डेढ कदम चलाएर देब्रेबाट दाहिनेतर्फ घुमेर खेल्ने खेल हो, ड्यौणा, देउडा। जुन पाइताला प्रधान हुन्छ। यो सार्वजनिक मौलिक मान्यता हो। तर हुम्ला र जुम्लाका खेलाडीले नौलो प्रयोग गरे, टुँडिखेलमा। उनीहरूले डेढी कदम उचाल्दै दाहिनेबाट देब्रेतिर र गीतको भाकाअनुसार गोलबद्ध भएर खेल खेलेको देखियो।
काली कर्णाली प्रदेशको वैभवशाली मूर्त र अमूर्त संस्कृति वर्तमानमा देशभरि नै फैलिरहने क्रममा छ। ऋतुअनुसारको परम्परा संस्कृतिकर्मीहरूको ठूलो परिश्रमका कारण जनसमक्ष सुपरिचित बन्दैछ।
जौं वुया जमातो न हौ धान रोप्या घाँस न हौ
फल् खाया पछुतो न हौ फूल टिपी नास न हौ ।
पृथ्वी, जल, तेज, वायु, आकाश यी पञ्च भौतिक तत्त्वले बनेको शरीरलाई जसरी प्रयोगमा ल्याउन सकिन्छ । मन, वचन, कर्म त्यही रूपमा हामी अघि बढाउन सक्छौ । त्यसमा संस्कार, संस्कृति र परम्पराले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । हामी जता जाऊ संस्कार संस्कृति हामीसँगै जाने हुँदा देशको, ठाउँको परिचय आफैं बोलेको हुन्छ ।
काली कर्णाली प्रदेशको वैभवशाली मूर्त र अमूर्त संस्कृति वर्तमानमा देशभरि नै फैलिरहने क्रममा छ । ऋतुअनुसारको परम्परा संस्कृतिकर्मीहरूको ठूलो परिश्रमका कारण जनसमक्ष सुपरिचित बन्दैछ । एक दिनको त्याग, तपस्याका कारण यस क्षेत्र र प्रान्तको मौलिक परम्परा देखा परेको नभएर वर्षौंको कडा मेहनतका कारण समाजमा परम्परा बसाल्दै छ ।
वर्षामासको सुरुवातीको दिन गत साउन १ गते संघीय राजधानी काठमाडौंको टुँडिखेलमा यस प्रान्तका संस्कृतिपरक सयौं मानिसको उपस्थितिले सबैलाई आआफ्नो घरको याद दिलायो । साउन १ गतेलाई देशभर कृषिजन्य कामका साथै आत्मीय मिलनका रूपमा लिने गरिन्छ । यही नै हो विशिष्ट पहिचान हामी नेपालीहरूको । अघिल्लो दिन घरघरमा झिरझिरी काँडा ढोका, झ्यालमा राखेर साउने रागसबाट बच्ने परम्परा विद्यमान छ ।
स–साना बालबालिकालाई साउने रागस (राक्षस, भूत) बाट बचाउन सकेको खण्डमा निरोगी हुन्छन् भन्ने परम्परा कायम छ । सहरमा लुतो फाल्ने चलन छ । विविधताभित्रको एकता पाउछौं नेपाली समाजमा । देउडा खेल्ने, गृष्म ऋतुबाट तातेको शरीर वर्षा ऋतुमा शीतल गराउने, पारिवारिक भेट गराउने दिनका रूपमा लिइन्छ साउने संक्रान्तिलाई ।
देउडा समाज, सुदूरपश्चिम समाज, लोकसंस्कृति समाजजस्ता संघसंस्थाले आआफ्नो स्थापनाकालदेखि कालीकर्णालीको लोकसंस्कृतिको रक्षार्थ इमान्दारिता अपनाउँदै राजधानीमा विविध कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् । गत १ गते पनि यी संस्थाहरूले राजधानीको टुँडिखेलमा देउडा खेलेर आफ्नो संस्कृतिको संरक्षण गरे, पालना गरे । कुनै पनि राजनीतिक नेता, कार्यकर्ता त्यहाँ अटाउन सकेनन् । जीवनभर देउडा गायनमा लागिपरेका, आदिम संस्कृतिको पहिचानका लागि इमान्दारिता अपनाएका व्यक्तित्वहरूको उपस्थिति देखिन्थ्यो टुँडिखेलको कार्यक्रममा ।
एकातिर महिलाहरूको गर्विलो उपस्थिति, अर्कोतिर पुरुषहरूको उपस्थितिले सुदूरपश्चिमको मौलिक संस्कृति छताछुल्ल भएर पोखियो टुँडिखेलमा । ८६ वर्षीय बझाङ तलकोट सुनीकोटका कर्णबहादुर बम आफूले युवा अवस्थामा खेलेको याद गर्छन् । उनी आफ्नो उमेरका नामुद खेलाडी हुन् । ८४ वर्षीय कमला विक (हुम्ला) देउडा खेलको रामरमिता हेरेर भन्दै थिइन्, ‘हाम्रा केटाकेटीले देउडा खेलेर घरकी सौंराई मेटाइदिए ।’ ६ वर्षदेखि सांस्कृतिक समाजमार्फत संस्कृति सेवा गरिरहेका बैतडीका रामप्रसाद अवस्थी खुसी व्यक्त गर्दै देउडा खेलमा झुम्मिरहेका देखिन्छन् । उनी सामाजिक अभियन्ता पनि हुन् । कार्यक्रम संयोजक बझाङका विरही बमको देउडा गायनको बान्की रोचक थियो । तत्काल देउडागीत रचना गर्न सक्ने क्षमता भएका विरही बम, बैतडीका भानुभक्त जोशी बझाङ छान्नाकी कृष्णादेवी थापा र बाजुराका कर्ण न्यौपाने वास्तवमा आँसुकवि हुन् । एकातिर कार्यक्रमको आयोजना गर्नु अर्कोतिर देउडा खेल खेलाउनु दोहोरो भूमिकामा व्यस्त देखिन्थे युवा उमेरका विरही र उनका साथीहरू ।
प्रशंसा संरक्षण समूहका संस्थापक सभापति अम्बादत्त भट्ट अलि ढिलो आउँदा पछुतो मानिरहेका देखिन्थे । हत्तपत्त ठूलो समूहमा देउडा खेलेर जन्मभूमिको याद गरिरहेका अम्बादत्तको राजधानीमा गौरापर्व मनाउन महत्त्वपूर्ण भूमिका छ । डा. बद्री बिनाडी सुदूरपश्चिम र कर्णाली प्रदेशको लोकसंस्कृतिका ज्ञाता हुन् । देउडा खेलमा रमाउँदै भन्दै थिए, गौरापर्वको पूर्वसन्ध्यामा गरिएको यो कार्यक्रमको ऐतिहासिक महत्त्व छ, यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्छ ।
भर्खरमात्र नेपाल सरकारद्वारा राष्ट्रिय प्रतिभा पुरस्कारद्वारा सम्मानित स्रष्टाद्वय राजेन्द्र शाह बीपी र प्रकाश थापा (बाजुरा) देउडा खेलको कार्यक्रम देखेर खुसी मान्दै भनिरहेका थिए, ‘देउडाको मनोरञ्जन र भेटघाटको कार्यक्रम सँगसँगै भयो । बीपीका शब्द र प्रकाश थापाको स्वरले सबैलाई मोहित तुल्याउँदै आएको छ, सुदूरको भूमिमा । गायिकाहरू शोभा थापा, निरुता खत्री, हेमन्ता भट्टराई, निशा रावल, दीपा रोकायालगायतका गायिकाहरू आआफ्ना गीतमा टिकटक बनाउनमा व्यस्त देखिन्थे ।
डेढ कदम चलाएर देब्रेबाट दाहिनेतर्फ घुमेर खेल्ने खेल हो, ड्यौणा, देउडा । जुन पाइताला प्रधान हुन्छ । यो सार्वजनिक मौलिक मान्यता हो । तर हुम्ला र जुम्लाका खेलाडीले नौलो प्रयोग गरे, टुँडिखेलमा । उनीहरूले डेढी कदम उचाल्दै दाहिनेबाट देब्रेतिर र गीतको भाकाअनुसार कुनै बेला निहुरिँदै दाहिने गोडा उचाल्दै गोलबद्ध भएर खेल खेलेको देखियो । यो प्रयोग पंक्तिकारले पनि अभ्यास गरें । २०७५ सालमा हुम्लाको सिमकोटमा यो खेलको प्रयोग देखेको थिएँ । यसरी खेल खेल्नेमा पुराना पिँढीका महिलामात्र थिए । उनीहरू छिटको कपडा र कालो चोलो लगाएर कपाल छोपेर देउडा खेलिरहेका थिए ।
युवाहरूले खेलेको देखेको थिएन । अहिले कर्णालीका युवाहरूले पनि खेलेको देखेर साह्रै आनन्द लाग्यो । यो खेलमा निकै होस गर्नुपर्ने हुन्छ भन्दै थिइन्, खेलाडी भाना रावत । दाहिनेबाट देब्रेतिर पाइताला चालेर, पाइला उचालेर गीतको लय (भाक्या) अनुसार कहिले निहुरेर कहिले सीधा खेल खेल्ने पुरानो चलनलाई पुनर्जीवित राख्दा देउडा खेलको नयाँ रूप देखिन्छ, समाजमा ।
सुदूरकर्णाली लोक देउडा संस्कृति संरक्षण नेपालका अध्यक्ष कृष्ण तिमल्सिना आगामी दिनहरूमा देउडा कार्यक्रमलाई निरन्तरता दिने बताउँदै थिए । ८२ वर्षीय जयलाल देवकोटा र अर्जुन तिमल्सिना (अछाम), अञ्जु गिरी (बझाङ), चन्द्रा शाह (जाजरकोट), नरबहादुर बुढा (जुम्ला) लगायतका संस्कृतिकर्मीले कालीकर्णालीको माटोलाई टुँडिखेल काठमाडौंमा जुरुक्क उचालेर ल्याए ।
बस्न्या थली छाइलो होइजा डाडा वेल वुणीझा
मेरा गली पासो लाइझा यो परान् चुणीझा ।
प्रतिक्रिया दिनुहोस !