्दैनन् र लेख्दैनन् भनेर सामाजिक सञ्जालमा प्रश्न गर्नुभन्दा आफैँले लेख्न सुरु गर्नुहोस्।’ बुधबार बिहान पनि फेसबुकमार्फत उनले भनेका छन्,‘तपाई आफैँ अघि सरेपछि सत्य र तथ्य बलियो हुन सुरु गर्दछ। त्यसले अरुलाई पनि अघि सर्न प्रेरित गर्दछ। असल मानिसहरु सक्रिय भए अराजकता, अशिष्टता र साइबर अपराध क्रमशः कम भएर जान्छ।’
सामाजिक सञ्जाललाई राजमार्गसँग तुलना गर्दै उनले सडकको यात्रामा जो निस्कन्छ त्यही देखिने टिप्पणी गरे। ‘इन्टरनेट सञ्जाललाई सूचना महामार्ग मानिन्छ। सामाजिक सञ्जाल आफैँमा राजमार्ग जस्तै हो। सडकको यात्रामा जो निस्कन्छ त्यही देखिन्छ।’ उनले भने, ‘घरभित्र बसेको मान्छे सडकमा नदेखिए जस्तै सामाजिक सञ्जालमा असल मानिसहरु नआउँदासम्म आएका खराब मान्छेहरु देखिने हो।’
प्रतिक्रिया दिनुहोस !