कर्णाली नदीका देउडागीत

संस्कृति

कर्णाली नदीका देउडागीत

कर्णालीका तिरैतिर गल्की पाक्या वेणु
आज् पाया पानीको नाउलो आजै तिर्खा मेणु ।
वैशाख जेठको प्रचण्ड गर्मीका कारण धरतीमा पानीका मूलहरू सुके, काकाकुल जस्तै भयो पानी नपाउँदा । हिमनदी कर्णाली पनि सुख्खा मौसममा बेगवान् बन्न सकेन । असार १५ देशमा धान दिवस मनाउनेहरूको लर्को, खेतालाहरूको बाक्लो जमघट हुनेवाला किसान पानी नपरेर चिन्तित छन् । ‘माठा पानी पण्यो, खेतमा धानको पोखो पनि सुक्न लाइगयो’ आफ्नो दु : खेको पोख्दै थिए, अछाम तुर्माखादका एक किसान ।

माथिको देउडागीतले विविध अर्थ लगाउँछ । वेणु (एक किसिमको फल) अलि चिसो र पानी पर्ने ठाउँमा फल्छ, वेणु पाकेका बोटहरूको हावा स्वस्थकर हुन्छ भन्ने भनाइ छ । धेरैदिनको सुख्खापछि आज पानी पर्‍यो, अब वर्षा सुरु भयो, पानीका नाउला (पोखरी) भरिए, अब पानी प्यास मेट्छु भन्ने अर्थ देखाउँछ । अर्कोतिर गल्की पाकेका बेणुको स्वाद जति मिठास हुन्छ, पानीको नाउलो 
(प्रियसीको प्रेम)मा तिर्खा मेट्दा त्यति नै आनन्द आउँछ भन्ने पनि अर्थ गीतले दिएको छ ।

कर्णाली नदीसम्बन्धी धेरै देउडागीत रचिएका छन् । यो नदी देशको सबैभन्दा लामो नदी पनि हो । जसरी पूर्वमा ब्रह्मपुत्र र हाङ्होलाई बंगालको दु : ख भनिन्छ । वास्तवमा कर्णाली नदी पनि सुदूर र यो प्रदेशको दु : ख नै हो भन्दा फरक नपर्ला । आत्मागौरव बाहेक सिँचाइको सुविधा कही पनि दिएको छैन । गहिरो जमीनबाट बग्ने हुँदा कर्णाली नदीका 
वारिपारिका बासिन्दा यो नदीलाई सुतेर बग्ने नदी पनि भन्ने गर्छन् । हिमाली भेगबाट फाल हान्दै बग्ने कर्णालीका पनि ७ वटा शाखा देखिन्छन्, हिमाली भागमा ।
कर्णाली घुमाउटो पण्यो लौणी बगाउँदैन 
बैरागीको बाँझो मन डुली अघाउँदैन ।

वर्षामासमा फाल हानेर बग्ने हिउँदमा लुकेर बग्ने नदीको रूप हो कर्णाली भन्ने गर्छन्, गाउँका पूर्खाहरू । माथिको ऐतिहासिक गीतको भावार्थ पनि करिब करिब उस्तै देखिन्छ । साउनको मध्यतिर बाढी आएर नदीका किनाराका बासिन्दालाई बेचैन बनाउने गर्छ कर्णालीले । सुख र दु : खको बिम्ब हो पनि भन्ने गरेका छन् गीतकारहरूले । यो नदीका बारेमा धेरैले कविता कोरे, गीतको रचना गरे, जुन गौरवको विषय पनि हो । तिब्बतको सीमा भएर बग्ने कर्णाली, सेती र महाकाली नदीलाई उत्तरी गंगाको रूपमा धर्मात्माहरू लिने गर्छन् । यी नदीहरूमा नुहाउँदा देह पवित्र भएको स्वीकार गर्छन्, बुढापाकाहरू ।
कर्णाली कर्णालीतिर भेरी भेरीतिर 
देउडा खेल्न्या साथीसंगी आईझाऊ मेरीतिर ।

कर्णालीको नाम राखेर बनेका धेरै गीतले समय र कालखण्डको अर्थबोध गराउँछ । हुम्लीवासीहरू कर्णाली नदीलाई आत्मगौरवको नमूना मान्ने गर्छन् । हाम फालेर बग्ने गर्दछ पहाडी खण्डमा कर्णाली । कर्णाली नदीको तिरैमा रहेको छ पबित्र धाम, खार्पुनाथ महादेवको गुफा । संस्कृतिमन्त्री रहेका बखत जीवनबहादुर शाहीले मन्दिरमा परिणत गरे । जब सुर्खेत पुग्छ, कर्णाली शान्त भएर कैलालीका टीकापुर र बर्दियाका फाँटहरूमा बग्ने गर्दछ । कर्णाली नदीलाई साहित्यका नवरससँग पनि कविकलाकारले जोडेको पाउँछौं ।
कर्णालीमा वाउती खेल्नु भेरीको जल् खानु 
रानी वनकी चणी हुनु इच्छाको फल् खानु ।

कर्णाली गहिरो नदी पनि हो, वर्षामा धमिलो, हिउँदमा निलो देखिने यो नदी कालीकोटको बीचभाग भएर बग्दछ । सदरमुकाम मान्माबाट ओरालो झरेर झन्डै १ घण्टाको पैदल यात्रा गरेपछि कर्णाली नदीमाथि निर्मित ‘ऐतिहासिक रंगीलाको पुल’ थियो । वारी राम्नाकोट, बदालकोट, थिर्पूका सुन्दर बस्तीहरू छन् भने पारी उत्तरतिर पलातातिरका धौलोगोहो र खिनका बस्तीहरू छन् । अनि दक्षिणतिर धान फल्ने मलिला फाँट । कालीकोटको पूर्वउत्तर भएर जुम्ला हँुदै कालिकोटकै भूमिमा बग्ने सानो नदीको नाम हो, तिला । जसको किनार भएर हाल गाडीहरू जुम्ला सदरमुकाम खलंगा पुग्छन् । अहिले कर्णाली प्रदेशमा सडक सञ्जालले गर्दा सुविधा भएको छ ।

  • कर्णाली नदीको सुसाई, मानौं संगीतको जलतरंग हो। जहाँ गीतका गेणी मिसिएका हुन्छन्। किनकि, भाषाको जननी, सभ्यताको मुहानसँग कर्णालीको साइनो जोडिएको पाइन्छ।
  • तिब्बतको सीमा भएर बग्ने कर्णाली, सेती र महाकाली नदीलाई उत्तारी गंगाको रूपमा धर्मात्माहरू लिने गर्छन्। उता कर्णालीको नाम राखेर बनेका धेरै गीतले समय र कालखण्डको अर्थबोध गराउँछ। हुम्लीवासीहरू कर्णाली नदीलाई आत्मगौरवको नमूना मान्ने गर्छन्। 

सिञ्जा सभ्यताको मुहान पनि हो कर्णाली नदी भनेर कुनै बेला योगी नरहरीनाथले भनेका थिए । वर्षामा कर्णाली हाम फालेर बग्दै पहाडका रैवार भावर प्रदेश पुग्छ । कर्णालीबारे ठाडी भाकाका देउडागीतहरू गाउँछन्, विरही मनहरू । कर्णाली नदीको सुसाई, मानौं संगीतको जलतरंग हो । जहाँ गीतका गेणी मिसिएका हुन्छन् । किनकि भाषाको जननी, सभ्यताको मुहानसँग कर्णालीको साइनो जोडिएको पाइन्छ । कर्णाली नदी वारिपारिका बासिन्दा विशेषगरी सुर्खेतको उत्तरी भाग र कालीकोटका देउडा खेलाडीहरूले हिउँदमा रातको बेला र छैटपैठमा कलाकार मोतीराज बमले जमानामा गीति क्यासेट र रेडियो नेपालमा गाएका कर्णालीका मौलीक भाका, तालमोरा, है क्या है जिरा फुल्याको छैइ क्यामा देउडा खेलेको देखेछु, २०४४ मा पुग्दा ।
काँ गयो कपासको खेती काँ हरायो चर्खा
साईको मेरो छुट् अराउन्या अब लाग्यो बर्खा ।

वर्षामा कर्णाली नदीको पारीबाट छोर्‍याट्टीले गाएको गीत सुनेर वारी खेतमा काम गर्दै गरेको छोर्‍याट्टाले उत्तर दिन्छ–
जाँ गया पुराना मान्छे उतै गया चर्खा
भिट् अन्र्या मन् भयापछि क्या अन्र्या हो वर्षा ।

यी र यस्तै किसिमका देउडा गीतले सिञ्चित भूमि हो, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश ।
कर्णाली सेतीको पानी सबैले पिउनु हौ 
हुँदा खाँदा बाली बैंस एकै ठाउँ जिउनु हौ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.