ओ हो ! संगीतको धुनमा गीत गाइरहँदा गरगहनामा चिटिक्क परेका दिदीबहिनीहरू देउडाको पाइताला प्रधान घेरो लगाउन थाले। यति नाचे कि गौरामा टुँडिखेलमा कालीकर्नालीका महिलाले देउडा खेलेको उनीहरूले याद दिलाए।
तिजको लहर आयो बरीलै
तिजको लहर आयो बरीलै
हिन्दु नेपाली नारीहरूको महान् पर्व हरितालिका तिज नेपालमा मात्र होइन, विदेशका विभिन्न सहरमा नेपाली दिदीबहिनी र आमाहरूले श्रद्धापूर्वक मनाउँछन्। बेलायतको ठूलो र ऐतिहासिक सहर लन्डनस्थित साउथ केन्जिनटन नेपाली राजदूतावासमा आएर गतहप्ता मौलिक पर्व तिज मनाइयो। जहाँ बेलायतका विभिन्न सहरमा बसोबास गर्ने नेपाली महिलाले भव्यताका साथ मनाए। यो कार्यक्रमको आयोजना राजदूत चन्द्रकुमार घिमिरे र श्रीमती सरिता न्यौपाने घिमिरेले एक महिना पहिलेदेखि तय गर्नुभएको थियो।
शुभकामना दिँदै घिमिरेले भन्नुभयो, ‘तिजका गीतमात्र होइन, सुदूरपश्चिम र कर्णाली प्रदेशमा गाइने मौलिक संस्कृतिका भाका देउडा गीत पनि प्रथम पटक राजदूताबासको आँगनीमा सुन्दैछौं जुन हाम्रो सौभाग्य हो।’ नृत्यगंनासमेत रहेकी सरिताले तिजका भाकामा नृत्य गरिरहँदा सभाहल गुञ्जिएको थियो। गायिका कोमल वलीको तिज गीतले उपस्थित सबैलाई नचाएको थियो। गायिका सीतु खरेललगायतका कलाकारको प्रस्तुति पनि हेर्नलायक थियो।
अब चर्चा गरौं, देउडा गीतसंगीतको। यत्तिका महिलाका बीचमा एक्लो पुरुष गायकले गीत प्रस्तुत गर्दा कतै हाँसको बीचमा बकुल्ला पो होइन्छ कि ? भन्ने पीर थियो। त्यसमा पनि देउडा गीत। सबैले बुझिनसकेको प्राचीन संस्कृतिमा आधारित देउडा विधा। राजदूत घिमिरे, श्रीमती सरिता, वरिष्ठ गायिका कोमल वली र राजदूताबासका कर्मचारी विपिन दुवाडी (गोरखा), प्रसूना कँडेल (धादिङ) लगायतले ढाडस दिँदै भने– ‘तपाईंले गाएका देउडा गीत कति लोकप्रिय छन् भन्ने कुरा गाउँदै जानुहोस् अनि दर्शक दीर्घाबाट आएको तालीबाट थाहा हुनेछ।’
हौस्याउँदै बोलेपछि म पनि गीत गाउन थालें–
वारिको खेत बगाई लैग्यो पारिका खोलाले
तिजमा भिट् भयो हाम्रो कृष्णका चोलाले।
झ्याम्म... झ्याम्म...।
म सुदूरपश्चिमको मान्छे देउडा गाउन आया
दूतावासको आँगनीमा मस्तै (धेरै) माया पाया
झम्क्यो डालीमा...।
ओ हो ! संगीतको धुनमा गीत गाइरहँदा गरगहनामा चिटिक्क परेका दिदीबहिनीहरू देउडाको पाइताला प्रधान घेरो लगाउन थाले। यति नाचे कि गौरामा टुँडिखेलमा कालीकर्नालीका महिलाले देउडा खेलेको उनीहरूले याद दिलाए। कोमल वली, प्रार्थना खनाल, सरिता न्यौपाने, सुदूरपश्चिमका चेलीहरू पुनम भट्ट, शैली चन्दलगायत उपस्थित सबैजनाले देउडा नाचेर साथ दिए। राजदूत घिमिरे खुसी साट्दै कुनै बेला ताली पिट्दै कुनै बेला यी दृश्यहरू क्यामेरा र मोबाइलमा कैद गर्न व्यस्त हुनुभयो।
सबैका तालीले संगीतको मौलिक बाजा टुङ्नाको मीठो ध्वनि आएको आभास दिलायो। मानिसहरू भन्छन्, संगीत अन्तर्राष्ट्रिय भाषा हो। मलाई त यो परिभाषा अपूरो लाग्छ र थप्न मन लाग्छ– संगीत प्रेम र सद्भावको पनि भाषा हो जसले देउडा गीतझैं संस्कृतिकर्मीलाई गोलबद्ध गराउँछ। नेपालको झापा, ताप्लेजुङ, पाँचथरदेखि सुदूरपश्चिमका डडेलधुरा, बैतडी, बझाङलगायतका जिल्लाबाट बेलायतका विभिन्न बस्तीमा बस्दै आएका संस्कृतिकर्मी नरनारीहरूले मातृभूमिको संस्कार र संस्कृति सम्झिरहेका छन्। उनीहरूले देउडा गीतमा मात्र होइन, मारुनी, बालुन, कौरामा पनि उत्तिकै रमाउन जानेका छन्।
‘सबैलाई पालो दिनुपर्छ गीत गाउन’ भन्दै मञ्चबाट बाहिरिनुभयो, राजदूत घिमिरे। जाँदै गर्दा प्रेमपूर्वक अँगालो मार्दै भन्नुभयो– ‘यो नेपाली दूतावासमा पहिलो पटक देउडा गीत प्रवेश गराउनु भयो, राजदूतावासको भोलिको इतिहासले पक्कै कदर गर्नेछ। हामी यी सांगीतिक सामग्री सुरक्षित राख्नेछौं।’ उहाँले यी भावना बाँडिरहँदा मलाई २०४१ सालको याद आयो। जुनबेला त्रिवि कीर्तिपुरबाट शैक्षिक भ्रमणको सिलसिलामा ४८ जना हामी दक्षिण एसियाली देशको भ्रमण गर्ने क्रममा पाकिस्तान पुगेका थियौं। त्यसबेला इस्लामाबादस्थित टेलिभिजनमा देउडा गीत रेकर्ड गर्दै थिएँ। तत्कालीन राजदूत निरञ्जन शर्माले पाकिस्तानी टीभीमा विद्यार्थीलाई माया गरेर हाम्रै प्रस्तुति हेरिरहनु भएको रहेछ। उहाँले पनि भन्नुभएको थियो, ‘तपाईंहरूका यी नेपाली मौलिक गीतको रेकर्डले पाकिस्तानी भूमिमा सांस्कृतिक जग बसाल्नेछ।’ जहाँ पंक्तिकारलगायत मथुरा प्रधान, महेश शर्माले गीत गाएका थियौं।
बेलायतमा देउडा गाउँदा कोमल वली, सरिता घिमिरे, सितू खरेल आदिले दिलैदेखि प्रशंसा गरे। कुनै बेला रेडियोसँग आबद्ध कोमल वलीसँग पंक्तिकारको सांगीतिक साइनो र पश्चिमेली समाजसँगको आत्मीयता पनि बढेको इतिहास छ। २०४३ फागुनमा रेडियोको लोकगीत प्रतियोगितामा पंक्तिकार देउडा गाएर प्रथम भएको र दाङका गीत गाएर कोमल वली र माया द्वितीय भएका थिए।
दिदी चन्द्रकला शाह, स्व. मधुबाबु थापा, कोमल, प्रेमदेव गिरी, डा. गोविन्द आचार्य तत्कालीन मध्यपश्चिमको सांगीतिक प्रतिनिधित्व गर्ने गर्थे भने पंक्तिकारले सुदूरपश्चिमको। ४१ वर्षको सांगीतिक इतिहासमा कोमल विभिन्न विधामा फड्को मारिरहेकी छन्। म भने देउडा लोकसंस्कृति र गायनलाई छोड्न सकिरहेको छैन। २०६२/०६३ सालको ऐतिहासिक लोकतान्त्रिक आन्दोलनमा तत्कालीन प्रतिगमन कदमका विरुद्ध देशका हरेक सडकमा झ्याम्मझ्याम्म लोकतान्त्रिक देउडा गीत गाउँदै हिँडेको थिएँ।
दोफरीको चर्को घाम ढल्की चरेइ गाइय
कैले आउँदा कहिले झादा सम्झी रनु साइय।
(अछामका लेक, बझाङका धुरा,
आरु फुलेली फुलेली, झम्का बुलाकी)
बेलायतस्थित नेपाली भूमिमा पाइला टेक्दा आत्मगौरवको अनुभूति भयो। नेपाली राजदूतावासको भवन दक्षिणी मोहोडामा फर्केको छ। घाम लाग्छ। बेलायतमा घामको महŒव धेरै छ। आँगनीमा प्रवेश गर्दा कर्मचारीले हार्दिक स्वागत गरे। ढोकाको भित्री भागको भित्तामा स्वर्गीय राजा वीरेन्द्र, रानी ऐश्वर्य र बेलायती महारानी एलिजाबेथको संयुक्त रूपमा खिचिएको ऐतिहासिक तस्बिर छ। नेपाली कला झल्किने कोठामा गोरखा र लुम्बिनी सदन लेखिएका रहेछन्। गोरखा कोठामा सरिता न्यौपानेले दरका रूपमा मीठा सेलसँग तरकारी दिनुभयो।
पश्चिमतिर ठूलो हल छ, ८०/९० जना पाहुना अट्ने। अगाडि राष्ट्रिय झण्डा फहराइरहेको छ। हामी प्रवेश गर्नेबित्तिकै फरासिलो स्वाभावकी सरिताले खादा माला र ढाकाटोपी लगाएर सांगीतिक स्वागत गर्नुभयो भने राजदूत घिमिरेले पनि खादा लगाएर हार्दिक स्वागत गर्नुभयो। उक्त आतिथ्यले निकै खुसी भयौं। कूटनीतिक भाषा प्रयोग गर्न नजानेको मैले ‘हजुरको पूर्णकार्यकाल सफलताको कामना गर्छु, हजुर कूटनीतिक र प्रशासनमा दक्षता हासिल गरेको व्यक्तित्व हुनुहुन्छ’ भनी आत्मीयताका शब्द मात्र बाँडें। ‘धन्यवाद’ भन्दै राजदूत मुस्कुराउनुभयो र थप्नुभयो, ‘देउडा संस्कृतिका लागि तपाईंले बलियो जग बसाल्नुभएको मलाई छ।’ मैले पनि धन्यवाद दिएँ।
नेपाललगायत भारत, फ्रान्स, इजरायललगायत देशका राजदूतावास एकै ठाउँमा रहेछन्। नेपाली राजदूतावासको पछाडि पहिले डायना बसेको क्यान्जिनटन दरबारको ठूलो आँगनी रहेको जानकारी छोरा सुश्रुतले गरायो। डायनाको निधनपछि सो दरबार संग्रहालयका रूपमा राखिएको रहेछ। त्यसैले होला, यो क्षेत्र सुरक्षाको दृष्टिले अत्यन्त संवेदनशील रहेछ। आँगनीको अलि पल्तिर फुटबलका महान् खेलाडी डेबिड बेकह्यामको निजी निवास छ भनेर पनि उसैले जानकारी गरायो।
काली कर्नालीको माटो देउडा गीतका भाका
पहाड बस्ती रित्ता भए कोइ लाखा कोइ पाका
कोइ बस्दा छन् अमेरिका, कोइ वाइगाय खाडी
कोइ भन्या बेलायत आयौं देशमा आउँदा बाढी।
कठैबरी...!
प्रतिक्रिया दिनुहोस !