बुवाको मुख हेर्ने दिन

बाबा कदमसँग मेरा कदम

बाबा कदमसँग मेरा कदम

यसबेला हाम्रो आँगनमा खिचेको फोटो हाम्रो सम्झनाको साक्षी बनेको छ। यस कालजयी गीतका रचनाकार, संगीतकार र गायिका कोही पनि हामीमाझ हुनुहुन्न। छ त केवल तस्बिर।

बुवाको मुख हेर्ने दिन आज । बाबाको साथ हुँदाका पलहरू ताजा भएर आए । करिब पाँच वर्ष हुन लाग्यो, बाबाको साथ छुटेको । हाम्रा बाबा भैरवनाथ रिमाल ‘कदम’ वरिष्ठ गीतकार बनेर चिनिनु भयो । जसका राष्ट्रिय गीत, आधुनिक गीतहरू र भजन गरी करीब दुई हजार गीतहरू रेडियो नेपालमा रेकर्ड भएका छन् ।

बाबाका दर्जनौं गीत, कविता संग्रह र खण्डकाव्यहरू प्रकाशित छन् । बाबा देशकै अमूल्य स्रष्टामध्ये एक हुनुहुन्थ्यो । जसको साहित्यिक यात्रालाई अघि बढाउन मेरी आमाले धेरै त्याग र तपस्या गर्नु भएको थियो । उहाँहरूको विवाह हुँदा आमा ९ वर्ष अनि बाबा १२ वर्षको हुँदा भएको थियो रे !

नुवाकोट, थानसिङबाट विवाह गरेर काठमाडौं ल्याइएकी एक अबोध बालिका मेरी आमा बाबाको संयुक्त परिवारमा पर्नु भयो । अनि बहुविवाहको छुट पाएको समाजमा डटेर अघि बढ्नु भयो । परिवारको रूपरेखा ठूलो थियो रे ! संघर्ष गर्दै लड्दै, उठ्दै, सिक्दै बाबालाई साथ दिइरहनुभएछ उहाँले । समयक्रममा पाँच सन्तान भए । बाबाको पनि सानोतिनो भए पनि सरकारी जागिर भयो । घर, सन्तान सबै आमाको जिम्मा । बाबा आयआर्जनमा तर बाँकी समय साहित्य सिर्जनामा । आमाले छोराछोरी सक्षम भएर सुखको अनभूति गर्नै नपाइँ हामीलाई छाडेर भगवान्को प्यारो हुनुभयो । त्यसपछि बाबाको एक्लो यात्रा सुरु भयो अनि अनगिन्ती बिछोडका भावहरूका सिर्जना जन्मिए । उहाँको साहित्यिक यात्रा बिछोडमा झन् मौलायो । एक्लोपनको साथी बन्यो सिर्जना ।

छोराछोरीको सक्षमताको सुखानूभूति गर्न आमाले पाउनु भएन तर बाबाले भने पाउनु भयो । ती दिनमा म बूढानीलकण्ठ स्कुलमा काम गर्थें । फुर्सद कमै हुन्थ्यो तर बाबाका लागि समय छुट्ट्याउँथे । बुवाको मुख हेर्ने दिनताका उहाँलाई बजार लग्थें । किनकि मन परेका सामान किन्ने सूची उहाँसँग हुन्थ्यो । बाउछोरी पसल–पसल चहारी सबै कुरा किन्थ्यौं । बाबाका सामान सामान्य हुन्थे, त्यो त मसँग घुम्ने बहाना मात्र हुन्थ्यो । बाबा आफ्ना सामान बोकेर प्रसन्न अनुहारमा हिँड्दा मलाई अपार खुसी मिल्दथ्यो ।

साँच्चै, आमासँगको बिछोडपछि बाबा हामी छोराछोरीकै समूहमा मिसिनु भयो । हामी बाबाको जिम्मेवारी बन्न सकेनौं होला तर बाबा हाम्रो जिम्मेवारी बन्नुभयो । लाग्थ्यो, उहाँ हामी सबैभन्दा सानो अनि अति प्यारो हुनुहुन्छ । सानो कुरामा पनि धेरै खुसी हुनुहुन्थ्यो । आज पनि त्यो दिन आउँदा बाबासँग किनमेल गर्दाको पल सम्झन्छु, रमाउँछु । साथै भएको भान हुन्छ ।

२०७७ पुस २५ गते अपराह्न बाबा भैरवनाथ रिमाल कदमको स्वर्गारोहण भयो । उहाँको मृत्यु समाचार बन्यो । जताततै उहाँका गीतहरूको चर्चा हुन थाल्यो । उहाँको साहित्यको प्रशंसा  हुन थाल्यो । शब्द, स्वर र संगीतले जन्माएको परिचयको उचाइ सगरमाथा झैं भयो । त्यसबेला ती कालजयी गीतहरू कसरी सिर्जना भएका थिए भन्ने समयको स्मरण हुन पुग्यो । करिब चार दशकभन्दा अगाडिको कुरा हो । जतिबेला हाम्रो बाबाको स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यसँग गहिरो मित्रता थियो । उहाँ हाम्रो चाबहिल बुलबुलेस्थित घरमा प्रायः आउनुहुन्थ्यो अनि बाबाको कोठामा भएको हार्माेनियम बजाइरहनुहुन्थ्यो ।

हामीलाई राम्रोसँग सम्झना छ, जतिबेला अरुणा लामाले बाबाको ‘उदास मेरो जीवन कथा कसैलाई भनिनँ’ बोलको गीत रेकर्ड गर्नुुभयो । रेकर्डपूर्व हाम्रो घरको त्यो सानो कोठामा नारायणगोपालले हार्माेनियम बजाउँदै अरुणा लामालाई पटक–पटक अभ्यास गराउनु भएको थियो । त्यो समयमा गीतको सिर्जना गर्न शब्द, संगीत र स्वरमात्र हुन्थ्यो । अभ्यासले गीतमा मिठास ल्याउँथ्यो । अहिले जस्तो अन्य कुनै प्रविधि थिएन । त्यसबेला हाम्रो आँगनमा खिचेको फोटो हाम्रो सम्झनाको साक्षी बनेको छ । यस कालजयी गीतका रचनाकार, संगीतकार र गायिका कोही पनि हामीमाझ हुनुहुन्न । छ त केवल तस्बिर ।

उहाँहरूले अभ्यास गर्दा ससाना हामीहरूलाई रमाइलो लाग्थ्यो, हामी ढोकाको चेपबाट चियाएर हेथ्र्यौं । संगीतकार, गायकहरू आउने दिन आमाले मीठा–मीठा खाजा बनाउनुहुन्थ्यो । हामीलाई ती दिनहरू असाध्यै रमाइलो लाग्थ्यो किनकि मीठा परिकार खान पाउने अनि अरूहरूले रेडियोमा स्वर मात्र सुनेका र तस्बिरमा मात्र देखेका व्यक्तित्वलाई हामीले अंकल वा अन्टी भन्न पाउँथ्यौं । अहिलेसम्म बडो गर्व लाग्छ ।

संगीत प्रवीण कोइलीदेवी कुनै समय हाम्रो घरको तल्लो तलामा बस्नु हुन्थ्यो । त्यहीबेला उदितनारायण झा भर्खर राजविराजबाट काठमाडौं आउनुभयो । अनि रेडियो नेपालमा गीत रेकर्ड गर्न प्रयासरत रहँदा उहाँ पनि हाम्रो घरमा आउनुहुन्थ्यो । हामी उहाँलाई उदित दाइ भनेर सम्बोधन गथ्र्यौं । उहाँ भने हाम्रो बाबालाई दाइ भन्नुहुन्थ्यो । उहाँको काठमाडौं बसाइको कठिन समयमा बाबाआमाले धेरै मद्दत गर्नु भयो । उहाँले कोइलीदेवीको संगीतमा बाबाको गीत पनि गाउनु भएको थियो ।

बाबाको मनपर्ने गायकमध्ये एक दीप श्रेष्ठ हुनुहन्छ । उहाँसँगको मित्रताले दाइभाइको रूप लिएको छ । दीपले गाएको ‘हुँ यात्री एउटा रुमल्ली हिँड्ने अँधेरी रातमा, हुँ यात्री एउटा कहानी लेख्ने जंगली पातमा’ गीत उहाँको प्रिय हो भनिरहनुहुन्थ्यो । बाबाले त्यो गीत उहाँ १५ वर्षको उमेरमा हुँदा लेखेको रे ! बाबाको साहित्यिक तथा गीतियात्राका सहयात्रीहरू स्रष्टासँगका अनमोल पलहरू मानसपटलमा अनगिन्ती छन् ।

२२ वर्षअगाडि आमाले छोडेर गएपछि हाम्रा लागि बाबा नै आमा अनि बाबा बन्नुभयो । हामीलाई आमाको अभाव नहोस् भनी प्रयास गरिरहनुहुन्थ्यो । उहाँ भने आफ्नो एक्लोपनलाई सायद कविता तथा भजनमा व्यक्त गर्नुहुन्थ्यो । हरदम शब्दसँगै रमाउने उहाँको बानी थियो । कान नसुन्ने भएकाले उहाँसँग भेट गर्न आउने व्यक्तिहरूले उहाँसँग कापीमा लेखेर कुरा गर्थे । उहाँको नजिकै टेबलमाथि क्लिपबोर्ड त्यसमा कागजका पानाहरू च्यापिएका र एक कलम हुन्थ्यो । जसमा लेखेर कुरा हुन्थ्यो । हामीलाई त्यो बेला हेक्का भएन तर अहिले लाग्छ कि त्यो लेखेर कुरा गरेको संवाद विभिन्न स्रष्टाहरूको इतिहास बन्थ्यो । हस्तलिपिको नमुना बन्थ्यो ।

साधा जीवन र उच्च विचारलाई पहिल्याई सरल जीवन जिउने, हरेकपल सकारात्मक सोच राखी कहिले नातिनातिनासँग खेल्दै कहिले शब्दसँग खेल्दै बाबाको समय बितिरहेको थियो । अचानक विश्वभर प्रभाव पारेको कोरोनाको कहरका कारण उहाँ घरभित्रै पर्नुुभयो । विस्तारै विस्तारै उहाँ बिरामी पर्न थाल्नुभयो । पहिला उहाँलाई विस्मृतिले पछ्याउँदै गयो । जसले गर्दा उहाँलाई बाल्यकालमात्र सम्झना हुने तर वर्तमानका बालबच्चालाई भने नचिन्ने हुनुभयो ।

कान नसुन्ने भए पनि हामीले ठूलो आवाजमा उहाँसँग कहिल्यै बोल्नु परेन । उहाँ हाम्रो ओठको भाषा बुझ्नुहुन्थ्यो । आँखाको भाका बुझ्नुहुन्थ्यो, अनुहारको भाव बुझ्नुहुन्थ्यो । विस्मृति (बिर्सने रोग) अचम्मको रोग रहेछ । छोराछोरी बिर्सने, खान बिर्सने, भर्खर खाएको बिर्सने आदि । त्यहीकारण उहाँले हामीलाई बिर्सनुभयो, खान बिर्सनुभयो, अनि हिँड्न पनि बिर्सनुभयो ।

समयले कोल्टे फेर्‍यो, हामी उहाँको अभिभावक बन्यौं । उहाँलाई खुवाउने, डोर्‍याउने, सुताउने आदि हाम्रो दिनचर्या बन्यो । हामीलाई आशा थियो, उहाँलाई ठीक हुन्छ भनेर । हामीले सोचेजस्तो भएन । उहाँको शरीर कमजोर हुँदै गयो, कान त कमजोर छँदै थियो । दृष्टि पनि कमजोर हुँदै गयो । उहाँ र हाम्रो कुरा गर्ने माध्यम स्पर्शमात्र भयो । हाम्रो हातको स्पर्श पाउँदा बलियोसँग समात्नु हुन्थ्यो सायद उहाँलाई हाम्रो साथ छुट्ने डर थियो । तिनै औंलाहरूले कलम चलाएर लाखौंको मनमा बस्न सकेका मेरा बाबाको औंलाले हाम्रो हात मजबुत समाएका थिए, जीवनको अन्तिम समयसम्म ।

भगवान्को इच्छा त्यही थियो, सायद उहाँको औंला फुस्कियो, स्पर्श छुट्यो, साथ छुट्यो, उहाँको श्वास रोकियो । अनि हामी सन्ततिका बाबा, देशलाई माया गर्ने साहित्यकार अनि एक गीतकारको जीवन अन्त्य भयो । आज उहाँ हाम्रो साथ हुनुहुन्न तर गीतका शब्द बनेर आज पनि गुञ्जिरहनु भएको छ । सबैको मनमा गीतको लय बनेर छाउनु भएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.