वैशाखको पहिलो साता, स्पेनिस मित्र अल्फन्सोले आफ्नो योजना सुनाउँदै भने ‘अर्को सातातिर ल्याब स्कुल कीर्तिपुरका दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थी भाइबहिनीहरूसँग पदयात्रा जानु छ, तिमी पनि जान्छौं कि ? ’
हाम्रो सुषुप्त मस्तिकमा कहीँ कतै रहेको अपांगता भएका व्यक्ति भनेर गरिने भेदभावले काम गरेको हो वा त्यसतर्फ कहिल्यै ध्यान नदिएर हो, सत्य बोल्नुपर्दा ‘दृष्टिविहीन मानिसहरूले गर्ने पदयात्राका बारेमा यसअघि मैले कहिल्यै सोचेकै रहेनछु।’ त्यसो त पारा ओलम्पिकमा विभिन्न अपांगता भएका व्यक्तिहरूको सहभागिता हुन्छ। त्यस्ता व्यक्तिहरूका लागि नेपाल पारा ओलम्पिकले पनि मानव अधिकारको रूपमा रहेको व्यक्तिको मनोरञ्जन गर्न, भावनात्मक रूपमा खुसी हुन पाउने अधिकार सुनिश्चित गर्न प्रयत्नरत छ। यही उद्देश्यका साथ यो संस्थाले विभिन्न खेलकुदहरू भारत्तोलन, टेबलटेनिस, पौडीलगायतका खेलहरूमा विशेषगरी पारा ओलम्पिकका लागि खेलाडीहरू तयार गर्ने काम गरिरहेको छ। त्यस्तै एकाध विभिन्न अपांगता भएका मानिसहरूले विभिन्न साहसिक खेलमा भाग लिएका, सगरमाथा आरोहण गरेका समाचारहरू भने नसुनेको होइन । तर आमरूपमा सबै किसिमका अपांगता भएका व्यक्तिहरूको सहज पहँुचमा भने अतिरिक्त क्रियाकलापहरू पुग्न सकेको छैन। तर यस्तो पदयात्राका बारे मैले यसअघि सुनेको थिइनँ वा सुनेकै भए पनि उति सारो ध्यान दिएको रहेनछु।
हामी नेपाललाई पर्यटकीय गन्तव्यको रूपमा चिनाउन हरदम कोसिस गर्छौं तर अपांगता भएका व्यक्तिलक्षित पर्यटकीय गतिविधि नेपालमा विरलै होलान्। देशभित्रकै विभिन्न अपांगता भएका व्यक्तिहरूको पहुँचमा खेलकुद, पदयात्रा र अन्य मनोरञ्जनका क्रियाकलापहरू पुर्याउन पनि कमै प्रयासहरू भएका पाइन्छन्। भएका प्रयासहरू पनि व्यावहारिक, प्राविधिक अनि आर्थिकलगायतका कठिनाइका कारण प्रभावकारी हुन सकेका छैनन्। अझ तीतो सत्य त के हो भने समाजले विभिन्न अपांगता भएका व्यक्तिहरूलाई समावेशिताको नजरले जति हेर्नु पथ्र्यो त्यति हेर्न सकेको छैन। त्यसो त नेपालको संविधानले नै अपांगता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य, रोजगारी तथा मनोरञ्जनको क्षेत्रमा समावेशिता सुनिश्चित गरेको छ। त्यस्तै संयुक्त राष्ट्रसंघको अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धिले पनि यस्ता मानिसहरूको मनोरञ्जनसम्बन्धी अधिकार सुनिश्चित गरेको छ। यद्यपि विभिन्न आपांगता भएका आम व्यक्तिहरूको मनोरञ्जनको क्षेत्रमा भने एकदम कम काम भएको पाइन्छ।
सरोकारवाला सबैले यस क्षेत्रमा आफूले सकेको स–साना सहयोग गर्न सके विभिन्न अपांगता भएका व्यक्तिहरूलाई यस्ता अतिरिक्त क्रियाकलापहरूमा समावेश गरी समावेशी समाजको निर्माणमा योगदान पुर्याउन सकिन्थ्यो कि ?
मित्र अल्फन्सोलाई कम्तीमा मेरा लागि यो नयाँ कामका लागि गरेको निमन्त्रणा हार्दिकतापूर्वक स्वीकार गर्दै उनलाई मनमनै धन्यवाद दिएँ। यो पदयात्राको संयोजन ‘परिवर्तनका लागि सञ्जाल’ नामक संस्थाले गरेको थियो। विभिन्न अपांगता भएका व्यक्तिहरू पूर्ण सम्मान र सद्भावपूर्ण रूपमा समाजमा रहन सकून भन्ने उद्देश्यका साथ खुलेको यो संस्थाले अभिषेक शाहीको नेतृत्वमा उल्लेखनीय कार्य गरिरहेको छ। खासगरी दृष्टिसम्बन्धी अपांगता भएका बालबालिकाहरूको जीवन सहज बनाउँदै उनीहरूको समाजमा सम्मानपूर्ण उपस्थितिको लागि यो संस्थाले गरेका कार्यहरू सराह्रनीय छन्। विभिन्न अपांगता भएका व्यक्तिहरूका लागि अतिरिक्त क्रियाकलापहरू चाहिन्छ भन्ने अवधारणाको बीजारोपण २० औं शताब्दीको सुरुवाततिरबाट भएको रहेछ।
सन् १९४८ भएको स्टक मेन्डभिल्ला गेम्सबाट यसको सुरुवात भएको मानिँदो रहेछ। बेलायतको स्टक मेन्डभिल्ला हस्पिटलको सक्रियतामा भएको हुनाले यो प्रतियोगिताको नाम पनि सोहीअनुसार राखिएको हुनुपर्छ। अस्पतालका डा. लुडविक गटम्यानले विशेषगरी ह्विलचेयर प्रयोग गर्ने मानिसहरूका लागि पहिलो अन्तर्राष्ट्रिय एथलेटिक्सको आयोजना गरेर विभिन्न अपांगता भएका व्यक्तिहरूका लागि अतिरिक्त क्रियाकलापकको आवश्यकताको बिगुल फुकेका रहेछन्।
त्यसैगरी दृष्टिसम्बन्धी अपांगता भएकाहरूका लागि विशेषगरी पदयात्रासम्बन्धी के अवस्था रहेछ भनेर केही खोजी गर्न लागें। संसारका केही ठाउँहरूमा छुवाइ, आवाज र अन्य इन्द्रियमार्फत जानकारी र अनुभूति गर्ने हिसाबले पदमार्ग अथवा पार्कहरूपमा पूर्वाधार विकास गरिएको रहेछ। कारु डेजर्ट नेसनल बोटानिकल गार्डन साउथ अफ्रिका, युरोपियन मुलुक एन्टोराका पर्वतहरू, टाट्रा पर्वत स्लोभाकिया, अमेरिकाको मिसौरी राज्यको एलिफेन्ट रक नेचुरल एरियालगायतका अन्य विभिन्न मुलुकहरूमा पनि दृष्टिसम्बन्धी अपांगता भएका मानिसहरू मैत्री बगैंचा तथा पदमार्ग सञ्चालनमा रहेको थाहा पाउँदा खुसी लाग्यो। यस्ता पदमार्ग र पार्कहरूमा विभिन्न एपको प्रयोग गर्ने, ब्रेल लिपिमा ठाउँको बारेमा जानकारी राख्ने, त्यस्ता स्थानहको बारेमा श्रव्य जानकारी राख्ने, हिँड्ने मार्गहरू दृष्टिसम्बन्धी अपांगता भएका मानिसमैत्री बनाउने कार्य गरिएका हुँदो रहेछ। यस्तो थाहा पाउँदा नेपालमा पनि यस्तो एउटा पूर्वाधार बनाउन पाए कति राम्रो हुन्थ्यो भन्ने लाग्यो। यसमा सरोकारावालाको ध्यान गए बेस हुने थियो।
मैले प्रस्ताव स्वीकार गरेपछि अल्फन्सोले भने ‘त्यसो भए अप्रिल २६ (वैशाख १३) गतेका दिन बिहान ७ बजे लाजिम्पाट बस स्टप आउनू।’ ल्याबरोटरी स्कुल कीर्तिपुर र एक्सेस नेपाल टुर एन्ड टे«क्सको सहकार्यमा आयोजना भएको थियो त्यो पदयात्रा। निर्धारित दिनमा पदयात्राको गन्तव्य बूढानीलकण्ठस्थित शिवपुरी राष्ट्रिय निकुञ्ज जानका लागि विद्यार्थी, आयोजक संस्थाका प्रतिनिधिहरू र स्वयंसेवकहरू बोकेर बस लाजिम्पाट बसस्टप आइपुग्यो। हामी पनि त्यसैमा चढेर पदमार्गको सुरुवाती बिन्दु मुहानपोखरीस्थित गेटमा पुग्यौं। शनिबार भएकोले पैदल यात्रामा जानेको भीड निकै थियो। टिकटको साथै आफूले लगेका नकुहिने फोहोरको विवरण टिपाएर लैजानुपर्ने नियम राम्रो रहेछ। पछि त्यस्ता फोहोरहरू आफैंसँग ल्याएर निकुञ्जबाहिर फ्याँक्नुपर्ने रहेछ ताकि वनमा फोहोरमैला नहोस् अनि त्यसको संरक्षण हुन सकोेस्। केहीबेरको पर्खाइपछि टिकटको काम सिद्धियो। त्यसबेलासम्म आयोजक संस्थाकी सचिव दीपिका शाहीलगायतका साथीहरूले दिउँसोको खाजा बाँडिसक्नुभएको थियो। समूहमा करिब १५ जना विद्यार्थी भाइबहिनीहरू, लगभग त्यसको दोब्बर संख्यामा उहाँहरूलाई सुरक्षित रूपमा यात्रा गराउनका लागि स्वयंसेवकहरू। अनि स्पेनको एलिकेन्टे अनि पोलिटेक विश्वविद्यालयका स्वयंसेवी शिक्षक अनि विद्यार्थीलगायत एक्सेस नेपाल टुर एन्ड टे«क्सका स्वयंसेवकहरूको उपस्थिति थियो।
क्रमशः जंगल पस्नै लाग्दा अल्फन्सोले सबैलाई पदयात्राको बारेमा जानकारी दिए ‘यहाँ हामी प्रकृतिसँग रमाउनेछौं चराहरूको चिरबिर, झरनाको आवाज, अनि चिसो पानीको अनुभव गर्नेछौं।’ उनले यसो भनिरहँदा विद्यार्थीहरू उत्साहित देखिन्थे। स्पेनिस स्वयम्सेवीले भने अनुरूप निगालोका लामालामा लठ्ठीहरू प्रयोग गरेर अगाडिपछाडि दुईजना स्वयंसेसीहरू अनि बीचमा दृष्टिसम्बन्धी अपांगता भएका एकजना विद्यार्थी राखेर हिँड्ने व्यवस्था मिलाइएको थियोे। स्वयंसेवीहरूले हिँड्न सजिलो होस भनेर बाटोको बारेमा जानकारी दिने, त्यहाँको वस्तुस्थितिको बारेमा बताइदिने गर्दै यात्रा अघि बढ्यो। अन्य विभिन्न इन्द्रीयहरूका माध्यमबाट विद्यार्थीले पदयात्राको मज्जा लिँदै अघि बढे। चराहरूको चिरबिर, पानीको कलकल अनि चिसोपन, स्वच्छ हावा, रुखहरूको छुवाइ, ढुंगाको कडापन यी सबैको अनुभव लिन पाउँदा पदयात्री विद्यार्थीहरू उत्साहित थिए। सहभागीमध्ये एक विद्यार्थी अनुभवले खोल्साको पानी छुँदै भने ‘आच्छु कस्तो चिसो !’ नागी गुम्बा पुग्ने बेलाको ठाडो सिँढीहरूले हाम्रो स्वस्थताको परीक्षा लिए।
नागी गुम्बा पुग्दा अलि थकाइ लागे पनि सहभागी सबै उत्साहित थिए। त्यहाँ स्वयंसेवीहरूको साथमा सहभागी भाइबहिनीहरूले गोलबल खेलेर रमाइलो गरे। यो फ्याँक्दा आवाज आउने दृष्टिसम्बन्धी अपांगता भएका मानिसहरूका लागि तयार गरिएको खेल रहेछ। हातले खेलिने यो खेलमा एक पक्षले प्रतिद्वन्द्वी खेलाडीहरूतर्फ फ्याँकिने रहेछ। अनि त्यसलाई विपक्षी खेलाडीहरूले बलबाट आउने आवाजको सहायताले त्यसलाई रोक्नुपर्ने रहेछ। यसरी खेलकुद, खाना अनि गुम्बाको भ्रमण गरेपछि केहीबेर आराम गरेर फेरि हामी उही पदमार्ग पछ्याउँदै पदयात्राको सुरुवाती बिन्दु मुहानपोखरी फर्कियौं। पदयात्राको अन्त्यमा सबै थकित भए पनि बालबालिकाहरूको अनुहारमा खुसी झल्किएको थियो। सोचें विभिन्न अपांगता भएका व्यक्तिहरूलाई मनोरञ्जनात्मक क्रियाकलापको कमी छ। स्पेनको पोलिटेक्निक विद्यालयकी प्रधानाध्यापिका नुरिया भन्छिन् ‘यस्ता अतिरिक्त क्रियाकलापहरूले दृष्टिविहीन विद्यार्थीमा ऊर्जा थप्छ।’ अर्की सहभागी भ्यालेन्सिया विश्वविद्यालयकी प्राध्यापिका केटीको भनाइमा समर्थन गर्दै भन्छिन् ‘अतिरिक्त क्रियाकलाप सबैका लागि एकदम महत्त्वपूर्ण छ।’ अपराह्नतिर मनमनै आयोजक संस्था, स्वयंसेवी र सहभागी सबैलाई धन्यवाद दिँदै लाजिम्पाट बस स्टप ओर्लिएँ।
प्रतिक्रिया दिनुहोस !