आफू भलो त जगत् भलो

आफू भलो त जगत् भलो

त्यत्रो उँचो स्थानमा बसेर पनि मेरा मित्र कहिलेकाहीँ मकहाँ टुप्लुक्किहाल्छन् । हुन त मलाई त्यसको कारण थाहा नभएको हैन । यो कलम पढ्ने जो कोहीलाई पनि त्यो कुरो थाहा भैहाल्छ । मैले भनिरहन पर्दैन ।

आउनेबित्तिकै आसनमा बसेर उनले भने, ‘हेरन मित्र सुपर्णखा, हाम्रो संस्कार भाँडियो । कसले कोसँग कसरी बोल्नुपर्छ ? के बोल्नुहुन्छ ? के बोल्नुहुन्न ? आफ्नो पदीय मर्यादा कायम राख्न कति बोल्नुपर्छ ? कति बोल्नुहुन्न ? भन्ने सबै कुरा हराएर गयो । जसलाई जे मन लाग्यो त्यही बोल्ने, मर्यादा भन्ने कुरा हराएर गयो । 

मर्यादित कुरा मान्छेको मुखबाट प्रस्फुटन हुन छोड्यो । यसरी त हाम्रो समाजको सभ्यता नैं भाँडिने भो । अचेल मलाई यही चिन्ताले बिथोलिरहेछ । के गर्ने होला मित्र ?’ एकछिन मुस्कुराएर उनलाई हेरिरहें । अनि मेरो ओठ खुल्यो, ‘मित्र, यो समाजले तिमीलाई सबै किसिमबाट समाज सम्हाल्ने, सुधार्ने जिम्मा सुम्पेकै छ । अब जिम्मेवारीअनुसार काम गरन सबै क्षेत्र ठीक भैहाल्छ निं । व्यर्थमा चिन्ता गर्नुपर्ने कारण नै छैन ।’

‘जिम्मेवारी पाएपछि चिन्ता लाग्दैन त ?’, उनले झटपट मुख खोले । 
जवाफ फर्काएँ, ‘हेर जिम्मेवारी पाउनेले सबभन्दा बढी सचेत हुनुपर्छ । सबभन्दा बढी संवेदनशील हुनुपर्छ, सहनशील हुनुपर्छ, मर्यादित किसिमले बोल्न सक्नुपर्छ । प्रथम जिम्मेवारी तिम्रै हो । सुरु तिमीबाटै हुनुपर्छ ।’ ‘म कहिले आफ्नो सभ्यता र संस्कारबाट च्युत भएको छु र ? कहिले दुर्वाच्य ओकलेको छु र ?’ उनी अलि ठुस्किए ।

सम्झाएँ, ‘हेर, एकपल्ट आफूले बोलेका उखान, लवज, भाषा, उद्गारहरूको रेकर्ड सुनेर हेर त । एक त जति माथि पुग्यो, त्यति कम बोल्ने गर्नुपर्छ, बोल्न अत्यावश्यक हुँदा मात्र बोल्नु पर्छ त्यो पनि थोरै । कतिपय कुरामा आफूले नबोली आसेपासेलाई बोल्न लगाउनु पर्छ । जे कुरामा पनि बोल्नै पर्ने जवाफ दिनै पर्ने भन्या त गल्लीमा भौतारेर हिँड्ने काम केही नभएकाहरूले मात्र हो जस्तो कि विदेशी हण्डी खाएर उठेकाहरूले आफ्ना कर्मठ नागरिकले गरेका प्रशंसनीय कामका लागि आफ्नाको प्रशंसा गर्नु साटो विदेशी मालिकलाई चाकडी पुर्याउन तिनले नै गर्दा उज्यालो भएको हो भन्ने छुद्र वचनले आफ्नालाई हतोत्साहित गर्छन् भने त्यस्ता वचनमा संस्कार भेटिन्छ ? अनि त्यस्ताका अनुचरहरूले कस्तो संस्कार सिक्छन् ?’

उनले मेरो कुरा न सक्किँदै प्रतिवाद गरे, ‘जथाभावी बोल्नेहरूलाई जवाफ दिनु परेन त ।’
‘त्यै हो मैले तिमीलाई भन्न खोजेको । कतिपय कुरामा चुपो लागेर बसे हुन्छ । जवाफ दिनैपरे आसेपासेको प्रयोग गरे हुन्छ । जिम्मेवारहरू तिमी र तिनमा पनि संयमताको, संवेदनाको, मर्यादाप्रति सचेतनताको अति नै खाँचो भएको देख्छु म । हेर, भकुण्डोलाई जुन शक्ति लगाएर भित्तामा ठोक्छौ, त्यै शक्तिले त्यो फर्किन्छ, त्यसलाई उचित किसिमले खेल्यौ भने शरीरमा स्फूर्ति बढ्छ । यो कुरालाई ख्याल ग¥यौं भने तिमीले संस्कार र सभ्यताको चिन्तै गर्नु पर्दैन । अहिले त समाज यस्तो भैसक्यो कि जसले जति गाली गर्न सक्यो त्यै हिट हुने भो । सामाजिक सञ्जालमा धेरै हेरिने पनि त्यै गालीगलौज हुन थाल्यो । यस्तो संस्कारले कसरी बढावा पायो ? पहिले त यस्तो थिएन । यसको दोष कसलाई दिने ? एकपल्ट आत्मसमीक्षा गरेर हेर त ।’ मैले सम्झाउने प्रयत्न गरें ।

उनी एकछिन चुपचाप रहे । आँखा चिम्लिए । लाग्यो मनन् गरे । निकैबेरपछि मुख खोले, ‘हेर न, जे कुरामा पनि विपक्षीहरू विरोधगर्छन् ।

हुँदाहुँदा युवाहरूलाई देश विकासमा संलग्न गराउनुपर्छ भन्नु गलत कुरा हो त ? मैले त्यसोभन्दा पनि विरोध गर्छन् ।’
मैले पनि उनको कुरा काट्दै भनें, ‘युवा नै कति बाँकी छन् र देशमा ?’ उनी कडकए, ‘तिमीले पनि मलाई गलत नै देख्छौ । जिम्मेवारी लिएर हेर अनि थाहा पाउलाउ । अर्काको दोष देख्न सजिलो छ, जिम्मेवारी निभाउन परे थाहा हुन्थ्यो ।’

मैले मुस्कुराएर बोलें, ‘सुन, एउटा कथा भन्छु । एउटा छट्टु स्याल एकपल्ट नीलो रङले भरिएको एउटा ठूलो कराहीमा खसेछ । कराहीबाट बाहिर निस्कँदा आफूलाई फरक पाएर आफू स्वघोषित राजा भएछ । उसका सम्बन्धीहरूले राति अन्धकारमा कराउन थालेपछि आफ्नो बानीले जकडिएको उसले पनि त्यही सुरमा हुइँया गर्न थालेपछि सबैले बुझेछन् त्यो त छद्म भेषको राजा पो रहेछ ।’
उनले बीचैमा मलाई सोधे, ‘तिमीले मलाई स्यालसँग दाँजेको ?’

मैले मुस्कुराएर भनें, ‘कस्तो कुरा गर्या मित्र ? त्यो चुत्थो श्यालसँग म तिमीलाई दाँज्छु त, केही नपाएर । मैले त स्यालको बुद्धिमत्ता पो तिमीसँग दाँजेको त ।’ उनले के बुझे कुन्नि । मक्ख परे । म पनि मक्ख परें । फुर्सद लिएर चिया खाएर गए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.