आमा तिमीसँग बिछोडिएको पनि दुई दशक र दुई वर्ष पनि भइसकेछ। खै किन हो, आजभोलि तिम्रो धेरै सम्झना आउँछ। २२ वर्षको आमाबिनाका यात्रामा समयले खोजेको पैसा र मनले खोजेको सुविधाका लागि संघर्ष गरे सायद। बालबच्चा हुर्काउँदै गर्दाको बेलातिर सायद कुनै–कुनै दिन सम्झन भ्याइनहोला। खै आजभोलि फुर्सद धेरै भएर हो कि वा मनमा गुम्सिएका कथाव्यथा सुनिदिने मान्छे नभएर, तिम्रै मात्र सम्झना आइरहन्छ। तर हरेक पाइलाले तिम्रै संस्कार पछ्याएका छन्। जस्तो कठिन घडीमा पनि तिम्रो संस्कारले खम्बा बनिसकेका मेरा पाइला लड्खडाएका छैनन् आमा।
आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन। करिब पाँच दशक पछाडि फर्केर छोरी बनेर तिम्रो धोतीको सप्कोभित्र बटारिएर खेलेको सम्झनाको तालमा फेरि पौडिन मन छ। गल्ती गर्दा बिस्तारै कुट्थ्यौ। मलाई भने कुटाई खाएकोमाभन्दा तिमी रिसाएकोमा दुःख लाग्थ्यो। अनि तिमीसँगै टाँसिएर झन् कोक्किएर रुन्थें। जब तिमीले अब यस्तो नगर्नू भन्दै मलाई बोक्थ्यौं नि म तिम्रो मायामा पग्लेर हलुका बन्थें। यी सब कुरा अरूका लागि एकादेशका कथा होलान् तर मेरा लागि भने अमूल्य स्मरण हुन्।
निस्वार्थ मायाका चिनोहरू हुन् अनि म छोरी भएकी परिचय। छोरीबाट बुहारी बनेर कर्मघरको आँगन टेकेपछि परिचयको रूप फेरिने रहेछ। कसैकी पत्नी, बुहारी, भाउजु, जेठानी, देउरानी, काकी, माइजू, आमा हुँदै सासू अनि हजुरआमा। यसरी नाताले दिएको सम्बोधनले आफू पनि कसैकी छोरी हुँ भन्ने पनि बिर्सने रहेछ।
भनिन्छ, घर हाम्रो पहिलो पाठशाला हो। साँच्चै तिमीले हामीलाई कक्षामा पढाएकी त हौइनौ तर तिम्रो सामीप्य र हुर्काइमा आँखाले पढेका अनि मनले बुझेका व्यवहार नै संस्कार रहेछन्। तिमीबाट सिकेका पाठहरूको कुनै प्रमाण पत्र छैनन् तर त्यो शिक्षा मेरा लागि जीवनमा संघर्ष गरी जिउने अनि कठिन भन्दा पनि कठिन परिस्थितिमा समेत लड्न सक्ने साहस पाएकी छु। हुन त मैले स्कूल अनि कलेज गर्दै उच्च शिक्षा हासिल गरें, प्रमाणपत्रहरू पनि पाएँ तर ती मेरा जागीरका लागि मात्र काम लागे। जागिर सकिएपछि ती सब बाकसमा थन्किए र फेरि कहिल्यै खोलिएनन्। तर तिम्रा संस्काररूपी शिक्षा मेरा हरेक पाइला बने। सहयोगी हात, सत्य वचन, अथिति देवो भवः, पारिवारिक दायित्व सबै तिम्रै संस्कारका घेरा हुन्।
त्यो समय, जुन बेला चाबहिल बुलबुलेको डाँडामा ढुंगाको छाना भएको पुरानो घर थियो हाम्रो। माथि बुईंगलमा भान्छा थियो। पहिलो तलामा दुईमात्र कोठा थिए। एउटा आमाबाबाको अर्को हामी छोराछोरी र पाहुना पासाको। अनि तल्लो तलाको दुईकोठा भाडामा दिएको थियो। पाहुना कहिल्यै खाली नहुने अनि हामीलाई एउटै कोठामा अप्ठ्यारो हुँदा भन्ने गथ्र्यौं, त्यो भाडावाललाई पठाइदिनु हामी सजिलोसँग बस्ने नि। तिमी भन्थ्यौ, कठै विचराहरू यो वैशाख–जेठको उखरमाउलो गर्मीमा कता जाउन् ? अनि फेरि गर्मी सकिएपछि हामी उही कुरा दोहो¥याउँथ्यौं। तिमी फेरि भन्थ्यौ, यो झरीमा उनीहरू कता जाउन् ?
दशैंतिहार चाडपर्व भन्थ्यौ अनि फेरि पुस–माघको जाडोमा कता जाउन् ? चराचुरुंगी त गुँड बाहिर आउँदैनन्, यी आफ्नो गँुड छोडेर कहाँ रुमल्लिउन् ? हुन त तिम्रो पनि बाध्यता थियो होला। त्यसले चुलो चम्को सम्हाल्न आर्थिक समाधान पक्कै दिएको थियो। तर पनि तिमीले कति सरल ढंगबाट हामीलाई मानवताको नातामा भएको परोपकारी गुण सिकायौ नि आमा ! यो त एउटा उदाहरण मात्र हो। यस्तै धेरै पाठ जानी–नजानी तिमीबाट सिक्यौं। आमा तिमीले बालकमै बाबाको आँगन टेक्यौं रे। तिमीले हामीलाई दुःख गरेर हुर्कायौ रे। आफ्नै खुट्टामा उभिन सक्षम बनायौ। कलिलो उमेरमै आमा बन्यौ– पाँच छोराछोरीकी। बाबाको सीमित आय, काठमाडौंको बसाई, डेरा अनि पछि घर धेरै कठिन समयका गौंडाहरू, अनिँदा रातहरू, समस्याका पाहाडहरू सबै सबै पार गरेर छोराछोरी सक्षम बनायौ। सुखको अनभूति गर्ने बेलामा कान नसुन्ने बाबा र भाइबैनीहरूको जिम्मा लगाएर संसार छोड्यौं। तिमी गएपछि हाम्रो मायाको छाहारी भत्कियो तितरबितर भयो। सम्हालिन समय लाग्यो।
कहिले कहिले कठिन समयमा के गरुँ के गरुँ हँुदा म तिमीलाई सम्झन्थें अनि पशुपति आर्यघाटको ब्रम्हनाल जहाँ हामीले तिमीलाई धुकधुकी श्वास हँुदा जल चढाएर अन्तिम बिदाइ गरेका थियौं, त्यहीँ जान्थें अनि बागमतीको जलमा खुट्टा डुबाउँदै तिम्रो स्पर्शको अनभूति गर्थें। मनमनै मनका गाँठो फुकाउँथे। गहहरू भरिन्थे, सही निर्णय लिन सकूँ भनी आशीर्वाद माग्थें। मन शान्त हुन्थ्यो। त्यसरी नै अर्को दिन मन फेरि भक्कानिएको बेला कुनै समस्याको समाधान खोज्न फेरि तिम्रो सामीप्यको चाहनाले उही पशुपतिको ब्रम्हनाल पुगें तर त्यो दिन अरू कसैकी आमा
अन्तिम यात्रा गर्दै रहिछन्। मैले बुझें, संसारको रीत, त्यसपछि म त्यहाँ कहिल्यै गइनँ।
म पनि तिमीजस्तै आमा हुन चाहन्छु तर मलाई थाहा छैन म हुन सकें या सकिनँ। अहिले समय परिवर्तन भएको छ। जनमानसको चाहना र विचार पनि परिवर्तन भएको छ। अहिलेका सन्ततिहरू हाम्रो संस्कारलाई पुरानो चलन भनेर पछाडि नै छोड्न चाहन्छन्। हामी तीन पुस्ताको माझमा छौं। चेपमा परेका छौं। कतिसम्म भने तिम्रा संस्कार उनीहरूलाई मान्य छैन। उनीहरूको संस्कारमा हामी रम्न सक्दैनौं।
जेहोस्, समय चलिरहेको छ। जुन धरातलमा तिमी त्यति बेला थियौं, अहिले म त्यही धरातलमा आइपुगेकी छु। मैले पछ्याएको तिम्रो संस्कारले मैले अरूलाई खुसी बनाउन सकें या सकिनँ, मलाई यकिन छैन
तर म भने आफूसँग सन्तुष्ट छु !
प्रतिक्रिया दिनुहोस !