देउडा गीतमा झिट्टाको प्रयोग

संस्कृति

देउडा गीतमा झिट्टाको प्रयोग

झिट्टा देउडा गीतको रोचक पक्ष हो । अंग्रेजीमा यसलाई ‘डायलग’ भनिन्छ । देउडा गायनमा भन्दा खेलमा यसको अधिक प्रयोग हुने गर्छ । नेपाली साहित्यका तीन लक्षण अविधा, व्यञ्जना र लक्षणामध्ये झिट्टागीतहरू लक्षणाअन्तर्गत पर्छ । झिट्टाको प्रयोग गरिँदा गीतकारले पहिले नै अर्को गीतकारको उत्तरको आशा राखेको हुन्छ र गीतको लक्षणाको अनुमान गरिसकेको हुन्छ । यदि सफल देउडा गीतकार छ भने सोहीअनुसारको गीतको लक्षण देखा पर्छ ।

यस्तो अवस्थामा दुइटा विषयले गीतमा प्रबेश पाउछ– एउटा भरपूर मनोरञ्जन अर्को विषय हो शिक्षा । झिट्टागीतले मनोरञ्जन प्रशस्त मात्रामा दिने हुँदा अरू सामान्य गीतभन्दा झिट्टागीत र खेलमा श्रोताहरू निकै नै हुन्छन् । खेलाडीसँग कुममा कुम, हातमा हात र गोडामा गोडा मिलाउने संस्कृतिकर्मीहरू तँछाडमछाड नै गर्छन् । यसैगरी, झिट्टा देउडा गीतले शिक्षा प्रदान गर्ने हुँदा जिज्ञासुहरू, विशेषगरी युवा पुस्ताहरू नयाँ गीतमा कस्ता शिक्षाप्रद शब्दको आगमन हुन्छ भनी चनाखो भएर सुनिरहेका हुन्छन् । पाठ्यक्रममा भन्दा प्रत्यक्ष प्रयोगमा आउने हुँदा झिट्टा देउडा गीत अरू गीतभन्दा बढी लोकप्रिय हुन्छन् । 
बाटो काँ हो बयालाको घर काँ हो पानीको ?

डिठ् पण्या भिट् भैग्यै मान्दो म गैला बानीको ।

बयालो (हावा) को बाटो कता पर्छ, कुन दिशामा बयालो बहन्छ कसैलाई पनि थाहा हँुदैन । यसरी पानीको घर कता पर्छ ? के पानीको पनि घर हुन्छ ? यी र यस्तै अप्ठेरा प्रश्नहरू नै झिट्टागीतका मूल विशेषता हुन् । तल्लो पंक्तिले आफ्नो साथीसंगीको टाढाबाट दर्शन मिले पनि भेट भएसरी मान्ने मेरो मन छ भनी व्यञ्जनायुक्त शैली प्रयोग गीतकारले गरेको देखिन्छ । यस्को उत्तर दोस्रो आँसुकविले यसरी दिन्छ–
बादल हो पानीको घर बाटो हो जंगल
यी दुईको अभाब रह्या हुँदैन मंगल ।

पौराणिक, कालजयी यी झिट्टागीतले वर्तमानमा पनि उत्तिकै महत्व बोकेका देखिन्छन् । हुन पनि बादल नलागेर पृथ्वीमा पानी पर्दैन, पृथ्वीमा पानी नपरी जंगलको सौन्दर्य देखिन्न । त्यसैले, पानीको मूलघर बादल र बयालो (हावा) को बाटो भन्नु नै जंगल हो, जहाँ जंगल हुन्छ त्यहाँ हावा चल्ने गर्छ । कति वैज्ञानिक अर्थ दिएको छ यो गीतले । 
आमा को हुन् रामचन्द्रका सौरासी काँ का हुन् ?
राडीपाखी जुम्लाका हुन् मान्ठका भाका हुन् ।

यो गीतको विविध अर्थ पाठकले पक्कै बुझ्नुभयो होला गीतमा धार्मिक भाव छ, नेपाल भारतबीचको आदिकालदेखिको दौत्य एवं पारिवारिक सम्बन्ध जोडिएको छ । त्यतिमात्र नभएर नेपालको प्राचीन पेसा र कुन भू—भागका मानिसले के पेसा अपनाउँछन् बारे पनि गीतले सजीव रूपमा चित्रण गरेको छ । नागराजाको पालामा जुम्ला सम्पन्न राज्य थियो । जहाँ भेडापालन गरिन्थ्यो । उनबाट बनेका राडीपाखी र उनी कपडा देशैभरि प्रख्यात थिए । यहाँ मान्ठ (मानिस)हरू निकै नै परिश्रमी थिए ।

जुम्ली सभ्यताले नेपालको खास परिचय दिएको थियो भोटसँग आर्थिक रूपमा कारोबारको सुरुवात गर्ने जुम्लाका मानिस हुन भन्ने पनि दर्शाउँछ माथिको गीतले । दोस्रो पक्षको देउडा गीतकारले यस्को उत्तर सरल तरिकाले यसरी दिन्छ ।
महतारी कौशल्या हुन् शौरास् जनकपुर
नुन्सँग उन् साट्न्या हौ कि क्या छ हजुर सुर ?

बाल्यकालमा हामीले पनि पितापुर्खाबाट रामायण महाभारतका केही कथाहरू सुनेका थियौं । विशेषगरी हिउँदमासमा दिनहरू छोटा र रात लामा हुने हुँदा रात बिताउनका लागि केही गाउँ खाने कथा, चुट्किला पनि मातापिताबाट सुन्ने गथ्र्यौं । श्रुतिप्रधान समाज भएकाले सुनेका कुराहरू मनमा राखी गीतका भाकाहरू मिलाएर गाउने चलन गाउँघरमा प्रशस्तै थियो । स्कुलको अभाव थियो । घरमा धुलौटो (काठको सानो फल्याकमा रातो माटो राखी लेख्ने साधन) मा अंक पहाडा सिक्ने गथ्यौं । पछि सेतो कमेरोमा निगाली कलम चोपेर कालोपाटीमा अंकपहाडा र क ख लेख्ने चलनको बिकास भयो ।

रामायण महाभारतका विशिष्ट पात्रहरूको नाम पनि धुलौट र कालोपाटीमा लेखेर घोक्ने गथ्र्यौं । सुनेर लेखेका पात्रहरूका नामर ती व्यक्तिसँग सम्बन्धित विषय पनि हामीलाई प्रायः कण्ठस्थ हुनेगथ्र्यो । गाउँको एकान्तमा यी पात्रलाई आधार मानेर पनि झिट्टाको प्रयोग हुनेगथ्र्यो । देउडामा झिट्टा मिसाएपछि दालभात खाँदा अचार मिसाएजस्तै स्वादिलो हुनेगथ्र्यो । महिला पुरुषले कथा सुनेकै भरमा गीतको रचना गथ्र्ये, प्रश्नोत्तर हुने गथ्र्यो । अहिले झिट्टाको प्रयोग बिस्तारै हराएको देखिन्छ । झिट्टाको प्रयोग गर्न विषयवस्तुको ज्ञान हुनुपर्‍यो । सम्बन्धित विषयको जानकारी नभएर झिट्टागीत प्रयोग गर्न कठिन हुन्छ । झिट्टामा एकजना गीतांगीले प्रश्न गर्‍यो–
कति वर्ष वन्मा बस्या रामचन्द्र र सीता
कति सालमा जन्म भयो भगवान्को गीता ? (गीता पुस्तक)

यी धार्मिक देउडा गीत पनि हुन्, ज्ञानवद्र्धक पनि छन् । माथिको गीतले त्रेतायुगका रामचन्द्र सीता र द्वापरयुगका श्रीकृष्ण र अर्जुनलाई जोड्ने काम गरेको देखिन्छ । प्रश्नको दोस्रो पक्षले देउडा गीतको आँसुकविले यसरी उत्तर दिन्छ – 
चौध वर्ष वन बस्या रामचन्द्र र सीता
कुरु क्षेत्र जन्म भयो भगवान्को गीता ।
द्वापर युगमा जन्म भयो भगवान्को गीता ।।

हुन पनि सुनेका आधारमा यी गीतको जन्म भयो, सिर्जना भयो । सामान्य कहीँ कतै गल्ती भए पनि गीतले दिन खोजेको भावपक्ष निकै सान्दर्भिक देखिन्छ । सौतेनी आमा कैकेयीका ढिपीका कारण रामचन्द्रले पिता दशरथको पनि मर्यादा कायम राख्नका लागि वनबासी हुनपर्‍यो । सीताले पनि पतिधर्म पालना गरिन् लंकामा अशोक वाटिका गएर बसिन्, हनुमानले लंका दहन गरे, आफ्नो पवित्रतालाई पुष्टि गर्न आगोमा पसिन, आगोले जलाउन सकेन । उनीबाट लव र कुश नामका छोराहरू जन्मे । यी सबै कथा र उपकथाहरूको चित्रण देउडा गीतको झिट्टामा गीतकारले प्रयोग गरेको पाइन्छ ।

पाँच पाण्डव सत्यवादी हुन, त्यसैले भगवान् श्रीकृष्णले कुरु क्षेत्रमा १८ दिनसम्म पाण्डवको पक्षमा सारथि भएर लडाइँ गरे । विजयी हासिल गरे । जन्मअन्धा धृतराष्ट्रको पुत्रमोहका कारण घनघोर लडाइँ भयो । महावली भीमले दुर्योधनको तिघ्रा च्यातेर जमिनमा गिराए । पतिव्रता गान्धारीले आँखामा पट्टी बाँधेर पति धृतराष्ट्रको सेवा गरिन् । एक वर्षसम्म गुप्तवासमा रहँदा पाण्डवहरूले विराट राजाको दरबारमा रही सेवा गरेको जीवित इतिहासलाई देउडा खेलाडीले झिट्टाको प्रयोगमार्फत सवालजवाफ गरेको कालीकर्णालीको भूमिमा पाइन्छ । पाण्डव पक्षका गीतका झिट्टा प्रयोग गरिएको पाइन्छ –
नामै क्या हो पाण्डवको धर्म क्या हो यिनको
रात् पण्या रातैको छायाँ माया लाग्छ दिन्को ।

माथिको पेचिलो खालको झिट्टागीत सुन्दा सामान्य लाग्न सक्छ, पाँच पाण्डवको नाम त सबैलाई थाहा हुन सक्छ तर रात र दिनको अर्थ गहिरो छ । रातलाई अधर्म, अशिक्षा र अज्ञानतासँग जोडिएको छ भने दिन अर्थात् घामलाई धर्म, सत्य र नैतिकतासँग कविले दाँजेका छन् र गीतमा यस्को सरल उत्तर यसरी दिएका छन् । यी र यस्तै खालका झिट्टामा आधारित खेलका लयहरू गाइरहँदा, सुनिरहँदा समय बितेको थाहा नै हुँदैन । एकातिर मनोरञ्जन प्राप्त हुन्छ अर्कोतिर ज्ञान प्राप्त हुन्छ । देउडा गीत ज्ञानको गंगा पनि हो ।

साहित्यका नवरसहरू शृंगार, वीर, करुण, हास्य, रौद्र, भयानक, बीभत्स, अद्भुत र शान्त देउडा गीतमा पाइन्छन् । कथा, उपकथा र घटनाक्रम त साथसाथै जोडिन्छन् । त्यसैले देउडा गीतसंगीत र संस्कृति, हाम्रो जीवन पद्धति हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.