यात्रा मानसरोवर अनि कैलाशको

यात्रा

यात्रा मानसरोवर अनि कैलाशको

मानसरोवर पुगेपछि यस्तो अलौकिक घटना देख्न पाउनु धेरै राम्रो कुरा हो। तर त्यो नदेख्नेको यात्रा चाहिँ व्यर्थ गयो भन्ने सम्झनु मूर्खता हो। अध्यात्म आँखाभन्दा परको कुरा हो।

सञ्जोग भनौं कि सत्य, आकाशगंगामा जुन ठाउँमा सप्तऋषिहरू अवस्थित थिए, त्यही ठाउँमै देखिनेगरी मानसरोवरतर्फ आइरहेका थिए। सुरुमा ती कैलाश नजिकैबाट झुल्केका थिए।

मानसरोवर नजिकै गाडी रोक्किँदा एकछिनका लागि मेरो विचार पनि रोक्कियो। उत्तरतिर कैलाश देख्दा त झन् मन चंगा नै भयो। अनि एक्कासि ‘जय शम्भो’ शब्द निक्लियो धेरैको मुखबाट। १५–२० मिनेटपछि गाडीले मानसरोवरको दक्षिणतिर लगेर ओरालिदियो। जुत्ता, मोजा खोलेर मानसरोवरको जललाई पहिलो स्पर्श गर्‍र्यौं। तीर्थको जलको महत्त्व विशेष हुन्छ। ग्यालनमा जल भर्‍यौं।

कैलाशपति भोले नाथलाई स्मरण गर्दै मुख धोएँ। एउटा ढुंगामा बसेर खुट्टा डुबाएँ र आँखा चिम्लें। मानसरोवरको जलको छालले खुट्टामा छप्ल्याङ् छप्ल्याङ् गर्दै थियो तर हत्केलामा भने बिस्तारै विद्युत्को सञ्चार हँुदै थियो। सायद त्यो ऊर्जाको सञ्चार दुवै हत्केला कडा हुँदै गएर होला, मन भने मानसरोवरको जलभन्दा पनि कोमल हुँदै गयो। अन्तमा विचार पूरै शून्य भयो।

२०८० साउन १५ गते सोमबार। दिउँसोको लगभग ३ बजेको छ। हृदय गिलो भएर रुवाइको रूप लियो। डाँको छोडेर रुनबाट चाहिँ आफूलाई रोकें। सायद मानसरोवरले म मूर्खलाई पहिलो दर्शन दिनुभयो। कति तीर्थालुहरू त मानसरोवरप्रति खुल्ला नबनी फोटो खिच्ने र जल जोहो गर्ने धुनमा केन्द्रित भए। त्यहाँ गएपछि कुनै कर्मकाण्ड जरुरी छैन। एक अबोध बालक जसरी आमाप्रति समर्पित हुन्छ, त्यस्तै समर्पण भए पुग्छ भन्ने लाग्छ।

कर्मकाण्ड बरु बाधा बन्न सक्छ किनकि मानसरोवरमा व्याप्त भगवत तत्त्व हाम्रो शरीरको प्रत्येक कोषभित्र छिर्न खोज्छ हामी सो कर्मकाण्डले बन्द भइदिन्छौं। अर्काे आधा घण्टाको गाडीको कुदाइपश्चात् पश्चिमतर्फको यात्राले राक्षस ताल पुर्‍यायो। टाढाबाटै हेर्दा डरलाग्दो कालो आभाको लाग्यो ताल। उता मानसरोवर भने उज्यालो अनि सबैलाई स्वागत गर्ने झंै।

साँझ नपर्दै मानसरोवरको पश्चिममा अवस्थित लामो चारकुने घरमा बास बस्न पुग्यौं। एउटा कोठामा बसेका आठमध्ये एक काठमाडौंको एक मन्दिरका पुजारी हुनुहँुदोरहेछ। मलगायत अरू दुईजना, जो हामी एकै ठाउँका हांै, मेरो सल्लाहमा नेपाली समय ३ बजे उठेर मानसरोवरको तीरमा जाने योजनासहित सुत्ने तर्खरमा थियौं। एक्कासि उहाँ ठिटो पुजारीले पौने एघार बजे मानसरोवरमा अलौकिक क्रियाकलाप देखिन थाल्छ भन्नुभो। हामी तिनको योजनालाई थाँती राखेर सो योजनाका लागि तयार भयांै। तर यसो पल्टिँदै गर्दा निदाएछु। एक्कासि पुजारीको बोलीले म ब्यँुझें। हतारिँदै उत्तरी आकाशतिर हेर्दै मानसरोवरको तीरमा गएँ।

लगभग हामी ८–९ जना कैलाशको माथि देखिएको प्रकाश अनि पूर्वतर्फ गइरहेको तारा हेर्दै बस्यांै। तर त्यो अलौकिक घटना हामीमा मात्र सीमित राख्न नचाहेर अरूलाई पनि बोलायांै। बोलाएकामध्ये एकजना मेरो बच्चादेखिको साथी पनि थियो। ऊ एकैछिनपछि फर्केर गयो। भोलिपल्ट सोध्दा त उस्ले देखेन रे ! हामी भने पूरै रात कैलाशको आकाशबाट सुरु भएर मानसरोवरतिर यात्रा तय गर्ने प्रकाशको खेल हेर्न तल्लीन भयौं। रात छिप्पिएसँगै जब जाडो बढ्न थाल्यो। हामी ३–४ जनाले होटलबाट सिरक नै ल्यायौं।

मैले भने अलि सूष्म तरिकाले घटनाहरू नियालिरहेको थिएँ। कैलाशपतिबाट आएका प्रकाशका बिन्दु एक समयपछि मानसरोवरमा आएर विलीन हुन्थे र विलीन भएपश्चात् हाँसको आवाज आउँथ्यो। प्रकाश मानसरोवरमा छिर्ने घटना यति सूक्ष्म प्रकारको थियो कि पूरै दत्तचित्त भएपछि मात्र त्यो देखिन सकिन्थ्यो। हामी तीन, चार जनाले देखेको कुरा अरूले पनि देखे कि ? भनेर सोध्दै सो घटनाको द्रष्टा हँुदै थियौं। उता सप्तऋषि ताराहरू भएपट्टि पनि सोही आकृतिमा मानसरोवरपट्टिका ताराहरू आइरहेका थिए।

कथनअनुसार सप्तऋषिहरू पनि मानसरोवरमा स्नान गर्न आउँछन् रे ! जुन ताराहरू मानसरोवरपट्टि नै आइरहेका थिए। सञ्जोग भनौं कि सत्य, आकाशगंगामा जुन ठाउँमा सप्तऋषिहरू अवस्थित थिए, त्यही ठाउँमै देखिनेगरी मानसरोवरतर्फ आइरहेका थिए। सुरुमा ती कैलाश नजिकैबाट झुल्केका थिए। कैलाश पर्वतमा सप्तऋषि गुफा छ र ती सबै ऋषि मानसरोवरमा स्नान गर्न आउँछन् रे !

तर कैलाशबाट बाटो तय गर्दा आकाशमा भएका सप्तऋषिसँग मेल खानेगरी आएका रहेछन्। ३ बजेपछि मात्र थाहा पाएँ। मानसरोवर नजिक देखिएका ती सात तारा एकछिनपछि पर आकाशमा मात्र देखिए। जुन लगभग ५ बजे नेपाली समयसम्मै देख्न पायौं। कैलाश पर्वतको वरपर देखिएको सो दृश्य अद्भुत अनि अलौकिक थियो। मैले मात्र देखेको भए मेरो भ्रमसँग जोड्न सकिन्थ्यो तर ४०–५० जनाले देखेको कुरा साधारण मानवको इन्द्रियले ग्रहण गर्न सक्ने अवस्थाको थियो भन्ने मान्नैपर्ने हुन्छ।

दिउँसो कैलाशको दक्षिण भागमा पर्ने दार्चेनमा बास बस्यांै। रातको त्यो अनुभवको सम्झना अझ मानसपटलमा ताजै थियो। त्यसकारण हिजैको समयमा होटलको बार्दलीबाट कैलाशतिर आँखा लगाइरहें। १० मिनेट हेर्थें अनि कोठा आउँथें। पुनः जान्थें तर ३ घण्टा जत्तिको हेराइमा जे देखें, त्यो मैले यसअघिका कुनै रातको जस्तो देखिनँ। हुन त मानसरोवरबाट देखेको घटना चतुर्दशीको रात र पूर्णिमाको बिहानको हो। दार्चेन पुगेको बेला चाहिँ पूर्णिमाको रात थियो। सायद त्यो घटनामा कैलाश र मानसरोवरबीच गहिरो सम्बन्ध छ।

मानसरोवर पुगेपछि यस्तो अलौकिक घटना देख्न पाउनु धेरै राम्रो कुरा हो। तर त्यो नदेख्नेको यात्रा चाहिँ व्यर्थ गयो भन्ने सम्झनु मूर्खता हो। अध्यात्म आँखाभन्दा परको कुरा हो। तर कुनै मुहूर्तमा त्यस क्षेत्रमा त्यस्तो घटना घट्छ, जुन त्यहाँ उपस्थित सबैका लागि उपलब्ध हुन्छ। त्यस्तो घटनाले फाइदा र बेफाइदा दुवै पुर्‍याउन सक्छ। कोहीलाई झन् धेरै अध्यात्ममा डुब्नबाट मद्दत गर्छ भने कोहीको अभिमानमा बाधा र घाटा पुर्‍याउन सक्छ।

घटनाको द्रष्टामध्ये पुजारीले सो घटना खिचेर राख्नुभएको छ। उहाँलाई भेटेर भलाकुसारी अनि ती क्षणहरू कैद भएको भिडियो पुनः हेर्ने मन छ तर दुई वर्ष बितिसक्दा पनि एक चोटि पनि भेटेका छैनांै। मानसरोवर पुगेपछिका अनुभूतिबाट सुरु गरे तापनि अब भने म मानसरोवर र कैलाशको महत्त्व, कहिले जाने ? जानुअघि के गर्ने ? लेक लाग्नु भनेको के हो ? लेक लाग्नबाट बच्ने उपायहरू, एसिटाजोल्अमाइडका प्रतिअसर र असाधारण प्रतिक्रिया आदिमा केन्द्रित भएर चर्चा गर्ने छौं।

मानसरोवर र कैलाशको महत्त्व

कैलाश मानसरोवर विश्वको चार धर्म : हिन्दु, बौद्ध, जैन, वोनले महत्त्वका साथ हेरेका छन्। हिन्दु धर्ममा कैलाश पर्वतलाई शिवजीको बासस्थान मानिन्छ भने मानसरोवरलाई ब्रह्माजीको सिर्जनशीलताको प्रतीक। योग संस्कृतिमा शिवलाई पहिलो योगी मानिन्छ, जस्ले योगको ज्ञान सात ऋषिलाई बाँड्नुभयो। पहिलो जैन तीर्थकर ऋषभदेव कैलाश एक अभिलाषाका साथ जानुभएको थियो, सम्पूर्ण ज्ञान प्राप्त गरेर पुनः फर्केर केही गर्ने सोचका साथ तर कैलाशको कृपा जब उहाँलाई पर्‍यो, तब फर्कनै मन लागेन अनि त्यही समाहित हुनुभयो। बौद्ध धर्मावलम्बीले भने कैलाशलाई आध्यात्मिक पुस्तकालयको रूपमा हेर्छन्।

पछिल्लो अर्धशताब्दीका महान् सद्गुरु ओशो भन्नुहुन्थ्यो– ‘कैलाश पर्वतमा अलौकिक प्रकारको जीवन व्याप्त छ। निरन्तर पाँच  सय जना सिद्ध तथा बुद्ध अशरीर पुरुषहरू त्यहाँ उपस्थित भइरहन्छन्। कुनै पनि स्थानलाई तीर्थको रूपमा स्थापित गराउन आध्यात्मिक ऊर्जा चाहिन्छ। त्यही उपस्थितिका कारणले कैलाशलाई तीर्थहरूको पनि तीर्थ बनाएको छ। श्री श्री श्री रविशंकर भन्नुहुन्छ– कैलाश शब्दको अर्थ उत्सव नै उत्सव, आनन्द, उल्लास, प्रसन्नता नै प्रसन्नता हो। जहाँ कोही मस्त हुन सक्छ, त्यो ठाउँ नै कैलाश हो। कैलाशलाई स्थानभन्दा पनि एउटा उल्लासमय, आनन्दमय अनि प्रसन्नताले भरिएको स्थिति सम्झनुपर्छ। यदि जीवन कैलाश बन्छ भने त्यहाँ शिवको उपस्थिति अवश्मयभावी हुन्छ।

सद्गुरु जग्गी वासुदेवले त झन् कैलाश मानसरोवर क्षेत्रलाई विज्ञानको आँखाले हेर्नु भएको छ। कुनै समय छुद्र ग्रहको आगमनले त्यो क्षेत्रमा भौगोलिक परिवर्तन ल्याएको हुन सक्ने र कैलाश त्यसकै परिणाम हो भन्नेमा जोड दिनुहुन्छ। भनिन्छ, शिव आफ्नो अर्धांगिनीलाई देब्रे काखमा लिएर कैलाशको चुचुरोमा बस्नुहुन्छ। तर कथा जे भए पनि हामी त्यहाँ गएर के प्राप्त गर्छाैं, त्यो चाहिँ महत्त्वपूर्ण हुन्छ। त्यसकारण नै कैलाश ज्ञान र आशीर्वादको केन्द्र बनेको छ अहिले। तीर्थ यात्राको मर्म भनेको यात्रीको अभिमान अनि ममत्वको भावमा गिरावट ल्याउनुमा हुन्छ। पहाड अथवा जोखिमपूर्ण ठाउँमा गएर आउनाले धेरै मान्छेको आफ्नो अभिमान बढ्छ। तर तीर्थाटनले ‘म त केही रहेनछु’ भन्ने भावको प्रादुर्भाव गराउनु हो।

म काठमाडौं विश्वविद्यालयमा उपप्राध्यापकको रूपमा अध्यापन गराउँछु। अध्यात्मको प्यासी भएकाले म छोटोे समयमै कैलाश जाने निर्णयमा पुगें। त्यहाँ पुगेपछि जब कृपा प्राप्त भयो, तब धेरैभन्दा धेरै अरू पनि जाऊन् भन्ने अभिप्रायले यो लेख पस्किएको हुँ। फार्मेसी पृष्ठभूमिको भएकाले उच्च उचाइमा जाँदा आउन सक्ने स्वास्थ्य समस्या अनि त्यसबाट बच्न सक्ने उपायहरूका बारेमा पनि चर्चा गरेको छु।
मैलै ४५ वर्ष नकाट्दै कैलाशको यात्रा गरेर आएँ। तर मेरा कतिपय साथीहरू देवादिदेव महादेव पशुपतिनाथ यहीँ छन्, किन कैलाश नै जानुपर्‍यो र ? भन्ने पनि छन्। एउटा कोणबाट हेर्दा उहाँहरू ठीकै भएको आभास हुन्छ तर तीर्थयात्रीमा ल्याउने रूपान्तरणको दृष्टिकोणले हेर्ने हो भने गाह्रो र सुलभ ठाउँमा हुनुले धेरै फरक पार्छ। गाह्रो ठाउँले एक यात्रीको सोचाइलाई गलत सावित गरिदिन्छ। आफ्नो पुरुषार्थ र प्रयासको अपर्याप्तताका बाबजुत जब ऊ पुगेर आउँछ, त्यो दौरान उसले आफूलाई सानो भएको महसुस गर्छ। महसुसको त्यो घटना नै तीर्थाटनले दिलाएको ठूलो उपलब्धि हो।

ठीक त्यही बेला त्यस तीर्थमा विद्यमान ऊर्जाले पनि द्वार भेट्छ, जसबाट त्यस व्यक्तिमा प्रविष्ट गर्दछ। त्यहीबेला यस कारण छिर्छ किनकि त्यो समय अभिमानहरू कम भएका बेला हुन्। तर कोही मानिस यस सन्दर्भमा अझ कठोर भएर प्रश्न राख्न पनि सक्छन्। उसो भए तीर्थ सगरमाथाको चुचुरोमा किन नराखिएको त ! भन्ने तर्क राख्न पनि सकिएला तर तीर्थ प्राचीन समयमा यस्तै कुरालाई मध्यनजर गरेर धेरैभन्दा धेरै मान्छे जान सक्ने तर तीर्थको मर्म राम्रोसँग प्राप्त हुने ठाउँमा बनाइएका हुन्।

कैलाश मानसरोवर पनि कठिन भौगोलिक स्थानमा अवस्थित छ। मानसरोवर समुद्री सतहभन्दा ४,५०० मिटरमा अवस्थित छ भने कैलाश ६,६८० मिटरमा। कैलाशको पाउमा दर्शन गर्न बास बस्ने ठाउँ, देरापुक, ४,९०० मिटरमा अवस्थित छ। त्यो उचाइमा साधारणतया कम उचाइमा बसेको शरीरले निकै कष्ट भोग्नुपर्छ, यदि जानुअघि पर्याप्त शारीरिक र मानसिक तयारी नगरेमा।
अब म काठमाडौंबाट सुरु भएको हाम्रो यात्राबारे नालीबेली लगाउने नै छु तर हजुरहरूलाई गएको खण्डमा सजिलोका लागि यसो गरेर जानुपर्छ पनि भन्ने छु।

कहिले जाने ?
वैशाखदेखि असोजसम्म उपयुक्त हुन्छ। म भने २०८० को श्रावण पूर्णिमा पारेर गएको को थिएँ। धेरै धर्मावलम्बीहरू गुरुपूर्णिमा वा जनैपूर्णिमा पारेर जान खोज्छन्। सो समयमा केही अप्ठ्यारो झेल्न पर्ने पनि हुनसक्छ। मेरो घर नजिकको काका जनैपूर्णिमा पारेर जानुभएको थियो। धेरै भीड भएकाले पहिलो दुई दिन नै रसुवाको टिमुरे नाकामा राखियो रे। केरुङ पुगेपछि पनि अर्को दुई दिन राखेर सोझै मानसरोवर पुर्‍याइयो रे ! यसरी भीडका कारण पहिले निर्धारण गरिए अनुरूप यात्रा सम्पन्न हुन नपाउँदा कतिपय मान्छे आतिन्छन् पनि।

दस दिनमा गरिने यात्रा सोही समयमै सकिएयता पनि कुनै ठाउँमा धेरै दिन वास बसी गाडी–गाडीमै यात्रा गर्नुपर्ने अवस्था आउँछ। होटलमा आरामसँग खाटमा सुत्न नपाएर भुइँमा सुकुल ओछ्याएर डसनामा सुत्नुपर्ने अवस्था पनि आउन सक्छ। भिड नियन्त्रण र व्यवस्थापनलाई चीन सरकारको काठमाडौंस्थित दूतावासले चाहेमा होटलहरूको अधिकतम सिट क्षमता हेरेर भिसाको संख्या तोकिदिएमा यात्री मारमा पर्ने थिएनन्।

जानुअघि के गर्ने ?
उच्च तिब्बती मैदान र पहाड केन्द्रित यात्रा भएकाले पर्याप्त तयारीका साथ जानुपर्ने यात्रा हो यो। वायुमण्डलीय चापको कमीले अक्सिजनको मात्रामा कमी हुने भएकाले अधिकांशलाई लेक लाग्ने समस्या हुन्छ। नेपालभित्र धेरै नेपाली ४,३८० मिटर उचाइमा पर्ने गोसाइँकुण्ड, ३,७१० मिटरमा मुक्तिनाथ, ३,७९४ मिटरमा पर्ने पाथीभरा, ३,८४२ मिटरमा पर्ने कालिञ्चोकको यात्राको अनुभव बटुलिसकेका हुन्छन्। सायद यीमध्ये हजुरले पनि एक दुइटाको अनुभव लिइसक्नु भयो होला।

गोसाइँकुण्ड जाँदा ३,८०० मिटरमा पर्ने लौरीबिनाको उकालोमा अथवा ३,३३० मिटरमा पर्ने चन्दनबारीमा, कालिञ्चोक जाँदा ३,४४७ मिटरमा पर्ने कुरीमा, पाथीभरा जाँदा ३,१५० मिटरमा पर्ने ठूलो फेदीमा, मुक्तिनाथ जाँदा २,८०४ मिटरमा पर्ने कागबेनीमा अथवा जोमसोम (२,७४३ मिटर) अथवा मार्फा (२,५६६ मिटर) मा एक रात बिताएको अनुभव धेरैको होला। कतिलाई मुक्तिनाथमा सुतेको भए निकै गाह्रो पनि भयो होला।

त्यसको कारण नखोजी म त पापी रहेछु भनेर भित्रभित्र अब म अर्को पटक जान्नँ भनेर अज्ञानी बनेर भगवान्को कृपाबाट वञ्चित हुने सोचिराख्नु भएको थियो भने तपाईंले गलत गर्नुभयो। संसार अनवरत रूपमा नियमले चलेको छ, जुन आममानिसको बुझाइभन्दा निकै फरक पनि हुनसक्छ। जस्ले त्यो कुरा बुझ्छ, त्यस्ले कम दुःख पाउँछ जस्ले बुझ्दैन त्यस्ले स्वतः धेरै दुःख पाउँछ। त्यसैले जानुअघि लेक लाग्नबाट बच्ने क्रियाकलाप गर्नुपर्छ। लेक लाग्नु भनेको के हो ? पहिले बुझौं।

लेक लाग्नु भनेको के हो ?
छिटोछिटो उच्च उचाइमा जाँदा त्यहाँको वायुमण्डलमा विद्यमान कम अक्सिजन र वायुको चापसँग शरीर घुलमिल हुन नसक्दा लेक लाग्छ। यसका लक्षणहरू यस प्रकार छन्। टाउको दुख्नु, रिंगटा लाग्नु, वाकवाकी लाग्नु, खाना नरुच्नु आदि।

लेक लाग्नबाट बच्ने सरल नियम एउटै छ। त्यो हो, उचाइमा चाँडोचाँडो नजाने। बिस्तारै उचाइ बढाउँदै लैजाँदा शरीर त्यस वातावरणमा घुलमिल हुन्छ। ८२२ मिटरमा अवस्थित पोखराबाट एकैचोटि ३,७१० मिटरमा मुक्तिनाथमै बास बस्नुभन्दा कागबेनी वा जोमसोम वा मार्फामा बसेर भोलिपल्ट माथि पुगेर दर्शन गर्दा पिडारहित शरीरले दर्शन गर्न सहज हुन्छ। अन्यत्रको यात्रामा यसरी नै आफूलाई समाहित गर्नुपर्छ। तर सबैको शरीरको आआफ्नो क्षमता हुन्छ। त्यसैले त्यही अनुसार गर्नुपर्छ। कैलाश जाँदा लेक नलागीकन दर्शन गर्न पाउनु ठूलो अहोभाग्य हो। त्यसैले माथि भनिए झैं शरीरको अवस्थाअनुसार उचाइमा जानुपर्छ। तर के तपार्इंसँग विस्तारै जान पर्याप्त समय छ ? यात्रा आयोजक कम्पनीहरूले १३ देखि १५ दिनको यात्रा योजनालाई छोट्ट्याएर विगत २/३ वर्षदेखि १० दिनमा झारेका छन्। त्यसका पछाडि विभिन्न कारण होलान्।

यो यात्रामा तिब्बत छिरेपछिको पहिलो बसाइ हुने ठाउँ केरुङ हो। २,९०० मिटरमा अवस्थित केरुङ सहरमा २–३ रात बिताएको खण्डमा यस्ले उचाइमा जाँदा निकै सहज गराउँछ। द वाइल्डरनेस मेडिकल सोसाइटीले यात्राको पहिलो दिनमै २,७५० मिटरको उचाइमा नसुत्न सुझाव दिन्छ। ३,००० मिटरभन्दा माथि गएमा एकदिनमा ५०० मिटरभन्दा बढीको उचाइ नजान र थप एक रात यदि १,००० मिटरभन्दा बढीको उचाइ जानुछ भने। तर शरीर गुना गर्नुपर्छ। 

सक्यो भने त ३,५००–३,६०० मिटरसम्मका तीर्थहरूमा केही समयअघि जान सके त्यसको प्रभावले यात्रामा राम्रो असर पार्नेछ। त्यति नसके कम्तीमा दुई महिना अघिदेखि निम्न प्रकारका व्यायाममा संलग्न भएमा निकै सजिलो हुन्छ।
१. श्वाससम्बन्धी व्यायाम
 क. प्राणायाम
 ख. सुख वा दीर्घ प्राणायाम (बिस्तारै तर गहिरो श्वास लिने)
 ग. सहनशीलता प्रशिक्षण 
 दौडनु, साइकल चलाउनु, पौडी खेल्नु (मुटु तथा नसालाई मजबुत पार्न र अक्सिजनको उपयोगिता बढाउन)।

लेक लाग्नबाट बच्न थप कुरामा पनि ध्यान राख्नुहोस्
१.    बिस्तारै उचाइ लिनुहोस्।
२.    सिधै १,२०० मिटरको उचाइबाट २,७५० मिटरको उचाइमा गएर नसुत्नुहोस्।
३.    ३,००० मिटर माथिको उचाइमा पुगेपछि सुत्ने उचाइ ५०० मिटरप्रति दिनको दरले भन्दा धेरै नबढाउनुहोस्। यदि ५०० मिटरको सट्टा १,००० मिटरमा जानुछ भने थप एक रात सुतेर मात्र माथि बझ्नुहोस्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.