म अति सहनशील छु

म अति सहनशील छु

सुपर्णखालाई कसै गरे पनि आफ्नो समूहमा ल्याउन सकिएन। धेरै प्रयत्न गरें। तैपनि प्रयत्न त छाड्नु भएन ऊ जस्तो मान्छेलाई जसरी पनि आफ्नो जमातमा ल्याउन पाइयो भने मेरो त्यस्तो कटु आलोचना गर्ने मानिस हुँदैन थियो। माकुरोले भित्ता उक्लिन खोज्दा कैयौं पटक विफल भएर पनि हार नमानी प्रयास गरिरहेर अन्त्यमा उक्लिन सकेको नीति कथा पढेकै हो। म किन निरन्तर प्रयास नगरौं ? हेरौं, कति पटकमा सफल भइने हो। 

मैले एउटा रेस्टुरेन्टमा उनलाई बोलाउने सोचें। शक्तिको प्रयोग गरेर एउटा सानो छुट्टै कोठामा दुईजना मात्र बस्न हुने व्यवस्था मिलाउन लगाएँ र मित्र सुपर्णखालाई खबर गरें। लिनलाई गाडी पनि पठाइदिएँ। हिँडेरै आउँछु, नजिकै छ भनेका थिए। अरूका अगाडि आफ्नो रवाफ पनि त देखाउनु पर्‍यो नि ? मलाई भेट्न आउने मान्छे हिँडेर आउँदा रेस्टुरेन्टका मान्छेहरूको अगाडि मेरो के इज्जत रहला ? जबर्जस्ती गाडीमै ल्याउन लगाएँ। हामी दुई बसेर जुसको चुस्की लगाउँदै कुरा गर्न थाल्यौं। आफूलाई अर्कै चुस्की लगाउने इच्छा थियो। मेरा मित्र त्यस्तो चुस्की नलगाउने भएकाले मलाई अप्ठ्यारो पर्‍यो। आफ्नो त बानी परिसकेको। विवश भएर खल्लो मान्दै जुसमै चित्त बुझाउनु पर्‍यो।

मैले भनें, ‘हेर, मैले गरिबी निवारणको योजना ल्याउन लागेको छु। त्यसका लागि कोषको प्रबन्ध गर्न लागेको छु। तिमीले पनि यस कार्यक्रममा मलाई साथ दिनु पर्‍यो। यसको व्यवस्थापनको जिम्मा तिमीले लिदिनु पर्‍यो।’

मित्रले एकछिन मलाई हेरेर गम्भीर हुँदै भने, ‘हेर, तिमी मेरा मित्र हौ। मैले गर्न मिल्ने र गर्न सक्ने कुरामा म सहयोग गर्छु नैं। तिमीलाई मेरो स्वभाव भलीभाँती थाहा छ– म यस्तो कुरामा तिमीलाई सहयोग गर्न सक्दिनँ भनेर। आफ्ना आसेपासे र जमातलाई करोडौं कुम्ल्याउन लगाएर अझै पुगेन ? फेरि अर्को बहानामा तिनलाई ढुकुटी कुम्ल्याउन लगाउँदैछौं ? बरू तिमीलाई एउटा सल्लाह दिन्छु– तिम्रो आनीबानीअनुसारको। खान, लाउन नपुग्ने जतिलाई एउटा अध्यादेश ल्याएर देश निकाला गरिदेऊन। गरिबी हटिहाल्छ। प्रतिव्यक्ति आय बढ्न जान्छ र देश धनीमा गनिन्छ।’

उनको कुराले मलाई झोक नचलेको हैन। तर रेस्टुरेन्टमा बम्किँदा बाहिर अरूले सुन्लान् भनेर म संयमित भएँ र कुरा अर्कोतिर मोड्दै भनें, ‘हेर, तिमी जेसुकै भन, मैले त मजस्तो इमान्दार कोही देखेको छैन त्यसैले त्यो कुरा घोषणा नैं गरिसकें। अरू कसैको आँट छ त्यस्तो घोषणा गर्न ? ’

उनले मुस्कुराउँदै जवाफ दिए, ‘आजसम्म आफूलाई आफैंले बेइमान कसैले भनेको कैले सुनेका छौं ? तीन करोड जनतामा ५० लाखलाई निर्यात गरिसकेकै छौ। ती बिचराको के हविगत भइरहेको होला ? बाँकी साढे दुई करोड जनतामा तिम्रा भरौटेबाहेक कसले तिमीलाई इमान्दार भन्छ ? हो, सामान्य जनता सबैले वा बहुसंख्यकले मात्र पनि तिमीलाई इमान्दार भनेका भए म पत्याउने थिएँ। होस भएदेखि तिमीलाई देखेको, संगत गरेको मैले त तिमी इमान्दार छौ भन्ने कुरा विश्वास गर्दिन भने अरू कसले विश्वास गर्ला ? हिजो खान धौ धौ पर्ने परिवार हैनौं हामी ? इमान्दार भएर तिम्रो दरबार बनेको हो? त्यसो हो भने सबै नेपालीको आ–आफ्नो दरबार हुनुपथ्र्यो हैन र ?’ मैले ठाउँ विचार गरेर संयमित नै हुँदै भनें, ‘तिमी जे कुरामा पनि मेरो आलोचना गर्छौं। बालसखा हुनाले तिमीलाई त्यो अधिकार छ। तर कुनै कुरामा त मेरो प्रशंसा पनि गरिदिए हुन्थ्यो नि।’

‘हुन्छ, किन नहुनु ? प्रशंसा गर्न लायक काम गरन। भरपूर प्रशंसा गरुँला। तराईका आदिवासी, दुई तीन पुस्तादेखि बसिराखेका सोझा जनता र पहाडमा बसिरहेका आधिकारिक जनतालाई नागरिकता लिन कति मुस्किल छ। अरू विदेशीले सजिलै नागरिकता पाउँछन् बस्, रकम हुनुपर्‍यो। नेपालीलाई भुटानी बनाएर बेच्नेलाई गतिलो आसन दिन्छौं पुरस्कारस्वरूप। अनि तिमी इमान्दार ? सित्तैंमा गतिलो आसनको पुरस्कार त दिएनौ होला। अनि आफूले आफैंलाई इमान्दार घोषणा गरेको तिम्रो कुरा कसले पत्याउने ? अनि मैले के कुरामा तिम्रो प्रशंसा गर्ने ? ’ उनले सजिलै भनिदिए ।

मलाई अब सहन सक्ने शक्ति भएन। यतिञ्जेलमा हामीले खाना पनि खाइसकेका थियौं। ठाउँको ख्याल गरेर सकिन्न पनि भएन नत्र बालसखा न वृद्धसखा। मुटु मारेर संयम गरें र घडी हेर्दै बहाना बनाएँ, ‘ओ हो, मेरो जरुरी मिटिङको समय भएछ, अब छुट्टिउँ भनेर म त्यहाँबाट हिँडें। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.