वीरगन्ज अर्थात् विवाहगन्ज

वीरगन्ज अर्थात् विवाहगन्ज

लेखक गणेश लाठद्वारा लिखित ‘सीमान्त सम्झना’ उहाँकै सौजन्यमा प्राप्त गरें । म स्थानीय होटल वृन्दावनमा बास बसेको थिएँ । होटल त शीतताप नियन्त्रित थियो तर म चाहिँ उकुसमुकुस अनुभव गरिराखेको थिएँ । यतिकैमा उनलाई फोन गरेर भनें, ‘म अहिले वीरगन्जमा छु र स्थानीय वृन्दावन होटलमा । अहिले तपाईंसँग समय छ भने हामी एकछिनका लागि भेटौं ।’

वीरगन्जको गर्मी छल्न भए पनि साहित्य र संस्कृतिसम्बन्धी गफगाफ गरेर यस दिक्कलाग्दो समयमा पनि हामी सरस एवं सुन्दर कुरोमा समय बिताउन सक्तछु । यति भन्दै उहाँले स्वीकृति दिइहाल्नुभो । ठीक छ, म लन्च खाएर तपाईंसँग होटलमा भेट्न आउँछु । उहाँ ठीकै समयमा आउनु भो र होटलको स्वागत कक्षमा सशरीर उपस्थित भइहाल्नु भो । उहाँको हातमा थियो, उहाँको नवीनतम प्रकाशित कृति ‘सीमान्त सम्झना’ । उहाँले अनौपचारिक रूपमा आफ्नो पुस्तक दिँदा अति आनन्दको अनुभूति भयो । वीरगन्जको राप–ताप केही घटेको जस्तो लाग्यो । हामीलाई साहित्य र संस्कृतिको चर्चा–परिचर्चा गर्दा गर्मीको राप–तापमा केही अभाव भएको जस्तो अनुभूत भयो ।

एकक्षणपछि उहाँले त्यहाँस्थित रेस्टुराँमा जान अनुरोध गर्नुहुन्छ भन्ने आस गरें तर उहाँले तात्तातो दुई कप ब्ल्याक कफीको अर्डर गर्नुभयो । हामी साधारणतया गर्मी याममा शीतल पेय पिउने गर्छौं तर उहाँले वीरगन्जको गर्मीको रापताप कम गर्न गरम–गरम कालो कफीको आदेश गर्दा पनि आनन्द आयो । किनभने म पनि कफीको सौखिन मानस हुँ । हामी दुई जनाले दुई घण्टासम्म कफी पिउँदै गफगाफमा बितायौं । उहाँले सीमान्त सम्झनामा वीरगन्जलाई विवाहगन्ज भनेर उल्लेख गर्नुभएको छ ।

वास्तवमा वीरगन्ज अहिले विवाहोत्सवका लागि उपयुक्त सहरको भूमिका निर्वाह गर्दैछ । तराई मधेसमा संक्षिप्त विवाहोत्सवको समय छ । वैवाहिक संस्कार जस्तो छेका, तिलक र विवाहको आयोजना गाउँघरमा नगएर सहर–बजार, स्थित धर्मशाला र होटलमा गर्ने प्रचलन बढेको छ । विशेष गरेर केटा पक्षको विशेष अनुरोध हुन्छ । यस्तो सहर–बजारमा वैवाहिक संस्कार सम्पन्न गर्न र यसमा केटा पक्षबाट कमसेकम एक सयजना सामेल हुने गर्दछन् । जुन केटा पक्षले आफ्नो शान–शौकत र रवाफ देखाउन केटी पक्षलाई निरुत्साहित गर्दछ ।

अचेल तराई मधेसमा कुनै पनि वैवाहिक संस्कार सम्पन्न गर्न ग्रामीण माहोललाई उपेक्षा गर्दै सहर–बजारमा यस्तो संस्कार पूरा गर्न संकल्प नै गरेको हुन्छ । यस वैवाहिक उत्सवमा बरातभन्दा कम रौनक र रवाफ हुँदैन । वैवाहिक संस्कार र रीतिरिवाजमा आमूल परिवर्तन हुँदै गएको छ । जुन धेरै भडकलो र महँगो सावित भइराखेको छ । पहिलापहिला चार, पाँचजना छेकाको संस्कार सम्पन्न गर्न दुलहीको घरमै पुग्थे । यसबाट के थाहा हुन्थ्यो भने केटी पक्षको हैसियत के छ ? घरपरिवारको स्थिति र व्यवहार कस्तो छ ? खानपिनको स्तर के छ ?

तर अचेल यो सबै चीजको बेवास्ता गर्दै अनावश्यक आडम्बर प्रदर्शन र आफ्नो हैसियत बढीमा बढी देखाउने गरिन्छ । यो एउटा स्यानो बिहेको बरात नै हुन्छ, जसमा धेरैभन्दा धेरै आमन्त्रित अतिथिलाई सामेल गर्ने गरिन्छ । यसबाट बाध्यतावश केटी पक्ष अनिच्छुक भए पनि स्वीकार गर्नैै पर्दछ । यस्तो कतिपय वैवाहिक संस्कारमा अनिच्छुक भएर सहभागिता जनाउने गरेको छु । यो सामाजिक व्यवहारको एउटा आवश्यक सर्त भएको छ । यसप्रकार वैवाहिक संस्कारको आधुनिकीकरण भए पनि केटा पक्ष र केटी पक्ष आफ्नो सहमति जनाउन बाध्य हुन्छन् ।

तराई मधेसमा यस्तो वैवाहिक संस्कार सम्पन्न गर्न तराई मधेसको राजधानी जनकपुर सर्वोत्तम गन्तव्य सावित भएको छ । भनिन्छ कि यहाँ मर्यादा पुरुष रामचन्द र जगद्जननी जानकीको विवाहोत्सव सम्पन्न भएकाले यहाँ सम्पन्न हुने वैवाहिक संस्कारमा केही दैवी शक्तिको आशीर्वाद प्राप्त हुन्छ । अर्थात्, जनकपुर अहिले विवाहोत्सव समारोह सम्पन्न हुने सर्वलोकप्रिय स्थान सावित भएको छ । विवाह पञ्चमीको महान अवसरमा त यहाँ सम्पन्न हुने वैवाहिक संस्कारमा बहुसंख्यक आमन्त्रित अतिथिहरूको उपस्थिति हुन्छ । समय पनि अति सुहाउँदो र सर्वप्रिय मानिन्छ ।

तसर्थ यस अवसरमा आयोजित वैवाहिक संस्कारमा बहुसंख्यक अतिथिहरूको उपस्थिति हुन्छ । यस अवसरमा अति विशिष्ट अतिथिहरूको पनि सहभागिता हुन्छ र केटा पक्ष तथा केटी पक्षका लागि रौनक र गौरवको विषय हुन जान्छ । जतिसुकै खर्च होस्, कसैले वास्ता गर्दैनन् बरु यसलाई आफ्नो शानशौकतको विषय मान्छन् । वैवाहिक संस्कार सम्पन्न गर्नुपर्छ किनभने यस्तो अवसर जीवनमा एक पल्ट आउँछ । केटा र केटीको स्वर्णिम जीवनका लागि र सुखद भविष्यको कामनाका लागि शुभप्रद नै मानिन्छ ।

अर्को वैवाहिक उत्सवका लागि उपयुक्त स्थल हो, सलहेस फूलबारी जुन सिरहास्थित जिल्लाको ऐतिहासिक सांस्कृतिक स्थल हो । यो सिरहा जिल्लामा अवस्थित र लहान बजारको नजिक हुनाले यहाँ पनि वैवाहिक संस्कार सम्पन्न गर्न सर्वोत्तम स्थानको रूपमा सुप्रसिद्ध छ । यो ऐतिहासिक, धार्मिक र सांस्कृतिकस्थल वैवाहिक संस्कार सम्पन्न गर्न सर्वसुलभ र सस्तो तथा सर्वप्रिय वैवाहिक गन्तव्य मानिन्छ । यो राजा सलहेशको सबैभन्दा सुन्दर र सुनौलो स्थान भएकाले अचेल वैवाहिक गन्तव्यको रूपमा गणनीय मानिन्छ । सलहेश फूलबारीमा विवाहोत्सव आयोजनाका लागि अतिरिक्त व्ययभार बहन गर्नु पर्दैन । यो खुल्ला स्थानमा भएकाले विशेष केही साजशृंगार गर्नु पर्दैन ।

राजा सलहेश र दौना मालिनी दुवैको लोकप्रिय मिलनस्थलको रूपमा बहुचर्चित स्थान भएकाले अचेलको वैवाहिक जोडीका लागि प्रिय गन्तव्यस्थलको रूपमा धेरै लोकप्रय हुँदै गएको छ तर यसलाई व्यवस्थित र व्यावहारिक बनाउन सकिन्छ र स्थानीय संघसंस्थाभन्दा लहान नगरपालिकाको महŒवपूर्ण भूमिका हुन सक्छ । हुन त यस फूलबारीमा आयोजित महोत्सव एकदिनका लागि मात्रै हुने गर्दछ अर्थात् प्रत्येक सालको वैशाख महिनाको पहिलो दिन अर्थात् विक्रम संवत्को पहिलो दिन । अर्थात् नेपालको लागि नयाँ वर्ष तर वैवाहिक गन्तव्य र प्रेमीप्रेमिकाको मिलनस्थलको रूपमा सर्वाधिक लोकप्रिय गन्तव्य ।

नेपालमात्र होइन, छिमेकी मुलुक भारतबट पनि प्रेमीप्रेमिका आउँछन् वा वैवाहिक बन्धनमा बाँधिने गर्दछन् । उपरोक्त तीनवटै स्थल विवाहको सर्वोत्कृष्ट गन्तव्यको रूपमा प्रसिद्ध छन् तर तराई मधेसका सम्पन्न मानिस अचेल महँगामहँगा होटलहरूमा वैवाहिक संस्कार सम्पन्न गर्न लालायित हुन्छन् । यस्ता महŒवपूर्ण वैवाहिक स्थलहरूको बेवास्ता गर्दछन् जुन अन्यन्त सोचनीय र संवेदनशील कुरा हुन गएको छ । म पनि नातिनी डा. रीमा शाहको वैवाहिक संस्कार छेकाका लागि वीरगन्ज सपरिवार पुगें ।

केटा पक्षको आग्रहमा हामी वीरगन्ज पुग्यौं । हुन त केटा पक्ष पनि वीरगन्जको होइन । उनीहरू सर्लाही नवलपुरका नयाँ बासिन्दा हुन् । उनको पारिवारिक थातथलो सर्लाहीकै पिराडी भन्ने गाउँ हो । उनीहरूको आग्रह र अनुरोधमा यो छेका वैवाहिक रीतिरिवाज सम्पन्न गर्न वीरगन्ज पुग्न बाध्य भयौं र यसमा हामीहरूको र उनीहरूको पक्षबाट बहुसंख्यक आमन्त्रितहरूको उपस्थितिमा यो वैवाहिक संस्कार सम्पन्न भएकोमा हामी सन्तुष्ट छौं र उनीहरू पनि । हुन त हामीहरूका लागि वीरगन्ज अलि गर्मी ठाउँ सावित भए पनि सहन योग्य र सुविधा सम्पन्न नै मान्न सकिन्छ किनभने हामी पनि सर्लाही जिल्लाको सिसौटियाका बासिन्दा हौं र अहिले पनि घरवार र खेतीपाती त्यहीँ छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.