बिनाआगो पनि जलाउन र गलाउन सक्ने रहेछ सन्तानको पीडाले।
सरस्वती ज्ञवालीद्वारा लिखित तेस्रो पुस्तक हो, ‘क्षितिज, आमा र धरती’ । उनको पहिलो कृति ‘लालटिनको उज्यालो’मा पढेको र उहाँको लेखाइमा कुनै कृत्रिमता हुँदैन । आफैंमा सबैका लागि एक आदर्श नारी पनि हुन् उनी । खदिलो र पेसेवर लेखक भन्दा हुन्छ किनकि अब्बल लेखन शैलीले पाठकलाई आकर्षित गर्नेछ । देशको राजनीतिक परिवर्तनका लागि लागेको राजनीतिक सिपाहीको श्रीमतीको रूपमा उनले जीवनका संघर्षका पलहरूलाई पुस्तकमा उतारेकी छन् । श्रीमान् राजनीतिक सफलताको उचाइमा पुग्नुमा उनको ठूलो देन छ थाहा छैन तर अहिलेको राजनीति नीति, निष्ठा, समर्पण, त्याग, सरलता, सिद्धान्तप्रतिको लगावमा केन्द्रित छ ।
तर पहिला पहिला राजनीति गर्नेहरू साँच्चै समाजमा आदरणीय लाग्थे । उनीहरू समाज रूपान्तरणका लागि सैद्वान्तिक बहस तथा तर्क गर्दै जीवनलाई पनि सोही बमोजिम पालना गर्दथे । पुस्तक पल्टाउँदै गर्दा मान्छेको जीवन कापीका सादा पाना जस्तै त रहेछ नि ! केही नलेखेर राख्ने हो भने वर्षौंसम्म पनि खाली नै रहने । आफूभित्र लुकेर रहेका हजारौं भावना र विचारका पाटाहरूलाई बन्दाको पत्र जस्तै एक एक गर्दै खोल्दै र लेख्दै जान सकिन्छ । पाकेको अनारको दाना जस्तै रसिलो भएर कला र साहित्यरूपी उडान भर्दै दूर क्षितिजसम्म पुग्न सक्ने ! (पृष्ठ २–३) ।
यी हरफमा आएर घोरिरहें तर यसको अर्थ बुझ्न पूरै पुस्तक पढेपछि छर्लंग भयो । पच्चीस शीर्षक रहेको यो पुस्तकको नाम कुनै शीर्षकसँग मेल खादैन । तर उनै आमा–छोरीको यस धरतीमा रहेको संघर्षको सिलसिलाबद्व लिपि भएकाले पुस्तक पढ्दै गएपछि पुस्तकको नाम पनि बढो सान्दर्भिक छ । सायद प्रहरीको खानतलासी नआएको भए यो पुस्तक जन्मने नै थिएन होला । लेखिकाको जीवनले अर्कै मोड लिने पनि थियो होला । छोरी अपांगता हुनुमा तत्कालिन निरंकुश राजनीतिक प्रणाली र त्यसका विरुद्वमा राजनीतिक परिवर्तनका लागि भइरहेको संघर्षमा लेखिकाको जीवन प्रत्यक्ष जोडिन्छ ।
एकै पटक कतिवटा जिम्मेवारी वहन गरेकी रहेछिन् भनेर पनि यसबाटै थाहा हुन्छ । अपांगता भएकी छोरीको हेरचाह, पारिवारिक खर्च धान्न शिक्षिका, सासुससुराको रखबार एवं श्रीमान्को राजनीतिक करियरको निरन्तरताका लागि जिम्मेवारी निर्वाह । श्रीमान् सधैं भूमिगत अनि घरको सबै जिम्मेवारी उनकै काँधमा । त्यसमाथि आइलाग्यो अपांगता भएकी छोरीको जन्म । श्रीमान्को सुरक्षाका खातिर कागजातहरू लुकाउने क्रममा भर्याङबाट लडेको कारण पेटमा रहेको बच्चाको मस्तिष्कमा परेर छोरीलाई असर परेको थाहा हुन्छ । यसरी जिन्दगीले नै अर्को मोडमा धकेलिदिन्छ । त्यसपछि उनको अर्कै खाले दुःख र कष्टका कहानी छन् ।
छोरीलाई निको हुन्छ कि भन्ने आशमा अस्पतालहरू तथा अन्य कुनै विकल्पहरू छन् कि भनी धाउनुपर्छ उनले । फेरि सन्तानका लागि एउटी आमाले केसम्म गर्न बाँकी राख्दैन ? जसको साक्षी उनी हुन् । ‘एउटा सन्तानका लागि आमाले जीवनमा कति धेरै कष्ट खप्नुपर्छ र अपमानका घुट्का पिएर जिउनुपर्छ भन्ने कुराका एउटा साक्षी म पनि हुँ । अपांगता भएका सन्तानका आमाका त्यस्ता पीडामा पनि नुनचुक छर्ने धेरै मानिस हाम्रै समाजमा छन् भन्नुपर्दा निकै दुःख लाग्छ’, (पृष्ठ ८१) । यो वास्तविक पीडा एक प्रतिनिधि पात्रको रूपमा तर धेरै आमाहरूले भोगिरहेको कथा हो । एकातिर अपांगता भएकी सन्तानको हेरचाहको कष्टकर दैनिकी अनि अर्कोतिर भोलि म केही तलमाथि भएँ भने के हुने होला ? भन्ने मानसिक तनाव । पुस्तकले पीडा पोखिरहन्छ ।
‘रातदिन सन्तानको पिरचिन्तामा बिताएका आमाबाबुलाई सधैं समाजको समेत डर त्रासमा बाँच्नुपर्दाे रहेछ’ (पृष्ठ ९५) । यी वास्तविकताका लागि गतिलो चित्रण छ पुस्तकमा प्रस्तुति । किताब पढिरहँदा धेरै ठाउँमा आँखाबाट आँसु झरेको पत्तै हुँदैन । आर्थिक अवस्था कमजोर हुनु र त्यसमा पनि अपांगता भएको सन्तानको जन्म हुँदा आमालाई कति कष्ट होला ? त्यो बयान गरी साध्य हुँदैन रहेछ । त्यसमा पनि अपांगता भएको छोरा होइन, छोरी । थप कष्ट कति होला ? त्यसमा यौन दुव्र्यवहारदेखि बलात्कारसम्मका आपराधिक घटनाका समाचार बारम्बार सुन्नु पर्छ ।
पृष्ठ १२५ ले पढाउँछ, ‘आमाले त सन्तानको भाव र भाषा बुझ्ने सामथ्र्य राख्छन् । तर आमा भएर पनि नानीको भाषा बुझ्ने सामथ्र्य छैन मसँग । मानौं, ऊ संसारको सबैभन्दा कठिन भाषा बोल्छे । उसको अनुहारमा संसारको सबैभन्दा कठिन लिपी लेखिएको छ । जसलाई पढ्नु चानचुने कुरा होइन । मुटु जल्न आगो चाहिँदैन रहेछ । बिनाआगो पनि जलाउन र गलाउन सक्ने रहेछ सन्तानको पीडाले । न कसैसँग बाँड्न मिल्ने न त कसैलाई भन्न नै सकिने । नानीसँगको मेरो यो कस्तो सम्बन्ध हो ।’ कति पीडादायी वास्तविकता व्यक्त भएको छ एक भुक्तभोगी आमाबाट !
पुस्तकमा अपांगता शब्द एक, समस्या अनेक शीर्षकमा अपांगताका विभिन्न प्रकार र सोही अनुसारका जटिलताहरूको बारेमा व्यक्त गरेकी छन् उनले । जहाँ अपांगताका समस्याका गहिराइहरू त्यसको अवस्था अनुसार हुने गर्छ भन्ने कुरालाई अनुभव र त्यस्तै अपांगता भएका सन्तानका अभिभावकसँग संगतका विभिन्न उदाहरण छन् । कुन आमाबुवाले सन्तान अपांगता भएको जन्मोस् भन्छ र ? बस्, त्यो भवितव्य तथा परिस्थितिले गर्दा न हुने हो । लेखिकाको जीवनको यो वास्तविकता हो, उनले डाक्टरले अपांगता भएकी छोरीको दस वर्षको आयु भनेर तोके पनि छोरीको आयु तीन दशक भन्दा बढी पुर्याउन सकेको देखिन्छ उनै लेखिका आमाले ।
प्रतिक्रिया दिनुहोस !