वीरगन्ज अर्थात् विवाहगन्ज
लेखक गणेश लाठद्वारा लिखित ‘सीमान्त सम्झना’ उहाँकै सौजन्यमा प्राप्त गरें । म स्थानीय होटल वृन्दावनमा बास बसेको थिएँ । होटल त शीतताप नियन्त्रित थियो तर म चाहिँ उकुसमुकुस अनुभव गरिराखेको थिएँ । यतिकैमा उनलाई फोन गरेर भनें, ‘म अहिले वीरगन्जमा छु र स्थानीय वृन्दावन होटलमा । अहिले तपाईंसँग समय छ भने हामी एकछिनका लागि भेटौं ।’
वीरगन्जको गर्मी छल्न भए पनि साहित्य र संस्कृतिसम्बन्धी गफगाफ गरेर यस दिक्कलाग्दो समयमा पनि हामी सरस एवं सुन्दर कुरोमा समय बिताउन सक्तछु । यति भन्दै उहाँले स्वीकृति दिइहाल्नुभो । ठीक छ, म लन्च खाएर तपाईंसँग होटलमा भेट्न आउँछु । उहाँ ठीकै समयमा आउनु भो र होटलको स्वागत कक्षमा सशरीर उपस्थित भइहाल्नु भो । उहाँको हातमा थियो, उहाँको नवीनतम प्रकाशित कृति ‘सीमान्त सम्झना’ । उहाँले अनौपचारिक रूपमा आफ्नो पुस्तक दिँदा अति आनन्दको अनुभूति भयो । वीरगन्जको राप–ताप केही घटेको जस्तो लाग्यो । हामीलाई साहित्य र संस्कृतिको चर्चा–परिचर्चा गर्दा गर्मीको राप–तापमा केही अभाव भएको जस्तो अनुभूत भयो ।
एकक्षणपछि उहाँले त्यहाँस्थित रेस्टुराँमा जान अनुरोध गर्नुहुन्छ भन्ने आस गरें तर उहाँले तात्तातो दुई कप ब्ल्याक कफीको अर्डर गर्नुभयो । हामी साधारणतया गर्मी याममा शीतल पेय पिउने गर्छौं तर उहाँले वीरगन्जको गर्मीको रापताप कम गर्न गरम–गरम कालो कफीको आदेश गर्दा पनि आनन्द आयो । किनभने म पनि कफीको सौखिन मानस हुँ । हामी दुई जनाले दुई घण्टासम्म कफी पिउँदै गफगाफमा बितायौं । उहाँले सीमान्त सम्झनामा वीरगन्जलाई विवाहगन्ज भनेर उल्लेख गर्नुभएको छ ।
वास्तवमा वीरगन्ज अहिले विवाहोत्सवका लागि उपयुक्त सहरको भूमिका निर्वाह गर्दैछ । तराई मधेसमा संक्षिप्त विवाहोत्सवको समय छ । वैवाहिक संस्कार जस्तो छेका, तिलक र विवाहको आयोजना गाउँघरमा नगएर सहर–बजार, स्थित धर्मशाला र होटलमा गर्ने प्रचलन बढेको छ । विशेष गरेर केटा पक्षको विशेष अनुरोध हुन्छ । यस्तो सहर–बजारमा वैवाहिक संस्कार सम्पन्न गर्न र यसमा केटा पक्षबाट कमसेकम एक सयजना सामेल हुने गर्दछन् । जुन केटा पक्षले आफ्नो शान–शौकत र रवाफ देखाउन केटी पक्षलाई निरुत्साहित गर्दछ ।
अचेल तराई मधेसमा कुनै पनि वैवाहिक संस्कार सम्पन्न गर्न ग्रामीण माहोललाई उपेक्षा गर्दै सहर–बजारमा यस्तो संस्कार पूरा गर्न संकल्प नै गरेको हुन्छ । यस वैवाहिक उत्सवमा बरातभन्दा कम रौनक र रवाफ हुँदैन । वैवाहिक संस्कार र रीतिरिवाजमा आमूल परिवर्तन हुँदै गएको छ । जुन धेरै भडकलो र महँगो सावित भइराखेको छ । पहिलापहिला चार, पाँचजना छेकाको संस्कार सम्पन्न गर्न दुलहीको घरमै पुग्थे । यसबाट के थाहा हुन्थ्यो भने केटी पक्षको हैसियत के छ ? घरपरिवारको स्थिति र व्यवहार कस्तो छ ? खानपिनको स्तर के छ ?
तर अचेल यो सबै चीजको बेवास्ता गर्दै अनावश्यक आडम्बर प्रदर्शन र आफ्नो हैसियत बढीमा बढी देखाउने गरिन्छ । यो एउटा स्यानो बिहेको बरात नै हुन्छ, जसमा धेरैभन्दा धेरै आमन्त्रित अतिथिलाई सामेल गर्ने गरिन्छ । यसबाट बाध्यतावश केटी पक्ष अनिच्छुक भए पनि स्वीकार गर्नैै पर्दछ । यस्तो कतिपय वैवाहिक संस्कारमा अनिच्छुक भएर सहभागिता जनाउने गरेको छु । यो सामाजिक व्यवहारको एउटा आवश्यक सर्त भएको छ । यसप्रकार वैवाहिक संस्कारको आधुनिकीकरण भए पनि केटा पक्ष र केटी पक्ष आफ्नो सहमति जनाउन बाध्य हुन्छन् ।
तराई मधेसमा यस्तो वैवाहिक संस्कार सम्पन्न गर्न तराई मधेसको राजधानी जनकपुर सर्वोत्तम गन्तव्य सावित भएको छ । भनिन्छ कि यहाँ मर्यादा पुरुष रामचन्द र जगद्जननी जानकीको विवाहोत्सव सम्पन्न भएकाले यहाँ सम्पन्न हुने वैवाहिक संस्कारमा केही दैवी शक्तिको आशीर्वाद प्राप्त हुन्छ । अर्थात्, जनकपुर अहिले विवाहोत्सव समारोह सम्पन्न हुने सर्वलोकप्रिय स्थान सावित भएको छ । विवाह पञ्चमीको महान अवसरमा त यहाँ सम्पन्न हुने वैवाहिक संस्कारमा बहुसंख्यक आमन्त्रित अतिथिहरूको उपस्थिति हुन्छ । समय पनि अति सुहाउँदो र सर्वप्रिय मानिन्छ ।
तसर्थ यस अवसरमा आयोजित वैवाहिक संस्कारमा बहुसंख्यक अतिथिहरूको उपस्थिति हुन्छ । यस अवसरमा अति विशिष्ट अतिथिहरूको पनि सहभागिता हुन्छ र केटा पक्ष तथा केटी पक्षका लागि रौनक र गौरवको विषय हुन जान्छ । जतिसुकै खर्च होस्, कसैले वास्ता गर्दैनन् बरु यसलाई आफ्नो शानशौकतको विषय मान्छन् । वैवाहिक संस्कार सम्पन्न गर्नुपर्छ किनभने यस्तो अवसर जीवनमा एक पल्ट आउँछ । केटा र केटीको स्वर्णिम जीवनका लागि र सुखद भविष्यको कामनाका लागि शुभप्रद नै मानिन्छ ।
अर्को वैवाहिक उत्सवका लागि उपयुक्त स्थल हो, सलहेस फूलबारी जुन सिरहास्थित जिल्लाको ऐतिहासिक सांस्कृतिक स्थल हो । यो सिरहा जिल्लामा अवस्थित र लहान बजारको नजिक हुनाले यहाँ पनि वैवाहिक संस्कार सम्पन्न गर्न सर्वोत्तम स्थानको रूपमा सुप्रसिद्ध छ । यो ऐतिहासिक, धार्मिक र सांस्कृतिकस्थल वैवाहिक संस्कार सम्पन्न गर्न सर्वसुलभ र सस्तो तथा सर्वप्रिय वैवाहिक गन्तव्य मानिन्छ । यो राजा सलहेशको सबैभन्दा सुन्दर र सुनौलो स्थान भएकाले अचेल वैवाहिक गन्तव्यको रूपमा गणनीय मानिन्छ । सलहेश फूलबारीमा विवाहोत्सव आयोजनाका लागि अतिरिक्त व्ययभार बहन गर्नु पर्दैन । यो खुल्ला स्थानमा भएकाले विशेष केही साजशृंगार गर्नु पर्दैन ।
राजा सलहेश र दौना मालिनी दुवैको लोकप्रिय मिलनस्थलको रूपमा बहुचर्चित स्थान भएकाले अचेलको वैवाहिक जोडीका लागि प्रिय गन्तव्यस्थलको रूपमा धेरै लोकप्रय हुँदै गएको छ तर यसलाई व्यवस्थित र व्यावहारिक बनाउन सकिन्छ र स्थानीय संघसंस्थाभन्दा लहान नगरपालिकाको महŒवपूर्ण भूमिका हुन सक्छ । हुन त यस फूलबारीमा आयोजित महोत्सव एकदिनका लागि मात्रै हुने गर्दछ अर्थात् प्रत्येक सालको वैशाख महिनाको पहिलो दिन अर्थात् विक्रम संवत्को पहिलो दिन । अर्थात् नेपालको लागि नयाँ वर्ष तर वैवाहिक गन्तव्य र प्रेमीप्रेमिकाको मिलनस्थलको रूपमा सर्वाधिक लोकप्रिय गन्तव्य ।
नेपालमात्र होइन, छिमेकी मुलुक भारतबट पनि प्रेमीप्रेमिका आउँछन् वा वैवाहिक बन्धनमा बाँधिने गर्दछन् । उपरोक्त तीनवटै स्थल विवाहको सर्वोत्कृष्ट गन्तव्यको रूपमा प्रसिद्ध छन् तर तराई मधेसका सम्पन्न मानिस अचेल महँगामहँगा होटलहरूमा वैवाहिक संस्कार सम्पन्न गर्न लालायित हुन्छन् । यस्ता महŒवपूर्ण वैवाहिक स्थलहरूको बेवास्ता गर्दछन् जुन अन्यन्त सोचनीय र संवेदनशील कुरा हुन गएको छ । म पनि नातिनी डा. रीमा शाहको वैवाहिक संस्कार छेकाका लागि वीरगन्ज सपरिवार पुगें ।
केटा पक्षको आग्रहमा हामी वीरगन्ज पुग्यौं । हुन त केटा पक्ष पनि वीरगन्जको होइन । उनीहरू सर्लाही नवलपुरका नयाँ बासिन्दा हुन् । उनको पारिवारिक थातथलो सर्लाहीकै पिराडी भन्ने गाउँ हो । उनीहरूको आग्रह र अनुरोधमा यो छेका वैवाहिक रीतिरिवाज सम्पन्न गर्न वीरगन्ज पुग्न बाध्य भयौं र यसमा हामीहरूको र उनीहरूको पक्षबाट बहुसंख्यक आमन्त्रितहरूको उपस्थितिमा यो वैवाहिक संस्कार सम्पन्न भएकोमा हामी सन्तुष्ट छौं र उनीहरू पनि । हुन त हामीहरूका लागि वीरगन्ज अलि गर्मी ठाउँ सावित भए पनि सहन योग्य र सुविधा सम्पन्न नै मान्न सकिन्छ किनभने हामी पनि सर्लाही जिल्लाको सिसौटियाका बासिन्दा हौं र अहिले पनि घरवार र खेतीपाती त्यहीँ छ ।
प्रतिक्रिया दिनुहोस !