सहिद गंगालालको देशभक्ति

सहिद गंगालालको देशभक्ति

गंगालालसामु गरेको प्रतिबद्धताले प्रज्वलित हुनु भएका पुष्पलालले राजनीति खानुभयो र राजनीति नै पिउनुभयो। उहाँले केवल राजनीतिबारे सोच्नुभयो, राजनीतिका कुरा गर्नुभयो र राजनीतिकै सपना देख्नुभयो। उहाँको नसा—नसामा राजनीति नै बग्यो।

शनिबारको एक बिहान, घरमै बसिरहेको थिएँ । बुवाको साथी आउनु भएको रहेछ । बुवाले यता आऊ भन्नुभयो । अनि परिचय गराउनुभयो, ‘उहाँ सहिद गंगालालका भाइ विजयलाल श्रेष्ठ’ । आश्चर्य मान्दै अभिवादन गरें । प्रश्न पनि गरें, ‘नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल पनि तपाईंकै दाइ होइन ?’ उहाँले हो भनी जवाफ फर्काउनु भयो । कुरैकुरामा विजयलाल श्रेष्ठसित सोधें । तपाई त राजनीतिमा हुनुहुन्न त ? नैराश्यले भरिएको स्वरमा जवाफ फर्काउनु भयो, ‘२०१७ सालसम्म कम्युनिस्ट राजनीतिमा थिएँ तर अहिले छैन ।’

त्यहीबेला बुवाले विजयलालसित सम्बन्धित रोचक प्रसंग सुनाउनु भयो । कुरो २००८ फागुन ७ गतेको । पहिलो प्रजातन्त्र दिवस मनाउँदै गर्दाको क्षण । स्थान काठमाडौं टुँडिखेल खरीको बोट, हालको खुल्ला मञ्च । तत्कालीन राजा त्रिभुवन प्रमुख अतिथि । कार्यक्रमका सञ्चालक खड्गमानसिंह बस्नेत । बोल्ने पालो विजयलाल श्रेष्ठको । भर्खरका जोशिला युवा, त्यसमाथि धुरन्धर राजनीतिक परिवारमा हुर्केका । भाषण दिने क्रममा ‘नेपालमा प्रजातन्त्र स्थापना गर्न दिल्लीमा भएको त्रिपक्षीय सम्झौता धोका हो, यो देशमा अर्को क्रान्ति हुनुपर्छ’ भन्ने आशयको मन्तव्य दिनु भएछ ।

विजयलाल साह्रै उत्तेजित हुन थालेपछि कार्यक्रम सञ्चालकले उहाँलाई बीचैमा रोकेर बोल्न रोके । जनसमुदाय उत्तेजित भएर विरोधमा उफ्रे र सभास्थल धुलाम्मे बनाएछन् । भिड साम्य नहुने देखेर कार्यक्रम सञ्चालकले विजयलाललाई फेरि बोल्न दिएको कुरा सुनेर म रोमाञ्चित भएँ । विजयलालको पारिवारिक पृष्ठभूमि र इतिहासले मेरो उहाँप्रतिको सम्मान सामान्यभन्दा दोब्बर भएको अनुभूति भयो ।

उहाँ उमेरले ९१ वर्षका, मेरो बुवाभन्दा एक वर्ष जेठो । तर उहाँको जोश जाँगर र उत्साह कुनै युवाभन्दा कम थिएन । काठमाडौंदेखि भक्तपुरसम्म आएर भेट्नुको मुख्य कारण उहाँको हालसालै प्रकाशित पुस्तक ‘भक्तलाल श्रेष्ठका सन्तान गंगालाल, पुष्पलाल र हामी’ मित्रलाई उपहार दिनु । सहिदहरूको बारेमा विद्यालयको पाठ्यपुस्तकमा पढेको । बाल्यकालमा सहिद दिवसको अवसरमा आयोजना हुने पदयात्रा कार्यक्रममा सहर परिक्रमा गरेको । सम्झना ताजा भयो सहिदका भाइसित भेटेर । सहिद जसले देश र जनताका लागि प्राण उत्सर्ग गरे, जसले आफ्नो जीवनको बलिदान दिए उनीहरूप्रति श्रद्धा, सम्मान जाग्नु स्वाभाविक हो । सम्पूर्ण नेपालीको मनमा निःसन्देह सम्मानभाव हुनैपर्छ सहिदहरूप्रति । प्रसंगवश उहाँका पिता भक्तलाल श्रेष्ठको कुरा उठेपछि सोध्ने चेष्टा गरें, ‘आफ्नो छोराले मृत्युदण्डको सजाय पाएकोे, शहादत प्राप्त गरेको अवस्थामा तपाईंको बुवाको प्रतिक्रिया कस्तो थियो ?’

आफू पनि सन्तानको पिता भएका नाताले एउटा पिताको मानसिक अवस्था कस्तो रह्यो होला भन्ने म कल्पना गर्न सक्छु । सामान्य मानिसका लागि त त्यस्तो वियोग अत्यन्तै असह्य हुन्छ । भक्तलाल श्रेष्ठ र उहाँकी धर्मपत्नी तुल्सीमाया साह्रै महान् जसले त्यस्ता सपूत जन्माए जो यो देश र जनताका लागि सहिद बन्न अघि सरे । पिताको मानसिक अवस्थाबारे उहाँले सुनाउनु भयो, ‘त्योबेला मात्र ६ पर्षको थिएँ, राम्रोसित याद भएन तर एकदिन अघि परिवारसहित दाइलाई भेट्न जानु भएका बुवाले केही बोल्नु भएन भन्ने मात्र सुनेको ।’

पुस्तकमा पनि उहाँले लेख्नु भएको रहेछ – ‘मृत्युदण्डको अघिल्लो दिन गंगालाललाई केन्द्रीय कारागारसँगैको जगन्नाथ मन्दिर अगाडि परिवारजनसँग भेटाइएको थियो । गंगालाल देखा पर्नेबित्तिकै पुष्पलालले आफ्ना जुत्ता फुकालेर गई अंकमाल गर्नुभयो । आफूलाई मृत्युदण्ड दिइए तापनि मुक्ति अभियान भने निरन्तर जारी राखिराख्न गंगालालले पुष्पलालसँग आग्रह गर्नुभयो । त्यसबेला म भने मौनदर्शक बनेको थिएँ । त्यतिबेला बुवा निःशब्द भएर उभिरहनु भएको सम्झँदा अहिले पनि मेरो शरीर काँप्दछ ।’

त्यस्तो कठिन समयमा पनि गंगालाल भने गीताका श्लोकहरू सुनाउँदै बुबा र परिवारलाई सान्त्वना दिइरहनु भएको कुरा पनि उल्लेख गर्नु भएको छ विजयलालले पुस्तकमा । पुष्पलालको राजनीतिक यात्रा प्रारम्भ हुनुको सन्दर्भमा अगाडि लेख्नुहुन्छ– ‘गंगालालसामु गरेको प्रतिबद्धताले प्रज्वलित हुनुभएका पुष्पलालले राजनीति खानुभयो र राजनीति नै पिउनुभयो । उहाँले केवल राजनीतिबारे सोच्नुभयो, राजनीतिका कुरा गर्नुभयो र राजनीतिकै सपना देख्नुभयो । उहाँको नसा—नसामा राजनीति नै बग्यो । आफ्ना दाजुलाई दिइएको यातनाको सम्झना र धुन भनी घरमा ल्याइएका गंगालालको रगतले लतपतिएका कपडाको दृश्यले राणाशासन उन्मूलन गरिछाड्न प्रतिबद्ध पुष्पलालसहित पूरै परिवारलाई झन् प्रतिबद्ध तुल्यायो ।’

उहाँ थप्नुहुन्छ, ‘त्यस भेटमा गंगालालले माइला दाजु पुष्पलाललाई भन्नु भएछ– माइला ! मैले प्रजातन्त्रका लागि बालेको दियोलाई तैंले निरन्तर प्रज्वलित गरिरहने छस्, त्यसलाई कदापि निभ्न दिने छैनस् ।’ भक्तलाल श्रेष्ठ जेठो छोरा गंगालाल राम्रो पढेर ठूलो मान्छे बनोस् घर परिवारको रेखदेख गरोस् भन्ने चाहन्थे । तर गंगालाल प्रजातान्त्रिक आन्दोलनमा होमिए । उनले चौताराको मालका हाकिम भई कार्यरत बुवा भक्तलाललाई पत्र लेखेको कुरा पनि उल्लेख छ पुस्तकमा । छातीभित्र गुम्सिएर रहेको विद्रोहको ज्वालामुखी विस्फोटको पूर्वसूचना झैं लाग्ने त्यो पत्र । जुन अत्यन्तै मार्मिक र देशभक्तिले ओतप्रोत थियो । वलिदानको छटपटीले भरिएको थियो ।

‘बा’ ! तपाईंको आज्ञापालन गरेर शान्तिसित बसुँला भन्ने लागेको थियो– सक्तै सकिनँ, म सक्तिनँ । आज रातभर निद्रा परेन । बिर्से पनि हुने पाठ म घोकिरहेछु, सम्झनु पर्ने पाठचाहिँ मैले बिर्सन आँटेछु ! आफ्नो पेटको अग्निलाई आफ्नै रगतले निभाइरहेका भोका अनगिन्ती भाइहरूका पहेंला मुखसित डराएर आँखा चिम्लन आँटेछु ! तिनका पेटको गहिरो स्वरले मागेको सुन्न नसकी कान थुनेर भाग्न पो आँटेछु । अन्तःकरणबाट आगो रुमल्लिएर आयो ! के के असह्य भयो, अब म सहन असमर्थ छु ! जताततै कोलाहलको ज्वाला देख्छु आफैं सल्कन लागेको छु ! मलाई त्यो निभाएर मर्न दिनोस् !

तपाईं पिता हुनुहुन्छ तर हामी सबैजनाको जन्मभूमिप्रतिको कर्तव्यमा आज्ञा पाएपछि पछाडि हट्न सक्तिनँ, चुपचाप राष्ट्रको पाप बोक्न सक्तिनँ । अब मेरो माया मारिदिनोस् । मेरा अरू भाइहरू छँदैछन्, एउटा छोरालाई नेपाल आमाका निम्ति बलिदान हुन दिनुहोला भन्ने देशभक्त पुत्र गंगालालको यो निवेदन छ । अत्याचार र अन्यायको विरुद्ध लड्दै म देशलाई छातीको ढाल थापेर बचाउँछु ।
बालक पुत्र गंगालालको दण्डवत् सेवा ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.