नाट्य उभार

नाट्य उभार

माहोल अन्तर्राष्ट्रिय नाटक महोत्सवको हो। दिउँसो घाम चर्को भए पनि सहन सकिन्थ्यो। आँखामा परेको घाम छेक्न काफी थियो , अघिल्लो दिन एउटा भव्य समारोहमा विमोचन भएको पुस्तक ‘एक महान् चिकित्सकका प्राचीन रहस्यहरू’। कतिखेर स्वाट्टै पार्नुजस्तो भएको थियो यो पुस्तक र त हातमै बोकेर हिँडेको थिएँ।

नाटक महोत्सवको वर्ष : मण्डला थिएटरका ‘सेलिब्रेटी’ कलाकारहरूको व्यस्तता घामभन्दा चर्को थियो। दयाहाङ राई आगन्तुक अतिथिहरूलाई स्वागत गर्न तल्लीन र दर्शक बस्ने ठाउँको घाम छेक्न नसकेकोमा चिन्तित पनि थिए। बुद्धि तामाङ व्यवस्थापनमा व्यस्त, नाजिर हुसेन तयारीबारे जाँचबुझ गर्दै थिए। सोमनाथ खनाल हतारमा। हरिहर शर्मा, अशेष मल्ल आएपछि उहाँहरूसँग भलाकुसारी गर्न थालें। नेपाली सरसामानको ‘स्टल’, किताब बेच्ने ‘स्टल’, भित्र नाट्य कार्यशाला चलिरहेको, ओहो कस्तो भव्य ! 

१२ देशका कलाकारहरू मण्डला थिएटरको साँघुरो परिसरभित्र उत्साहित मुद्रामा देखिन्थे। कोही देखिन्थे थकित, भर्खरै आएका होलान् लामो यात्राबाट। काठमाडौंका रंगकर्मी, साहित्यकर्मी, फिल्मकर्मी, पत्रकार, व्यवसायी पनि देखिन्थे त्यहाँ। उपकुलपति निशा शर्माको आगमन प्रमुख अतिथिको रूपमा रहेछ।

वर्ष ८१ लाई नाटक महोत्सवको वर्षभन्दा हुन्छ। यति धेरै अन्तर्राष्ट्रिय नाटक महोत्सव नेपालमा शायदै भएका थिए होलान्। भारत नेपाल नाटक महोत्सव नेपाल फिल्म क्याम्पसमा भएको थियो। लालाबालाले १२ वटा देश ल्याएर ‘चौथो अन्तर्राष्ट्रिय बालनाटक महोत्सव’को आयोजना गरेको वर्ष पनि यही हो।

संगीत नाट्य एकेडेमीले भारतको एनएसडीसँग मिलेर नाटक महोत्सव आयोजना गर्‍यो। त्यसैगरी, सर्वनाम थिएटरले १३ वटा देश ल्याएर आयोजना गरेको नाटक महोत्सव पनि देशका तीनवटा ठाउँमा पुग्दा माहोल भव्य बन्यो। मण्डला थिएटरले पनि यो महोत्सवलाई देशका विभिन्न भागमा पुर्‍याएको छ। अन्तर्राष्ट्रिय नाट्य महोत्सव आयोजना गर्न गुरुकुलले छोडेको पदचापमा पछ्याएका हौं हामीहरूले।

चुलाचुली थिएटर इलामले आयोजना गरेको नाटक महोत्सवको समीक्षा बेग्लै थियो। चुलाचुलीले जंगललाई नै ‘थिएटर’ बनायो। दर्शकले त्यहीँ लिए नाटकको मज्जा। शैली थिएटरले बालनाटक महोत्सव आयोजना गर्‍यो। यसरी विभिन्न किसिमका महोत्सवमा थरीथरीका नाटक नेपाली नाट्य जगत्ले पायो। महोत्सवको मञ्चमा अतिथि र आयोजकहरूको तामझाम चलिरहेकै थियो।

सोही बखत अमेरिकी अनुसन्धानकर्ता डा. क्लिन्ट जी. रोजर्सको पुस्तक ‘एन्सिन्ट सेक्रेट्स् अफ अ मास्टर हिलर’, जसलाई नेपाली सञ्चार एवं साहित्यकर्मी गोपीकृष्ण ढुंगानाले सम्पादन गरेका रहेछन्। जसको आवरणमै लेखिएको थियो, ‘एक सशंकित पश्चिमेली, एक पूर्वीय गुरु र जीवनको महान् रहस्य।’ एक पानाभित्र अर्को गजब विषय देखें, ‘म तपाईंलाई सिकाउन आएको होइन, प्रेम गर्न चैं आएको हुँ। प्रेमले नै तपाईंलाई सिकाउने छ।’ यति गजब खुराक पढेपछि त्यही किताबले आँखामा परेको घाम छेक्दै यो लेखबारे सामग्री कोरल्न थालें।

मोफसलबाट गुञ्जिएको झंकार : सम्झना छ केही वर्षअघिको। ‘राजमार्गमा रंगमञ्च’ भन्ने लेख छापिएको थियो, अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकको ‘फुर्सदमा’। गुरुकुल र सुनील पोखरेलको नेतृत्वमा गोरेटो पनि प्रस्ट नपाएको रंगमञ्च फराकिलो राजमार्गमा आइपुगेको थियो। मोफसललाई जोड्ने प्रमुख मार्ग नै राजमार्ग हो। राजमार्गमा पुगेको नेपाली रंगमञ्चले विभिन्न पक्षको साथ पायो। अरू केही पक्षलाई साथमै लिएर दौडियो। राजमार्गबाट रंगमञ्च मोफसलका विभिन्न गन्तव्यतिर मोडियो र फैलिन थाल्यो उतैतिर। फैलिएर सही गन्तव्यमा पुगेको छ।

अब देख्दैछु भविष्यमा रंगमञ्चको राजधानी पोखरा बन्दैछ। काठमाडौंका दर्शकहरू नाटक हेर्न पोखरा जानुपर्ने हुन्छ छिट्टै। किनभने अनुप बरालले अहिलेसम्मकै ठूलो लगानीमा र आधुनिक तौरतरिकाको ‘हंसध्वनि थिएटर’ निर्माण गरिसकेका छन्। त्यसो त पोखरामा पोखरा थिएटरले रंगमञ्चीय साक्षरता फैलाएको धेरै वर्ष भइसकेको छ। नाटक निर्माणको उद्देश्य होस् वा पठनपाठनका लागि पोखराका धेरै विद्यालयमा अहिले नाटक विधा प्रवेश गरेको छ।

पोखरा थिएटरले आफ्ना कलाकारहरूलाई विभिन्न विद्यालयमा पठाएको हो। उनीहरू पोखराबाट नाटक लिएर विभिन्न महोत्सवमा सहभागी हुन यात्रा पनि गर्ने गर्दछन्। प्राकृतिक रूपमा मात्रै हैन, कलामा पनि सुन्दर पोखरा, त्यसमाथि सबैभन्दा परिष्कृृत ‘थिएटर’ त्यहीँ थपियो। ‘अब नाटक हेर्न जाउँ है पोखरा’ भन्नुपर्ने हुन्छ।

चितवनको नाट्य गतिविधि बेग्लै छ। कर्मी नाट्य समूहका कर्मीहरू अभावमै पनि बेलाबेला सल्बलाउँछन्। अहिले अन्तर्राष्ट्रिय महोत्सव आयोजना गरे। नारायणी कला मन्दिरमा विभिन्न देशका नाटक मञ्चन गरे। काठमाडौंबाट राजमार्गमा निस्किएको रंगमञ्चले अझ धेरै प्रभाव पूर्वमा पार्‍यो। जहाँ गुरुकुल थियो। झोराहट नाटक घर आयो। कविता नेपालको नेतृत्वमा झापामा परिवर्तन थिएटरको पनि आफ्नै हल छ। शिल्पी थिएटरले सुन्दर हरैंचामा बेग्लै किसिमको ‘एम्पी थिएटर’ बनाउन थाल्यो। दमकका पनि थिएटर बन्दैछ।

मोफसलमा इलामतिरको नाट्य गतिविधि पनि आशालाग्दो छ। चेतना नाट्य समूह, चुलाचुली रंगमञ्चले काम गरिरहेका छन्। ठाउँठाउँमा रंगकर्मीहरू आफ्नो बेग्लै परिचय बनाउन तल्लीन छन्। कर्णालीमा थिएटर बनाउने सपना बोकेर लागिपरेका छन्, उताका केही रंगकर्मी।

​​​​​​​मोफसलमा ‘यादगार’ नाटकहरू बन्न थालेका छन्। मोफसलबाट नाटक काठमाडौं ल्याएर राम्रो प्रभाव छोड्न सफल नाटकहरू हुन्, चुलाचुलीको ‘झोडा’ र झोराहटको ‘बर्बरिक’। ‘बर्बरिक’ नाटक कुञ्ज थिएटरमा अलिक अगाडि नै मञ्चन भएको हो भने ‘झोडा’ शिल्पी थिएटरमा यही वर्ष मञ्चन भएको नाटक थियो। मोफसलबाट ठूलो कलाकार टोलीसहित आएको झोडा नाटकको झंकार अझै बाँकी छ।

विद्यालयहरूमा ‘ड्रामा सर’ : एक दिन विजय बिस्फोटले फोन गरेर भने, ‘अब ममा पहिला जस्तो रिस पनि छैन। मैले मसँग भएको सीप ज्ञान बाँड्ने क्षेत्र भनेको स्कुलहरू नै हो। म स्कुल पढाउँछु। त्यसका लागि उपयुक्त पात्र तिमी नै देखें।’ मैले पनि स्कुल खोज्ने वचन दिएँ। तर त्यो वचन अहिलेसम्म पूरा गर्न सकेको छैन। अहिलेका केटाकेटीलाई जस्तो ‘ल दाइ, त्यो स्कुलमा गएर पढाउनू’ भनेर विजय बिस्फोटलाई भन्न अप्ठ्यारो लाग्दोरहेछ। कारण यत्ति हो। उहाँले भनेपछि पनि सुलभ पाण्डे र विजय नेपाललाई दुईवटा विद्यालयमा पठाएँ। उनीहरूले काम गरिरहेकै छन्।

मण्डला थिएटरले एकदिन मलाई ‘गेस्ट क्लास’ लिन बोलायो। ती एक वर्षको कोर्स गर्ने सबै भविष्यका नाट्य शिक्षकहरू थिए। जेहोस्, अहिले आएर नयाँ पुराना सबैको ध्यान विद्यालयहरूमा नाट्य विधा फैलाउनेमा छ। हामी करिब ५० जना रंगकर्मी काठमाडौंका विभिन्न विद्यालयमा नाटक पढाइरहेका छौं। कुनै कुनै विद्यालयमा दुईजना रंगकर्मी छौं। आफैं १५ वर्षदेखि चारवटा विद्यालयमा निरन्तर नाट्य विधामा नयाँनयाँ अन्वेषणहरू गरिरहेको छु।

पढाउनेमात्रै नभएर लालाबालाहरूलाई धेरैभन्दा धेरै नाट्य विधाका हाँगाहरूमा रसास्वादन गराउन मनपर्छ। लालाबाला मात्रै नभएर विद्यालय र अभिभावकहरूलाई समेत सहभागितामूलक रंगमञ्चीय अवधारणामा ‘थिएटर’सम्म पुर्‍याउनु मेरो लक्ष्य छ। अहिले विद्यालयहरू एउटा थिएटर आफ्नै हाताभित्र हुनुपर्ने सोच राख्छन्। काठमाडौं बाहिर पनि धेरै विद्यालयले नाट्य विधालाई समेटेका छन्।

अहिले धेरैजसो विद्यालयमा नाटक निर्माण हुन्छन्। ती निर्माण भएका नाटकहरू थिएटरसम्म आइपुग्छन् र टिकटमा दर्शकले हेर्छन्। विद्यालयमा उपलब्ध हुने खुल्ला ठाउँ वा भएका सानाठूला हललाई ‘थिएटर’को शैलीमा पुनर्निर्माण वा तयारी गरेर पनि नाटक मञ्चन गराइरहेको छु। अहिले धेरै विद्यालयहरू त ‘थिएटर’ वा ‘ब्ल्याक बक्स’ विद्यालय हाताभित्रै हुनुपर्छ भनेर लागिपरेका छन्। बाटोमा हिँड्दा ‘ऊ ड्रामा सर’ भनेर बोलाउने विद्यार्थी धेरै भेट्छु। विद्यालयहरूको पठनपाठनको शैली, पाठ्यसामग्री परिवेश सुहाउँदो बन्दैछ। परिवेश सुहाउँदो पाठ्यसामग्री बन्दै गर्दा नाट्य विधा विद्यालयहरूमा यसरी फस्टाउँदै गएको हो। लालाबालाहरूले विभिन्न चरित्र र कथामा बाँचेको विद्यालय र अभिभावक दुवैले रुचाए। उनीहरूको रुचिको कारण हो विद्यालयहरूमा नाट्य विधाको माग बढ्नु। अचेल विद्यालयहरूले हरेक कक्षाका सबै विद्यार्थी नाटकमा समावेश हुन् भन्ने सोच्छन्। विद्यार्थीमा बेग्लै आत्मविश्वास देखिन्छ, भाषाको विकास हुने भयो।

नाटक कक्षाकोठामा पढाउने मात्र हैन। तयार गरेर विभिन्न महोत्सवमा सहभागी हुने र आफैं अन्तर्राष्ट्रिय स्तरका महोत्सव आयोजना गर्न पनि विद्यालयहरू उत्साहित छन्। काठमाडौं प्रज्ञा कुञ्ज स्कुल २० जना बालबालिकाको टोली लिएर विभिन्न नाटक महोत्सवमा सहभागी हुन अस्ट्रेलिया, पोल्यान्ड, फ्रान्स, बेलारुस, बंगलादेश, भारतजस्ता देशमा पुगिसकेको छ। यस्तै, कान्जिरोवा, रोजबर्ड, पाठशाला नेपाल, अक्षरा, भ्याली भ्यु स्कुलले पनि मेरै नेतृत्वमा नाटक लिएर विभिन्न देशमा मञ्चन गरे।

‘लालाबाला अन्तर्राष्ट्रिय काठमाडौं बालनाटक महोत्सव’को पाँचौं संस्करण इम्पेरियल वल्र्ड स्कुलले आउने नोभेम्बरमा आयोजना गर्दैछ। यो महोत्सव मातृभूमि, अक्षरा, स्वस्तिश्री गुरुकुल र ब्राइट फ्युचर स्कुलले क्रमश: आयोजना गरिसकेका छन्। प्रज्ञा कुञ्जले ‘स्कुल थिएटर फेस्टिवल’ र ‘मोनो एक्ट फेस्टिवल’ पनि आयोजना गर्‍यो। यसरी विद्यालयहरूमा नाटक विधा मौलाइरहेको छ। विद्यालयहरूलाई नाटक र रंगमञ्चसँग सम्बन्धित हरेक कार्यक्रम रोचक लाग्न थालेको छ।

नेपाली सिनेमा र रंगमञ्चको मितेरी पथ : बुधबार सकिएको नाटक महोत्सवमा यही शीर्षकमा छलफल भएको थियो, नत्र पहिलापहिला भन्थे रंगकर्मीहरू फिल्ममा पलायन भए। यो मितेरी पथको श्रेय पनि गुरुकुललाई दिन मिल्छ। जसरी अहिले मण्डला थिएटर फिल्मकर्मीहरूका लागि ‘हब’ बनेको छ, गुरुकुलको अवस्था यही स्थानमा थियो पहिला।

अहिले नेपाली फिल्मको अवस्था हेर्दा रंगमञ्चले धानेको नेपाली फिल्म क्षेत्रभन्दा फरक पर्दैन। विभिन्न थिएटरमा तालिम लिएका कलाकारहरू अहिले फिल्ममा व्यस्त छन्। नयाँ पुराना नाटक निर्देशकहरू फिल्म खेल्ने ‘अफर’ पूरा गर्न फिल्मका स्क्रिप्ट हातमा बोकेर हिँड्छन्। उनीहरूलाई फिल्म खेलिदिन ‘अफर’ आउन थाल्यो। फिल्म निर्देशक, निर्माताहरू आफ्नो फिल्मको लागि उपयुक्त चरित्र खोज्न थिएटर धाउन थाले।

मानिसहरू भन्न थाले फिल्म क्षेत्र रंगमञ्चतिर ढल्कियो। हरेक थिएटरका कलाकारको हातमा फिल्मको स्क्रिप्ट भएपछि नाटक खेल्ने कलाकारहरूको अभाव हुने नै भयो। विश्वासिलो अभिनय हेर्ने दर्शकको धोको थिएटरका कलाकारहरूले पूरा गरिदिए। त्यसकारण हो, यसरी माहोल फेरिएको। मितेरी पथले कहिलेसम्म यो साइनो थेग्ला त ?

नाट्य प्रस्तुति, नाटकमा संगीतको : नाटक हेर्न थालेको गुरुकुलको उदयदेखि हो। असली नाटकको स्वाद पनि त्यहीँ बस्यो। पछिपछि गुरुकुलकै शैली पछ्याउँदै नाटकहरू बन्न थाले। सबै थिएटरमा उही शैलीलाई पछ्याउँदै नाटक निर्माण हुन थाले, केही वर्ष। नाटक निर्देशक सुलक्षण भारतीले आफ्नो बेग्लै शैलीमा नाटकहरू निर्माण गरिरहे। निर्देशक घिमिरे युवराजको शैली फेरि विशेष छ।

हिजोआज नाट्य प्रस्तुति केही फेरिन थाल्यो। फेरिएको महŒवपूर्ण पक्ष भनेको गीतसंगीत विधाको नाटकमा प्रवेश हो। नाट्य प्रस्तुति एक्लै दौडिने विधा होइन। यसले कविता, कथा, नृत्य, ललितकला, मार्सल आर्टजस्ता विधालाई सँगै अटाएर लिएर जान सक्छ। र धेरै नाट्य प्रस्तुतिमा यो अनुभव पनि भइसकेको छ। तर हिजोआज नाटकमा अचम्मसँग गीतसंगीतले प्रवेश पाएको छ। निर्देशक घिमिरे युवराज पनि संगीत टोलीलाई अगाडि राखेर नाटक बनाउन थाले। संगीत टोलीले नाटकमा प्रत्यक्ष गीतसंगीत गर्न थाल्यो। झकेन बीसीले निर्देशन गरेको नाटक ‘अग्नि चक्षु’मा संगीतमा विशेष मिहिनेत गरिएको थियो। अनुप बरालको नाटक ‘एउटा सपनाको अवशान’मा पनि गीतसंगीतको महŒवपूर्ण भूमिका थियो। मण्डला थिएटरमा मञ्चन भएका धेरै नाटकमा गीतसंगीत प्रमुख रूपमा आए। संगीता थापा, अनिल सुब्बाले गीतसंगीतलाई प्रत्यक्ष राखेर नाटक बनाए। आकांक्षा कार्की पनि नाटकमा प्रत्यक्ष गीतसंगीतलाई प्राथमिकता दिन्छिन्। मेरो अघिल्लो नाटक ‘युगको साँचो’ले पनि प्रत्यक्ष गीतसंगीत राख्न बाध्य पार्‍यो।

​​​​​​​नाटकमा पृष्ठभूमिमा अति आवश्यक पर्दा प्रयोग हुने संगीत अहिले नाटकहरूमा अग्रभागमा आउन थाल्यो। घोषित नगरे पनि अहिले बनेका केही नाटक ‘म्युजिकल प्ले’कै ढंगमा छन्। यसले दर्शकलाई भव्य मनोरञ्जन दिलायो भने निर्देशकको सोचमा संगीतकार सारथि बनिदियो।

नेपालमा नाटकको इतिहास हेर्दा डबली वा सडकबाट मञ्चतिर प्रवेश गरेको थियो। गुरुकुलको प्रवेशसँगै नाटक ‘प्रोसेनियम थिएटर’ अझ भनौं ‘ब्ल्याक बक्स’को अवधारणामा आइपुग्यो। धेरै थिएटरहरू यही अवधारणामा बने पनि। ‘ब्ल्याक बक्स’को अवधारणा भनेको मञ्चको आकार नाट्य प्रस्तुतिको आवश्यकताअनुसार घटबढ हुन्छ। दर्शक र मञ्चको अवस्था नै फेरिन सक्ने गतिशील अवधारणा हो, ‘ब्ल्याक बक्स’को।

अहिले बनिरहेका नाटकहरूको शैली हेर्दा अब नेपाली नाटकहरू अझ भव्य र ‘लार्ज स्केल’मा ‘म्युजिकल प्ले’को रूपमा अघि बढ्छन् कि जस्तो लाग्दैछ।

च्याब्रुङको चर्काे स्वर : सुरज तमुले जेडी तमुको र अनिल सुब्बाको नाटकमा अभिनय गरे। दुवै नाटकलाई मैले ‘म्युजिकल प्ले’ भन्न रुचाएँ। दुवै नाटकमा सुरजलाई भनेको थिएँ, ‘नाटक राम्रो लाग्यो। तर म्युजिक औधी चर्काे भयो।’ प्रसंग कोट्ट्याउन खोजेको गीतसंगीतको हैन। च्याब्रुङ भनेपछि कुनै जाति विशेषको झल्को आयो होला नि त !

धेरै अगाडि हो शिल्पी थिएटरमा ‘लाटो पहाड’ नाटक मञ्चन भएको थियो। जुन नाटकको कुरा अहिले पनि थिएटरहरूमा हुने गर्छ। उपेन्द्र सुब्बाको कथामा बनेको नाटक थियो यो। सरिता शाहले नाटक ‘लू’ निर्देशन गरिन्। नाटक ‘अग्नि चक्षु’मा नेवारी परिवेश झल्किन्थ्यो।

सुदन किराँतीले आफ्नो पुस्तकमाथि नाटक बनाउन खोजेका थिए। कमल ढकालमार्फत म पुगेको थिएँ पहिलो वार्तालापमा। कलाकार छनोटदेखि लिएर बजेटसम्मको कुरा भएर हामी छुटेका थियौं। करिब एक डेढ वर्षपछि मलाई थाहा नै नदिई राजन मुकारुङमार्फत नाटक अनिल सुब्बाको जिम्मामा आइपुगेछ। कलाकार भने उनै सुरज तमु थिए। जसलाई मैले पनि कलाकारको रूपमा सोचिराखेको थिएँ। सुदन किराँतीको प्रसंग जोड्नुको कारण भने बाहुन निर्देशकबाट जनजाति निर्देशकको हातमा कथा पुग्नु हो। पेसागत मर्यादाका कुरा पनि हुन्छन् नि त, ‘जस्ट किडिङ !’ तर यो मजाक गर्ने विषय हैन। यो त्यही समय हो जतिबेला दलित, जनजाति, मधेसी, पिछडा वर्गका विषयमा नाटक बने, मञ्चन हुन थाले।

धेरैजसो जनजातिका विषयमा नाटक बन्ने हुनाले अहिले मण्डला थिएटरका दर्शक बेग्लै छन्। जनजातिका विषयमा बनेका नाटकमा दर्शकको ओइरो लाग्यो। त्यसकारण पनि निर्माता, निर्देशकहरू नाटक निर्माण गर्न हौसिए। नाटकको कमाइको नयाँ नयाँ ‘रेकर्ड’ बस्न थाल्यो। बुद्धि तामाङले कसोगरी हो समय निकालेर नाटक निर्देशन गरे।

निर्माता, निर्देशकहरू नै ‘तामाङको नाटक आयो, अब मगरको आउँछ। मगरको नाटकले नयाँ इतिहास बनाउँछ’ भन्न थाले। हौसिएका निर्देशक, निर्माता, कलाकारहरू ‘अब लिम्बूको पालो है !’ भन्न थाले। यसरी जनजातिका विषयमा बग्रेल्ती बन्न थाले नाटकहरू। यतिसम्मकि एउटै विषयमा पनि दुईटा नाटक बन्यो, ‘मुकुम्लुङ’।

शदियौंदेखि दबिएका जनजातिका विषयहरू यसरी नाटकमा आउन थाल्यो। उनीहरूकै विभिन्न मुद्दाहरूमा नाटक बन्न थाले। जुन नाटकले बेग्लै दर्शकको एउटा जमात थिएटरमा ल्यायो। विभिन्न कारणले अगाडि आउन नसकेका मुद्दाहरू नाटकमार्फत सतहमा आउन थाले। ती मुद्दाहरूमा बहस हुन थाल्यो। मण्डला थिएटरको आगमनपछि नाट्य जगत्मा थपिएको यो मुख्य उपलब्धि हो।

थपिँदै थिएटरहरू : साना क्षमताका ‘प्रोसिनियम थिएटर’हरू काठमाडौंमा मात्रै आठवटा पुगेका थिए। गुरुकुल बन्द भएपछि विमल सुवेदीको थिएटर भिलेज पनि बन्द भयो। केदार श्रेष्ठको थिएटर मल निष्क्रिय छ भने सुलक्षण भारतीले निर्माण गरेको पुरानो घर थिएटर बन्द गर्ने घोषणा गरिसकेका छन्। सर्वनाम थिएटर, कुञ्ज थिएटर, नेपाल फिल्म क्याम्पसको ‘स्टुडियो थिएटर’, ओजस थिएटर जसोतसो सुखदु:खले चलिरहेका छन्।

कथा घेराले सञ्चालनमा ल्याएको कौसी थिएटरको प्रस्तुतिका कारणले बेग्लै परिचय छ। शिल्पी थिएटर पुनर्निर्माण भएर नयाँ स्वरूपमा आउँदैछ। मण्डला थिएटर एउटा ‘बिजनेस हाउस’को स्वरूपमा अगाडि बढेको छ। मण्डलाभित्र साना र ठूला गरी दुईवटा थिएटर छन्। पोखरा थिएटरले नियमित नाटक गरिरहेकै छ। पोखरामै ‘हंशध्वनि थिएटर’ थपियो। थिएटर भिलेज एउटा अर्को मौका पर्खिरहेको छ। बनेका थिएटरहरू बन्द भए पनि रंगकर्मीहरू निराश छैनन्। नयाँ योजना बुनेर थिएटरहरू थपिँदै छन्।

मौलिकताको खोजी : एकातिर जनजाति, मधेसी, पिछडा वर्गका विषयमा मौलिक नाटक बनिरहेका छन् भने अर्कोतिर विदेशी अनुवादित नाटक मञ्चन हुने प्रक्रिया पनि कम छैन। यति धेरै नाटक मञ्चन भइरहँदा त्यहाँ मञ्चन हुने नाटकहरू चाहिँ कहाँबाट आउँछन् ? नाटक लेखनमा सर्जकहरूलाई किन रुचि छैन ? यो छलफलको विषय हुन सक्छ। पक्का कुरा चाहिँ के हो भने नेपाली भाषामा नाटकहरू कमै लेखिन्छन्।

निर्देशकहरूले आफूलाई काम गर्न मन लागेका विषयमा आफैं आँसुरचना गरेर नाटक तयार गर्छन् वा लेख्ने गर्छन्। स्वतस्फूर्त रूपमा नाटक लेखन कार्य विकास हुन सकेको छैन। म आफैंले पनि पछिल्लो नाटक ‘युगको साँचो’ विदेशी ‘म्युजिकल प्ले, चार्ली एन्ड द चक्लेट फ्याक्ट्री’मा आधारित भएर गरेको हुँ। विद्यालयहरूमा भने आफैंले लेखेका नाटकहरू मञ्चन गर्ने गरेको छु। केपीकेएस नाट्य उत्सव–२०८१ मा मैले लेखेका र निर्देशन गरेका १२ वटा नाटक चैतको तेस्रो साता ‘स्टुडियो थिएटर’मा मञ्चन हुँदैछन्। १२ वटा नाटकमा एउटामात्रै अंग्रेजी नाटक परेको छ। बाँकी ११ वटा नेपाली हुन्। त्यसमा पनि तीनवटा नाटक यही वर्ष लेखेको हुँ। अभिभावक दिवस लक्षित छोटा नाटक भने चारवटा लेखें यो वर्ष। 

विदेशी नाटक अनुवाद गरेर मञ्चन गर्न सजिलो हुने हुनाले निर्देशकहरूको ध्यान त्यसतर्फ गएको हो। नयाँ बेग्लै खालका नाटकको स्वाद लिन पाइने भयो। नाटक गर्नेहरू थपिए। नाटक घर थपिए। नेपाली नाटक देशविदेशमा मञ्चन हुन थाले। अनेकथरीका नाटक महोत्सवमा विदेशी नाटकहरू यहीँ हेर्न पाईन्छ। स्कुल कलेजहरूमा नाटक निर्माण, मञ्चन गर्ने चलन बढ्यो। हरेक वर्गमा नाट्य चेत बेग्लै छ।

नाटकमा ‘सेलिब्रेटी’ : नाटक खेल्ने कलाकारलाई सेलिबे्रटी मान्न थालेको भर्खरैदेखि हो। चर्चित सेलिब्रेटी कलाकारलाई नाटकमा अभिनय गराउने चलन भने अलि अगाडिदेखिकै हो। निर्देशक अनुप बराल र विमल सुवेदी यो मोर्चाका नायक हुन् भन्दा फरक नपर्ला। राजेश हमाल, दिव्य देव, केकी अधिकारीले उनै निर्देशकद्वयसँग नाटक खेलेको अलि अगाडि नै हो। घिमिरे युवराज पनि यो मोर्चामा अगाडि नै छन्। उनले नीर शाह, हरिहर शर्माजस्ता बादशाहलाई थिएटरमा ल्याए भने कुमार नगरकोटीको नाटक ‘ट्रान्जिट’ त झन् ‘सेलिब्रेटी’ कलाकारकै कारण चर्चामा आयो।

हातका दिनमा ‘सेलिब्रेटी’ कलाकारले नाटक खेल्ने चलन अलि बाक्लै हुन थाल्यो। भर्खरै केदार श्रेष्ठले निर्देशन गरेको नाटक ‘ढुकढुकी’मा कर्मा शाक्य र मेनका प्रधानको जोडी खुब जम्यो। लगत्तै फेरि नासिर हुसेनले बिजय बराललाई राखेर अर्को नाटक बनाए। केदारको नाटकमा दयाहाङ राई निर्माता बने भने विजय बरालले पशुपति राईको नाटक निर्माण गरे। यसरी चलचित्रमार्फत पाएको ख्यातिलाई थिएटर भित्र्याउने चलन चल्न थाल्यो।

विधा एक्लो छैन। रंगमञ्चभित्रै पनि पठनपाठन, अभिनय, निर्देशन, सेट तथा सरसामान निर्माण, लाइट डिजाइन, भेषभूषा डिजाइन, लेखनजस्ता विविध पक्षमा काम गर्न सकिन्छ। गरिरहेका छन् धेरैले। अहिलेको नाट्य उभारले विभिन्न अरू विधालाई सँगसँगै लिएर जान थालेको छ। ती विधामा समेत रंगकर्मीहरू पोख्त बन्दैछन्। कमसेकम नाटक गरेर, ‘चिया खाने पैसा हुँदैन, गाडी भाडा तिर्ने पैसा हुँदैन’ भन्ने रंगकर्मी अब बिरलै भेटिनेछन्, आशा गरौं !


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.