यसबेला हाम्रो आँगनमा खिचेको फोटो हाम्रो सम्झनाको साक्षी बनेको छ। यस कालजयी गीतका रचनाकार, संगीतकार र गायिका कोही पनि हामीमाझ हुनुहुन्न। छ त केवल तस्बिर।
बुवाको मुख हेर्ने दिन आज । बाबाको साथ हुँदाका पलहरू ताजा भएर आए । करिब पाँच वर्ष हुन लाग्यो, बाबाको साथ छुटेको । हाम्रा बाबा भैरवनाथ रिमाल ‘कदम’ वरिष्ठ गीतकार बनेर चिनिनु भयो । जसका राष्ट्रिय गीत, आधुनिक गीतहरू र भजन गरी करीब दुई हजार गीतहरू रेडियो नेपालमा रेकर्ड भएका छन् ।
बाबाका दर्जनौं गीत, कविता संग्रह र खण्डकाव्यहरू प्रकाशित छन् । बाबा देशकै अमूल्य स्रष्टामध्ये एक हुनुहुन्थ्यो । जसको साहित्यिक यात्रालाई अघि बढाउन मेरी आमाले धेरै त्याग र तपस्या गर्नु भएको थियो । उहाँहरूको विवाह हुँदा आमा ९ वर्ष अनि बाबा १२ वर्षको हुँदा भएको थियो रे !
नुवाकोट, थानसिङबाट विवाह गरेर काठमाडौं ल्याइएकी एक अबोध बालिका मेरी आमा बाबाको संयुक्त परिवारमा पर्नु भयो । अनि बहुविवाहको छुट पाएको समाजमा डटेर अघि बढ्नु भयो । परिवारको रूपरेखा ठूलो थियो रे ! संघर्ष गर्दै लड्दै, उठ्दै, सिक्दै बाबालाई साथ दिइरहनुभएछ उहाँले । समयक्रममा पाँच सन्तान भए । बाबाको पनि सानोतिनो भए पनि सरकारी जागिर भयो । घर, सन्तान सबै आमाको जिम्मा । बाबा आयआर्जनमा तर बाँकी समय साहित्य सिर्जनामा । आमाले छोराछोरी सक्षम भएर सुखको अनभूति गर्नै नपाइँ हामीलाई छाडेर भगवान्को प्यारो हुनुभयो । त्यसपछि बाबाको एक्लो यात्रा सुरु भयो अनि अनगिन्ती बिछोडका भावहरूका सिर्जना जन्मिए । उहाँको साहित्यिक यात्रा बिछोडमा झन् मौलायो । एक्लोपनको साथी बन्यो सिर्जना ।
छोराछोरीको सक्षमताको सुखानूभूति गर्न आमाले पाउनु भएन तर बाबाले भने पाउनु भयो । ती दिनमा म बूढानीलकण्ठ स्कुलमा काम गर्थें । फुर्सद कमै हुन्थ्यो तर बाबाका लागि समय छुट्ट्याउँथे । बुवाको मुख हेर्ने दिनताका उहाँलाई बजार लग्थें । किनकि मन परेका सामान किन्ने सूची उहाँसँग हुन्थ्यो । बाउछोरी पसल–पसल चहारी सबै कुरा किन्थ्यौं । बाबाका सामान सामान्य हुन्थे, त्यो त मसँग घुम्ने बहाना मात्र हुन्थ्यो । बाबा आफ्ना सामान बोकेर प्रसन्न अनुहारमा हिँड्दा मलाई अपार खुसी मिल्दथ्यो ।
साँच्चै, आमासँगको बिछोडपछि बाबा हामी छोराछोरीकै समूहमा मिसिनु भयो । हामी बाबाको जिम्मेवारी बन्न सकेनौं होला तर बाबा हाम्रो जिम्मेवारी बन्नुभयो । लाग्थ्यो, उहाँ हामी सबैभन्दा सानो अनि अति प्यारो हुनुहुन्छ । सानो कुरामा पनि धेरै खुसी हुनुहुन्थ्यो । आज पनि त्यो दिन आउँदा बाबासँग किनमेल गर्दाको पल सम्झन्छु, रमाउँछु । साथै भएको भान हुन्छ ।
२०७७ पुस २५ गते अपराह्न बाबा भैरवनाथ रिमाल कदमको स्वर्गारोहण भयो । उहाँको मृत्यु समाचार बन्यो । जताततै उहाँका गीतहरूको चर्चा हुन थाल्यो । उहाँको साहित्यको प्रशंसा हुन थाल्यो । शब्द, स्वर र संगीतले जन्माएको परिचयको उचाइ सगरमाथा झैं भयो । त्यसबेला ती कालजयी गीतहरू कसरी सिर्जना भएका थिए भन्ने समयको स्मरण हुन पुग्यो । करिब चार दशकभन्दा अगाडिको कुरा हो । जतिबेला हाम्रो बाबाको स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यसँग गहिरो मित्रता थियो । उहाँ हाम्रो चाबहिल बुलबुलेस्थित घरमा प्रायः आउनुहुन्थ्यो अनि बाबाको कोठामा भएको हार्माेनियम बजाइरहनुहुन्थ्यो ।
हामीलाई राम्रोसँग सम्झना छ, जतिबेला अरुणा लामाले बाबाको ‘उदास मेरो जीवन कथा कसैलाई भनिनँ’ बोलको गीत रेकर्ड गर्नुुभयो । रेकर्डपूर्व हाम्रो घरको त्यो सानो कोठामा नारायणगोपालले हार्माेनियम बजाउँदै अरुणा लामालाई पटक–पटक अभ्यास गराउनु भएको थियो । त्यो समयमा गीतको सिर्जना गर्न शब्द, संगीत र स्वरमात्र हुन्थ्यो । अभ्यासले गीतमा मिठास ल्याउँथ्यो । अहिले जस्तो अन्य कुनै प्रविधि थिएन । त्यसबेला हाम्रो आँगनमा खिचेको फोटो हाम्रो सम्झनाको साक्षी बनेको छ । यस कालजयी गीतका रचनाकार, संगीतकार र गायिका कोही पनि हामीमाझ हुनुहुन्न । छ त केवल तस्बिर ।
उहाँहरूले अभ्यास गर्दा ससाना हामीहरूलाई रमाइलो लाग्थ्यो, हामी ढोकाको चेपबाट चियाएर हेथ्र्यौं । संगीतकार, गायकहरू आउने दिन आमाले मीठा–मीठा खाजा बनाउनुहुन्थ्यो । हामीलाई ती दिनहरू असाध्यै रमाइलो लाग्थ्यो किनकि मीठा परिकार खान पाउने अनि अरूहरूले रेडियोमा स्वर मात्र सुनेका र तस्बिरमा मात्र देखेका व्यक्तित्वलाई हामीले अंकल वा अन्टी भन्न पाउँथ्यौं । अहिलेसम्म बडो गर्व लाग्छ ।
संगीत प्रवीण कोइलीदेवी कुनै समय हाम्रो घरको तल्लो तलामा बस्नु हुन्थ्यो । त्यहीबेला उदितनारायण झा भर्खर राजविराजबाट काठमाडौं आउनुभयो । अनि रेडियो नेपालमा गीत रेकर्ड गर्न प्रयासरत रहँदा उहाँ पनि हाम्रो घरमा आउनुहुन्थ्यो । हामी उहाँलाई उदित दाइ भनेर सम्बोधन गथ्र्यौं । उहाँ भने हाम्रो बाबालाई दाइ भन्नुहुन्थ्यो । उहाँको काठमाडौं बसाइको कठिन समयमा बाबाआमाले धेरै मद्दत गर्नु भयो । उहाँले कोइलीदेवीको संगीतमा बाबाको गीत पनि गाउनु भएको थियो ।
बाबाको मनपर्ने गायकमध्ये एक दीप श्रेष्ठ हुनुहन्छ । उहाँसँगको मित्रताले दाइभाइको रूप लिएको छ । दीपले गाएको ‘हुँ यात्री एउटा रुमल्ली हिँड्ने अँधेरी रातमा, हुँ यात्री एउटा कहानी लेख्ने जंगली पातमा’ गीत उहाँको प्रिय हो भनिरहनुहुन्थ्यो । बाबाले त्यो गीत उहाँ १५ वर्षको उमेरमा हुँदा लेखेको रे ! बाबाको साहित्यिक तथा गीतियात्राका सहयात्रीहरू स्रष्टासँगका अनमोल पलहरू मानसपटलमा अनगिन्ती छन् ।
२२ वर्षअगाडि आमाले छोडेर गएपछि हाम्रा लागि बाबा नै आमा अनि बाबा बन्नुभयो । हामीलाई आमाको अभाव नहोस् भनी प्रयास गरिरहनुहुन्थ्यो । उहाँ भने आफ्नो एक्लोपनलाई सायद कविता तथा भजनमा व्यक्त गर्नुहुन्थ्यो । हरदम शब्दसँगै रमाउने उहाँको बानी थियो । कान नसुन्ने भएकाले उहाँसँग भेट गर्न आउने व्यक्तिहरूले उहाँसँग कापीमा लेखेर कुरा गर्थे । उहाँको नजिकै टेबलमाथि क्लिपबोर्ड त्यसमा कागजका पानाहरू च्यापिएका र एक कलम हुन्थ्यो । जसमा लेखेर कुरा हुन्थ्यो । हामीलाई त्यो बेला हेक्का भएन तर अहिले लाग्छ कि त्यो लेखेर कुरा गरेको संवाद विभिन्न स्रष्टाहरूको इतिहास बन्थ्यो । हस्तलिपिको नमुना बन्थ्यो ।
साधा जीवन र उच्च विचारलाई पहिल्याई सरल जीवन जिउने, हरेकपल सकारात्मक सोच राखी कहिले नातिनातिनासँग खेल्दै कहिले शब्दसँग खेल्दै बाबाको समय बितिरहेको थियो । अचानक विश्वभर प्रभाव पारेको कोरोनाको कहरका कारण उहाँ घरभित्रै पर्नुुभयो । विस्तारै विस्तारै उहाँ बिरामी पर्न थाल्नुभयो । पहिला उहाँलाई विस्मृतिले पछ्याउँदै गयो । जसले गर्दा उहाँलाई बाल्यकालमात्र सम्झना हुने तर वर्तमानका बालबच्चालाई भने नचिन्ने हुनुभयो ।
कान नसुन्ने भए पनि हामीले ठूलो आवाजमा उहाँसँग कहिल्यै बोल्नु परेन । उहाँ हाम्रो ओठको भाषा बुझ्नुहुन्थ्यो । आँखाको भाका बुझ्नुहुन्थ्यो, अनुहारको भाव बुझ्नुहुन्थ्यो । विस्मृति (बिर्सने रोग) अचम्मको रोग रहेछ । छोराछोरी बिर्सने, खान बिर्सने, भर्खर खाएको बिर्सने आदि । त्यहीकारण उहाँले हामीलाई बिर्सनुभयो, खान बिर्सनुभयो, अनि हिँड्न पनि बिर्सनुभयो ।
समयले कोल्टे फेर्यो, हामी उहाँको अभिभावक बन्यौं । उहाँलाई खुवाउने, डोर्याउने, सुताउने आदि हाम्रो दिनचर्या बन्यो । हामीलाई आशा थियो, उहाँलाई ठीक हुन्छ भनेर । हामीले सोचेजस्तो भएन । उहाँको शरीर कमजोर हुँदै गयो, कान त कमजोर छँदै थियो । दृष्टि पनि कमजोर हुँदै गयो । उहाँ र हाम्रो कुरा गर्ने माध्यम स्पर्शमात्र भयो । हाम्रो हातको स्पर्श पाउँदा बलियोसँग समात्नु हुन्थ्यो सायद उहाँलाई हाम्रो साथ छुट्ने डर थियो । तिनै औंलाहरूले कलम चलाएर लाखौंको मनमा बस्न सकेका मेरा बाबाको औंलाले हाम्रो हात मजबुत समाएका थिए, जीवनको अन्तिम समयसम्म ।
भगवान्को इच्छा त्यही थियो, सायद उहाँको औंला फुस्कियो, स्पर्श छुट्यो, साथ छुट्यो, उहाँको श्वास रोकियो । अनि हामी सन्ततिका बाबा, देशलाई माया गर्ने साहित्यकार अनि एक गीतकारको जीवन अन्त्य भयो । आज उहाँ हाम्रो साथ हुनुहुन्न तर गीतका शब्द बनेर आज पनि गुञ्जिरहनु भएको छ । सबैको मनमा गीतको लय बनेर छाउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस !