पालो मिच्याइँको नालीबेली

निबन्ध

पालो मिच्याइँको नालीबेली

हुनेखानेहरूसँग भएखानेहरूले प्रायः कुराहरूमा प्रतिस्पर्धा गर्नु मुस्किल होला। धनी र गरिव बीचको क्षमतामा आकास–पातालको फरक होला। स्वार्थ पनि आआफ्नै होलान्। लक्ष्य र उद्देश्यमा पनि असमानता नै होला। उनीहरूको जीवनको जहाज आआफ्नै तरिकाले उडान भर्दो हो। फेरी आजकालको समय पनि त फरक छ– स्वार्थले जकेडिएको। सबै आआफ्नो स्वार्थको दुनो सोझ्याउँछन्।

कस्तो खराब जमाना ! आफ्नैले आफ्नालाई ठग्छ। थिच्छ। पेल्छ। बलपूर्वक मिच्छ। मान्छे न हो स्वार्थकै बाली लगाउँछ र स्वार्थकै फसल उमार्छ। पाइला–पाइलामा स्वार्थकै खातिर लागिपर्छ। अरूको बेदनाको बाल मतलव, मान्छेलाई आफू पूर्ण हुनपाए पुगि गो ! अरूको के मतलब ! अरूको सुविस्ताको के दरोकार ! दायाँवायाँ र वरपर पनि बिचार्नुपर्छ, हेर्नु र सुन्नुपर्छ भन्ने मान्यताबाट चुक्दैछ आजको मान्छे। सायद आमाको पेटमा हुँदैदेखि मान्छे मतलबी हुँदोरहेछ।

एकपटक त्रिचन्द्र कलेज नजिकबाट गुज्रिदै थिएँ। घण्टाघरतर्फ जान जेब्राक्रस समाएँ। रातोबत्ती बलेको थियो। पार गर्न खोजें। उताबाट कार 

बेतोडले हुँइकिंदै आयो र भन्यो– ‘मर्लास् !’

मैले चुपचाप सडक पार गरें। अनि मनमा धेरै कुरा खेले। आफ्नो गल्ति कहाँनेर भएछ भनेर सम्झें, जेब्राक्रसबाट पैदल यात्रु हिँड्ने बत्ती बल्दा पनि हिँड्न नहुने ? कस्तो बेथितिपूर्ण देश। अहँ, किमार्थ सन्तुष्ट हुन सकिनँ। अन्य देशको नियम सम्झें। सडकमा जेब्राक्रस तर्ने पैदल यात्रुलाई प्राथमिकता दिइन्छ। यहाँ त यस्तो बेहोरा छ।

अलिक पर गएँ, रत्नपार्कमा ओभरहेड बनाइएको छ। तर पैदल यात्रुलाई ती सिँढी चढ्दा गाह्रो छ विचरा ! पुलमुनीबाटै बाटो काटिदिन्छन्। कस्तो विडम्बना ! हामी कहाँ छौं, किन मिच्दैछौं पालो र नियम ? अनि जानु छ दायाँ। बायाँबाट हुइँकिएर आउँछन् दायाँ जानुपर्ने गाडीहरू। लेनको मतलव राख्दैनन्। साइड दिँदा होस् वा लिँदा, लाइट बाल्ने कुरा हेक्का राख्दैनन्। कस्तो मिच्याई छि ! आफू छिटो चिप्लेटी खेल्न पाए भो। अरूको असजिलोसँग मतलव छैन। आफ्नो दुनो सोझ्याउन पाए भो। यसैमा आफूलाई विजेता ठान्छ मान्छे।

यस्तै पालो मिच्याइको सेरोफेरोमा मन घोत्लिएको छ आज। जीवनका केही क्षण त्यतातिर दृष्टिगोचर गर्न मन लागेको छ। सचेत प्रवर्गमा पर्छ मान्छे। सभ्य हुनुपर्छ। शालिन हुनुपर्छ। शिष्ट हुनुपर्छ। जीवन धेरै पाटाको कहानी हो। यही कहानीमा अल्झिने मानिसका क्रियाकलापहरू अशिष्ट हुँदै गएको देखेर नेत्ररन्ध्र पग्लेर आउँछन् मेरा। मन दःुखी हुन्छ। कानून सम्झन्छु, लिरिलिरि हल्लिरहेछ। किन जहिल्यै पालो मिच्याइको कित्तामा उभिन्छ के मान्छे ! यस्ता कुराले मेरो हृदय नै झन्झनाउँछ।

यस्ता मिचाइका थुप्रै शृंखला राख्छ सक्छु। ती सबै सबैका दृश्यचित्र मेरो दिल र दिमागमा खिचिएका छन्। हरे नेपालीको नियति हो कि यो प्रवृत्ति खुट्याउन भने हम्मे परेको छ। बिजुलीको विल तिर्न जान्छु। लामबद्ध बनेर बस्छु। कहिलेकाँही नजानिँदो पालो मिचिन्छ त्यहाँ। टेलिफोनतिर त्यस्तै। इन्टरनेट भन्नै परेन। सार्वजनिक सवारीको हविगत हेर्‍यो उस्तै छ। कुनै कार्यालयमा धाउँदा धाउँदा केश पाकिसक्छ, तर पालो आउँदैन। अरू त अरू ढीलो न्याय दिनु न्याय नदिनु बराबर हो भन्ने कानुनको सामान्य सिद्धान्त समेतको अदालतमा ख्याल गरिन्न। हेर्दाहेर्दै, हेर्न नमिल्ने वा अरू कुनै बहानामा पक्षले समयमै न्याय पाउँदैन। कस्तो दुर्दान्त नियति हाम्रो ! तर मलाई यस्ता कुराहरू हजम हुँदैन। ठाडो प्रतिकृया दिने बानी छ। तर मेरो कमेन्टको के अर्थ छ र यहाँ। सुन्नुपर्नेले सुनिदिँदैन। व्यवहारमा उतार्नुपर्नेले उतारिदिँदैन। सुध्रिनुपर्नेले सुध्रिने धृष्टता गर्दैनन्। अनि गर्नु के ! लाथ्राले हान्न मन लाग्छ नि। तर लागेर के गर्नु सकिन्न हान्न। अब के गर्नु लेखेर भए नि अपच कुरा पचाउने यत्न गर्नै पर्‍यो। म आफ्नो देह भारी बनाएर भए पनि सामान्य हुन खोज्छु।

हामीले जीवनको प्रभातकालदेखि आजसम्म यहि देख्दै भोग्दै आएका छौं। र त नेपाली यस्ता कुराहरूप्रति अभ्यस्त। यो हाम्रो जीवनको दैनिक उहापोहको कथा हो। भोगाइ हो। हामी सधैं यस्तै आफ्नो स्वार्थ केन्द्रीत विकृत मनस्थितिबिच बाँचिरहेका छौं। मलाई स्कूले जीवनको याद छ। मास्टरसाबले पनि कुनै शिक्षकको खाली पिरियडमा आएर पढाउँदा नआउँने माड्सावको विषय पढाएको याद छैन। उनले त आफ्नो पछिल्लो पिरियड तानेर घर छिटो जान कोसिस गर्थे। कहाँ उदार हुन्थे उनी। यो पूर्णसत्य कुरा हो। कक्षा कभर भैसकेपछि लखरलखर घर हिड्ने तिनको बानी कहाँ भुलेको छु र ?

उतिबेलाका सबै दृष्य मनमा तैरिरहेका थिए। उतिबेला पनि मनमा यी कुराहरू घुमिरहन्थे। ताउरमाउर गरी रहन्थे। आजसम्मको अनुभव पनि यस्तै छ मेरो। प्रायःले स्वार्थका लागि सम्बन्ध राख्छन्। पालोकुर्ने प्रवृत्ति कहिल्यै आएन क्या ! म कसरी उम्किने यहि मात्र ध्याउन्न छ।यस्ता भोगाइका ओभर डोजहरूको शृंखला बल्ग्रेन्ती छन् मसँग। जसले मेरो मन–मस्तिष्कलाई असर गरेका छन्– नकारात्मक रूपमा। विश्व हेर्‍यो त्यस्तै लाग्छ। मत्स्य न्याय चल्दैछ दुनियाँमा। ठूला भनाउँदा देशहरूले साना देखिएकालाई पेल्ने प्रवृत्ति चरम अबस्थामा पुगेको छ यो समय। विभिन्न बहानामा बलात् हस्तक्षेप गर्ने, आन्तरिक मामिलामा दखल दिने चलन छ। अझ आफ्नो दुनो सोझिने किसिमले गतिविधिहरू बढाउने गरिएका दृष्टान्तको पहाड छ। कहिँ पहिचानवादी उचालेका छन्। कतै मानवअधिकारको दुहाइ दिइएको छ। कतै व्यवस्थामाथि प्रश्नचिन्ह खडा गरिएका छन्। कतै के त कतै के मिचाइ छन्। हुँदाहुँदा रातारात सीमामा गाडिएका पिल्लरहरू समेत सारेर जमिन मिचिएका उदाहरणका चाङ नै देखाउन सकिन्छ।

बल नमिचिएको इतिहास कहिँ देखाउन सक्नुहुन्छ हजुर ! बलमिच्याई भनेर आउँदैन। न त पुल हालेर आउँछ। यो त मिच्नेहरूका कुशल व्यवस्थापनमा आउने कुरा पो हो। कलुषित भावका उत्ताउला मनहरूले सोच्ने सोचको कुरा हो। त्यस्ताको जीवन पढिसाध्ये भए पो त ! सुन्दामात्र पनि सातो जान्छ हौ मेरो त। बल मिच्ने र पालो मिच्नेहरूको कुरा मात्र काटेर पनि के गर्नु ? अहिलेको युगको प्रवृत्ति नै रहेछ यो। शहरका सडक वा गल्ली होस् वा गाउँका खेत खलियानमा पानी पट्याउने कुलोहरूमा नै किन नहोस्। यस्तै मिचाहाहरूको बिगबिगी छ भन्या ! यस्तालाई बेहोर्नु हाम्रो नियति बनिसकेको छ। कष्टसाध्य पलहरू र ती सँगै आएका संकटहरू थेग्नसक्ने मन बनाउनु पर्दोरहेछ।

यतिका कुरा त गरियो। तर पनि मनमा भने केही कुराले डेरा जमाएका छन्। गढिरहेका छन् गहिरोसँग। जेरी जस्तै जेलिएका छन्। किन हरेक ठाउँमा मिच्छ मान्छेले पालो ? जबरजस्ती पनि मिच्याइ भैरहेको पाइन्छ। किन होला ? किन मिच्नैपर्छ भन्ने नकारात्मक भावहरू उम्रिन्छन् होला मान्छेको मनमा ! कस्तो सोमत नभएको मान्छे के !

पीडाका धेरै फाल्साहरू थुपारेरै बस्छु म। मान्छेमा हार्दिकता मरेकोमा मन द्रवित हुन्छ। सेवाभाव कम, मिच्याई र स्वार्थको प्रवृत्ति सम्झन्छु। बाजेहरू भन्थे उतिवेला– ‘कलिजुग हो केटा कलिजुग। यस्तो याममा जे पनि हुन्छ।’ हो क्यारे ! उतिबेलै बाजेहरूले भोगाइ पस्केका रहेछन् मलाई। ती कुराहरू अर्थपूर्ण रहेछन्, अहिले यस्तै लाग्छ।

अरूले कसरी बुझ्छन् कुन्नी। मिच्नेहरूका थप पथराहरू पलाउन थालेका छन् जताततै। मानवता मर्न थालेको छ। भावना पनि त्यस्तै, मान्छे जस्तै। निचोर्छन् बलपूर्वक, जसरी कागती निचोरिन्छ। जसरी तेल पेलिन्छ, त्यसैगरी शक्तिवानहरूबाट पेलिन्छन् निर्धाहरू। यस्तैको गाँज बढ्दो छ। यस्तैको बढोत्तरी हुँदैछ। फराकिँदो छ आकाश जस्तै।

कोही किन यति साह्रै छिटोको बहानामा अरूलाई सताउँछ। के यो दुनियाँ बलियाका लागि मात्र हो ? हुन त म समुन्द्रमा एक थोपा न हुँ। र पनि ममा यस्ता प्रवृत्तिप्रति घृणाभाव जाग्छ। ह्रदय नै अशान्त हुन्छ। छातीमा आक्रोशको ज्वाला निस्कन्छ। रीसले काँप्छ शरीर। कोपर्न मन लाग्छ पालो मिच्नेहरूको मुहारमा।

चाह गर्छ– तिनको सत्यानास होस्। भर्सेलो परोस्। तर कलिजुगको देउताले पनि सुन्न छोड्यो यस्तो पुकार। उसले पनि पालो मिच्छ। आशाको आँखा उतिर तेस्र्याएकै हो। तर उसको आँखाले देखेन। उसले हामी भुइँमान्छेको चित्कार सुनेन। अथवा ऊ पनि पालो मिच्नेहरूकै पक्षपाती हो– उही जानोस्। राम्रै थाहा छ हामीप्रतिको उसको उपेक्षा।

मान्छे अरूलाई छलेर आफ्नो जीवनगाडा चलाउँछ। अरूलाई बल, बुद्धि, धन, अनुचित दवाव वा यस्तै अरू केही प्रलोभनमा पारेर मिच्छ। पृथ्वीका प्राकृतिक कुराहरू पनि अहिले पालोमा चलेका छैनन् क्यारे। हिउँदमा भिषण पानी पर्छ। बर्षायाम खण्डहर हुन्छ। जाडोयाममा गर्मी बढ्छ। गर्मीमा जाडो चढ्छ। खै धर्ती पनि किन कान्तिविहिन लाग्दैछ ? राम्ररी गोडमेल गर्दा पनि उब्जाउ हुन्न। बन्जर बन्छ माटो। उही हो नि यो धर्ती अनि आकास, किन पहिले र अहिले फरक भो ?

मान्छे धनी बन्ने नाउँमा जे पनि गर्छ। किसान बढी उब्जाउने नाउँमा धर्तीमा विष छर्छ। छिटो उत्पादन र बेसी उत्पादनको नाउँमा विसर्जित भएका विषाक्त खाद्यान्नले बाबुभन्दा छोरो पहिले मर्छ। पालो सबै सबैले मिचेका छन्। अनि कसरी मेरो मनमा झाँगिएको भावना मिलोस् ? कसरी शास्त्रले भने जस्तो ‘सर्वे भवन्तु सुखिन’को भाव सबैमा जागोस् !

मलाई थाहा छ, मान्छेले बलपूर्वक पालो मिचेको छ। जातै स्वार्थी मान्छेको। आफूलाई सजिलो बनाउने नाउँमा मान्छेले धेरै आविष्कार गरेको छ। कलकारखाना खोलेको छ। सुखी जीवनको खोजीमा उसका उत्पादनबाट निस्केका विकार र रसायनहरूले ग्लोबल वार्मिङको युग सुरु भएको छ। अनि किन चैत बैशाखमा फुल्नुपर्ने लालीगुराँस फागुनमै नफुलुन् त ! किन चैत बैशाखमा पाक्ने काफल जाडोयाममै नपाकुन् त !

प्राकृतिक चिजबिजमाथि धपेडी पोखिदिएर मान्छेले बल मिच्याइ गरेपछिको परिणति यस्तो हुनु कहाँ आश्चर्यको कुरा हो र ! कहिले पलाउला मान्छेमा पालो नमिच्ने बुद्धिको बंगारा। कहिले छोड्ला मेरो गोरुको बाह्रै टक्का गर्न मान्छेले। कहिले फिजाउला मान्छेले पालो नमिचौं भन्ने सन्देश। मनैदेखि गल्ती स्वीकार्ने परिस्थिति कसरी निर्माण होला ? तिनको मन सकारात्मक ध्वनिले तरंगित भएको महसुस कसरी गर्न सकिएला ?

माथिका यी मनका सबै जिज्ञासाको सहज उत्तर पनि यहिँ छ– जव मान्छे प्राकृतिक न्यायको सिद्धान्तको पक्षमा उभिन्छ। जब मान्छे समदृष्टि र समभावको दृष्टिचेतले सबैलाई हेर्छ। जब मान्छे प्रकृतिमैत्री हुन्छ। तब यो सब सम्भव छ। आवेग र आक्रोसलाई रोकोस् मान्छेले। होस नगुमाओस्। जोशलाई सही ठाउँमा लगाओस्। मानवीयतालाई मनैदेखि अंगालोस्। दया र करुणा मनमा सञ्चार होस्। बस पालो मिच्याइबाट समाज मुक्त हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.