झिट्टा देउडा गीतको रोचक पक्ष हो । अंग्रेजीमा यसलाई ‘डायलग’ भनिन्छ । देउडा गायनमा भन्दा खेलमा यसको अधिक प्रयोग हुने गर्छ । नेपाली साहित्यका तीन लक्षण अविधा, व्यञ्जना र लक्षणामध्ये झिट्टागीतहरू लक्षणाअन्तर्गत पर्छ । झिट्टाको प्रयोग गरिँदा गीतकारले पहिले नै अर्को गीतकारको उत्तरको आशा राखेको हुन्छ र गीतको लक्षणाको अनुमान गरिसकेको हुन्छ । यदि सफल देउडा गीतकार छ भने सोहीअनुसारको गीतको लक्षण देखा पर्छ ।
यस्तो अवस्थामा दुइटा विषयले गीतमा प्रबेश पाउछ– एउटा भरपूर मनोरञ्जन अर्को विषय हो शिक्षा । झिट्टागीतले मनोरञ्जन प्रशस्त मात्रामा दिने हुँदा अरू सामान्य गीतभन्दा झिट्टागीत र खेलमा श्रोताहरू निकै नै हुन्छन् । खेलाडीसँग कुममा कुम, हातमा हात र गोडामा गोडा मिलाउने संस्कृतिकर्मीहरू तँछाडमछाड नै गर्छन् । यसैगरी, झिट्टा देउडा गीतले शिक्षा प्रदान गर्ने हुँदा जिज्ञासुहरू, विशेषगरी युवा पुस्ताहरू नयाँ गीतमा कस्ता शिक्षाप्रद शब्दको आगमन हुन्छ भनी चनाखो भएर सुनिरहेका हुन्छन् । पाठ्यक्रममा भन्दा प्रत्यक्ष प्रयोगमा आउने हुँदा झिट्टा देउडा गीत अरू गीतभन्दा बढी लोकप्रिय हुन्छन् ।
बाटो काँ हो बयालाको घर काँ हो पानीको ?
डिठ् पण्या भिट् भैग्यै मान्दो म गैला बानीको ।
बयालो (हावा) को बाटो कता पर्छ, कुन दिशामा बयालो बहन्छ कसैलाई पनि थाहा हँुदैन । यसरी पानीको घर कता पर्छ ? के पानीको पनि घर हुन्छ ? यी र यस्तै अप्ठेरा प्रश्नहरू नै झिट्टागीतका मूल विशेषता हुन् । तल्लो पंक्तिले आफ्नो साथीसंगीको टाढाबाट दर्शन मिले पनि भेट भएसरी मान्ने मेरो मन छ भनी व्यञ्जनायुक्त शैली प्रयोग गीतकारले गरेको देखिन्छ । यस्को उत्तर दोस्रो आँसुकविले यसरी दिन्छ–
बादल हो पानीको घर बाटो हो जंगल
यी दुईको अभाब रह्या हुँदैन मंगल ।
पौराणिक, कालजयी यी झिट्टागीतले वर्तमानमा पनि उत्तिकै महत्व बोकेका देखिन्छन् । हुन पनि बादल नलागेर पृथ्वीमा पानी पर्दैन, पृथ्वीमा पानी नपरी जंगलको सौन्दर्य देखिन्न । त्यसैले, पानीको मूलघर बादल र बयालो (हावा) को बाटो भन्नु नै जंगल हो, जहाँ जंगल हुन्छ त्यहाँ हावा चल्ने गर्छ । कति वैज्ञानिक अर्थ दिएको छ यो गीतले ।
आमा को हुन् रामचन्द्रका सौरासी काँ का हुन् ?
राडीपाखी जुम्लाका हुन् मान्ठका भाका हुन् ।
यो गीतको विविध अर्थ पाठकले पक्कै बुझ्नुभयो होला गीतमा धार्मिक भाव छ, नेपाल भारतबीचको आदिकालदेखिको दौत्य एवं पारिवारिक सम्बन्ध जोडिएको छ । त्यतिमात्र नभएर नेपालको प्राचीन पेसा र कुन भू—भागका मानिसले के पेसा अपनाउँछन् बारे पनि गीतले सजीव रूपमा चित्रण गरेको छ । नागराजाको पालामा जुम्ला सम्पन्न राज्य थियो । जहाँ भेडापालन गरिन्थ्यो । उनबाट बनेका राडीपाखी र उनी कपडा देशैभरि प्रख्यात थिए । यहाँ मान्ठ (मानिस)हरू निकै नै परिश्रमी थिए ।
जुम्ली सभ्यताले नेपालको खास परिचय दिएको थियो भोटसँग आर्थिक रूपमा कारोबारको सुरुवात गर्ने जुम्लाका मानिस हुन भन्ने पनि दर्शाउँछ माथिको गीतले । दोस्रो पक्षको देउडा गीतकारले यस्को उत्तर सरल तरिकाले यसरी दिन्छ ।
महतारी कौशल्या हुन् शौरास् जनकपुर
नुन्सँग उन् साट्न्या हौ कि क्या छ हजुर सुर ?
बाल्यकालमा हामीले पनि पितापुर्खाबाट रामायण महाभारतका केही कथाहरू सुनेका थियौं । विशेषगरी हिउँदमासमा दिनहरू छोटा र रात लामा हुने हुँदा रात बिताउनका लागि केही गाउँ खाने कथा, चुट्किला पनि मातापिताबाट सुन्ने गथ्र्यौं । श्रुतिप्रधान समाज भएकाले सुनेका कुराहरू मनमा राखी गीतका भाकाहरू मिलाएर गाउने चलन गाउँघरमा प्रशस्तै थियो । स्कुलको अभाव थियो । घरमा धुलौटो (काठको सानो फल्याकमा रातो माटो राखी लेख्ने साधन) मा अंक पहाडा सिक्ने गथ्यौं । पछि सेतो कमेरोमा निगाली कलम चोपेर कालोपाटीमा अंकपहाडा र क ख लेख्ने चलनको बिकास भयो ।
रामायण महाभारतका विशिष्ट पात्रहरूको नाम पनि धुलौट र कालोपाटीमा लेखेर घोक्ने गथ्र्यौं । सुनेर लेखेका पात्रहरूका नामर ती व्यक्तिसँग सम्बन्धित विषय पनि हामीलाई प्रायः कण्ठस्थ हुनेगथ्र्यो । गाउँको एकान्तमा यी पात्रलाई आधार मानेर पनि झिट्टाको प्रयोग हुनेगथ्र्यो । देउडामा झिट्टा मिसाएपछि दालभात खाँदा अचार मिसाएजस्तै स्वादिलो हुनेगथ्र्यो । महिला पुरुषले कथा सुनेकै भरमा गीतको रचना गथ्र्ये, प्रश्नोत्तर हुने गथ्र्यो । अहिले झिट्टाको प्रयोग बिस्तारै हराएको देखिन्छ । झिट्टाको प्रयोग गर्न विषयवस्तुको ज्ञान हुनुपर्यो । सम्बन्धित विषयको जानकारी नभएर झिट्टागीत प्रयोग गर्न कठिन हुन्छ । झिट्टामा एकजना गीतांगीले प्रश्न गर्यो–
कति वर्ष वन्मा बस्या रामचन्द्र र सीता
कति सालमा जन्म भयो भगवान्को गीता ? (गीता पुस्तक)
यी धार्मिक देउडा गीत पनि हुन्, ज्ञानवद्र्धक पनि छन् । माथिको गीतले त्रेतायुगका रामचन्द्र सीता र द्वापरयुगका श्रीकृष्ण र अर्जुनलाई जोड्ने काम गरेको देखिन्छ । प्रश्नको दोस्रो पक्षले देउडा गीतको आँसुकविले यसरी उत्तर दिन्छ –
चौध वर्ष वन बस्या रामचन्द्र र सीता
कुरु क्षेत्र जन्म भयो भगवान्को गीता ।
द्वापर युगमा जन्म भयो भगवान्को गीता ।।
हुन पनि सुनेका आधारमा यी गीतको जन्म भयो, सिर्जना भयो । सामान्य कहीँ कतै गल्ती भए पनि गीतले दिन खोजेको भावपक्ष निकै सान्दर्भिक देखिन्छ । सौतेनी आमा कैकेयीका ढिपीका कारण रामचन्द्रले पिता दशरथको पनि मर्यादा कायम राख्नका लागि वनबासी हुनपर्यो । सीताले पनि पतिधर्म पालना गरिन् लंकामा अशोक वाटिका गएर बसिन्, हनुमानले लंका दहन गरे, आफ्नो पवित्रतालाई पुष्टि गर्न आगोमा पसिन, आगोले जलाउन सकेन । उनीबाट लव र कुश नामका छोराहरू जन्मे । यी सबै कथा र उपकथाहरूको चित्रण देउडा गीतको झिट्टामा गीतकारले प्रयोग गरेको पाइन्छ ।
पाँच पाण्डव सत्यवादी हुन, त्यसैले भगवान् श्रीकृष्णले कुरु क्षेत्रमा १८ दिनसम्म पाण्डवको पक्षमा सारथि भएर लडाइँ गरे । विजयी हासिल गरे । जन्मअन्धा धृतराष्ट्रको पुत्रमोहका कारण घनघोर लडाइँ भयो । महावली भीमले दुर्योधनको तिघ्रा च्यातेर जमिनमा गिराए । पतिव्रता गान्धारीले आँखामा पट्टी बाँधेर पति धृतराष्ट्रको सेवा गरिन् । एक वर्षसम्म गुप्तवासमा रहँदा पाण्डवहरूले विराट राजाको दरबारमा रही सेवा गरेको जीवित इतिहासलाई देउडा खेलाडीले झिट्टाको प्रयोगमार्फत सवालजवाफ गरेको कालीकर्णालीको भूमिमा पाइन्छ । पाण्डव पक्षका गीतका झिट्टा प्रयोग गरिएको पाइन्छ –
नामै क्या हो पाण्डवको धर्म क्या हो यिनको
रात् पण्या रातैको छायाँ माया लाग्छ दिन्को ।
माथिको पेचिलो खालको झिट्टागीत सुन्दा सामान्य लाग्न सक्छ, पाँच पाण्डवको नाम त सबैलाई थाहा हुन सक्छ तर रात र दिनको अर्थ गहिरो छ । रातलाई अधर्म, अशिक्षा र अज्ञानतासँग जोडिएको छ भने दिन अर्थात् घामलाई धर्म, सत्य र नैतिकतासँग कविले दाँजेका छन् र गीतमा यस्को सरल उत्तर यसरी दिएका छन् । यी र यस्तै खालका झिट्टामा आधारित खेलका लयहरू गाइरहँदा, सुनिरहँदा समय बितेको थाहा नै हुँदैन । एकातिर मनोरञ्जन प्राप्त हुन्छ अर्कोतिर ज्ञान प्राप्त हुन्छ । देउडा गीत ज्ञानको गंगा पनि हो ।
साहित्यका नवरसहरू शृंगार, वीर, करुण, हास्य, रौद्र, भयानक, बीभत्स, अद्भुत र शान्त देउडा गीतमा पाइन्छन् । कथा, उपकथा र घटनाक्रम त साथसाथै जोडिन्छन् । त्यसैले देउडा गीतसंगीत र संस्कृति, हाम्रो जीवन पद्धति हो ।
प्रतिक्रिया दिनुहोस !