‘नेपाल’ ऐनामा ‘भैरव दाइ’को अनुहार

अविच्युअरी

‘नेपाल’ ऐनामा ‘भैरव दाइ’को अनुहार
फाइल तस्बिर।

नेपालमा राजनीति हरायो। राजनीतिलाई नेताहरूले आफूमा केन्द्रित गरे। जसका कारण भोलि के हुन्छ, कसैले भन्न सक्दैन। नेपालको राजनीतिको टुंगो भएन।

सुरुसुरुमा निष्ठाको पत्रकारिता थियो, अहिले निष्ठा छैन तर पैसा छ। २०१३ सालदेखि पत्रकारिता सुरु गरेका भैरव रिसाल यसै भन्थे। जसको पत्रकारिता २०८१ सालसम्म निरन्तर चलिरह्यो। वरिष्ठ पत्रकार उनी आफैंमा एउटा ब्रान्ड बनेर बिते। व्यक्ति थिए तर संस्था झैं प्रतिबिम्बित भइरहे। ‘उतिबेला समाचार लेखेपछि होसियार हुन्थे। विकृति, विसंगति गर्न डराउँथे’, उनले उसबेलाको पत्रकारिता र समाजबारे भनेका थिए, ‘म आलोचनात्मक समाचार लेख्थें।’

अधिकृत हुन नदिएपछि पत्रकार  :  अहिलेको उदीयमान पत्रकार पुस्तालाई अचम्म लाग्न सक्छ, रिसाल लेखेकै कारण एकपटक १० महिना जेलमा परेका थिए भन्दा। जेल पर्नुपर्ने कारण थियो, लेख। जसको शीर्षक थियो, ‘एसियाली मापदण्ड मन्त्रिमण्डलको ठगी खाने भाँडो।’ भक्तपुर दधिकोटबाट उनी काठमाडौंको अनामनगरका बासिन्दा बने। ९७ वटा भोटा फटाएर उनी यस संसारबाट बिदा भए। सरकारी सेवामा नाम निकालेर पनि जागिर खान नपाएपछि भैरव रिसाल पत्रकार बनेका थिए।

उनले २०१२ सालमा लोकसेवा आयोगमा शाखा अधिकृतको परीक्षा दिएर नाम निकालेका थिए। संस्कृतमा शास्त्री (स्नातक तहसरह) गरेका उनले लिखितपछि अन्तर्वार्तामा पनि आफूलाई योग्य साबित गरे। ‘म सेक्सन अफिसर हुने भएँ भनेको तर मलाई राज्यले जागिर दिएन’, उनले भनेका थिए, ‘किनभने त्यसबेला राज्यले कम्युनिस्ट पाल्दैनथियो।’

तर, नेपालको राजनीति उल्टो भयो : पत्रकारिता राज्यको चौथो अंग। अर्थात्, प्रतिपक्षी बेन्चमा बसेर पत्रकार रिसालले सास रहुञ्जेल सरकारको निगरानी गरिरहे। २०७९ माघ ६ गते टेलिफोन गरें र लेखका लागि केही प्रश्न गरें। बोल्ने तर लेख्न नसक्ने उनका शब्द टिपेर मैले केही लेख अन्नपूर्ण पोस्ट् दैनिकमा छापेको थिएँ। अझै ताजा स्मरण छ उनले नेपाल, सरकार, दल र नेताको टिप्पणी गरेको। उनले भनेका थिए, ‘नेपालमा राजनीति छैन। कार्यकर्ताको विश्वास नेतामाथि छैन। नेताको विश्वास पनि कार्यकर्तामाथि छैन। यसैकारण केही भन्ने अवस्था छैन कि राजनीतिले दिने नतिजा के हुन्छ ?’

राजनीतिका कारण नेपालमा हरेक कुरा अनिश्चित र दोधार बनिरहेको उनको टिप्पणी सतर्क थियो। उनले मनदेखि बोलेका थिए, ‘राजनीति सही बाटोमा लागे पो नतिजा पनि सही आउँछ। न नेता, न कार्यकर्ता, कोही राजनीतिक बाटोमा लागेकै छैनन्। त्यसैले नतिजा राम्रो आउने त सम्भावनै छैन।’ रिसाल कुन पार्टीका मान्छे हुन् ? अन्नपूर्ण पोस्ट् दैनिकमा दुई दशकको यात्रामा कुनै दिन खोजिनँ। दल विशेषलाई उकास्ने वा खसाल्ने कुनै काम गरेनन् जसले, उनलाई कुन कित्ताका हुन् भनेर किन खुट्याउने ? मनले यही भन्थ्यो। उनका आलोचनात्मक टिप्पणीमा ‘बायोस’ भेटिन्नथे।

अब नेपालको राजनीति नयाँ शिराबाट जानुपर्छ  :  जे देख्थे, त्यही बोल्थे रिसाल, ‘नेपालमा राजनीति हरायो। राजनीतिलाई नेताहरूले आफूमा केन्द्रित गरे। जसका कारण भोलि के हुन्छ, कसैले भन्न सक्दैन। नेपालको राजनीतिको टुंगो भएन।’ ऐनामा जसरी जस्ताको तस्तै प्रतिबिम्बित हुने उनको बानीले नेता, सरकारी कर्मचारी आदि सबैलाई छर्लंग चित्र चलचित्रका दृश्य झैं देखाइदिन्थे। उनको अर्को सटिक टिप्पणी बिर्सन नसकिने छ, ‘योजनाबिनाको राजनीति भइरहेको छ नेपालमा। योजना त छैन नै, दृष्टिकोण पनि छैन।’ रिसाल एक पत्रकार, जसले देशलाई सधैं अग्रगामी बाटोमा हिँड्न प्रेरित गरिरहे। उनको निष्कर्ष थियो, ‘अब नेपालको राजनीति नयाँ शिराबाट जानुपर्छ।’ रिसालले गरेको राजनीतिक टिप्पणी खरो खालको हुन्थ्यो। त्यसैले बेलाबखत देश, दल, नेता र सरकारका विषयमा भलाकुसारी गरिरहन्थें उनीसँग। सोही क्रममा गरेको कुराकानीले राजनीति निष्प्राण रहेको तर्क उनले गरे। उनका शब्दलाई लेखमा उनें र प्रकाशन गरें अन्नपूर्ण पोस्ट्मा २०७९ कात्तिक ६ गते ‘निष्प्राण राजनीति कहिलेसम्म ?’ शीर्षकमा अग्रमत।

‘खासमा नेताले नेतृत्व दिनुपर्ने हो तर त्यो हुन सकेको छैन। उनीहरू आफैं रुमलिएका देखिन्छन्’, उनले भनेका थिए, ‘नेपालमा राजनीतिले नेता छाडेको अवस्था छ। नेताकै कारण देश समस्यामा रुमलिएको हो।’ नेताले भाषण दिने काम बढी गरेकोप्रति उनी रुष्ट थिए। उनले भनेका थिए, ‘देश विकास गर्न वक्तव्य होइन, नेतृत्व चाहिन्छ। निस्वार्थ नेतृत्व आजको आवश्यकता हो।’

शब्दबिम्बमा सत्यमोहनको घुम्टो खोल्दा  :  राष्ट्रले मानेको व्यक्तित्व पृथक् हुन्छ। सत्यमोहन जोशी यस्तै एउटा पृथक् व्यक्तित्व। उनले यो संसार छाडेपछि छापिएका सम्पादकीय, लेख, आलेख, समाचार र तस्बिर राखेर एउटा कृति तयार पारें, ‘शब्दबिम्बमा सत्यमोहन’। भुँडीपुराण प्रकाशनले छाप्यो तर विमोचन कसको हातबाट गराउने ?     प्रश्न मनभरि भयो। कसैले भने, मन्त्री, प्रधानमन्त्री...। सम्पादक हुनुका नाताले मनले मानेन। सत्यमोहनजस्तै व्यक्तित्व खोज्यो र अन्ततः पायो, भैरव रिसाल।

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंको हलमा कार्यक्रम भएकाले अनामनगरबाट लैजाने र ल्याउने जिम्मेवारी बोध गरें। खासमा परिवारले हार्न नसकेर पठाएको थियो उहाँलाई। कारण, ९५ पुगेका वृद्ध जो न हिँड्न सक्नुहुन्थ्यो न उभिएर बोल्न नै। याद ताजै छ, मञ्चमा सबै उभिए तर उनले सोफा सेटमा बसेर यो कृति विमोचन गरे। सौभाग्य भनौं कि अहोभाग्य ! यो मेरो जिन्दगीको अमूल्य समय थियो। मेरो अनुरोध स्वीकार्नुका पछाडि केही कारण अवश्य थिए, खास रहेछ सत्यमोहन जोशी अनामनगरस्थित आफ्नो घरमा कहिले एक्लै कहिले पत्नीसहित आउनु र पारिवारिक जमघट बेलाबखत भइरहनु। त्यो गुन तिर्नु थियो सायद भैरव दाइलाई सत्यमोहनको।
 रिसालले विमोचनमा सत्यमोहनलाई घडाको संज्ञा दिँदै भनेथे, ‘घडाबाट जति अमृत झिके पनि निस्किरहन्छ। उहाँबारे अझै थुप्रै कृति तयार पार्न सकिन्छ। उहाँका बारेमा भनी र लेखीसाध्य छैन।’

आफैंमा संग्रहालय बनेर मूलतः वातावरण पत्रकारको छवि बनाएका रिसालले भनेका थिए, ‘सबैको सत्यमोहन बन्ने अवसर पाउने व्यक्ति उहाँ जीवित संग्रहालय पनि हुनुहुन्थ्यो।’ यतिबेला भैरव दाइले २०१३ सालदेखि २०८१ सालसम्म गरेको पत्रकारितालाई जीवित संग्रहालयका स्वरूपमा सम्झिरहेछु। १९८५ सालमा भक्तपुरको गुण्डु तिथलीमा जन्मिएका भैरव दुई वर्ष नपुग्दै ‘टुहुरो’ बनेका थिए तर उनले नेपाली पत्रकारिताको भने ‘अभिभावकत्व’ ग्रहण जीवन छउञ्जेल गरिरहे। यसअर्थमा भैरवले जोशीका बारेमा भनेजस्तै भैरवबारे पनि थुप्रै कृति तयार पार्न सकिन्छ।

च्युराको बास्ना पनि ऐश्वर्य हुने  :  सानाको दसैंको चर्चा भयो एक दिनको बसाइमा। बसाइ थियो, अनामनगरस्थित रिसालकै निवास। सात–दस वर्षको हुँदा उनको ध्यान खाने, लाउनेमै हुन्थ्यो रे। दसैंमा आमाले च्युरा कुटेर ल्याउने तर निफन्न नभ्याउँदै खान मन लाग्ने रे उनलाई। जोकोहीले त्यसबेला घरमा च्युरा कुटाउनै नसक्ने रे। रिसालले भनेका थिए, ‘हामी केटाकेटी चोरेर खान्छौं भनी भुसैसहित घ्याम्पी वा घ्याम्पोमा राखिएको हुन्थ्यो भण्डार कोठामा च्युरा। नयाँ धानको च्युराको बास्ना खाएर चित्त बुझाउन कहिलेकाहीं च्युरा राखेको घ्याम्पोनजिकै बस्थ्यौं र च्युराको बास्ना खान्थ्यौं। त्यो पनि ऐश्वर्य हुने।’ उनले यो सन्दर्भ जोड्दै आमनेपालीको अवस्था चित्रण गरेका थिए। हामी दुईको बसाइ त्यसबेला उनको बाल्यकालमा केन्द्रित थियो। उनले भनेथे, ‘मेरो यो घटना एउटा प्रतिनिधिमात्र हो, नेपाल र नेपालीको अनुहार यही ऐनामा अटाउँछ।’

देश खाइ शेष भएका भैरव  :  सबै नेपालीलाई नेपाल फन्को मार्ने मौका मिल्दैन। तर भैरव दाइलाई त्यो अवसर प्राप्त भयो। २०१८ सालअघि नेपाल ३५ जिल्लामा विभाजित थियो। त्यसपछि ७५ जिल्ला बनाइयो, अहिले ७७। भैरवका पाइला ७५ वटै जिल्लामा परेका छन्। भन्नुको मतलब, सबै जिल्लाको रहनसहन, जीवनशैली, समाज र संस्कृति उनका आँखामा छन्। उनले लेखेका छन्, ‘यसअघि नै ७३ जिल्ला पुगिसकेकाले अब दुई जिल्लामात्र बाँकी भए, गुल्मी र अर्घाखाँची एकैपटक टेक्दा। अनि अति धेरै खुसी लागेर बुर्लुक्क–बुर्लुक्क उफ्रेको हुँ। प्युठान, अर्घाखाँची र गुल्मी तीन जिल्लाको संगमस्थल त्रिवेणीमा आधा घण्टा जति आनन्द लिएँ, आराम गरें।’

भैरवले पश्चिम–पूर्व सबै भ्याए। २०५६ सालमा नेपालका विशिष्ट योजनाकार डा. हर्कबहादुर गुरुङसँगको सन्दर्भ लेखमा कोट्याएका छन्, ‘हामी ताप्लेजुङको सदरमुकाम फुङलिङमा कञ्चनजंघाको संरक्षण र विकासको सम्भावना विषयक तीनदिने ‘ब्रेन स्टोर्मिङ’ छलफल सकेर काठमाडौं फर्किंदै थियौं।’ उनी कुनै पनि कुरामा पछाडि परेनन्। भन्थे, थाक्नु हुँदैन, भाग्नु हुँदैन। यी वाक्यले स्पष्ट पार्छ कि भैरव न कहिल्यै थाके न कहिल्यै कुनै कामबाट भागे। उनी भन्थे, ‘सक्रियता नै जीवन हो।’ यो उनको पत्रकारिता थालनीका दिनसम्म जोडिन्छ, जसले हालखबर दैनिकको संवाददाता हुँदा पसलेदेखि मन्त्रीसम्म भेट्थे र थितिदेखि बेथितिसम्मका समाचार लेख्थे। र, उनी सरकार हल्लाउने खालका सामग्रीले बजार पिट्थे। उनको पत्रकारितामा पनि खास लक्ष्य थियो, ‘देशलाई देश बनाउने।’

‘मुख चलाएर मुलुक बन्दैन’  :  ‘मुख चलाएर मुलुक बन्दैन’, शीर्षकमा रिसालको आवाजलाई रेकर्ड गरेर लेख बनाएको पनि अहिले जस्तो लाग्छ। २०७८ भदौ १६ मा अन्नपूर्णमै प्रकाशित यो लेखले अझै कति वर्ष वा दशक काम गर्ने हो, यसै भन्न त नसकिएला तर दूरदृष्टिका धनी रिसालले नेपाल, नेपाली र नेताबारे बोलेको यो सन्दर्भ साँच्चै पेचिलो छ। ‘नेपाली जनता दुःख पाउन जन्मिएको जस्तो लाग्न थाल्यो। नेता र नेतृत्वले सुख पाइरहने देखियो’, उनले भनेका थिए, ‘आजको राजनीति १८औं शताब्दीको जस्तो होइन, २१औं शताब्दीकै जस्तो हुनुपर्छ। हिँड्नु पर्‍यो, जम्नु भएन। जमेर बस्ने खालको हुनुमा दलका ठूला नेता जिम्मेवार भए।’

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.