दिशा हेर्दैछ यसबेला
दरबारबाट निस्किएको राजकुमार राहुल
म निस्किरहेछु आँखाबाट
बुद्धले रोगीहरूलाई देखे
म हत्या गर्नेहरू देखिरहेछु
मरेका शवहरूलाई देखे बुद्धले
म मारेका मान्छेहरूलाई देखिरहेछु
मान्छेले मार्नुभन्दा पहिले
आफूलाई डढाउन
आफैंले पालेर राखेको
आगो हेरिरहेछु
दुःख असत्य हो
तैपनि यहाँ मानिसहरू घायल छन्
मान्छेको भावनाको तौल
पलपलमा
सहरहरू बढाउँछन्
बन्दुक खसालेर
कोसंँग छ घोस्ट थाहा छैन
मान्छेहरू प्रशंसा नपाए तर्साउँछन्
गुमाएको छैन विश्वास भगवान्बाट
ऊ जिउँदैछ
मलाई मृत्युसँग लड्ने मान्छे
घोषणा गर्न
को हेर्दैछ यस बेला अर्को दिशा
चलेको छु आगोबाट
बुद्धलाई बधाई दिन
यस बेला बुद्ध अर्को नजन्माई
आगो निभाउने छैन
कति घाउ छन् यो मौनतामा
कतिवटा बुद्ध छन्
बिर्सन मृत्यु
आफ्नै जमिनमा परेको हतियारको चोट
परेको छैन अझै कथामा
सिकार खेल्नेहरू अझै हिँडेका छन्
नजिकबाट
कसले बचाउ गरेर राखेको छ आत्मा
मर्दैन भनेर यसलाई
त्रासदीको इतिहासमा
कति शब्द छन् थाहा छैन
खोज्दैछन् बुद्ध बच्न
मृत्युको आतंकबाट
गाह्रो परेन बुद्धलाई खोज्न
सत्य
गाह्रो पर्यो
यो मृत्युको एक्सिडेन्ट
रातमा बुझ्दिनँ म मेरै आँखाको भाषा
पिउन सक्दिनँ जुस
मेरै शब्दबाट
मैले आफ्नै इच्छालाई मारेबापत
तिरेको छैन
कुनै सजाय।
प्रतिक्रिया दिनुहोस !