वास्तविकताको ऐनामा जीवन–गाथा
प्रथम महिला राधिका शाक्यको सादगीपन, सरलता र उहाँको मानव सेवाप्रति समर्पण। पुस्तक पढिसकेपछि थाहा भो टेम्पो चढ्ने मन्त्राणी त्यसमा पनि गृहमन्त्रीको श्रीमती जुन अहिलेका धेरै मन्त्राणीले उहाँबाट अनुसरण गर्नुपर्ने पाएँ । खँदिलो र अब्बल लेखनशैलीले आकर्षित ग¥यो। पुस्तकमा भूमिका लेखिकाका श्रीमान् वा भनौं नेपालका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै लेखेकाले वास्तविक भोगाइका विषयहरू मुखरित भएका छन्। शाक्यले जीवनका उकाली–ओरालीका संघर्षमय पलहरूलाई पुस्तकमा उतारेर धेरैलाई प्रेरणा जगाएकी छन्। त्यसमा पनि सत्ता, शक्ति र राजकीय सेवासुविधाको उन्मादबाट टाढा रहन चाहने उनको व्यक्तित्व धेरैका लागि उदाहरणीय छ नै ।
श्रीमान्को राजनीतिक भविष्यका लागि के मात्र समर्पण गरिनन् लेखिकाले। श्रीमान्को स्वास्थ्य र सफलताका लागि जीवनका सम्पूर्ण त्याग र समर्पण पुस्तकमा छर्लंग छ। लेखिकाका आफ्नै कथाव्यथा छन्। चाहे त्यो कापीकलम जुटाउन सानैदेखि क्युरिओको काम गर्दाको होस्, चाहे राष्ट्रबैंकका सुरुआती जागिर गर्दाका दिन अनि पढाइसँगै अघि बढाउनुपर्ने दायित्व। यद्यपि उनले प्रथम श्रेणीमा एसएलसी पास गरिन्। परिवारको कमजोर आर्थिक अवस्थाका कारण विज्ञान विषय इतर पढ्नु परेको रहेछ। यदि आर्थिक अवस्था बलियो हुन्थ्यो भने उनको मनोबल पनि बलियो नै हुनेथियो। प्राविधिक विषय लिएको भए सायद उनी डाक्टर अथवा इन्जिनियर हुन्थिन्। सहरभित्र एक गरिब परिवारमा जन्मिएर बिहान–साँझको जीवन गुजारामा बुबाआमाको संघर्षसँगै हैसे गर्दै अध्ययनमा अब्बल सावित हुनुभित्र चानचुने मिहिनत छैन।
कतिपय शीर्षकभित्र डुब्दा साँच्चै उनको जिन्दगी सरदर नेपालीहरूको जस्तै थियो। जस्तो सहरका सम्पन्नताभित्र नअटेको चुहिने छानो। छिमेकीले हेपेर घरमुनिबाटै ढल निकास पठाएको। नेवार समुदायमा अत्यधिक चाडपर्व हुने र पर्वहरू आउँदा घरमा खुसी हुनेभन्दा बुवाआमामा पीडा बढी ल्याउने गरेको र खुसी खोस्ने काम गरेको सन्दर्भ किताबमा छ। लेखेकी छन्, ‘पर्वको रमाइलो पनि गच्छेअनुसारको हुने रहेछ। कति मार्मिक वाक्य ! हुन त यो सरदर ७० लाख नेपालीको वास्तविकता हो।
थाहा छैन, अहिलेको राजनीति कति नीति, निष्ठा, समर्पण, त्याग, सरलता र सिद्धान्तमा केन्द्रित छ ? मन्त्री निवासबाट फर्किएपछि माइतीघर र निरन्तर डेरामा ! संघर्ष र श्रीमान् शक्तिशाली मन्त्री तथा पटकपटक सांसद हुँदा पनि डेरावाल जिन्दगी ! अनि आफ्नै संघर्षले बनाएको घरमा पनि अनेक टीकाटिप्पणी भएपछि लेखिकाले मन दुखाएको सन्दर्भले किताब पढ्नेको पनि मन कटक्क हुँदोरहेछ।
पुस्तक पढेपछि वास्तविकता थाहा हुन्छ, यो विशुद्ध उनको पसिनाको कमाइबाट आर्जित सम्पत्ति हो।
राधिकाको प्रेरणादायी र अनुकरणीय पक्ष भनेको दीनदुःखीको सेवा त्यसमा पनि अनाथ बालबालिका तथा वृद्ध बुवाआमाप्रतिको माया, करुणा र स्नेह नै हो, जुन उच्चकोटीको छ। उनको सबैभन्दा ठूलो योगदान श्रीमान् सम्माननीय प्रधानमन्त्री ओलीको दीघार्युप्रतिको समर्पण नै हो। त्यसैले उनको पुस्तकको एउटा शीर्षक पनि छ। सबैभन्दा ठूलो पर्व भनेकै उनका लागि केपी सरको जन्मदिन। यो पढ्दा श्रीमान्को स्वास्थ्यका लागि गरेको संघर्ष अनुकरणीय लाग्छ। लेख्छिन्, ‘केपी सरसँग जिन्दगीभरको सहयात्राको निर्णय गरेको दिनदेखि कुनै दिन यस्तो छैन जुन दिन उहाँको स्वास्थ्यका बारेमा चिन्ता नभएको होस्।’
प्रायः मञ्च, बैठक तथा सार्वजनिक समारोहहरूमा श्रीमान्सँगै देखिनु भनेको उनको सोखले नभएर श्रीमान्को हेरचाह र समयमा औषधि खुवाउनका लागि रहेछ भन्ने पुस्तकमा छ। ‘अनिश्चिततामात्रै निश्चित भएको जीवनयात्राका हामी यात्री हौं’ भन्दै केपी सरको जन्मदिन मनाउँदै गर्दा उनको मनको कुनै कुनामा त्यस्तै अनिश्चितताको निश्चितता गढेको हुँदोरहेछ, अर्काे वर्ष मनाउन पाइने हो कि होइन भनेर। श्रीमतीका लागि श्रीमान् सबथोक हो र त्यसमा पनि रोगी बिमारी श्रीमान् भएकाले यस्ता अनिश्चितता उनको जीवनका लागि पर्यायवाची बने। दुवै मिर्गाैला प्रत्यारोपण गरेर पनि सक्रियताका साथ देशकै नेतृत्व गरिरहनु चानेचुने कुरा होइन।
स्वास्थ्य जटिलतामा उनको निगरानी र हेरचाहको कुनै तुलना र मापन गर्नै सकिँदैन। त्यसैले त लेखेकी छन्, ‘सेकेन्ड सेकेन्डमा लिइएका विवेकपूर्ण निर्णयहरू जसका कारण श्रीमान्को दीघार्युको सम्भव भएको हो। उहाँलाई हामीले आँधीहुरीका बीचको दियो जसरी जतनले जोगाएका छौं। यति हुँदाहँुदै पनि र राजनीतिमा लड्दै, उठ्दै, धुलो टक्टक्याउँदै शिखरतर्फको यात्रामा सम्माननीय प्रधानमन्त्री सफल हुनुभयो र कमैले यो सरहको संघर्ष र सफलता हात पार्न सक्छन्।’
अर्थशास्त्र र इतिहासमा स्नातकोत्तर गरेकी राधिकाले नेवारकी छोरी भएर नेपाली विषयमा राम्रो गरिन्। तर पनि गुरुबाट भएको पूर्वाग्रहले उनलाई पीडा दियो। कलेज जीवनसँगै आएको राजनीतिक जागरण र आबद्धता, बर्को ओढेर पञ्चायतको मलामी गएका प्रसंग आदि यी घटना नयाँ पुस्तालाई जागरुक गराउने खालका छन्। जागिरका दौरानमा राष्ट्र बैंकमा कतिपय सिनियरबाट पेलिनु परेका र बिझाएका यादहरू किताबमा छन्। कम्युनिस्ट राजनीतिमा श्रीमान् रहनु र राज्य संयन्त्र सामन्तबादी संस्कारको हुनुले पनि यस्ता समस्या बढी बेहोर्नु परेको हुन सक्छ। विवाहपछि उनको जीवन निजीभन्दा पनि सार्वजनिक बन्यो। राजनीतिमा अधिक सक्रिय श्रीमान्का कारण व्यक्तिगत समय, निजी विषय भन्ने चिज नै शून्य भएको र श्रीमान्–श्रीमतीका रूपमा ‘सेयरिङ’, ‘रेयरिङ’ र ‘केयरिङ’ भन्ने चिज कहिल्यै अनुभूत हुन नपाएको यथार्थ लेखिकाको छ।
त्यसो त पाटनकी छोरी उनी अन्तरजातीय विवाह गरी झापाकी बुहारी भएर पनि तत्कालीन समयको सन्दर्भमा क्रान्ति नै गरेकी थिइन् भन्ने लेखनमा प्रष्टिन्छ। लेखक स्वयं कतिपय इतिहासका घटनाको साक्षी भएको देखिन्छ। यस पुस्तकबाट धेरै त्यस्ता ऐतिहासिक राजनीतिक घटनाक्रमसमेत जानकारी प्राप्त गर्न सकिन्छ। त्यसमध्ये नेपालको राजनीतिक इतिहासमा महत्त्वपूर्ण घटना, नेकपा गठन र विघटनका सन्दर्भ पनि छ। एउटा अंश, ‘मेट्न मिल्ने भए त्यो दिन क्यालेन्डरबाटै मेटाइदिन्थें’ शीर्षकमा– वाम गठबन्धन एउटा सपना थियो। समृद्धिको संकल्पसहितको परिकल्पना थियो। जुन सपनाको कोपिलालाई ती नेताहरूले कलिलैमा निमोठेका थिए र त्यसलाई उनीहरू जित ठानिरहेका थिए। तर त्यो हार थियो। खासमा त्यो सिंगो कम्युनिस्ट पंक्तिको हार।’ लेखिकाले राजनीतिक घटनाक्रमलाई कति सूक्ष्म विश्लेषण गरेकी रहिछन्, नदी किनारको साक्षी बनेर भन्ने यसबाट पुष्टि हुन्छ।
अर्को मन चसक्क खाने सन्दर्भ। ‘समृद्धिको संकल्प यात्रामा मेरो सहभागिता’ शीर्षकमा उनले लेखेको मार्मिक व्याख्या– ‘देशमा केही भएको छैन भनेर निराशाको बाँसुरी बजाउनेहरू धेरै छन् तर मैले आशाका ध्वनिहरू पनि सुनें। देश बिस्तारै बन्दैछ। पूर्वाधारहरू निर्माण हुँदैछन्। सोचे जति भएको छैन होला तर ठ्याक्कै नभएको भने हैन। गाउँगाउँमा सडक पुगेका छन्। स्वास्थ्यचौकी भवनहरू बनेका छन्।
सामुदायिक विद्यालयका भवनहरू व्यवस्थित भएका छन्। खानेपानीको पहुँच विस्तार भएको छ तर गाउँमा बस्ने मान्छेहरू घटिरहेका छन्। हिजो अवसर थिएन, मानिसहरू अवसरको खोजीमा सहरदेखि विदेशसम्म भांैतारिए। अहिले गाउँमा निर्माण हुँदै गएका अवसरले मान्छे खोज्दा मान्छे नभेटिने अवस्था हुँदैछ।’ लाग्छ, यसलाई चिर्नु अहिलेको राज्यसंयन्त्र तथा जिम्मेवार निकाय तथा व्यक्ति सबैको समूल कर्तव्य हो।
लेखिकाको जीवनका बाँकी पानामा आँखा टक्क अडिए, ‘सफलताले जीवनमा बिक्न सक्ने बनाए। असफलताले जीवनमा टिक्न सक्ने बनाए। साँच्चै जीवन सफलता र असफलता दुवैको संगम हो। जीवनमा आउने समस्यालाई पार लगाउँदै अघि बढ्दै चुनौतीको सामना गर्दै जाने हो र जिन्दगीमा अतिरिक्त अपेक्षा भएन भने जीवन फूलजस्तै हलुका बन्न सक्छ।’ पुस्तकलाई लेखिकाले यसरी बिट मारेकी छन्। पुस्तक पाणिनि बुक्स प्रालिले प्रकाशन गरेको हो।
प्रतिक्रिया दिनुहोस !