जसरी असार, साउन महिनामा धरतीबाट पानीका मूल फुट्छन् त्यसरी नै यो मौसममा देउडा गीतहरू विभिन्न भाक्यामा जन्मिन्छन्।
सेरीखेत अँध्यारो क्या छ रोपाइँ भयैनकी
हल्बल्ल भया ता पनि बाउरु गयैइनकी ।
गत वर्षहरूमा सेरीखेतमा रोपाइँ भइसक्थ्यो । यसबेलासम्म पोखोले जरा गाडी सक्थ्यो । खेतमा धानको बोटमा साऊ हालिसक्थ्ये बौजुहरू (भाउज्यू) । एक किसिमले उज्यालोपन देखिन्थ्यो, निन्निरी र झ्याउकिरीले गीत गाइसकेका हुन्थे, बाजा बजाइसकेका हुन्थे । तर यसपटक सेरीखेतमा रोपाइँ नभएर हो कि अँध्यारो देखिन्छ । हलबल्ल गोरु भएर पनि बाउरु (खेताला) न पाएर हो कि रोपाइँ गरेको देखिँदैन । एकजना महिला कृषकको जिज्ञाशाले भरिएको गीतको आशय हो माथिको ।
असार महिना झरी र बादलको महिना भएकोले सबैजसो कृषकहरू आ–आफ्ना खेतमा काम गरिरहेका हुन्छन । पहाडी खण्डका खेत नहुने किसानहरू पाखो जमिनमा धान कोद्या (कोदो) गोडी राखेका दृश्यले खेतीपातीप्रति मन लोभिन्छ । दिनभर गराहरूमा कुटो लिएर माटोसँग खेलिरहँदा हाम्रा दिदीबहिनीहरू, आमा र बौजूरू कोही देउडा गीतका ठाडी भाका गाउने गर्छन् । कोही अन्य लयहरू गाउँदै धान कोद्यासँग माया प्रेम साटासाट गर्छन् । प्रकृतिको नियम गज्जबको हुन्छ, कतै चर्को घाम लागेर गर्मीले खपी नसक्नु हुन्छ कतै घनघोर पानी परिरहेको हुन्छ । पानी पर्दा पाल्तो (भोजपत्रद्वारा निर्मित घुम) ओडेर पनि गोडिरहेका, गीत गाइरहेका हुन्छन महिलावर्गहरू । बिसु संक्रान्तिदेखि माइती देश जान नपाएका चेलीबेटी वर्षामा बाटाकोे असुविधाका कारण नदी र गाड (सानो नदी) मा साँघु नहुँदा साथै कामको व्यस्तताले कर्मभूमिमा नै बसेर जन्मभूमिको याद गरिरहन्छन् । तैपनि बढ्दो नदीमाथि डिउड्या (वारिपारि डोरी बाँधेर काठको सानो बाकसजस्तो बस्ने वस्तु)मा चढी माइती जाने रहर गर्छन् र गीतमार्फत श्रीमान्लाई पनि सम्झन्छन्
काली है कर्णाली ठूलो नाम् चल्याको भेरी
मरीगया गंगा माइकी जिउदी रह्या तेरी ।
देउडा गीतलाई हल्का मनोरञ्जनको साधनका रूपमा मात्र लिनु हुँदैन । देउडा गीतमा जीवन दर्शन छ, प्रकृति नाचेको देखिन्छ, संस्कृति हाँसोको पाइन्छ । अझ वर्षामासमा गाइने गीतले त सुखभन्दा दुःखका बेला जिउन सिकाउने अर्ती उपदेश र मार्ग बताएको पनि पाइन्छ । कुनैबेला खेतमा, गराहरूमा काम गर्दा आफूभन्दा ठूलाका अगाडि अड मानेर गीत गाउन सरम मान्ने वर्गहरू केही वर्षयता निर्धक्कसँग नयाँनयाँ भाक्या (भाका) मा गाउने गर्छन् । यस्तोबेला विशेषगरी करुण रसका गीतहरू, खेतीपातीसम्बन्धीका शब्द राखेर सुनाउने गर्छन् । देशमा लोकतन्त्र, गणतान्त्रिक शासन पद्धति लागू भएपछि आएको सांस्कृतिक परिवर्तन हो यो । भाषिक रूपमा पनि अहिले निकै फड्को मारेको पाइन्छ । हो काली कर्णालीमा बोलिने भाषा नै नेपाली माऊ (आमा) भाषा हो ।
यही भाषा विकसित भएर नेपाल बाहिर पूर्वका दार्जिलिङ, सिक्किम, मेघालय र सुदूरपश्चिमका महाकाली पारिका बस्ती देहरादुनसम्म फैलिएको पाइन्छ । वि.सं. १८२५ मा बडामहाराजाधिराज पृथ्वीनारायण शाहले नेपाल राज्य एकीकरण गर्नुपूर्व काठमाडौं खाल्डोका मल्ल राजाबाहेक, पाल्पाका सेनवंशी राजा, मकवानपुर, गोरखा, नुवाकोट, रामेछाप, सिन्धुली, पूर्वीकिरात बस्तीहरूमा पृथ्वीनारायण शाहले बोल्ने भाषा नै बोलिन्थ्यो, जसलाई गोरखा भाषा भनिन्थ्यो । गोरखामा बोलिने भाषा नै त्यसबेलाको काली कर्णाली प्रदेशको जिउँदो भाषा थियो । गज्जब त के छ भने अहिले पनि हामीहरू त्यही भाषा बोलिरहेछौं । त्यही भाषामा आधारित विभिन्न लय र शैलीका मौलिक देउडा गीतहरू गाइरहेछौं । जुन भाषा जीवित छ, मर्यादित छ । यही भाषाका गीतले हामीलाई बचाएको छ ।
देउडा गीतले अतीतका इतिहास बोलेका हुन्छन्, वर्तमान अवस्थाको चित्रण गरेका हुन्छन्, साथै भविष्यको आकलन पनि गरिराखेका देखिन्छन् । कुनै बेला गरिबीले पीडा दिएकाले धन कमाउन परिवारलाई लुगा कपडाको जोहो गर्न लोग्ने मानिस देश (परदेश, त्यसबेलाको बोलीचालीमा भारत) गएको हुन्छ । यता घरमा असारमा खेती लगाउन बाउरु (खेताला) खोज्नुपर्ने र कामको जिम्मेवारी महिलाको काँधमा आइपुग्छ । त्यसबेला श्रीमान्लाई सम्झँदै घरबाट प्रियशीले गीतबाट पीडा पोख्छिन्–
तालस्याऊ, अलमोडा आलु रानीखेत केला
सम्झन्छु धुणुक्क रुन्छु साई सम्झका बेला ।
भारतको उत्तराञ्चलमा पर्ने नैनीताल अलमोडा रानीखेतमा के उब्जनी हुन्छ भन्ने जानकारी यो गीतले बताएको पाइन्छ । आफ्नो साई (श्रीमान्) लाई सम्झेर जन्मभूमिमा फर्कन सन्देश दिएको गीत हो माथिको । परदेशमा धन कमाउन गएको श्रीमान्ले यसरी आफ्नो पीडा पोख्छ प्रतिउत्तरमा –
धोती मैलई टोपी मैलई धोइदिन्या कोई छैन
परदेश मरन्याको रोइदिन्या कोई छैन ।
जसरी असार, साउन महिनामा धरतीबाट पानीका मूल फुट्छन् त्यसरी नै यो मौसममा देउडा गीतहरू विभिन्न भाक्यामा जन्मिन्छन् । माटोका गीत भएकाले सबैथरी गीतहरू मौलिक र अर्थपूर्ण हुन्छन् । यी गीतहरूको गोडमेल गरी हुर्काउनु, बचाइराख्नु नवपीढिहरूको कर्तव्य हो । जसरी धानकोदो वर्षामा गोडमेल गरे शरद ऋतुमा घरमा भकारी भर्न पाइन्छ ।
काठमाडौं उपत्यका र वरपरका जिल्लाहरू सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, धादिङ, नुवाकोट आदिमा असारे भाकाले छपक्कै छोपेको छ, खेतालाहरूले दही चिउरा खाँदै रमाइलो मानी मानी घाँसेगीत, असारे भाका गाइरहेका हुन्छन् । त्यसैगरी सुदूरपश्चिममा तराईका आदिवासी रानाथारू, डगौरा थारूहरूले आफ्नो मातृभाषामा गीत गाउँदै धान रोप्ने गरिरहेका देखिन्छन् । देउडा गीतका भाका जस्तै चौधरीहरूले गाउने गीतका भाका पनि धेरै हुन्छन् दाजी भनेर संगीतकार, गायक तथा सामाजिक अभियन्ता रेशम चौधरी बताउँछन् । पूर्वी पहाडी जिल्लाहरू ताप्लेजुङ, पाँचथर, इलाम, खोटाङ, संखुवासभा, भोजपुर, तेह्रथुममा असार महिनामा गाइने भाकाहरूले पनि रनबन, खेतका फाँट र चौतारीहरूलाई सिंगारेका पाउँछौं ।
नेपालको सबैभन्दा बढी धान फल्ने जिल्ला भनेर कहलिएको झापाको असार महिनाको सांगीतिक इतिहास अझ रोचक छ, नेपाल टेलिभिजनका डा. टंक उप्रेती बताउनुहुन्छ । जसले केही वर्षपहिले लोप हुनै लागेको सतार जातिको संस्कृतिका बारे खोज, अनुसन्धान गरी उनीहरूको संस्कृति बचाउने काम गर्नुभयो । यसैगरी प्राज्ञ डा. देवी नेपाल भन्नुहुन्छ– ताजपुरिया, धिमाललगायतका जातिले असार महिनामा गाउने गीतको मर्म अझै मर्मस्पर्शीय हुन्छ ।
उमेर पनि मिल्याकै छ पिरती जेलौ कि
गौण्या भिट भयाका बेला देउडाखेल खेलौ कि ?
नेपाल, संस्कृति प्रकृति र जातजातिको साझा फूलबारी हो । हरेक प्रदेशका गाउँवस्तीका संस्कृति, गीतसंगीतले हामीलाई बचाएको देखिन्छ भन्नुहुन्छ वरिष्ठ गायिका प्राज्ञ हरिदेवी कोइराला । डा. कुसुमाकर न्यौपाने (पर्वत), डा. गोविन्द आचार्य (दाङ), मणिराम जोशी, बासुदेव पाण्डेय, भालचन्द्र भण्डारी (डोटी, कैलाली) लगायतका विशिष्ट स्रष्टाले नेपाली साहित्य, संस्कृति र अझ लोकगीतका लागि बिर्सन न सकिने लोकसंगीतको गुन लगाएका छन् । असारमा गाउने गरेका देउडाका भाकाहरू हुन् या सालैजोका संगीत हुन्, मारुनीका शैली हुन या ताजपुरिया जातिले गाउने गीत हुन सबै गाथाहरू सुन्दा दक्षिण एसियाली मुलुकमा नेपाल लोकगीत, लोकसगीत र विविध जातजातिको साझा राजधानी हो ।
असार महिनामा गाइने देउडाका विविध भाकाहरू छन् । जसमध्ये ४८ वर्षयता पंक्तिकारले अधिकांश भाकाहरू रेडियो नेपाल र आफ्ना गीति क्यासेटमार्फत लाखौं श्रोतालाई ती भाकाहरू सुनाउँदै आएको छु । यसैगरी नरेन्द्रराज रेग्मी, महाशंकर देवकोटा, भोजराज भट्ट, जानकी भट्टराई, मोतीराज बम, यज्ञराज उपाध्याय, लक्ष्मी आचार्य, शोभा थापा, हरिना सावद, डिक्रा बादी, शृंखला जोशी, चन्द्रकला शाह, प्रार्थना खनाल, अनन्तराम विष्ट, रेखा जोशी, महेश आउजी, उमाशंकर जोशी, दीपा धामी आदि देउडा गायनका सर्जकहरूले पनि मीठो स्वरमा ती भाकाहरू श्रोताजनलाई बारम्बार सुनाउँदै आएका छन् । ‘ओ वाज झुम्य्रोली वाज, र्याट्टी र्याट्टी, कठैदैन’ ठाडी भाका खेल दरिय, वाजमेरी, छमक्क छमक्क, पीपलजस्ता ओठ, बालकेशर, राईझुमा, झ्याम्म झ्याम्म सेरिय रूपस्यामेरिय, सिन्की जाजलु, खेलदरी दरपनदरी, न्याउल्या, नौली हदेली गलबन्दीमा रातो धागोलगायतका मीठा भाकाहरू असार महिनामा धान रोप्ने रोप्यारीहरू र जंगलमा घाँस दाउरा काट्न जाने आँसुकविहरूले गाउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस !