काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र भिजिट भिसा प्रकरणको अनुसन्धान गर्न सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिप्रति आपत्ती जनाएको छ। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद स्वर्णिम वाग्लेले वैरागी नेतृत्वको छानबिन समिति कुनै पनि हालतमा स्वीकार नहुने बताएका हुन्।
उनले भिजिट भिसाका नाममा भएको बदमासी गम्भीर प्रकृतिको भएको भन्दै वैरागी नेतृत्वको छानबिन समितिले काम गर्न नसक्ने दावी गरे। उनले भिजिट भिसा प्रकरणमा छानबिन गर्न बहालवाला वा पूर्वन्यायाधीशको नेतृत्वमा संसदीय छानबिन समिति गठन आवश्यक भएको बताए।
'शंकरजीप्रति मेरो व्यक्तिगत आग्रह छैन। विगत १० वर्षदेखि स्थायी सत्तापक्षको प्रिय पात्र हुनुहुन्छ। सात वर्ष परराष्ट्र सचिव बन्नु भयो। तीन वर्ष मुख्य सचिव हुनुभयो। रहस्यमय ढंगले मुख्यसचिवबाट बहिरगमन हुनुभयो। शंकर दास वैरागी स्वार्थको द्वन्द्वबाट झेलिएका पात्र हुनुहुन्छ। उहाँले यो जिम्मेवारी लिनुहुन्न भन्ने हाम्रो पार्टीको मत छ। उहाँ सक्षम नियकाहरूको रडारमा हुनुहुन्छ। सक्षम नियकाहरूको रडारमा रहेका व्यक्तिले कसको छानबिन गर्ने। '
सोमबार मन्त्रिपरिषद बैठकले पूर्वमुख्यसचिव वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। समितिले ३० दिनभित्र आफ्नो प्रतिवेदन सरकारलाई बुझाउनेछ। गृहमन्त्री रमेश लेखकले संसदमा जानकारी गराएअनुसार समितिलाई ९ बुँदे कार्यादेश दिइएको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिनका लागि उच्चस्तरीय समितिको माग गर्दै रास्वपा र राप्रपाले जेठ १३ गतेदेखि संसदमा विरोध गर्दै आएको छ। आज पनि दुवै दलले प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।
प्रतिक्रिया दिनुहोस !