जीवनमा जीवनकै दर्पण

जीवनमा जीवनकै दर्पण

कहिले आउँछ मनमा सूक्ष्म घर्षण भएर भावना। कहिलेकाहीँ हीन र लघुताभाष भएर। कहिले आशावादी दृष्टिचेतका साथ। अनि कहिले आउँछ विद्रोही चेतका तीव्रगतिको कम्पन। सायद यस्तो सबैलाई हुन्छ होला। मानिस न हो। मनमस्तिष्कको अन्तरकुन्तरमा के के रहन्छ पत्तो पाइन्न।

किशोरवयमा एउटा भाव उब्जिन्छ, युवा भएपछि अर्कै भाव आउन सक्छ। बुढ्यौली लाग्दै जाँदा फरक भाव उत्पन्न नहोला भन्न सकिन्न। अझ मानिसको उमेर, चेतनाको स्तर, पारिवारिक पृष्ठभूमि, शिक्षा, वरपरको वातावरण, व्यक्तिको निजत्वजस्ता कुराले पनि उसले सोच्ने तौर तरिकाहरू र मनमा उत्तिजने भावहरूमा फरक पार्छन्। यति मात्र कहाँ होला र। आफू जन्मेहुर्के र खेलेको परिवेश, त्यहाँको संस्कार र संस्कृतिले पनि यसमा घर गर्छन् हैन र।

हामीलाई थाहा छ, हाम्रा दैनिकीहरू विस्तारै चिप्लिँदै जान्छन्। समय बितेको पत्तो पाइन्न। जीवनमा हरपल नजिकिने चुनौतीहरू, भविष्यप्रतिको चिन्ताले व्यक्ति विशेषलाई धेरै कुराहरू सोच्न बाध्य गराउँछ। यी सबै समयका कुरा हुन्। जीवनलाई उर्वर बनाउने किमरुभूमि ? जीवन, सुखका खुट्टाहरूले अगाडि हिँडाउने कि दुःखको बैसाखी टेकाए हिँडाउने जीवन ?

खुसीको उज्यालो छर्ने जीवन जिउने कि दुःखको औंसीको रात छाउने जीवन बनाउने ? यसतर्फ अरूले सोचिदिँदैनन्, हामी आफैंले सोच्नुपर्छ। बिचार्नुपर्छ। हिम्मत र आँट अनि हौसला कायम गर्नुपर्छ। सकारात्मक र सुन्दर भावनाले प्रयास जारी राख्नुपर्छ, सफल होइन्छ। अरूको उन्नतिमा राल चुहाउने होइन, डाहा गर्ने किमार्थ हुँदै होइन। उसले गरेको प्रगति र उन्नतिको सूत्र लागू गरेर प्रयास गर्नुपर्छ।

कालीप्रसाद रिजाल भन्थे– ‘के छ र जिन्दगी बिताइदिन्छु।’ तर रिजालले भने जति सजिलो छैन, अहिलेको समयमा जिन्दगी बिताउन। धेरै कुरासँग जुध्नुपर्छ। धेरै कुराहरू पार गर्नुपर्छ। संघर्षको आरनमा खारिएर जीवनलाई अघि बढाउनुपर्छ। अँगेनाको न्यानोले मात्र पुग्दैन हजुर। बडो चुनौतीपूर्ण समय छ। यही रहेछ, स्वाभाविक प्रवृत्ति समयको। यथार्थ यही रहेछ। जता हेरे पनि जब्बरे फलामे पिलरसहितको काँडेतारले जीवनलाई चुनौती दिइरहेको छ, वर्तमान समय।

जीवन जीवन जस्तो हुन अदम्य आँट र साहस, दृढतापूर्वक गरिने अठोट र प्रतिबद्धता चाहिन्छ। कठोर मिहेनत अहिलेको आवश्यकता हो। अल्छी गरियो कि पछि परियो। अल्छि मानसिकता पाल्यो कि सकियो। समय नै यस्तै छ। यो दुनियाँ गर्नेहरूका लागि हो। जीवन जिउने शिल्पमा गज्याङ गुजुङ भो कि जीवनको गाडी ‘स्मुथ’ भएर चल्दैन। मिहेनतले फल झार्नुपर्छ, साँच्चै भनेको यो फगत कल्पना होइन् है।

यो त हामी सबैले वर्तमान समयले दिएको हाँकसँग टक्कर लिन गर्नैपर्ने कुरा हो। समय र मान्छेको सम्बन्ध सधैं मित्रवत् हुँदैन, चुनौतीपूर्ण हुन्छ। मान्छेका जीवनका भित्ताहरू समयले कोपर्दै हाँक दिन्छ। कहिले अभाव बनेर, कहिले दुःखपीडा बनेर। अनि कहिले के। भ्रमको विषको के अर्थ ! मिहेनतको फसल मीठो नि। मिहेनत गर्दागर्दै सकिँदा जीवन पत्तो हुन्न।

तर पनि जिउने जिजीभिषामा मान्छेले गुमाउन हुँदैन इमान। स्वाभिमानको अर्थलाई मर्न दिनु हुँदैन। लक्ष्य र उद्देश्य छरपष्ट र लथालिंग पार्न हुँदैन। मनका रहर मार्नु हुँदैन। यत्ति हो रहर चाहिँ सकारात्मक होस् है।

कुहिरोको आकाश होइन, जिन्दगी। चैतको सुसाउँदै चल्ने बतास त झन् हुँदै होइन, जिन्दगी। माघको ठिही होस् या वैशाखको धूप अनि वर्षामा बादलले माथिबाट खन्याउने आरिघोप्टे पानी पनि होइन, जिन्दगी। जतिन्जेल चल्छ, ती सबैसँग झेलेर चल्छ हाम्रो जिन्दगी। रेशमी कोमलताबीच फूल्ने फूल मात्र पनि होइन, जिन्दगी जो छिट्टै झरिजान्छ, ओइलाउँछ र अस्तित्व सकाउँछ।

जीवनको यात्रा त पर छ धेरै परसम्म। यसैले सुरु गर्नु छ कर्मको रेखा कोरेर। आफ्नो स्वाभिमान जोगाउनु छ जिन्दगीलाई एक मुठी सास छउन्जेल। जीवनलाई लयमा हिडाउँ। समस्यासँग वार्तालाप गरौं। संवाद गरौं। सकिन्छ समाधान छ। सकिँदैन संघर्ष गरेर समस्याहरूसँग, व्यवधानहरूसँग र अवरोधहरूसँग जुधौं– कर्म गरेर। जिन्दगीको अर्थ खोजेर अघि बढौं। समस्यालाई खुइल्याउँ। जीवनबाट विस्थापन गरौं तिनलाई। आफ्ना कमजोरीहरूको चुरो पत्ता लगाऔं।

कमजोरी र समस्याबाट भाग्ने होइन, हामीले निकास दिने हो। समाधानका उपायहरू पहिल्याउने हो। सक्छु, सम्भव छ भन्ने दृढताभाव पनि हुनुपर्छ। जीवनका अभीष्ट प्राप्त गर्ने चाहना हुनुपर्छ। बर्खाको भेल हुँदै होइन, जीवन। तथापि त्यस्ता भेलरूपी उतारचढावहरूले दुःख दिइरहन्छन्। तर अदम्य साहस बोकेर तिनलाई झेल्नुमा जीवनको मज्जा छ।

उज्यालोको चाहना राख्ने हो। अँधेरो फाल्ने हो। जीवनमा खुसी पाल्ने हो। अरण्यरोदन नगर्ने, आएका र चलनचल्तीमा आएका वा बढोत्तरी भएर आएका समस्याका पक्षहरूलाई जरैदेखि निर्मूल पार्न सक्छु भन्ने भावना राख्ने हो। क्यान्सरजस्तो फैलन नदिन गर्नुपर्ने यावत् कुरा गर्ने हो। तव त जीवन जीवन जस्तो हुन्छ। तब त जिन्दगी जिउनुको असली मजा मिल्छ। मनका भावहरूको उपयुक्त व्यवस्थापन नै जीवन जिउने उत्कृष्ट कला हो। मैले धर्तीमा टेकेका पाइलाहरूले दर्बिलोसँग टेकुन्। एकनासले जीवनको लय पकड्दै अघि बढुन्। समयको डबलीमा मज्जैले झुमुन्। सुख र खुसीहरूको सगरमाथा चुमून्। संगीतको झंकारमा झंक्रित भएर मनमस्तभै खुसीको पलकमा झुमून्। यो हो नि असली जिन्दगी जिउनुको मज्जा। अर्काको भर परेर, लम्पसार पाउ मोलेर दसऔंले जोडाइको भिखमंगा जीवन कसैले जिउनु नपरोस्। अरूका माखेसाङ्लोमा जीवनलाई पर्न दिनु नपरोस्।

फटाहाहरूको पशुवत् प्रहार सहन गर्नु हुँदैन। जीवनलाई जतन गर्नुपर्छ। चुहिन दिनुहुँदैन, साहस र सामथ्र्य। कोखमा दाँत हुनेबाट हुन सक्छ, खतरा। षड्यन्त्रकारीहरूसँग हुनुपर्छ धेरै टाढा। अनि लाग्छ– दुःखका आँखाहरूको कोपाविभाजनमा परेका, पीडाले द्रवित बनेका र अभावका भँगालाहरूमा फसेकाहरूको लागि केही गर्न सकियोस्। अनि लाग्छ मन उच्च भावमा छ र दुःखीको जीवनमा उज्यालोको बत्ती बाल्न सकियो भने पो जीवनको सार्थकता होला।

मन नबदलियोस्। कर्तव्य बोध होस्। सत्कर्मको महसुस होस्। मन सफा होस्। तन उस्तै सफा होस्। विश्वासले साथ देओस्। बहकिने होइन। सम्हालिने हो। आचरणमा रहेर सदाचारको योग्यता कायम गर्ने हो। खराब कुरा गोडमेल गरेर असल जति जोगाउने हो। तब पो जीवन सार्थक हुन्छ। मन गंगाजस्तै सङ्लो पारेर जीवनको महŒव बुझेर अघि बढ्ने हो। तब पो जीवनको असली मजा मिल्छ।

मूल्यविहीन जीवन अर्थात् जीवनको अवमूल्यन अरूबाट नहोस्। यति मात्र होइन, आफ्ना व्यवहारले पनि अवमूल्यन नहोस्। किनकि हामीलाई त्यसो गर्नु छुट छैन। अथवा हामी सृष्टिको सबैभन्दा बुद्धिजीवी मानिएका प्राणीलाई कहाँ त्यसो गर्ने छुट हुन्छ त।

व्यक्तिले कुनै पनि विषयमा फरक मत जाहेर गर्नु अस्वाभाविक हुँदै होइन। तर हरमानिसको मनोविज्ञानले यति चाहिं पक्कै भन्छ। जिन्दगीको सौन्दर्य पटक्कै बिग्रिँदैन। जिन्दगी सप्रिन्छ पक्कै। यो मेरो बुझाइ हो तर साबिती बयान होइन। यसोभन्दा मैले ताली पनि पाउँदिनँ र गाली पनि। मान्छेका चुनौती सम्बन्धमा मेरो अल्पज्ञानको बुझाइ हो। अहिलेको परिवेश मानवमैत्री कदापि छैनन्।

स्वार्थका कोलाजहरूले घर गरेको बेला हो यो। अवसरका भोकाहरूले मुख बाइरहेको बेला हो यो। उपयोग गर्ने जान्नेहरूले मस्ती लुटिरहेको समय हो। सोझा सीधा र निमुखाहरू बबुरो बनेर निरीह भै जुम्लेहात जोड्दै बस्नु परेको परिवेश हो। कालो सर्पले फणा देखाउँदै बसेको छ आज। अनि त्यसै उखान कहाँ बनेको थियो र– ‘बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल नि बिक्दैन।’

कसैले मानमर्दन गर्न नसकोस्। अनावश्यक रूपमा सम्बन्धहरू कसैको चाहना मात्रले नचोइटियोस्। हाम्रो मनको दह सङ्लो होस्, जहाँ राम्रा भावनाहरू मज्जैले पौडी खेल्न सकुन्। अनुशासनका सीमा रेखाहरू मिच्ने दुस्साहस कोही कसैबाट नहोस्। सुकामतिर जहिल्यै ध्यान जाओस्। मस्तिष्कले जीवनको अर्थ पहिल्याउन सकोस्। संकोच र सन्त्रासमुक्त, आशावादी भाव, भ्रममुक्त मन, आँखामा जहिल्यै सम्भावनायुक्त प्रतिविम्बको झलक, मुहारमा सन्तोषपूर्ण भाव यति भए जीवन जीवन जस्तो हुन्छ होला।

जतिउन्जेल चल्छ जिन्दगीको गाडी, मज्जैले चल्छ होला। तर मित्र, बैंसको कहिल्यै पुनरावृत्ति सम्भव छैन्। जिम्मेवारी समयमै पूरा गरौं। बुढ्यौली तपाईंमा पसेपछि पछुतोमा परी ला यसो गर्नुपर्ने, उसो गर्नुपर्ने भन्ने पछुतो मनले व्यक्त नगरोस्। जीवनका भोगाइको समीक्षा गर्ने बेलामा पनि कमी कमजोरी नपाइयोस्। समय छँदै जीवनको महŒवबोध र जीवनको स्वत्वबोध गर्न सकियोस्। जीवनको विन्यासलाई सही तरिकाले गर्न सकियोस्। जीवनका कमी, कमजोरीप्रति समयमै विद्रोह गरेर तीबाट छुटकारा पाउन सकियोस्। गलत र नमीठा पलहरू र स्वादहरूबाट जीवन परै राख्न सकियोस्। वास्तवमै जीवन निष्ठामा पराजित नहोस्। स्वाभिमानबाट नझुकोस्। इमानमा अडिग होस्। तब पो जीवन जिउनुको सार्थकता रहन्छ।

उन्नति र प्रगतिको शिखर चुम्न सक्ने जीवन जवाफदेही बन्न सक्दा, सामाजिक सम्मिलनमा अघि बढ्न सक्दा जीवनको अर्थले सार्थकता पाउँछ। अतीतलाई सम्झेर वा लिएर दुःखी हुने होइन। सकारात्मक सोच, भावले फूलजस्तै सुन्दर र हसिलो भएर सकारात्मक लक्ष्यको मैदानमा दौडदाको मज्जै बेग्लै। जीवनको दर्पणछायाँ यस्तै हो। जसरी हेर्नुहुन्छ, त्यस्तै देखिन्छ जीवन। निष्कर्ष यही हो तपाईंको जिन्दगीको नक्सा तपाई आफैंले कोर्ने हो अरू कसैले होइन है।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.