मनपरी नै मेरो लक्ष्य

व्यंग्य

मनपरी नै मेरो लक्ष्य

कुम्भले भने, ‘हाम्रो समूहका त्यत्रा मान्छेलाई के गर्ने नि हजुर ?’ मित्रले धम्कीको भाषामा बोले, ‘सबैको ठेक्का लिएर साध्य हुन्छ ? तिनका विषयमा चिन्ता गर्‍यौ भने तिमीलाई पनि छाड्नु पर्ने हुन्छ।’ मलाई अति भयो। म मित्रलाई नभेटी हिँडें।

आज मलाई मेरो मित्रकहाँ जान मन लाग्यो त्यसैले बिहानै लागें। धेरै भो उनी आफ्नो घरमा बस्दैनन्। पदअनुसारको खासाको सरकारी निवास उपलब्ध छ उनलाई।? उनको निवासको भर्‍याङ उक्लिँदै थिएँ मित्रको आमा भेटिनुभयो। मेरो नमस्तेको जवाफ फर्काएर भन्नुभयो, ‘बाबु सुपर्णखा, छोरा त्यो कोठामा कुरा गर्दैछ, यतापट्टि बसौं।’

सँगैको कोठामा लानु भो। मलाई बसाएर एकछिन है भनेर उहाँ निस्किनु भो। प्लाइउडले बारिएको उताको कोठाको आवाज प्रस्टैसँग मेरा कानले ग्रहण गर्दैथियो। एकजना मान्छे उता बोल्दै थियो। को हो मलाई थाहा छैन। यहाँ बुझ्नका लागि उसको नाम कुम्भ भनिदिउँ। त कुम्भ उता भन्दै थियो, ‘हजुर ! हाम्रो त बदनामै हुने भो।’

मेरो मित्रले सोध्यो, ‘के भो ? खुलस्त भनन।’ कुम्भले मुख खोल्यो, ‘जनताले त ल भैगो हजुरको विरुद्धमा बोले। हुँदाहुँदा हाम्रै समूहकाले पनि फाट्टफुट्ट हजुरका विरुद्धमा ओकलिरहेछन्। मलाई यो सैह्य भएन। हजुरले छिटै तिनीहरूलाई कारबाही गरिहाल्नु पर्‍यो।’

मेरा मित्र बोले, ‘तिमीले भन्नै पर्दैन। मैले त्यो विषयमा सोचिसकेको छु।’
‘मैले एउटा कुरा सोचेको छु। हजुरका विरुद्धमा बोल्ने हाम्रा समूहकालाई तह लगाउन’, कुम्भले प्रस्ट्याउन चाहे।
‘के सोचेका छौ ? भन त।’ मेरा मित्र बोले।

कुम्भ बोले, ‘हजुरको विरोध गर्नेलाई पार्टीको विरोध गर्‍यो भन्ने आरोप लगाएर कारबाही गर्ने हो कि !’ मेरा मित्र केही बोलेनन्। सायद टाउको हल्लाए। जुन यता कोठाबाट मैले देख्न सकिनँ।
कुम्भ फेरि बोले, ‘जनतालाई के गर्ने हजुर ? काठमाण्डुमा धेरै वर्षपछि एउटा सपूत देखा परेको छ, जनताको भलो हुने काम गरिरहेछ। त्यसलाई सहयोग गर्नु त परै जाओस्। उल्टै उसलाई खेदिरहेछन्। आफू त कुकर्मी, अकर्मण्य भए भए, सत्कर्म गर्नेलाई पनि देखी सहँदैनन्। उसलाई असफल गराउन अनेक कुकृत्यको जाल रचिरहेछन्।’
‘भन्छन्, हजुर यहाँभित्र बस्नुहुन्छ बाहिरको कुरा सुन्नु हुन्न। हामी कार्य क्षेत्रका मानिसलाई साहै्र गाहारो छ सुनिरहन र जवाफ दिन।’

मेरा मित्र कड्किए, ‘के को गाहारो हुनु ? त्यो मान्छे एक नम्बरको भ्रष्टाचारी हो भनेर भए नभएको कथा जोडेर त्यसलाई बदनाम गर्न सक्दैनौ ? अरू—अरू काल्पनिक कथा जोडेर त्यसको धज्जी उडाउन सक्दैनौ ?’
कुम्भ अलि दच्किएर बोले, ‘नगर्‍या हो र हजुर। भेडा जनता हाम्रो कुरा विश्वासै गर्दैनन्। उसको विरुद्धमासुन्ने चाहँदैनन्।’

मेरा मित्र फेरि कड्किए, ‘मलाई थाहा थियो, तिमीहरूबाट यो काम हुँदैन भनेर। त्यसैले त्यसको उछित्तो काट्न मैले व्यवस्था गरिसकेको छु। उसले चुनावमा जित्यो। हामीले सह्यौं। चुपो लागेर कमाउनु, मोजमज्जा गर्नु, हाम्रै समूहमा आउनु भनेर प्रयत्न नगरेको त हैन नि। हामीसँग जोरी खोजेर हामीलाई निकम्मा देखाउन खोज्या’थ्यो। आठ, दस करोडको कुरा न हो। त्यति खर्च गरेर हामीले उसलाई हलचल गर्न नसक्ने बनाउँदैछौं। उसकै समर्थकलाई किनिसक्यौं अब चाल पाउँछ त्यसले। हामीसँग जोरी खोज्ने ? केही सीप नलागे हामी प्रायोजित केटी काण्डमा फसाइदिन्छौं। हामीले त्यस्ता काम कति गरेका छौं कति। के ठान्या छ हामीलाई त्यो लबस्तरोले।’
कुम्भ बोल्यो, ‘हजुरको यो योजना त अचुक छ। मलाई पनि खुब मन पर्‍यो।’ मेरा मित्रले भने, ‘मेरा यस्ता योजना कति छन् कति, हेर्दै जाउन्।’
कुम्भले भने, ‘शान्तिपूर्ण जमघटमा पनि गोली हानेर मान्छे मार्न लायो भनेर हजुरको विरोध गरिरहेका छन्। यस्तो विरोध त मलाई असह्य भयो।’
मित्र बडो गम्के जसरी बोले, ‘हाम्रो विरुद्धमा उठ्ने आवाज त्यसै गरी दबाइन्छ। दिनहुँ कति खसी बोका मारिन्छन्, दसैंमा कति च्याङ्ग्रा, भेडासमेत मारिन्छन्। त्यसको लेखाजोखा कसले राख्छ र !’
कुम्भले अलि डराएको जस्तो आवाजमा भन्यो, ‘हजुर, मान्छेलाई त्यसो भन्न मिल्छ र ?’

मित्र फेरि कड्किए, ‘हाम्रा विरुद्ध उठ्ने सबै आवाज भेडा च्याङ्ग्रासरह हुन्। तिनीहरूलाई बाँच्ने अधिकार छैन, कुरा बुझ्यौ ?’
सायद कुम्भले बुझें भनेर टाउको हल्लाए होलान् र बोले, ‘हजुर, शान्तिपूर्ण जमघट बढ्दै गयो भने त यहाँ टिक्न मुस्किल पर्छ कि !’
मित्र बोले, ‘हेर, तिमी मेरो भित्रिया भएकाले सबै कुरा भन्छु। अब छिटै मलाई ईश्वरले पठाएको हो, सबै होसियार भनेर म घोषणा गरिदिन्छु।’

‘हजुर, ईश्वर मान्नु हुन्न, हैन र ?’ कुम्भले ओकले।
मेरा मित्र बोले, ‘त्यो त परिस्थितिअनुसार हुन्छ। राजनीति गरेका छौ, जानिराख। आफूलाई जे गर्दा फाइदा हुन्छ, त्यही गर्नुपर्छ।’
‘तैपनि भीडले घेर्ने स्थिति आयो भने के गर्ने होला ? मलाई त्यै सम्झेर कहिलेकाहीँ डर लाग्छ।’ कुम्भले डराएको आवाजमा बोले।
मेरा मित्रले भने, ‘अन्तिम अस्त्र शस्त्र प्रयोग गर्दा पनि केही सीप लागेन भने चुपचाप भाग्ने हो यहाँबाट।’
‘भागेर कहाँ जाने हजुर कहाँ बस्ने, के खाने ?’ कुम्भले जिज्ञासा पोखे।
मेरा मित्रले भने, ‘त्यत्रो रकम विदेशमा राखेको कहिलेका लागि त ? त्यहीं जाने त्यही बस्ने।’
‘हामी नि, हजुर ?’ सायद कुम्भको अनुहार कालो भयो होला।

मित्रले बोले, ‘तिमी त भित्रिया, तिमीलाई कहाँ यहाँ छाड्छु र !’
कुम्भले भने, ‘हाम्रो समूहका त्यत्रा मान्छेलाई के गर्ने नि हजुर ?’

मित्रले धम्कीको भाषामा बोले, ‘सबैको ठेक्का लिएर साध्य हुन्छ ? तिनका विषयमा चिन्ता गर्‍यौ भने तिमीलाई पनि छाड्नु पर्ने हुन्छ।’
मलाई अति भयो। म मित्रलाई नभेटी हिँडें।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.