अलबिदा फणिजी !

डायरी

अलबिदा फणिजी !
फणिदेव महत

चपुर पुग्दा आमाको चिया पसलमा मान्छेहरू भन्थे, ‘जसको कोही छैन, उसका लागि फणिदेव छ नि !’ यी वाक्य सुनेर फणिजी जस्तै बन्न प्रेरणा मिल्थ्यो हामी नयाँ पत्रकारलाई। साँच्चै, केही नहुनेहरूका लागि फणिजी हुनुहुन्थ्यो।

एक आह भरी होगी
हमने ना सुनी होगी
जाते जाते तुमने

आवाज तो दी होगी
हर वक्त येही है गम 
उस वक्त कहाँ थे हम 
कहाँ तुम चले गए ?
चिठ्ठी ना कोई सन्देश...! ! !

प्रिय मित्र फणिदेव महतजी,

तपाईं जीवनभर आवाजविहीनहरूका लागि आवाज भएर गाउँ–गाउँ चाहार्नुभयो । को कस्तो अवस्थामा छ ? कसको हालत के छ ? दुनियाँलाई खबर बाँड्दै हिँड्नुभयो । तर, वैशाख ३० गते (२०८२) हामी कसैलाई खबरै नगरी तपाईं कहाँ कुन यात्रामा निस्कनुभयो अकस्मात् ? जसको कुनै ठेगाना नै छैन...! माथि उल्लिखित चर्चित हिन्दी गीतको सहारा लिँदै निकै कष्टसाथ भन्नु परेको छ, प्रिय फणिजी, अलबिदा...!

दुई दशकसम्म फणिजीले अन्यायमा परेकाहरूका लागि न्यायका लागि अनवरत रूपमा लेखिरहनुभयो । भोका पेटहरूका लागि भोजन जोहो गर्न आवाज बनेर उभिरहनुभयो । दलित, विपन्न, असहायहरूका लागि सच्चा सहयात्री बनिरहनुभयो । कलम, डायरी र क्यामराले उनीहरूकै दुःख, पीडा 
र अभावका खबरहरू लेखिरहनुभयो । टिभीमा देखाइरहनुभयो । रेडियोमा खरो बोलिरहनुभयो ।

चपुर पुग्दा आमाको चिया पसलमा मान्छेहरूले भन्थे, ‘जसको कोही छैन, उसका लागि फणिदेव छ नि !’ यी वाक्य सुनेर फणिजी जस्तै बन्न प्रेरणा मिल्थ्यो । जुन पत्रिका, टिभी र रेडियोमा नहुनेहरूका लागि फणि समाचारका माध्यमबाट लड्थे, त्यही सञ्चारमाध्यमबाट आफ्नै मृत्युको खबर छाडेर जानुभयो । जाने वो कौनसा देश...!

ब्रेन ट्युमरबाट लामो समयदेखि फणिजीपीडित हुनुहुन्थ्यो । ४२ लाख ऋणको भारी पनि नबोकेका होइनन्, परिवारजनले उहाँको उपचारका लागि । दैवको लीला– कलाले दुनियाँको मन जितेका फणिजी कालसँग हार्नुभयो । नेपाली पत्रकारिताले एउटा निडर र सक्षम पत्रकार गुमायो । हामीले प्रिय सहकर्मी गुमायौं भने आवाजविहीनहरूको आशा र भरोसाको शिर ढल्यो ।

प्रधान सम्पादक अखण्ड भण्डारी दाइ र म कैयौंपटक उपचाररत रहँदा अन्नपूर्ण न्युरो अस्पताल र काठमाडौं मेडिकल कजेलमा भेट्न गएका थियौं । फणिजीले मंसिरमा उपचारको क्रममा काठमाडौं मेडिकल कजेलको शैय्याबाट हाँस्दै भन्नुभएको थियो, ‘अब म बाँचे...।’ तर, उहाँ आफ्नै बोली फिर्ता लिँदै परिवार, सहकर्मी र दुनियाँलाई रुवाउँदै एक्लै जानुभयो । ठेगानाबिनाको संसारमा जानुभयो ।

चैतको पहिलो साता हुनुपर्छ । उहाँले फोन गर्नुभएको थियो । अन्नपूर्ण पोस्ट्कै अखबारबारे । किनभने म अन्नपूर्णको मधेस प्रदेश ब्युरो कार्यालयमा कार्यरत रहँदा उहाँसँगै धेरै कुरा हुन्थे, समाचार मात्र होइन, जीवनका सुखदुःखका पनि । उहाँ बिस्तारै निको भएर अखबारमा समाचार लेख्न सक्ने हुनुभएको थियो । तर, मृत्युसँग लड्न सक्ने हुनुभएको रहेनछ । फणिजीसँग मैले एक दशक अन्नपूर्ण पोस्ट दैनिकमा सँगै काम गर्ने अवसर पाएँ । उहाँका बोलीले हामीलाई ऊर्जावान् बनाउँथ्यो ।

२०७० सालतिर पत्रकारिता सिक्दै गर्दा अन्नपूर्णको पाठक पनि थिएँ म । त्यो बेला फणिजीका बाइलाइनमा समाचार खुब आउँथे । यो को मान्छे होला ? समाचार पनि कति लेख्न जानेको ? सकेको ? त्यो पनि दिनहुँ ! २०७३ मंसिरमा फणिजीसँगै मैले पनि बाइलाइन लेख्ने अवसर पाएँ । अनि, उहाँसँग बाक्लै भेटघाट र चिनजान भयो । सँगै बाइलाइन लेख्ने अवसर पनि जुर्‍यो ।

कहिले राजपुर बमकान्डको त कहिले बाराको विनाशकारी हावाहुरीका समाचार लेखियो । त कहिले हास्यकलाकार धुर्मुस–सुन्तलीले चपुरमा बनाएको एकीकृत सन्तपुर माझी बस्तीको । फणिजी नरमभित्रको कठोर मान्छे हुनुहुन्थ्यो, समाचारका दृष्टिकोणले । साथीभाइप्रतिको प्रेममा कहिले कमी थिएन । चाहे दुःखमा होस् या सुखमा । प्रिय फणिजी आँखामा राख्दा पनि नबिझाउने पात्र थिए ।

बागमतीमा डुबेका बस्तीहरू डुंगामा भए पनि उद्धार र राहतका लागि समाचार लेख्न जान्थें, कतिपटक उहाँसँग । त्यस्तो बेला पनि कोहीसँग नडराउने, चट्टानी अडान लिनुहुन्थ्यो फणिजी । ग्रामीण भेगका समस्यालाई उहाँले निकै प्राथमिकता दिनुहुन्थ्यो । उहाँसँग धेरैपटक सँगै रिपोर्टिङमा जाने अवसर मिलेको थियो । अर्को एउटा प्रसंग यहाँ उल्लेख गर्छु । यसले फणिजीको साहस, लगाव र अन्यायमा परेकाहरू प्रतिको माया झल्किन्छ ।

५ कात्तिक, २०७६ । जनकपुरधामको रामानन्द चोकमा बिहानै अखबारमा नजर लगाउँदै थिएँ । फोनको घण्टी बन्यो– टिन, टिन...। यसो हेरें, अन्नपूर्ण पोस्ट्का तत्कालिन सम्पादक अखण्ड भण्डारी (हाल प्रधान सम्पादक) दाइको फोन रहेछ । कल रिसिभ गरें ।’ काठमाडौंबाट आवाज आयो, ‘राजकरण, तिमी रौतहट जान्छौं ।’ मैले भनें, ‘किन दाइ ?’

‘अफताब आलमले घटाएको ‘राजपुर बम कान्ड’को स्थलगत रिपोटिङ गर्नुपर्ने भयो’, उहाँले भन्नुभयो । मैले फ्याट्टै भनिहालें, ‘हुन्छ ।’ तर, कसरी त्यो ठाउँमा जाने ? मनमा प्रश्न उठ्यो । भनें, ‘म त जान्छु तर फणिजीको सहयोग चाहिन्छ । उहाँ त्यहाँको स्थानीय हुनुहुन्छ । सबै घटना बुझ्नु भएको छ । 
गाउँगाउँको बाटो पनि देख्नु भएको छ ।’भन्नुभयो, ‘तिमी जनकपुरबाट हिँडिहाल है । फेरि ढिलो हुन्छ । म फणिजीलाई पनि भनिदिन्छु, राजपुरसँगै जान भनेर ।’

त्यो बेला एक्लै त्यो घटनाको गाउँ पसेर रिर्पोटिङ गर्ने माहोल पनि थिएन । फ्रन्ट पेजको स्पेसल समाचार लेख्न सम्पादककै निर्देशन आएपछि हामी दौडियौं । झन् त्यो बेला अफताब आलमले घटाएको घटना चर्चाको शिखरमा थियो । क्यामेरा बोकेर मोटरसाइकल हुइँक्याएँ रौतहटको चपुरतिर । बाटोबाटै रौतहटका अन्नपूर्णकर्मी फणिजीलाई फोन गरें, ‘म जनकपुरबाट हिँडें ।’ उताबाट उत्तर आयो, ‘हुन्छ, आउनुस् ।’

बाटोमा मनभरि डर पैदा भयो । कारण थियो, आलमको आतंक । उनको समूहका कारण प्रहरी पनि गाउँ पस्न डराएका थिए । पत्रकारहरू त आलम समूहको आँखाको तारो नै थिए । कारण पत्रकारहरूले आलमले अनजाम दिएको राजपुर बम कान्डको नालीबेली नै पर्दाफास गरेका थिए । त्यसमा अन्नपूर्ण पोस्ट् दैनिक र अन्नपूर्णकर्मी फणि महतको अग्रणी भूमिका थियो । जसले यो संसारबाट बिदा लिने समयसम्म पनि जेलमा रहेका आलमको घटनाबारे समाचार लेखिरहनुभएको थियो ।

त्यो बेला एक्लै गाउँमा जाने अवस्था नभएकाले थप मद्दतका लागि सायद मलाई जनकपुरबाट रौतहट पठाएको हुनुपर्छ । यी र यस्ता कुराले मनमनैको सवाल–जवाफले तीन घण्टाको लामो बाटो छिचोलियो । अनि आइपुगियो चपुर । जहाँ अन्नपूर्णकर्मी फणिजीको घर छ, राजमार्गभन्दा अलि दक्षिणपट्टिको गल्लीमा दाहिनेतिर । उहाँले मलाई बाटोमै लिन आउनुभयो त्यसबेला । चपुर पुग्दा ११ बजेको थियो । उहाँकै घरमा बिहानको खाना खाएँ । राजपुर बम कान्डका बारेमा फणिजीसँग थप जानकारी लिएँ । उहाँले झन्डै आधा घण्टा लगाएर बेलीबिस्तार लगाउनुभएको थियो, ‘२०६४ सालको पहिलो संविधानसभाको निर्वाचन जित्न कांग्रेस नेता आलमले बम पड्काउने अनि सजिलै चुनाव जित्ने योजना बनाएको थियो । तर, अघिल्लो साँझ चैत्र २७ गतेतिर भण्डार गरेकै ठाउँमा बम पड्कियो । रातारात घटना लुकाइयो । २० बढी मानिस घाइते भए । दुईजना घाइतेलाई इँट्टाभट्टामै जलाएर मारियो ।’

एक एक तिथि र मितिसहित घटनाको पृष्ठभूमि वर्णन गर्नुभयो । ‘जिउँदै मान्छे पोले आलमले इँट्टाभट्टामा ?’ मैले फणिजीसँग गम्भीर भएर जिज्ञासा राखें । उहाँले पीडितका कुराहरू सुनाउँदै भन्नुभयो, ‘त्यही घटनामा २६ असोज २०७६ मा १२ वर्षपछि आलमलाई रौतहट प्रहरी जिल्लाबाटै पक्राउ गरेको छ । त्यसपछि त उनका समर्थकले गाउँहरूमा बाहिरका नयाँ मान्छेलाई पस्न निषेध नै गरेका छन् ।’ फणिजीको कुरो सुनेर मनमा चिसो पस्यो । मनले चपुरबाटै जनकपुर फर्किन भन्यो । तर, फणिजीलाई यो कुरा सुनाइनँ । किनभने, त्यति टाढाबाट खटाएर यहाँसम्म समाचारका लागि आएको थिएँ । चुनौतीमा अवसर जहिले पनि हुन्छ । मनले निष्कर्ष निकाल्यो ।

घाइतेलाई इँट्टाभट्टामा जिउँदै जलाएर मारिएका पीडित परिवारलाई भेट्ने योजना बनाएँ । उनीहरूको पीडा नै मुख्य समाचार बन्नुपर्छ भनेर हामीले सल्लाह गर्‍यौं । जुन कुरो अखण्ड दाइलाई पनि सुनाएँ । उहाँले भन्नुभयो, ‘हुन्छ जाऊ, राम्रो समाचार खोज । लेखेर पठाऊ । आजै छाप्नुपर्छ ।’ 
यो कुराले डरलाई जित्न हौसला मिल्यो ।

‘कहाँ छ पीडितहरूको घर ? कसरी जाने ? कसैले हामीलाई केही त गर्दैन ?’ फणिजीलाई भनें । उहाँले जवाफ दिँदै भन्नुभयो, ‘त्यहाँ जान त सहज छैन । तर, म सहजरूपमा लैजान्छु । चिन्ता नगर्नुस् । तर पनि हामी सचेत भएर जानुपर्छ ।’

छिनभरमै विभिन्न रणनीति बनाउनुभयो र त्यसमा मैले पनि सुझाव थपें । सल्लाहअनुसार एउटै बाइकमा जाने कुरो भयो । बाटोमा जे समस्या परे पनि फणिजीले कुरा गर्ने सहमति भयो । घेराबन्दी वा कुटपिटको माहोल बने त्यहाँबाट सुटुक्क छेउ लागेर प्रहरीलाई खबर गर्ने भनेर छलफल भयो । आलमको पक्राउले उनका मान्छेहरू ‘हाई अलर्ट’मा थिए । गाउँ पस्ने नयाँ मान्छेहरूको लेखाजोखा हुन्थ्यो ।

फणिजीले चपुरबाट दक्षिणतिर एक घन्टा मोटरसाइकल हुइँक्याएपछि यमुनामाई–४ सरुअठास्थित पीडितहरूको घर आइपुग्यो । बीचमा हामीलाई केहीले शंका पनि गरे । नाम, थर, ठेगाना र काम सोधे । फणिजी त्यहाँ आउजाउ गर्ने भएकाले सजिलै चिन्नुभयो । केही दहसम्म सहज भयो । मेराबारे कसैले बाटोमा सोध्थे । फणिजी भन्नुहुन्थ्यो, ‘मोटरसाइकल पछाडि बसेको ऊ मेरो आफन्त हो । भैंसी पाल्छ । गहुँको भुस र धानको पराल किन्नु छ । त्यही खोज्दै हिँडेको ।’

आलमको आतंकलाई सधैंका लागि पाखा लगाउन न्यायका लागि गुहार माग्ने मृतक त्रिलोकप्रतापका बुवा श्रीनारायण सिंह र ओसी अख्तरकी आमा रुक्सना खातुनको घर हिँडेका थियौं हामी त । रुक्सनाको २०६७ माघ १० मा हत्या भएको थियो । माइतबाट फर्किंदै गर्दा गाउँनजिकै उखुबारीमा कञ्चटमा गोली हानेको अवस्थामा मृत भेटिएकी थिइन् उनी । आलमविरुद्ध बोल्ने र लड्नेको मृत्यु निश्चित थियो ।

रिस्क मोलेर अन्नपूर्णका लागि फणिजीसँगै म पनि घटनास्थल पुगेका थियौं । पीडितको घर पुग्दा मधेसी आयोगका तत्कालिन अध्यक्ष विजयकुमार दत्त पनि भेटिनुभयो । उहाँको साथमा प्रहरी टोली पनि थियो । प्रहरीलाई देखेर मन शान्त भयो अनि शरीर सुरक्षित । श्रीनारायण सहितका पीडितहरूसँग घटनाबारे कुरा गर्‍यौं । उहाँलाई फणिजीले चाचाजी भन्नुभयो ।

साइनो लगाएपछि कुरा गर्न झन् सहज भयो । पीडितसँग कुरा गर्दैगर्दा विजय दत्त त रौतहटको गौरतिर जानुभयो । उहाँ हिँडेपछि प्रहरी त्यहाँ बस्ने कुरै भएन । साँझ पर्न लगेको थियो । मन कसैले कुट्ला भन्ने डरले त्रस्त थियो । आजै समाचार लेख्नुपर्ने डेटलाइनले पनि अत्याएको थियो । हामी गाउँबाट फेरि चपुर फर्किने भयौं, डराउँदै । किनभने पीडितका घरमा जानेहरूलाई आलमका मान्छेहरू ‘टार्गेट’ बनाइहाल्थे ।

राजनीतिक आवरणमा झन्डै सामसुम पारिएको १२ वर्ष अघिको बम कान्डका योजनाकार ‘माननीय’ नै प्रहरी खोरमा थुनिएपछि सर्वत्र चर्चा चुलियो । त्यो बेला देशकै दृष्टि रौतहटमा थियो । जिल्ला ब्युरो प्रमुख चिरञ्जीवी ढुंगाना दाइले बाटोमै हुँदा फोन गरेर भन्नुभयो, ‘त्यो मेन न्युज हो । छिटो लेखेर पठाउनु है ।’ आलमका लठैतहरूले यस्तोसम्म आतंक फैलाएका थिए कि पत्रकार गाउँ पुग्दा घेरा हालिहाल्थे । त्यही घटनाको रिपोर्टिङ गर्न हामीलाई एक्साइन्टमेन्ट थियो ।

साँझ फणिजीकै घर आइपुग्यौं । उहाँले घरमै रेडियो पनि सञ्चालन गर्नुभएको थियो । उहाँको अफिसमै बसेर समाचार लेख्यौं । भोलिपल्ट मेन न्युज छापियो, ‘मुद्दा फिर्ता लिन प्रलोभन ।’ सम्पादक र जिल्ला ब्युरोबाट फणिजी र मलाई फोन आयो, ‘राम्रो रिपोटिङ भयो ।’ समाचार आएपछि पीडित परिवारलाई प्रहरीले सुरक्षा व्यवस्था मिलायो । आलम २९ कार्तिक २०७६ मा जेल चलान भए । चिहानबाट कंकाल निकालेर अनुसन्धान गरे झैं फणिजीले राजपुर बम कान्डमा पूर्वमन्त्री समेत रहेको घटनाका योजनाकार आलमलाई जेल पठाउन उहाँको समाचारले निकै ठूलो भूमिका खेलेको थियो ।

यो त एउटा घटनाको स्मरण मात्रै हो । फणिजीले यस्ता कैयौं चुनौती सहेर समाचार मात्रै लेख्नुभएन, धेरैको ज्यानसमेत बचाउनुभयो । धेरैको जीवनमा उज्यालो छर्नुभयो । धेरैलाई ऋणबाट सहयोग जुटाएर जीवन नै बदलिदिनुभयो । तर आज फणिजीको देहावसानसँगै उहाँको परिवार ४२ लाख बढी ऋणको पासोमा परेको छ । परिवारकै जीवनमा अँध्यारो छाएको छ ।

बसेको घर नै बैंक र सहकारीले लिलाम हुने जोखिममा छ । आज उहाँको उपचारका लागि लिएको ऋणले परिवार (श्रीमती, अबोध दुई छोरा) समस्यामा छ । स्वर्गीय फणिदेव महतजीको परिवारको पीडामा मलम लगाउने  काम अब तपाईं हामी सबैको हो । मनले नमाने पनि यतिबेला भन्नेपर्ने भएको छ, ‘अलबिदा फणिजी !’ थप्नैपर्छ, ‘परिवारजनमा गहिरो समवेदना ! ! !’ 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.