आमा एक, अनुहार अनेक

अनुभूति

आमा एक, अनुहार अनेक

बिनाआगो पनि जलाउन र गलाउन सक्ने रहेछ सन्तानको पीडाले।

सरस्वती ज्ञवालीद्वारा लिखित तेस्रो पुस्तक हो, ‘क्षितिज, आमा र धरती’ । उनको पहिलो कृति ‘लालटिनको उज्यालो’मा पढेको र उहाँको लेखाइमा कुनै कृत्रिमता हुँदैन । आफैंमा सबैका लागि एक आदर्श नारी पनि हुन् उनी । खदिलो र पेसेवर लेखक भन्दा हुन्छ किनकि अब्बल लेखन शैलीले पाठकलाई आकर्षित गर्नेछ । देशको राजनीतिक परिवर्तनका लागि लागेको राजनीतिक सिपाहीको श्रीमतीको रूपमा उनले जीवनका संघर्षका पलहरूलाई पुस्तकमा उतारेकी छन् । श्रीमान् राजनीतिक सफलताको उचाइमा पुग्नुमा उनको ठूलो देन छ थाहा छैन तर अहिलेको राजनीति नीति, निष्ठा, समर्पण, त्याग, सरलता, सिद्धान्तप्रतिको लगावमा केन्द्रित छ ।

तर पहिला पहिला राजनीति गर्नेहरू साँच्चै समाजमा आदरणीय लाग्थे । उनीहरू समाज रूपान्तरणका लागि सैद्वान्तिक बहस तथा तर्क गर्दै जीवनलाई पनि सोही बमोजिम पालना गर्दथे । पुस्तक पल्टाउँदै गर्दा मान्छेको जीवन कापीका सादा पाना जस्तै त रहेछ नि ! केही नलेखेर राख्ने हो भने वर्षौंसम्म पनि खाली नै रहने । आफूभित्र लुकेर रहेका हजारौं भावना र विचारका पाटाहरूलाई बन्दाको पत्र जस्तै एक एक गर्दै खोल्दै र लेख्दै जान सकिन्छ । पाकेको अनारको दाना जस्तै रसिलो भएर कला र साहित्यरूपी उडान भर्दै दूर क्षितिजसम्म पुग्न सक्ने ! (पृष्ठ २–३) ।

यी हरफमा आएर घोरिरहें तर यसको अर्थ बुझ्न पूरै पुस्तक पढेपछि छर्लंग भयो । पच्चीस शीर्षक रहेको यो पुस्तकको नाम कुनै शीर्षकसँग मेल खादैन । तर उनै आमा–छोरीको यस धरतीमा रहेको संघर्षको सिलसिलाबद्व लिपि भएकाले पुस्तक पढ्दै गएपछि पुस्तकको नाम पनि बढो सान्दर्भिक छ । सायद प्रहरीको खानतलासी नआएको भए यो पुस्तक जन्मने नै थिएन होला । लेखिकाको जीवनले अर्कै मोड लिने पनि थियो होला । छोरी अपांगता हुनुमा तत्कालिन निरंकुश राजनीतिक प्रणाली र त्यसका विरुद्वमा राजनीतिक परिवर्तनका लागि भइरहेको संघर्षमा लेखिकाको जीवन प्रत्यक्ष जोडिन्छ ।

मुलुकको राजनीतिक परिवर्तनका लागि उनले एक छोरीको सपांगता खोसिनु पर्‍यो । त्यो पीडाको गहिराइ केवल हामीले अनुमान मात्र गर्न सक्छौं तर उनी हरेक पल त्यसको साक्षी हुन् । यो पुस्तक नै क्षितिज छोरीको जन्मदेखि आजसम्मका जीवनका उकाली–ओराली र त्यसका लागि लेखिकाको संघर्षको कहानी हो, वास्तविकताको चित्रण हो । श्रीमान्को राजनीतिप्रतिको त्यो लगाव र त्यसमा लेखिकाको पूर्ण सहयोग र त्याग अर्को अनुकरणीय पक्ष छ । जति अप्ठ्यारो परिस्थिति आए पनि सकेसम्म आफैंले संघर्ष गर्ने श्रीमान्लाई पूर्णरूपमा मुलुकको राजनीतिक परिवर्तनमा लागेको संघर्षमा बाधा अवरोध होला कि भनेर सचेत राजनीतिक क्रान्तिकारी नारीको भूमिका निर्वाह गरेको पनि यसमा पाइन्छ ।

एकै पटक कतिवटा जिम्मेवारी वहन गरेकी रहेछिन् भनेर पनि यसबाटै थाहा हुन्छ । अपांगता भएकी छोरीको हेरचाह, पारिवारिक खर्च धान्न शिक्षिका, सासुससुराको रखबार एवं श्रीमान्को राजनीतिक करियरको निरन्तरताका लागि जिम्मेवारी निर्वाह । श्रीमान् सधैं भूमिगत अनि घरको सबै जिम्मेवारी उनकै काँधमा । त्यसमाथि आइलाग्यो अपांगता भएकी छोरीको जन्म । श्रीमान्को सुरक्षाका खातिर कागजातहरू लुकाउने क्रममा भर्‍याङबाट लडेको कारण पेटमा रहेको बच्चाको मस्तिष्कमा परेर छोरीलाई असर परेको थाहा हुन्छ । यसरी जिन्दगीले नै अर्को मोडमा धकेलिदिन्छ । त्यसपछि उनको अर्कै खाले दुःख र कष्टका कहानी छन् ।

छोरीलाई निको हुन्छ कि भन्ने आशमा अस्पतालहरू तथा अन्य कुनै विकल्पहरू छन् कि भनी धाउनुपर्छ उनले । फेरि सन्तानका लागि एउटी आमाले केसम्म गर्न बाँकी राख्दैन ? जसको साक्षी उनी हुन् । ‘एउटा सन्तानका लागि आमाले जीवनमा कति धेरै कष्ट खप्नुपर्छ र अपमानका घुट्का पिएर जिउनुपर्छ भन्ने कुराका एउटा साक्षी म पनि हुँ । अपांगता भएका सन्तानका आमाका त्यस्ता पीडामा पनि नुनचुक छर्ने धेरै मानिस हाम्रै समाजमा छन् भन्नुपर्दा निकै दुःख लाग्छ’, (पृष्ठ ८१) । यो वास्तविक पीडा एक प्रतिनिधि पात्रको रूपमा तर धेरै आमाहरूले भोगिरहेको कथा हो । एकातिर अपांगता भएकी सन्तानको हेरचाहको कष्टकर दैनिकी अनि अर्कोतिर भोलि म केही तलमाथि भएँ भने के हुने होला ? भन्ने मानसिक तनाव । पुस्तकले पीडा पोखिरहन्छ ।

‘रातदिन सन्तानको पिरचिन्तामा बिताएका आमाबाबुलाई सधैं समाजको समेत डर त्रासमा बाँच्नुपर्दाे रहेछ’ (पृष्ठ ९५) । यी वास्तविकताका लागि गतिलो चित्रण छ पुस्तकमा प्रस्तुति । किताब पढिरहँदा धेरै ठाउँमा आँखाबाट आँसु झरेको पत्तै हुँदैन । आर्थिक अवस्था कमजोर हुनु र त्यसमा पनि अपांगता भएको सन्तानको जन्म हुँदा आमालाई कति कष्ट होला ? त्यो बयान गरी साध्य हुँदैन रहेछ । त्यसमा पनि अपांगता भएको छोरा होइन, छोरी । थप कष्ट कति होला ? त्यसमा यौन दुव्र्यवहारदेखि बलात्कारसम्मका आपराधिक घटनाका समाचार बारम्बार सुन्नु पर्छ ।

पृष्ठ १२५ ले पढाउँछ, ‘आमाले त सन्तानको भाव र भाषा बुझ्ने सामथ्र्य राख्छन् । तर आमा भएर पनि नानीको भाषा बुझ्ने सामथ्र्य छैन मसँग । मानौं, ऊ संसारको सबैभन्दा कठिन भाषा बोल्छे । उसको अनुहारमा संसारको सबैभन्दा कठिन लिपी लेखिएको छ । जसलाई पढ्नु चानचुने कुरा होइन । मुटु जल्न आगो चाहिँदैन रहेछ । बिनाआगो पनि जलाउन र गलाउन सक्ने रहेछ सन्तानको पीडाले । न कसैसँग बाँड्न मिल्ने न त कसैलाई भन्न नै सकिने । नानीसँगको मेरो यो कस्तो सम्बन्ध हो ।’ कति पीडादायी वास्तविकता व्यक्त भएको छ एक भुक्तभोगी आमाबाट !

पुस्तकमा अपांगता शब्द एक, समस्या अनेक शीर्षकमा अपांगताका विभिन्न प्रकार र सोही अनुसारका जटिलताहरूको बारेमा व्यक्त गरेकी छन् उनले । जहाँ अपांगताका समस्याका गहिराइहरू त्यसको अवस्था अनुसार हुने गर्छ भन्ने कुरालाई अनुभव र त्यस्तै अपांगता भएका सन्तानका अभिभावकसँग संगतका विभिन्न उदाहरण छन् । कुन आमाबुवाले सन्तान अपांगता भएको जन्मोस् भन्छ र ? बस्, त्यो भवितव्य तथा परिस्थितिले गर्दा न हुने हो । लेखिकाको जीवनको यो वास्तविकता हो, उनले डाक्टरले अपांगता भएकी छोरीको दस वर्षको आयु भनेर तोके पनि छोरीको आयु तीन दशक भन्दा बढी पुर्‍याउन सकेको देखिन्छ उनै लेखिका आमाले ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.