गजलका आदर्श : मनु ब्राजाकी

दृष्टिकोण

गजलका आदर्श : मनु ब्राजाकी

मनु दाइले भनेको सम्झना छ– घनश्यामजी ! वास्तवमा गजल बहरमा नै लेखिन्छ, लेखिनुपर्छ। मैले सकिनँ। तपाईंले सक्नुहुन्छ। त्यसैले बहरमा नै लेख्नुस्। 

नमस्ते त गरेथ्यौ हाँसो हेर्न भ्याइनँ,
दिन भनी कोसेली केही पनि ल्याइनँ ।

    बजारमा डुलेर थाकी सकें साह्रै नै,
    आफूभन्दा सस्तो केही कतै पनि पाइनँ ।
एकोहोरो शंख झैं एक्लै बसी गाएथें,
कसैसँग पनि मैले दोहोरी त गाइनँ ।
    उधारो नै भए पनि रक्सी नै त खाएथें,
    जीवन मैले कसैको चोरेर त खाइनँ ।
बिग्रिएँ, भत्किएँ मद्दत केही गरिदियौ,
भनेर ‘मनु’कहाँ कहिले पनि धाइनँ ।

नेपाली साहित्यका बहुमुखी प्रतिभा मनु ब्राजाकी (१९९९–२०७४) मेरो गजल यात्राका आदर्श स्रष्टा हुन् । वस्तुतः म नेपाली गजलको रंगमञ्चमा एकजना स्रष्टा पात्र भएर उपस्थित हुन सक्नुमा ब्राजाकीका रचनाको प्रमुख भूमिका छ । यसर्थ, मनु दाइ मेरो गजल सिर्जनकलाका परोक्षतः प्रेरक व्यक्तित्व पनि हुन् ।

सायद नकुल सिलवालद्वारा सम्पादित बगर पत्रिका वर्ष ५, पूर्णांक १० मा प्रकाशित मनु दाइको उपर्युल्लिखित गजल पढ्ने अवसर नपाएको भए म आज जस्तो गजलकार भएर चिनिने थिइनँ । त्यसैले त म मनु दाइलाई मेरो गजलका आदर्श मान्छु, मेरो गजल यात्राका प्रेरक ठान्छु । ममा गजल लेख्ने सामान्य रुचि २०४० सालतिरदेखि नै जागेको थियो र प्रयास गरिरहेको पनि थिएँ, तर सफलता हातमा नपरेकोे अवस्था थियो । मनमा तीव्र रहर थियो, काफिया, रदिफबारे खास ज्ञान थिएन । अझ भनूँ, गजल सिद्धान्तको कुनै जानकारी नै थिएन ।

गजल उर्दूको एउटा काव्यिक विधा हो, यसलाई किन महत्त्व दिनु भन्ने मनोगत कमजोरी पनि थियो ममा । तर, मनु दाइको उक्त गजलले खै कसरी हो कुन्नि, मेरो मनमा एक प्रकारको तरंग ल्यायो । त्यही तरंगको दबाबमा मैले तुरुन्तै एउटा गजल लेखें, उनकै गजलका केही काफिया सापटी लिएर जुन यस प्रकार छ –
जिन्दगी त जिएकै छु हाँस्न कहिल्यै पाइनँ,
त्यसैले त प्रीति गाँस्न कसैसँग रुचाइनँ ।
     नहाँस ए मान्छेहरू ! बिजोक मेरो देखेर,
    मान्छेसँग कुनै पनि साइनो मैले लाइनँ ।
चाकरी र चाप्लुसीले ठूलै बन्न सकिन्छ रे !
तर मैले कसै कहाँ कहिल्यै पनि धाइनँ ।
    अस्मिता नै बेच्यो भने पेट पाल्न पाइन्छ रे !
    तर मैले आत्मा बेच्ने गीत कहिल्यै गाइनँ ।
भोकभोकै हिँड्दा एउटा दानी आई जुठो दिए,
ला खा ‘घनश्याम’ भनी तर मैले खाइनँ ।
(रचना मिति : २०४४ माघ १८ गते)

यही गजल प्रकाशनार्थ मधुपर्क मासिक पत्रिकामा प्रेषित गरें । नभन्दै, २०४५ सालको मधुपर्कमा छापियो मेरो यो विपठनको प्रभावमा लेखिएको पहिलो गजल । म निकै पुलकित भएँ । किनभने मैले बुझेर, जानेर लेखेको गजल थिएन यो । त्यसपछि २०४६ सालको मधुपर्क वर्ष २२, अंक ९ मा ब्राजाकीको ‘गजल एक चर्चा’ शीर्षकमा समालोचनात्मक आलेख छापियो । त्यसमा गजलको सिद्धान्तका केही महत्त्वपूर्ण पक्षहरूसहित नेपाली गजलको चर्चा परिचर्चा पनि गरिएको थियो ।

जीवनमा एउटा मात्र गजल छापिएको म बबुराको उक्त गजलका केही शेर उदाहरण दिएर मनु दाइले मलाई राम्रो सम्भावना भएका गजलकार भन्दै प्रशंसा गरेको पाउँदा हर्षविभोर भएको थिएँ । जसको गजलबाट प्रभावित भएर मैले गजल लेखें, उसैले मेरो गजल लेखनको तारिफ गरेको पाउँदा कति प्रफुल्लित भएको थियो होला मेरो मन त्यतिखेर ! वास्तवमा मनु दाइ र मेराबीच न प्रत्यक्ष, न त परोक्ष नै परिचय भएको थियो ।
म उनलाई हृदयबाट नै आदर्श मान्दै थिएँ, तर सम्पर्क सूत्र थिएन । मनु दाइकै रचनाबाट प्रभावित भएर गजल लेख्न थालेको मलाई उनकै प्रशंसाले यस विषयमा अध्ययन गर्ने उत्साह र जिम्मेवारी पनि थपियो । फलतः मैले हिन्दी र उर्दूका गजल र गजल सिद्धान्तका पुस्तकहरू खोजेर पढ्न थालें अनि गजल सिर्जना र समालोचनामा कलम चलाउने जाँगर मभित्र उत्प्रेरित हुन थाल्यो ।

यसै क्रममा झन्डै सयवटा जति फुटकर गजल लेखिसकेको रहेछु । ती गजलमध्ये केही छनोट गरेर संग्रह निकाल्ने रहर जाग्यो र ‘यो मौसम’ नामक संग्रह प्रकाशित गर्ने तयारी भयो । यसमा विशेष भूमिका रहेको छ, मित्र ललिजन रावलको । जसबाट म प्रभावित भएर गजलको जमिनमा प्रवेश गरें, उसको पनि केही न केही धारणा नराखी संग्रह प्रकाशित गर्न मेरो मनले मानेन ।

बडो प्रयासले मनु दाइको औरहीको ठेगाना पत्ता लगाएँ र सो कृतिबारे केही लेखिदिन पाण्डुलिपिसहित चिठी हुलाकबाट लेखेर पठाएँ । त्यो बेला आज जस्तो मोबाइल, इन्टरनेट आदिको त के, ल्यान्डलाइन टेलिफोनको पनि सर्वसाधारणमा पहुँच थिएन । पत्राचार नै सबैभन्दा विश्वासिलो सम्पर्कको माध्यम थियो । तापनि सुनसरीको चिठी सुर्खेत र सुर्खेतको चिठी सुनसरी पुग्ने समस्या थियो ।

कतै मेरो पाण्डुलिपि पनि त्यसरी नै गन्तव्यमा नपुग्ने हो कि भन्ने मनमा अनेकथरी आशंका थियो । धन्न ! मैले पठाएको पाण्डुलिपिसहितको पत्र सकुशल पुगेछ, मनु दाइको हातमा । उनले डेढ पृष्ठको शुभकामनासहित लेखेर पठाएको पत्र ठ्याक्कै एक महिनापछि मेरो हातमा प¥यो । म असीमित 
खुसी भएँ । यो २०५० सालको कुरा हो ।

मनु दाइको यही शुभकामनाले ‘यो मौसम’ले सार्थकता पाएको मैले अनुभूति गरें त्यतिखेर । वास्तवमा थोरै शब्दमा मेरो गजलकारिताबारे धेरै कुरा भनेका छन्, मनु दाइले यस शुभकामनामा । यसपछि भने मनु दाइ र मेराबीच पत्राचारका माध्यमबाट सम्पर्क सघन हुन थाल्यो । उनका सुन्दर, साना, पूरा डिक नतानेका तर स्पष्ट अक्षरमा लेखिएका केही चिठी–पत्रहरू अहिले पनि मेरो पुरानो बाकसमा सुरक्षित छन् । केही चाहिँ किराले काटिसके ।

मान्छे राम्रा, बोली–वचन राम्रो, स्वभावले पनि राम्रा, लेखनले पनि अब्बल मनु दाइलाई म हृदयमा सजाइरहेको हुन्थें । उनलाई भेट्ने तीव्र आकांक्षा हुन्थ्यो तर सम्भावना क्षीण ! योजना बनाएर उनलाई भेट्न जान सकेको पनि थिइनँ । जहाँ इच्छा, त्यहाँ उपाय भनेको साच्ँिचकै रहेछ । त्यतिखेर केही नवोदित युवा पनि गजल सिर्जनामा रमाइरहेका थिए । यस्ता धेरै गजल  स्रष्टाहरूसँग पनि मेरो नैकट्य थियो ।

तीमध्येका एकजना सुनसरीका सक्रिय गजलकार थिए, सुविद गुरागाईं । समय र साल हेक्का छैन । तिथिमिति बिर्सने बानी छ मेरो । २०५३ सालतिर म जागिरको सिलसिलामा वीरगन्जमा थिएँ । एकदिन काठमाडौं गएका 
बेला मैले सुविद भाइलाई भनें–
‘मनु दाइलाई भेट्ने रहर छ, कसरी भेट्न सकिएला ?’
‘ए, ए, मिलाउँछु चाँजोपाँजो । अहिले मनु दाइ यहीं ललितपुर भैंसेपाटीमा हुनुहुन्छ,’ सुविदले भने ।’

म साँच्चिकै खुसी भएँ । मनु दाइलाई भेट्न पाउने अव्यक्त खुसीले मलाई तरंगित गरिहाल्यो तत्कालै । सुविदलाई यो काम छिटो गर्न आग्रह गरें । उनले मनु दाइसँग समय लिएपछि मलाई जानकारी गराए । एक रात मनु दाइको डेरामा बस्ने गरी हामी दुवै जना गयौं, उनको बासस्थानमा । साँझ पर्ने–पर्ने बेलामा । मैले सुनेको थिएँ, मनु दाइले मज्जाले पिउँछन् भन्ने । त्यसका लागि हामीले नै लगानी गर्नुपर्ने कुरा सुविदले मलाई भनिसकेका थिए ।

त्यो साँझ नै मनु दाइसँगको मेरो बहुप्रतीक्षित पहिलो साक्षात्कारको सुअवसर थियो । जिमिदारका छोरा मनु दाइ साच्ँिचकै फक्कर, हरफनमौला जस्तै लागे मलाई, त्यो पहिलो भेटमा । छोराको कमाइमा भैंसेपाटी सुरु हुने ठाउँ नख्खुमा बसेका रहेछन् उनी, भाउजू ज्ञानुलाई पनि साथैमा राखेर ।
झिमिक्क साँझ परेपछि उनले हामीलाई नजिकैको एउटा भट्टीमा लगे । त्यहाँ लोकल सुरा मागे र बिस्तारै–बिस्तारै गफिँदै पिउन थाले । उनी सुराको मजा लिँदै थिए, हामी दुई उनका कुराको मजा लिँदै थियौं । साँझले रातको रूप धारण गरिसकेपछि भट्टीबाट हामी निस्कियौं । फर्किने बेलामा भरेलाई भन्दै मनु दाइले एक बोतल साथै लिएर जाने कुरा गरे । त्योसहितको बिल एक सय पचास जति भएको रहेछ । उनले तिर्नखोजे झैं गरे, मैले मानिनँ ।

सम्भवतः उनीसँग त्यो तिर्न चाहिने रकम थिएन । त्यो रकम तिर्दा मलाई प्रसन्नता बोध भयो । मनु दाइले चाहिँ त्यो रकम पछि मलाई फिर्ता गर्छु भन्दै थिए । तर, माग्नै कुरै थिएन । उता डेरामा ज्ञानु भाउजू भोजनका लागि हामीलाई कुरिरहनुभएको रहेछ । खाना खाने तयारीमा हामी बस्यौं । मनु दाइले हामीलाई खान आग्रह गर्दै आफूले नखाने कुरा गरे । त्यहीबेला भाउजूले भन्नुभयो– ‘हेर्नुस् न बाबु ! उहाँको बानी नै यस्तै हो । पिएपछि खाँदै नखाने । अब दुई–तीन दिन यत्तिकै हो ।’

‘दाइ ! तपाईंले नखाने भए हामी पनि खाँदैनौं’, मैले मनु दाइलाई भनें । सुविदले चाहिँ गाँस मुखमा हालिसकेका थिए । मेरो धेरै जिद्दीपछि मनु दाइले पनि खाने भए, तर खाए थोरै मात्र । त्यो रात निकै रमाइलोसँग बित्यो, गफैगफमा, कुरैकुरामा । मनु दाइ मज्जाले पिउँदै गफिँदै, हामी पनि रमाउँदै–सुन्दै । उही कुरालाई मैले मेरो गजलको एउटा शेरमा सुटुक्क हालेको छु–
‘अब मानवतावादी मनु कुन कुनामा होला ?,
खोज्दा भेटें भट्टीभित्र मजाले पिउँदै रहेछ ।’
भोलिपल्ट बिहानै मनु दाइ सुरामा नै थिए । मैले भाउजूलाई सोधें–
‘के दाइको यस्तै हो हाल भाउजू ?’
‘यस्तै हो बाबु ! तपाईंका दाइले मलाई बिहे गरेर ल्याएपछि आजसम्म एक रुपैयाँ पनि दिनुभएको छैन ।’

भाउजूको यस भनाइले मलाई भित्रभित्र खुब दुख्यो । एउटा जिमिदारको जेठो छोरा चेतमानसिंह भण्डारी नेपाली साहित्यमा मनु ब्राजाकीका रूपमा स्थापित गराउन भाउजू ज्ञानुको भूमिका कम छैन भन्ने बुझेको छु । भाउजूका कुराले मेरा आँखा रसाए । उहाँको नम्रता र आतिथ्यबाट म निकै प्रभावित भएँ । भोलिपल्ट बिहानको भोजन पनि त्यहीँ गरेर हामी फर्केको जस्तो लाग्छ ।

यो पहिलो भेट, जीवनमा नै  आफ्नो आदर्श स्रष्टासँगको पहिलो साक्षात्कार थियो मेरो । मनु दाइका गजलका शेरहरूमा जसरी सुरा, भट्टी र भट्टीबाल्नीका कुराहरू आउँछन्, त्यसको प्रत्यक्ष अवलोकन र अनुभव गर्न पाएको अवसर मेरो अन्तरमा अहिले पनि सुरक्षित छ । जतिसुकै पियक्कड भए पनि उनको पिउनुको अर्थ अर्कै थियो । लेख्नैकै लागि खुब पिउने तर पिएको बेला नलेख्ने ।

‘के दाइको यस्तै हो हाल भाउजू ?’
‘यस्तै हो बाबु ! तपाईंका दाइले मलाई बिहे गरेर ल्याएपछि आजसम्म एक रुपैयाँ पनि दिनुभएको छैन।’
भाउजूको यस भनाइले मलाई भित्रभित्र खुब दुख्यो। 

पिउन थालेपछि चाहिँ तीन–चार दिन लगातार पिउने र लेख्न थालेपछि लगातार तीन–चार दिन लेखिरहने स्रष्टा हुन् उनी । त्यसैले मैले उनलाई कहिल्यै जँड्याहा मानिनँ । आदर–श्रद्धा गर्न मन लागिरह्यो । सायद पिउने बानी नहुँदो हो त मनु दाइबाट हामीले यति धेरै गजल, कथा, संस्मरण, निबन्ध आदि पाउने थिएनौं । नेपाली साहित्यको समृद्धिका लागि उनले पिएरै भए पनि ठूलो योगदान गरेको कुरा बिर्सन मिल्दैन ।

त्यसपछि मनु दाइसँग मेरो दोस्रो भेट झन्डै १० वर्षपछि भयो । मेरो गजल सौन्दर्य मीमांसाको प्रथम संस्करणको लोकार्पण २०६४ सालको जेठमा अनाम मण्डलीको आयोजनामा वाल्मीकि संस्कृत विद्यापीठको एउटा कक्षमा भएको थियो । त्यो अवसरमा मनु दाइलाई प्रमुख आतिथ्य प्रदान गरेर आमन्त्रण गरिएको थियो । उनी निकै उत्साहित भएर आएका थिए, त्यो समारोहमा । उनका हातबाट मेरो गजलको सैद्धान्तिक ग्रन्थ लोकार्पण गराउन पाउनु मेरा लागि अहोभाग्य थियो ।

त्यो मौकामा मनु दाइसँगै बस्ने र पिलाउने चाहना थियो मेरो । तर, त्यो सार्थक भएन । म हतारमा थिएँ, उनको उपस्थितिप्रति आभारी भएँ र बिदा गरें । सायद अनाम मण्डलीका साथीहरूले नै मनु दाइलाई आउने–जाने व्यवस्था गरेका थिए । मैले मेरो हातबाट उनलाई भाडा पनि दिन भ्याइनँ, जानिनँ वा सकिनँ । मलाई पछुतो लागिरहेको छ । अनाम मण्डलीले आयोजना गरेको सोही सालको मोती जयन्तीको कार्यक्रममा पनि मनु दाइलाई भेट्ने अवसर मिलेको थियो ।केही वर्षपछि मनु दाइको अमेरिका प्रस्थानको खबर पाएँ । त्यहाँ रहँदा कहिलेकाहीँ मुहार–पुस्तिकामा झल्याक–झुलुक भेट हुन्थ्यो उनीसँग । मेरा गजलमा एक–दुई पटक कमेन्ट पनि गरेका छन् उनले त्यहाँबाट नै । अतुलनीय खुसी लाग्थ्यो यसरी भेट्दा पनि मनु दाइलाई ।

मनु दाइलाई चौथोपटक मैले नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा गजल विषयक अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा भेट्ने अवसर पाएको थिएँ । २०७२ सालको भदौ महिनामा मोती जयन्तीको सन्दर्भमा नेपाल प्रज्ञा प्रतिष्ठान र अनाम मण्डलीको संयुक्त आयोजनामा भएको दुई दिने गजल कार्यक्रममा पहिलो दिन गजल वाचनको कार्यक्रम थियो । मनुदाइ त्यहाँ उपस्थित थिए । उनको सम्मान पनि थियो । यो पटक मनु दाइलाई अत्यन्त कमजोर अवस्थामा देखें ।

दुब्लो, पातलो नभए पनि शारीरिक अशक्तता अकल्पित ढंगले बढेको रहेछ । लठ्ठी हातमा लिएका र अरूको सहाराले मात्र हिँडडुल गर्ने अवस्थामा पुगेका मनु दाइलाई देख्दा मलाई कस्ता–कस्तो नमज्जा लाग्यो । त्यो दिन हामीबीच छोटो मात्र भलाकुसारी भयो । दोस्रो दिन मैले पनि कार्यपत्र प्रस्तुत गर्नु थियो त्यहाँ । तर, मनु दाइको उपस्थिति थिएन । उनको उपस्थिति नभए पनि मेरा आदर्श मनुलाई त्यहाँ मैले सम्झिएको थिएँ ।

मनु दाइमा गजल लेख्नका लागि चाहिने रुक्न÷अर्कानको ज्ञान थियो । बहरबारे उनी अनभिज्ञ थिएनन् । तर बहरमा गजल कहिल्यै लेखेनन्, लयलाई भने सधैं आत्मसात गरिरहे । एकदिन उनले भनेको सम्झना छ– घनश्यामजी ! वास्तवमा गजल बहरमा नै लेखिन्छ, लेखिनुपर्छ । मैले भने बहरमा लेख्न सकिनँ । तपाईंले सक्नुहुन्छ । त्यसैले बहरमा नै लेख्नुस् । हुन पनि नेपाली गजलको पुनर्जागरणपश्चात् गजलका सन्दर्भमा बहरको कुरा उठाउने काम मबाट नै भएको थियो र अद्यापि यो अभियान जारी नै छ ।

जीवनमा मनु दाइलाई विभिन्न सन्दर्भमा चार चोटि प्रत्यक्ष भेट्ने र बोल्ने अवसर पाएको छु मैले । २०७२ साल फागुनमा परिवर्तन साहित्य प्रतिष्ठानले मेरो एकल गजल गायन कार्यक्रम सर्वनाम थिएटरको हलमा राख्दा मनु दाइलाई प्रमुख अतिथिका रूपमा बोलाउने चाहना थियो । तर, उनको अशक्तताका कारण आयोजक संस्थाले उनलाई ल्याउन नसकिने बताउँदा मलाई दुःख लागेको थियो ।

थाहा पाए अनुसार अब मनु दाइले पिउन छाड्नु भएको छ रे ! लेख्न भने अझै पनि सक्नुहुन्छ सायद । मलाई धेरै–धेरै माया गर्ने आदरणीय अग्रज स्रष्टा मनु दाइ, मेरा गजलका आदर्श स्रष्टा मनु दाइ, मेरो गजल यात्राका प्रेरणा स्रोत मनु दाइ ! तिमी धेरै–धेरै वर्षसम्म बाँच, शताधिक आयुको लागि शुभकामना ।

यसरी मैले उनको मृत्यु हुनुपूर्व नै यो आलेख तयार गरेको थिएँ । उनी जीवित छँदै उनको साहित्यिक योगदानलाई समेटेर एउटा कृति निकाल्ने तयारीमा रहेको जानकारी गराउँदै मसँग लेख मागेका थिए सुविदले । तर त्यो कृति छापिनुपूर्व नै मनुदाइले २०७४ सालको माघ १९ गतेका दिन यस सांसारिक मञ्चबाट सदाका लागि बिदा लिए । अनि छाप्ने भनेको कृति पनि मुल्तबीमा रह्यो, अर्थात् छापिएन । मैले भाइ सुविदसँग मेरो लेख मागें र केही परिमार्जनसहित अद्यावधिक गरेको छु ।

मेरो गजल यात्राका प्रेरणा स्रोत मनु दाइ ! तिमी धेरै–धेरै वर्षसम्म बाँच, शताधिक आयुको लागि शुभकामना भनेर लेखिएको लेखको परिमार्जनमा अब भने मेरो गजल यात्राका प्रेरणा स्रोत मनु दाइ ! तिमीप्रति भावपूर्ण श्रद्धाञ्जलि भनेर लेख्न विवश हुनुपरेको छ । मनु दाइले अलि छिट्टै संसारबाट बिदा लिए, तर कृतिहरूमा उनको कीर्ति रहिरहनेछ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.