विश्वकै सर्वोच्च शिखरको नाम हो, सगरमाथा। अर्थात्, ‘माउन्ट एभरेस्ट’। ठीक विपरीत, विश्वकै सबैभन्दा होचो भू–भागको नाम हो, मृतसागर। अर्थात्, ‘डेड सी’। विश्वको सर्वोच्च स्थानबाट विश्वको सबैभन्दा गहिरो ठाउँ पुग्यौं।
विश्वकै सर्वोच्च शिखरको नाम हो, सगरमाथा । अर्थात्, ‘माउन्ट एभरेस्ट’ । ठीक विपरीत, विश्वकै सबैभन्दा होचो भू–भागको नाम हो, मृतसागर । अर्थात्, ‘डेड सी’ । ८ हजार ८ सय ४८ मिटर (२९ हजार २९ फिट) अग्लो सगरमाथा नेपालमा छ । हामी नेपालीले विश्वसामु गर्व गर्ने यो विषयमा विश्वले नेपालको नाम लिएर गर्व गरिरहेको छ । र, उता इजरायलमा पर्ने डेड सीलाई लिएर विश्वले गर्व गर्छ किनकि त्यो ठाउँ समुद्र सतहभन्दा ४ सय ३० मिटर (१४ सय १२ फिट) गहिराइमा अवस्थित छ । हो,
यो उचाइको देश नेपालबाट त्यो गहिराइ पुग्यौं, हामी १९ नेपाली पत्रकार इजरायल सरकारको निम्तोमा ।
‘हाइएस्ट पिक’बाट ‘लोवेस्ट प्लेस’ पुग्दा
‘तपाईंहरू विश्वको सर्वोच्च स्थानबाट विश्वको सबैभन्दा गहिरो समुद्रमुनि अवस्थित भू–भाग डेड सी जाँदै हुनुहुन्छ’, नेपालका लागि इजरायलका राजदूत स्यामुलिक ए. बासले इजरायलको ‘एक्स्पोजर भिजिट’का लागि नेपाली सञ्चारकर्मीको ‘स्पेसल डेलिगेसन’का लागि बिदाइ गर्ने क्रममा भनेका थिए, ‘सदरमुकाम जेरुसलामको पुरानो सहर, नयाँ सहर तेल अविव र त्यहाँ इनोभेसन सेन्टर, याद वासेम होलोकास्ट, डेड सीलगायतका ठाउँ पुगेर इतिहास, भूगोल, विकास र आविष्कार आदिबारे ‘एक्सप्लोर’ गर्न सक्नु हुनेछ ।’
‘हाइएस्ट पिक’बाट उही पृथ्वीको अर्को गोलाद्र्धमा रहेको ‘लोवेस्ट प्लेस’ पुग्दैथियौं । जीवनका ५१ वर्ष बिताउँदा पनि आफ्नो देशमा रहेको विश्वकै सर्वोच्च स्थान सगरमाथा नटेकेको म (सम्भवतः हामी) अपरिचित भूमि इजरायलस्थित विश्वकै गहिरो भू–भाग मृतसागर टेक्दैथिएँ (थियौं) । त्यहाँ डुबुल्की मार्दैथियौं । यता नेपाल–चीनको सिमाना रहेको एभरेस्टबाट उता इजरायल, जोर्डन र प्यालेस्टाइनको सिमाना रहेको ‘डेड सी’मा पाइलो पर्दैथियो । यता हिउँ थुप्रिएको अत्यन्तै चिसो र अत्यन्तै कम अक्सिजन हुने चुचुरोबाट उता अत्यन्तै गर्मी, सुक्खा र वर्षैभरि घामले पोल्ने गहिरो ठाउँको अनुभव गर्दैथियौं । सगरमाथा साहसिक यात्राको पर्याय, मृतसागर चाहिँ ‘वेलनेस’ र ‘रिल्याक्सेसन’को पर्याय ।
विश्व मानचित्रमा इजरायल
मध्यपूर्वमा अवस्थित छ, इजरायल । इजिप्ट, जोर्डन, सिरिया, लेबनान, प्यालेस्टाइन देश र मेडिटेर्रनियन समुद्रले घेरिएको यो देश विषम भू–राजनीतिक एवं सामरिक जटिलता झेलिरहेको छ । त्यसैले राष्ट्रिय सुरक्षा र अस्तित्व रक्षा उसका प्राथमिकताका विषय छन् । लेबनान र सिरियाको सिमानामा इजरायलको गोलन हाइटस् रहेछ भने इजरायल, जोर्डन र प्यालेस्टाइनको सिमानामा रहेछ, मृतसागर । दुई भू–भागबीच २ सय ३५ किलोमिटर सडक दूरी छ । दुई तिहाइ क्षेत्र सन् १९६७ मा ६ दिनको युद्धपछि इजरायलले कब्जा गरेको रहेछ । बाँकी एक तिहाइ क्षेत्र पनि सन् २०२४ मा इजरायलले कब्जा गरेको रहेछ ।
संसारको एक आश्चर्य, मान्छेले चाहेर पनि डुब्न नसक्ने अनौठो महासागर ‘डेड सी’। किताबमा पढेका विश्वका यस्ता ठाउँ पुग्दाको मजा नै बेग्लै, अनुभूति नै भिन्दै। भूमध्य सागरको किनारमा अवस्थित इजरायल, जोर्डन र प्यालेस्टाइनको बीचको भू–भाग रहेछ, डेड सी। समुद्र सहतभन्दा ४ सय २९ मिटर गहिरो त्यो डेड सी विश्वकै ‘लोवेस्ट प्वाइन्ट’मा रहेछ।
कूटनीतिक सम्बन्ध स्थापित गरेकै वर्ष सन् १९६० मा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले इजरायल भ्रमण गरेको पाइन्छ । त्यसको ६ वर्षपछि इजरायलका तत्कालीन राष्ट्रपति जलमान साजारले नेपालको भ्रमण गरेको पाइन्छ । त्यसपछि सन् १९६८ तत्कालीन युवराज वीरेन्द्र वीरविक्रम शाहदेवले दुई साताको अध्ययन भ्रमण गरेको पाइन्छ । जेरुसलाम राजधानी रहेको इजरायलका सबैजसो सरकारी कार्यालय भने तेल अविवमा छन् । हिब्रु सरकारी कामकाजको भाषा भए पनि अरेबिक र अंग्रेजी भाषाको प्रयोग प्रशस्त छ । जहाँ अमेरिकी डलर फाट्टफुट्ट चले पनि सेकेलको प्रयोग मुख्य छ ।
इजरायल, ‘द मोडर्न स्टार्टअप नेसन’
तेल अविवले इजरायललाई ‘द मोडर्न स्टार्टअप नेसन’का रूपमा विश्वभर चिनाएको छ । ‘ग्लोबल इनोभेसन हब’का रूपमा चिनिने तेल अविवका ‘सिलिकन वादी’, ‘द ननस्टप सिटी’ र ‘स्टार्टअप नेसन्स बिटिङ हार्ट’ निकनेम छन् । विश्वको महँगो सहरमा पर्छ, तेल अविव । प्रतिव्यक्ति आयका दृष्टिले इजरायल १६औं स्थानमा छ । जसले गुगल, इन्टेल र माइक्रोसफ्टजस्ता विश्वप्रसिद्ध आईटी कम्पनीका लागि ६ हजारभन्दा बढी स्टार्टअप तयार पारेको छ । प्राविधिक लगानीमा विश्वलाई निकै मजाले प्रभावित पारेको यो देशले विश्व साइबर सेक्युरिटी प्रविधिको १० प्रतिशत ‘निर्यात’ गर्छ । कतिसम्म भने हार्डवर्ड, अक्सफोर्ड, कोलम्बिया, पिन्स्र्टन, जर्जटाउन, मेसेच्युट इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) जस्ता विश्वविद्यालयबाट लामो अनुभव बटुलेका धेरै प्राध्यापकलाई इजरायलले आफ्नै देशको यो ‘रिसर्च एन्ड डेभलपमेन्ट’मा समेटेको छ ।
खासमा इजरायल कसरी ‘स्टार्ट–अप नेसन’ बन्यो भन्ने कथा एकदमै रोचक छ । यो कुनै एक कारणले होइन, बरु संस्कृति, आवश्यकता, सरकारी नीति र वैश्विक परिस्थितिहरूको एक अद्वितीय संयोजनको परिणामले हो । इजरायलमा झन्डै १० हजार स्टार्ट–अप कम्पनी छन् । यो संख्या घटबट (नयाँ आउने र बन्द हुने) भए पनि संख्या स्थिर छ । जसले लगभग चार लाख युवा जनशक्तिलाई रोजगार दिएको छ । यो जनशक्ति इजरायलको श्रमशक्तिको १० प्रतिशत हो । तर, यो भनेको २० प्रतिशतभन्दा बढी जीडीपी हो अनि निर्यातको झन्डै आधा हिस्सा यसले उत्पादन गर्छ । यो जनशक्तिमा संस्थापकदेखि, विकासकर्ता, डाटा वैज्ञानिक, इन्जिनियर आदि सबै हुन्छन् ।
अनुसन्धानसँगै शैक्षिक उत्कृष्टता र विकासमा पनि इजरायल समानान्तर गतिमा उक्लिरहेको देश होे । शैक्षिक गुणस्तरमा पाँचौं नम्बरमा आउने इजरायलका विश्वविद्यालयहरू कम्प्युटर विज्ञान, भौतिक विज्ञान र इन्जिनियरिङमा वैश्विक रूपमा मान्यता प्राप्त छन् । जहाँ अत्याधुनिक अनुसन्धान गरिन्छन् ।
इजरायल घुम्ने सरकारको निम्तो र नेपाली मिडियाको स्पेसल डेलिगेसन
अस्ट्रेलियाबाट (३ जुलाई–१२ जुलाई) सोमबार फर्किएँ छोरा अञ्चितलाई न्यु क्यासल युनिभर्सिटीमा बीआईटी पढ्न छाडेर । त्यसअघि मेको पहिलो साता दुई साताको भ्रमण थियो, थाइल्यान्डको प्रिन्स अफ सङ्क्स्ला युनिभर्सिटीमा विद्यावारिधि अध्ययनका लागि । अर्को सोमबार नेपालस्थित इजरायली दूतावासबाट केशव श्रेष्ठ दाइले फोन गर्नुभयो, ‘इजरायल जाने हो ?’ पाँच वर्षअघि नै त्यहाँको कृषि क्रान्ति हेर्न मन थियो । नेट सर्च गर्दा नै युरोपियन स्ट्यान्डर्डमा भएको विकास देखेथें । पछिल्ला दुई वर्ष इजरायलमा बमबारुद हानेका दृश्य मानसपटलभरि थिए । ‘कति सुरक्षित छ र इजरायल अहिले ?’ ‘हामी निश्चिन्त छौं, तपाईंले उहीँ पुगेपछि फिल गर्नुहुनेछ ।’
‘त्यसो भए ओके, कन्फर्म !’ त्यसै दिन एम्बास्डर बासबाट इमेल आयो, ‘अन बिहाफ अफ द मिनिस्ट्री अफ फरेन अफेयर्स अफ इजरायल भन्दै– ‘२–९ अगस्टका लागि स्पेसल डेलिगेसन अफ जर्नालिस्टस फ्रम नेपाल फर एन एक्स्पोजर भिजिट टु इजरायल ।’ पासपोर्ट छोडेको भोलिपल्टै भिजा ग्रान्ट भयो । इजरायल सरकारले दिएको आतिथ्यता, भ्रमण अवलोकन र व्यवस्थापन साँच्चै प्रसंशनीय रह्यो ।
२४ वर्षदेखि इजरायल मूलतः प्यालेस्टाइनसँगको युद्धले थलिएको रहेछ, भूगोलका कारण । यसबीच एउटा यस्तो दिन आयो ७ अक्टोबर २०२३ अर्थात् २०८० असोज २३ गते, जुन दिन गाजापट्टीबाट आएका प्यालेस्टाइन आतंकवादी हमास समूहको अन्धाधुन्ध बम, गोली र बारुदका कारण दक्षिण इजरायल क्षेत्रका १२ सय मानिस (जसमा १० नेपाली मारिए, एक विपिन जोशी अझै बन्धक छन् र चार घाइते नेपाली उपचारपछि नेपाल फर्किए)ले ज्यान गुमाए । त्यसपछि गाजा क्षेत्रमा इजरायलले सैन्य अप्रेसन जारी राखेको रहेछ । त्यसबेला प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भनेका थिए, ‘यो दुःखद् दिनको बदला जस्ताको तस्तै लिइनेछ ।’
नेपाली सञ्चारकर्मीको हाम्रो टोली विपिन अपहरण भएको आलुमिम, किबुज र स्डेरोट पुगेर स्थलगत अवलोकन गर्यो । गोलीवर्षा भइहाले लुक्नेगरी घरबाहिर एककोठे शौचालय बनाए जसरी बंकर बनाएका कारण विपिन र अरू नेपालीले आफूलाई सुरक्षित बनाउन नसकेका रहेछन् । जबकि तेल अविव र अन्यत्र जमिनमुनि सुरक्षित बंकर बनाइएका छन् । दक्षिण इजरायलका यी ठाउँ गाजापट्टीबाट करिब तीन किलोमिटर वर थिए, जहाँ दिनभर बमबारुद पड्किएको आवाज सुनिन्थ्यो भने पड्किएपछि धुँवा र धुलो उडेको स्पष्ट देखिन्थ्यो । भन्नैपर्दा, मध्यपूर्वको पश्चिम एसियामा अवस्थित इजरायल युद्धको भुंग्रोसरह अनुभूति भयो । साताव्यापी भ्रमणपछि मैले निकालेको निष्कर्ष यदि साँचो भयो भने त्यो युद्ध तत्काल सेलाउने अवस्था छैन ।
साताव्यापी भ्रमणको पहिलो दिन वेस्टर्न वाल
३ जुलाइमा दुबई ट्रान्जिट भएर साँझ बेन गुरियान (इजरायल स्थापना गर्ने नेता एवं प्रम) अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लियौं । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, नेपालस्थित इजरायली राजदूतावासका पूर्वराजदूत हनान गोदार (हाल म्यानमारका लागि राजदूत) र डीसीएम जनान बेबरले स्वागत गरे । वर्तमान राजदूत स्यामुलिक ए. बासको लन्च प्रोगाममा भनेकी थिइन्, ‘शनिबार इजरायलमा म तपाईं सबैलाई स्वागत गर्नेछु र इजरायलको साताव्यापी भ्रमणमा सँगै हुनेछु ।’
दुई रात जेरुसलाम बस्यौं । टेलिभिजनमा इजरायल र प्यालेस्टाइनबीच भएका युद्ध र द्वन्द्वका कथा हेर्दै सुन्दै आएको हामी त्यहीँ पुगेका थियौं । १८ साउन आइतबार राजधानी जेरुसलामको मुटुमा रहेको वेस्टर्न वाल (पश्चिमी पर्खाल) पहिलो गन्तव्य बन्यो । ग्रेनाइट भिरेका ओठ निचोर्दा दूध आउलाजस्ता युवा जताततै देख्दा अत्यन्तै असुरक्षित पो छ कि ? भन्ने भाव मनभरि खेलिरह्यो त्यो दिउँसो । सरकारी सेना भनेर चिनाइएका युवकयुवती १८–२२ का थिए जसका शरीरभरि बमबारुद र हातमा ग्रेनाइट । वाल पुग्न हिँडेका गल्ली हाम्रै असनका जस्ता लाग्ने ।
वेस्टर्न वाल पुग्दा जे देखियो, त्यसले विश्वलाई पाठ सिकाइरहेको पाएँ, जहाँ हजारौं यहुदी, मुस्लिम र इसाइ धर्मावलम्बी एक ठाउँमा प्रार्थनारत भेटिए सायद धर्म निरपेक्षताको गतिलो उदाहरण । पूर्वराजदूत गोदारले भने, ‘गोपीजी, सादा पानामा मनले चिताएको कामना गर्दै केही लेख्नुहोस् तर कसैलाई नभन्नुहोस् र त्यो कागज ऊ त्यो भित्ता (वेस्टर्न वाल)मा कतै घुसार्नुहोस् । यदि परेवाले त्यो कागज थुतुनोले च्यापेर लग्यो भने त्यो भगवान्कहाँ पुग्नेछ र तपाईंको त्यो कामना सिद्ध हुनेछ । त्यस्तो आशीर्वाद पाउनु हुनेछ ।’ मैले त्यसै गरें । थाहा छैन, परेवा आयो आएन, भगवान्सम्म पुर्यायो पुर्याएन ।
त्यसपछि वेस्टर्न वालको सुरुङभित्र पस्यौं, शताब्दीयौं पुरानो इतिहाससँग साक्षात्कार गर्न । त्यो सुरुङ कति अचम्मले बनेको थियो भने वर्णन गर्नै कठिन । नेपालका सुरुङ अर्कै । अभिले ब्रिफिङ गरे त्यहाँका यहुदीका मन्दिर निर्माण र ध्वंशका घटना अनि इसाइका इस्टदेव जिसस क्राइस्टका कथा । पुर्याए, जिससलाई मारिएको ठाउँ जहाँ उनको लास र अन्तिम अवस्थाका सामग्री देखाउन । जुन भूमिमा झन्डै २०२५ वर्षअघि क्राइस्टको जन्म भएको रहेछ । करिब ३५ वर्षको उमेरमा उनलाई जेरुसलाममा सुलीमा चढाएर हत्या गरिएको रहेछ । यसकारण क्रिश्चियन धर्मावलम्बीका लागि यो ठाउँ पवित्र र ऐतिहासिक स्थल बनेको रहेछ ।
म्युजियम अफ टोलेरेन्स र बन्दी विपिनको सन्दर्भ
जेरुसलामको मुटुमै रहेछ, म्युजियम अफ टोलेरेन्स । गुगल सर्चले त अमेरिकाको लस एन्जलसमा पनि यही नामको संग्रहालय देखायो । सहनशीलताको संग्रहालय भनिने जेरुसलामको उक्त म्युजियम अन्तर्राष्ट्रिय संवाद र सांस्कृतिक विनिमयका लागि निर्माण गरिएको पाइयो । जहाँ संग्रहालयसँगै सम्मेलन केन्द्र र मनोरञ्जनस्थल पनि थिए । लेखिएको थियो, ‘यो संग्रहालय सबै पृष्ठभूमिका व्यक्तिहरूलाई स्वागत गर्न र खुला सञ्चारलाई प्रोत्साहन गर्न तयार पारिएको हो । सबैका लागि समर्पणको भावना सिर्जना गर्नु उद्देश्य हो, जहाँ विविध दृष्टिकोण एक हुनेछन् ।’ यो म्युजियमलाई ‘हाउस अफ द होलोकउस्ट’ (स्थानीय भाषामा बेइत हासोह) भनिँदो रहेछ । डेढ घण्टा अवलोकन गर्नेगरी बनाइएको यहाँ निःशुल्क प्रवेश रहेछ ।
तीन मुख्य धर्मावलम्बी (यहुदी, मुस्लिम र इसाइ)को होली सिटीको रूपमा यो म्युजियम सन् २००४ तिर इजरायली समाजको सहिष्णुताको प्रतिबिम्ब बनाइएको रहेछ । जहाँ देख्यौं, ‘अर्न एन्ड लर्न’ कार्यक्रममार्फत इजरायल पुग्दा ७ अक्टोबरमा हमासद्वारा आजसम्म बन्धक बनाइएका नेपाली विपिन जोशीलगायतको पोस्टर । बेपत्ता पारी बन्दी बनाइएका र मारिएका ती दर्जनौं मानिसको तस्बिरले हामीलाई निकै भावुक बनाएको थियो । त्यसपछि आधुनिक जेरुसलामको छोटो भ्रमणमा सरिक हुँदा चकित भयौं, दुई दशक लामो युद्धले थिलथिलो इजरायलको प्राचीन जेरुसलाममा निर्मित आधुनिक भौतिक पूर्वाधारको विकासका संरचना देखेर ।
मिनिस्ट्री अफ फरेन अफेयर्समा मिटिङ
अत्यन्तै कडा सुरक्षाजाँचपछि १९ असार बिहान ९ बजे इजरायलको परराष्ट्र मन्त्रालय प्रवेश गर्ने अवसर प्राप्त भयो । कति कडा भने ‘फर्मल ड्रेस’मा बोलाइएका हामी १९ नेपाली सञ्चारकर्मीलाई समेत तस्बिर खिच्न र एक्लै हिँड्न प्रतिबन्ध थियो । सायद ७ अक्टोबरको घटनाबाट तिनले सिकेको पाठ हुनुपर्छ सुरक्षाको । मन्त्रालयको भुइँतलाको हलमा आइपुगे एसिया प्रशान्त डिभिजनको दक्षिण र पूर्वी एसिया हेर्ने ब्युरो प्रमुख सागी करनी । अचम्म उनीहरू अनौपचारिक पोसाकमा थिए, न त तिनले हामीसँगको ब्रिफिङमा कुनै औपचारिकता देखाए । बन्धक विपिनको बेपत्ता अवस्थाबारे ब्रिफिङ गरे उनले तर हामीलाई उनी फर्कनेगरी आश्वस्त दिलाउन सकेनन् । उनले भने, ‘इजरायलले आत्मरक्षाका लागि हरप्रयास गरिरहेको छ ।’ कारणवश परराष्ट्रमन्त्रीले हामीसँग गर्ने भनेको भेट हुन सकेन ।
त्यसपछि ‘याद भासेम’ संग्रहालय पुग्यौं । जहाँ सात दिन अध्ययन र अनुसन्धान गरे पनि नसकिने सामग्री थिए, दोस्रो विश्वयुद्धबारेका । जहाँ त्यसबेला यहुदीमाथि जर्मन शासक हिटलरले गरेको बर्बर दमन र सोही क्रममा ६० लाख यहुदीको कत्लेआम गरिएका प्रमाण संग्रहित गरेको पायौं ।
‘बाल्कोनी अफ द स्टेट’, युद्धको आगो दनदनी बाल्ने भूमि
जेरुसलामबाट डेढ दुई घण्टाको बसयात्राबाट पुग्यौं, ‘बाल्कोनी अफ द स्टेट’ । प्यालेस्टाइनसँग इजरायलको विवादित भूमि रहेछ, वेस्ट ब्यांक जहाँबाट इजरायलको उत्तर, दक्षिण क्षेत्र अनि प्यालेस्टाइन भूमि देखिने रहेछ । विवादित त्यो भूमि यतिबेला इजरायलको अधिनमा रहेछ । रणनीतिक महŒवको त्यो क्षेत्र सुरक्षाका दृष्टिले पनि निकै संवेदनशील । बाल्कोनी आउने क्रममा एउटा पेट्रोल पम्पमा ओर्लियौं । स्थानीयले छेवैको काँडेतार देखाउँदै भने, ‘तपाईंहरूलाई थाहा छ, ऊ त्यो प्यालेस्टाइन हो ।’
त्यो ग्यास स्टेसनको सेभेन इलेभेन जस्तै वा भनौं हाम्रो बिग मार्ट जस्तै पसलमा भेटिएका अरबी मूलका इजरायलीले बडेमानको मसरुम पिज्जाले स्वागत गरे, हामीले नसोचेको आतिथ्यता पायौं त्यो अनकन्टार मरुभूमिमा नचिनेका मान्छेबाट । पढेको थिएँ, वेस्ट ब्यांक र गाजा क्षेत्र भू–मध्यसागर र जोर्डन नदीबीचको यो क्षेत्र शताब्दीयौंदेखि मुस्लिम बहुल प्यालेस्टाइन भए पनि सन् १५१६ मा अटोमन साम्राज्यले कब्जा गरेपछि विशाल अटोमन साम्राज्यको सिरियाअन्तर्गत आयो ।
इस्लाम धर्म सुरु नहुँदै यहुदीहरू बसेकाले यो भूमिलाई उद्गमस्थल मान्दा रहेछन् । जुन भूमि बाहिरियाहरूले विभिन्न कालखण्डमा आक्रमण गरी कब्जा गरेको इतिहास पाइन्छ । सिकन्दर महानले कब्जा गरेको यही भूमि केही दशकपछि रोमनहरूको कब्जामा पर्यो । पछि मुसलमानहरूले आक्रमण गरी शासनसमेत गरे । प्रथम विश्वयुद्धताका यो भूमि विखण्डित बन्यो । दोस्रो विश्वयुद्धताका हिटलरको नाजी जर्मनीले दसौं लाख यहुदीको अमानवीय ढंगले क्रूर हत्या गर्यो । तब विश्व समुदायले यहुदीका लागि छुट्टै राज्य बनाइदिन दबाब दियो । संयुक्त राष्ट्रसंघको महासभाले सन् १९४७ मा प्यालेस्टाइनमा यहुदी र मुसलमानका लागि दुई राज्य बनाउने निर्णय गरेको थियो । दुबैले दाबी गरेको जेरुसलाम र आसपासको भूमि अन्तर्राष्ट्रियकरण गरिने भयो ।
बेलायतले ४८ मा प्यालेस्टाइनमाथिको दाबी छोड्यो । सोही दिन यहुदीहरूको राज्य इजरायल घोषणा भएको इतिहास पाइन्छ । तर अहिले तिनै यहुदी इजरायली नागरिक बनेका छन् । तर यो घोषणा प्यालेस्टाइन र आसपासका देशमा बस्ने मुसलमानले मानेनन् । त्यसैले ४८ मै जोर्डन, इजिप्ट, सिरिया, प्यालेस्टाइन देशले इजरायलमा आक्रमण गरे । यो युद्धको आगो आजसम्म दनदनी बलिरहेको रहेछ । बाल्कोनीमा पूर्वराजदूत हनान र डिसिएम जनानले उक्त भूमिबारे हामीलाई ब्रिफिङ गरेका थिए ।
इजरायली इनोभेसन सेन्टरदेखि गोलन हाइटसम्म
चौथो दिन इनोभेसन सेन्टर पुग्दा लाग्यो, यो नेपालका लागि अत्यन्तै आवश्यक छ । हुन त बनेपामा बनाइएको आईटी पार्ककै सदुपयोग भएको छैन । प्रतिव्यक्ति आम्दानी ५८ हजार हाराहारी अमेरिकी डलर रहेको इजरायलको दुनियाँलाई १,४६० भएको नेपालले आफूलाई यो अवस्थामा पुर्याउन १०० वर्ष लाग्ला कि भन्ने पो लाग्यो । स्टार्ट–अप नेसनले चिनिएको इजरायलले आईटी मार्केट खर्लप्पै खाएको पायौं । युद्धले थलिएको यो देश त आविष्कारमा चामत्कारिक फड्को मार्नेमा अब्बल साबित भएको रहेछ । त्यो साँझ इजरायली अर्थतन्त्रबारे अर्थशास्त्री ओदेद डिसटेलको प्रवचनले युद्धका बाबजुद गरेको आर्थिक, सामाजिक र भौतिक प्रगतिबारे स्पष्ट बनायो ।
अचम्म, साइरन बजेको १५ सेकेन्डभित्र बंकर नपसे जो जहाँ छ त्यही मारिन सक्छ, यस्तो देशमा पनि नाइट लाइफ गजबले चलेको देखियो । हुन त इजरायलीहरू भन्थे, ‘हामीलाई केही चाहिएको होइन, सुरक्षित र स्वतन्त्र जीवन भए पुग्छ । यहाँ त कतिखेर कसरी कसले आक्रमण गर्छ, पत्तो छैन । जिन्दगी सुरक्षित छैन ।’ त्यही भएर हरेक शुक्रबार मोबाइल, टेलिभिजन आदि सबै छाडेर परिवार, आफन्त भेला भएर पकाउने, खाने र रमाइलो गर्ने रहेछन् । जुन शनिबार साँझसम्म चल्दोरहेछ । अचम्म, प्लेन सुरक्षित अवतरण हुँदा परर ताली बजेको थियो निकैबेर ।
अर्कोदिन विपिन अपहरित भएको ठाउँ आलुमिम पुग्यौं । छेवैको निरओज बस्तीमा छिर्दा बिराला र कुकुर दुई वर्षअघिको ७ अक्टोबरको घटनामा मारिएका मालिकहरूको खोजीमै देखिन्थे । पशुप्रेमको उत्कृष्ट उदाहरण त्यहाँ देख्यौं । २२ साउनमा गोलन हाइट पुग्यौं, उत्तर इजरायल जुन ठाउँ सिरिया र लेबनान जोडिएको भू–भाग रहेछ । जहाँको फूटबल ग्राउन्डमा लेबनानी हिजबुल्ला समूहले प्रहार गरेको इरानी मिसायलबाट १२ बालबालिकाको निधन भएको रहेछ । जसमध्ये इब्राहेमको त शरीर नै बाँकी रहेन । निधन र घाइते भएकाका आमाहरू रुँदै त्यो दिनको नरसंहारबारे हामीलाई सुनाए, ‘हामीलाई न्याय कसले, कहिले दिने ?’ हामी हाइफा सहर हुँदै तेल अविभ फर्किए पनि ती आमाहरूको चीत्कारले चिथोरिरह्यो हाम्रो मन ।
समुद्रमुनि ‘डेड सी’मा पुग्दाको पल
८ अगस्ट अर्थात् २३ असारका दिन डेड सी पुग्यौं । संसारको एक आश्चर्य, मान्छेले चाहेर पनि डुब्न नसक्ने अनौठो महासागर ‘डेड सी’ । किताबमा पढेका विश्वका यस्ता ठाउँ पुग्दाको मजा नै बेग्लै, अनुभूति नै भिन्दै । भूमध्य सागरको किनारमा अवस्थित इजरायल, जोर्डन र प्यालेस्टाइनको बीचको भू–भाग रहेछ, डेड सी । मरुभूमि हुँदै त्यो समुद्रमुनि पुग्दाको गर्मी अझै सम्झी नसक्नुको लाग्छ । मध्याह्न समय त्यसमाथि चर्को घाम । समुद्रमा डुबुल्की मार्न कपडा फेरेर खाली खुट्टा हिँडें । भुइँ टेकिनसक्नु रहेछ । जबर्जस्ती किनार पुगें झन्डै पाँच मिनेट तातो बगरमा । समुद्र किनारमा गिलोमाटो शरीरभरि घस्यौं सबैले । उपचार हुने रहेछ, त्यही बुझ्यौं । त्यसपछि डेड सीमा पस्यौं । जब घाँटीसम्म पानी पुग्यो, तब फुत्त उफार्यो समुद्रकै पानीले । विश्वभरका मानिस ‘डेड सी’मा यसैगरी ‘फ्लोटिङ’का लागि आउँदारहेछन् । यो नुनिलो पानीले शरीरका रोग निको पार्ने विश्वास गरिँदो रहेछ ।
समुद्र सहतभन्दा ४ सय २९ मिटर गहिरो त्यो डेड सीलाई विश्वकै ‘लोवेस्ट प्वाइन्ट’ मानिँदो रहेछ । जबकि हामी १९ नेपाली पत्रकार विश्वकै सर्वोच्च शिखर सगरमाथा अर्थात् माउन्ट एभरेस्टको देशबाट त्यहाँ पुगेका थियौं । डेड सी पुग्दा नेपालको डोल्पास्थित से–फोक्सुन्डो ताल (जुन सबैभन्दा अग्लो ठाउँको गहिरो ताल मानिन्छ) पुग्दाको पल आँखाभरि भयो । विश्वकै गौरव ‘सगरमाथा’ त के, फोक्सुन्डो पनि हामी नेपाली नै हत्तपत्त पुग्दैनौं ।
नेपाल–इजरायल सम्बन्धका ६५ वर्ष
इजरायलसँग कूटनीतिक सम्बन्ध राख्ने पहिलो एसियाली देश हो, नेपाल । सन् १९६० जुन १ मा नेपाल–इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । इजरायलले १९६१ मार्चमै नेपाल (काठमाडौं)मा दूतावास खोलेको थियो भने नेपालले इजरायल (तेल अविव)मा १९९३ मा महावाणिज्य दूतावास र २००७ अगस्ट १३ मा मात्र दूतावास खोलेको थियो ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापित गरेका थिए । डेभिड बेन गुरियन इजरायलका संस्थापक मानिन्छन् । त्यसैले सायद त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थलको नाम पनि उनकै नामबाट स्थापित छ । भनिन्छ, १२ वर्षमा खोलो फर्किन्छ । स्वतन्त्र भएको १२ वर्षमा नेपालले इजरायललाई मान्यता दिएको थियो तर दक्षिण एसियाका अन्य देशले ३० वर्षसम्म स्वतन्त्र भएको मानेनन् ।
गजब के भएको रहेछ भने इजरायल राज्य स्थापना घोषणा भएकै दिन तत्कालिन अमेरिकी राष्ट्रपति ह्यारी ट्रम्यानले ‘कूटनीतिक मान्यता’ दिएका थिए । र, आजसम्म पनि इजरायललाई विश्वको शक्तिशाली मानिएको अमेरिकाले साथ दिइरहेको छ । बीपी कोइरालाले पनि त्यसबेला बनाएको सम्बन्धले विश्वको अर्को शक्तिशाली देश छिमेकी भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूलाई चकित तुल्याइदिएका थिए ।
त्यस्तो बेलामा नेपालले इजरायललाई साथ दिएको र आजसम्म पनि निरन्तर उस्तै सम्बन्ध रहेको विषय सम्बन्धका हरेक वार्षिकोत्सवमा स्मरण भइरहन्छ भने त्यस्तो बेला दिएको कूटनीतिक मान्यतालाई कहिल्यै बिर्सन नसक्ने नेपालस्थित इजरायली राजदूतहरू बताइरहन्छन् ।
प्रतिक्रिया दिनुहोस !